एउटा भ्रष्टाचार काण्ड परेछ, कृषि बाणिज्य बैंक, धरान शाखामा । एक जना जग्गा दलालले एउटा जग्गा किनेछन् । तर जग्गा विक्रेताको अँशियारले अँश मुद्दा हालेपछि उसको पक्षमा अदालतले मुद्दा फैसला गरेछ । जग्गा दलाल फसेछ । कृषि विकास बैंकबाट ऋण स्वीकृत गरिएको रहेछ ।
यस्तै बैंकका तत्कालिन म्यानेजरले जग्गा कारोबार सम्बन्धमै कमिसन लिएर ऋण पास गरेको अर्को भरपर्दा सूचना आएपछि एउटा गजबको समाचार त्यतिबेला आफू कार्यरत एउटा साप्ताहिक म्यागेजिनमा पठाएँ । राम्रो स्थानमा छापियो ।
त्यसपछि बैंकका तत्कालिन म्यानेजर मेरा चिनारुका नातेदार लिएर मसँग यस विषयमा कुरा गर्न आए । ती नातेदार पनि सोही बैंकमा काम गर्थे । मैले विनम्रतापूर्वक भने, ‘तपाईहरु आफू सत्य हुनुहुन्छ भने यो समाचारको खण्डन गर्न सक्नुहुन्छ । तर म चाहिँ यो समाचारमा अडिग छु ।’
बैंक म्यानेजर पनि मसँग विनम्रतापूर्वक प्रस्तुत भएका थिए । लहरोले पहरो तानिने डरले कि के हो, तिनले खण्डन गर्ने आँट गरेनन् ।
यो समाचार मलाई सोही बैंकमा अधिकृत तहमा कार्यरत सुनसरी हाँसपोसा निवासी राजकुमार राईले दिनुभएको थियो । त्यसैले पनि आफ्नो समाचार स्रोतसँग म विश्वस्त थिएँ । उहाँसँग फोटो पत्रकार मित्र यात्रा थुलुङले मेरो चिनजान गराउनुभएको थियो । यात्राजी राजकुमार राईलाई अङ्कल भन्नुहुन्थ्यो, मैले पनि उहाँसँग सोही साइनोले सम्वोधन गर्थेँ ।
राजकुमार अङ्कल यात्राजी र मेरो साह««ै सह«ाना गर्नुहुन्थ्यो । एकजना फोटोबाट र एक जना शब्दहरुबाट पत्रकारिता गर्ने । भन्नुहुन्थ्यो, ‘तपाईँहरु पत्रकारितामा हुनुहुन्छ । त्यहीँ भएर हामीलाई खुसी लाग्छ ।’
कुरैकुरामा उहाँले एकदिन भन्नुभयो, ‘हाम्रा मान्छेहरु लेख्न त लेखिटोपल्छन् । त्यस्तै एक जना हुनुहुन्छ । किताव लेखेको लेख्यै । कति धेरै लेख्न सकेका होलान् ! यसरी धेरै किताव लेख्दा त्यति स्तरीय पनि नहुँदो रहेछ । आउँछन्, किताव भिडाउँछन् । किनिदिनै प¥यो । कोही मान्छे घरमा आयो भने बैठक कोठामा रहेका उनका कितावहरु हत्त न पत्त लुकाउनु पर्छ ।’ यति भनिसकेपछि राजकुमार अङ्कल गलल हाँस्नुभयो ।
हो, मानिसको बौद्धिक स्तरको मापन उसको घरमा भएको कितावको स्तरीयताले निर्धारण गर्छ । यो ज्ञान मैले राजकुमार अङ्कलको भोगाईबाट आजभन्दा २५ वर्षअघि धरानमा रहँदा पाएको हुँ ।
...
भोजन मात्रै होइन, निद्रा कुनै पनि जीवजन्तुका लागि एक अपरिहार्य आवश्यकता हो । मानिसका लागि आठ घण्टा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने मान्यता स्थापित छ । तर आफ्नो मष्तिष्कको तन्तु हल्लाइ रहने प्राणी भएकोले मानिसको निद्रा यदाकदा भङ्ग भइदिन्छ । भोक नलाग्नु त्यो एउटा ठूलै समस्या हो, तर निद्रा नै गायव भइदिनुको पीडा सामान्य हुँदैन । त्यसैले निद्रा फर्काउनका लागि मानिसले अनेकौं प्रयत्नहरु गर्छन् ।
मेरा कतिपय चिनारुहरु छन् । उनीहरुमध्ये केहीको गायव भएको निद्रा फर्काउने तरिका सुन्दा अचम्म लाग्छ । कतिपय भन्छन्, ‘म त निद्रा लागेन भने किताव पल्टाइहाल्छु । एक दुई पेज पढ्यो, आँखा झकाउन थाल्छ, अति मस्त सुत्यो ।’
अरु त अरु किताव लेखिहिड्ने, किताव छापि हिड्ने एक जना भाईलाई एक रात निक्कै बितिसक्दा पनि निद्रा लागेको रहेनछ । अबेरसम्म निद्रा नपरेपछि उनले छटपटी फेसबुकको वालमा पोखे । उनको स्टाटस देख्दा मलाई अचम्म होइन, विरक्त लाग्यो । उनले लेखेका थिए, ‘आज आँखामा पटक्कै निद्रा आइरहेको छैन । अब निद्रा बोलाउन किताव पल्टाउनुपर्छ कि क्या हो ?’
यसबारे मलाई पनि प्रतिक्रियास्वरुप तत्काल केही बोलूँजस्तो लागेको थियो । तर उसको इच्छाविपरित किन शब्द खर्च गरिरहने भन्ने लाग्यो, र मौनता साँधेँ ।
किताव त ब्यूँझनका लागि पढ्ने हो, निदाउनका लागि हो र ? तर अचम्म छ, कोही निद्रा बोलाउन कितावको साहरा लिन्छन् । यो जति हास्यास्पद कर्म अरु के हुनसक्छ ?
...
हालः बाल्मिकी विद्यापीठ, काठमाडौंका प्राचार्य डा. गणेशप्रसाद घिमिरे त्यतिखेर विद्यावारिधि गर्दै हुनुहुन्थ्यो । उहाँ बाल्मिकी अतिरिक्त पासाङ ल्हामु मेमोरियल कलेजमा आँशिक प्राध्यापन पनि गर्दै हुनुहुन्थ्यो । म पनि सोही कलेजमा आमसञ्चार तथा पत्रकारिता प्राध्यापन गर्थेँ । कक्षा नभएको बेला म गणेश सर र टिका जिरेल सरको छेउमा पुगेर मन्त्रमुग्ध भइरहन्थेँ । उहाँहरुसँग कतिपय जिज्ञासा पनि पोखिरहेको हुन्थेँ ।
त्यो बेला सोच्थेँ, हैट म त बालकै रहेछु । उहाँहरुले जस्तै कितावले पुरिन त मैले बाँकी नै रहेछ ।
एक दिन सुनाउनुभयो, गणेश सरको निद्रा केही रातदेखि गायव भएको रहेछ । यता पढ्यो भेटिदैन, उता खोज्यो पाइदैन । लेखनाथ पौड्यालको काब्य ‘तरुण तपसीमा रसविधान’ शीर्षकमा उहाँ त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिको शोध गरिरहेको त्यो समय उहाँले एउटा सवालको जवाफ खोज्नुपरेको रहेछ । उहाँले जवाफ खोज्नुपरेको सवाल थियो, त्यस्तो झल्को, जो आफ्नो आँखामा एकपटक आउँछ, जो कहिल्यै फेरि उही दृश्यमा दोहोरिदैन ।
यो सवालको जवाफ प्राप्त नभइकन उहाँको शोध अगाडी बढ्नेवाला थिएन । कल्पना गरेर होइन, सन्दर्भसामाग्री तेस्र्याएर जवाफ खोज्नुपर्ने । यो जवाफको खोजीका कैयौँ साहित्य पढेर पनि सन्तुष्टि मिल्न सकेको थिएन, उहाँमा । उहाँ ज्ञानको खोजीमा कैयौँ रात अनिदो बस्नुभयो ।
त्यो ज्ञान कतै यसबाट पाइन्छ कि भनेर उहाँले एक रात आफ्नो ¥याकबाट फुत्त एउटा किताव निकाल्नुभएछ । त्यो किताव पढ्दै जाँदा एक अनुच्छेदमा पुगेपछि उहाँ नाच्न थाल्नुभएछ । निदाइसकेकी श्रीमतिलाई उठाएर भन्नुभएछ, ‘एक बुढी चिया पका ।’ पतिदेवको मुहारमा लटरम्म खुसी र उत्साह देखेर म्याडमले पनि आँखा मिच्दै चिया पकाएर गणेश सरलाई पिलाउनु भएछ ।
गणेश सरले आफ्नो शोधको लागि आइपरेको सवालको जवाफ ओशो रजनिशको ‘सेक्ससे समाधितक’ कितावबाट प्राप्त भएको थियो । त्यहाँ लेखिएको रहेछ,‘त्यो त्यस्तो दृश्य एक पटक देखिन्छ र पात्र दोहोरिएलान्, तर त्यो दृश्य सोही रुपबाट फेरिे कहिल्यै देखिदैन । त्यो हो, एकपटक देखेको सपना !’
त्यो सन्दर्भसामग्रीको प्राप्ती मध्यरातमा गणेश सरका लागि ‘युरेका’ नै भयो ।
गणेश सर जसरी एउटा सन्दर्भका लागि तड्पिनुभयो, म पनि मेरो स्नातकोत्तर तहको शोधग्रन्थका लागि एउटा कितावको खोजीमा धेरै समय तड्पिएँ । बजारमा त्यो किताव पाउन छाडिसकेको थियो । कितावको सङ्ग्रह गर्ने सम्भावित ब्यक्तिहरुबाट प्राप्त भएको जवाफबाट मैले किताव प्राप्तीको सम्भावना देखिनँ । मार्टिन चौतारीमा त पक्कै होला, भन्ठानेर गएको त्यहाँबाट पनि म निराश बनेर फर्केँ । त्यहाँ दुईप्रति भएको र त्यो पनि कसैले अनुसन्धानका लागि पढ्न लगेको भन्ने सूचना पुस्तकालयबाट आएपछि म रित्तो हात फर्कन विवस भएँ । मेरो शोधग्रन्थको गति रोकियो ।
एकदिन काम विशेषले बाटोमा हिड्दै गर्दा बायुसेवा निगम अगाडीको फूटपाथमा टक्क अडिए, मेरा पाइला । मैले जुन कितावको खोजीका लागि महिनौ भौतारिनु प¥यो, त्यो किताव सेकेन्ड हेन्ड विक्रीका लागि फूटपाथमा पो देख्छु छ त ! ५० रुपैयाँको नोट दिएर त्यो किताव हात पार्दा खुसीले मेरो खुट्टा भूँइमा थिएनन् ।
कितावप्राप्ती एउटा मीठो संयोग, त्योभन्दा पनि गजबको अर्को संयोग । किताव पल्टाएर हेरेको त एउटा स्ट्याम्प ठोकिएको रहेछ, अगाडीकै पानामा । त्यो स्ट्याम्प कुनै सङ्घसंस्थाको नभई एउटा ब्यक्तिको नामको थियो । ती ब्यक्तिको नाम हो, संजोग लाफा मगर । उनी मेरा मित्र, चलचित्रकर्मी । उनको सङ्ग्रहको त्यो किताव फूटपाथमा आएको रहेछ, सेकेन्ड हेन्ड विक्रीका रुपमा । मैले उनलाई सोधे, ‘के हो लाफा, तपाईंको किताव त फूटपाथमा पो झरेछ त !’ उनले मलाई आफ्नो त्यस किताव आफ्नो घरबाट गायव भएको सुनाए ।
मैले कौडीको मोलमा सेकेन्ड हेन्ड रुपमा फूटपाथमा किन्न पाएको त्यो महत्वपूर्ण कितावको नाम हो, नेपाली मिडियामा दलित र जनजाति (२०५८) । यो किताव पाउनु मेरो लागि ‘युरेका’ हुनेनै भयो ।
...
म कुनै पनि सवारी साधन प्रयोग गर्न जान्दिनँ । हिँडेर पुग्ने ठाउँमा हिँडेरै पुग्छु । अलि टाढा छ भने सार्वजनिक सवारी साधन प्रयोग गर्छु ।
त्यो बेला मैले काम गर्ने सञ्चारमाध्यमको कार्यालय अनामनगरमा थियो । त्यहाँबाट कहिलेकाहिँ समाचार सङ्कलनका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालय भएको बाटो हुँदै फुत्त बबरमहल निस्कनुपथ्र्यो । पासपोर्टको फारम प्रजिअ कार्यालयमै भर्नुपथ्र्यो, त्यो बेला । म हिडिरहेको बेला पासपोर्टका फारम भराउनेले मलाई तानेरै लैजान खोज्थे । उनीहरुको रोजगारीको बाध्यता होला भन्ठानेर हाँस्दै भन्थँे, ‘म पासपोर्टको फारम भर्न आएको होइन ।’
दाँतले यसरी हाँसे पनि आँतमा पीडा थियो, मलाई । सोच्थे, ‘एउटा सञ्चारमाध्यमको वरिष्ठ संवाददाता र एउटा कलेजको अध्यापक मलाई किन उनीहरुले पासपोर्टको फारमसम्म भर्न नसक्ने सम्झे होलान् ?’
पासपोर्ट बनाउने निकाय परराष्ट्र मन्त्रालयमा सरेपछि मलाई हाइसञ्चो भएको थियो ।
हाम्रो सञ्चारमाध्यमको स्वामित्व हस्तान्तरणसँगै हाम्रो कार्यालय तीनकुनेको गैरीगाउँ स¥यो । त्यस लोकेसन त बबरमहल क्षेत्रभन्दा चर्को रहेछ । हाम्रै कार्यालय परिसरदेखि बागमति पुलसम्म भीड !
हाम्रो कार्यालयनेरै वैदेशिक रोजगार विभागको कार्यालय रहेछ । त्यहाँ वैदेशिक रोजगारमा जान चाहने र उनीहरुको फारम भरिदिनेको भीड । साताको ६ दिन म फारम भरिदिनहरुको झुत्तोबाट प्रताडित हुन्थेँ । उनीहरुले सम्झदा रहेछन्, म पनि वैदेशिक रोजगारीका लागि त्यहाँ आइरहेको छु । उनीहरु फारम भर्ने हो भन्दै मतिर झुत्तिन्थेँ । एकदिन बाग्मतिपुलदेखि कार्यालयसम्मै यस्तो झुत्तो झुत्तिदा साह«ै दिक्क लाग्यो ।
र, एउटा अक्कल झिकेँ । कोट लगाएँ, अनि एउटा मोटो किताव डेनिस मक्वीलको ‘मासकम्युनिकेसन थ्योरी’ बोकेँ । त्यसपछि म सरासर कार्यालयतिर आएँ । कोट लगाएको र एउटा मोटो किताव बोकेको मान्छे, पक्कै वैदेशिक रोजगारीतिर जाने खालका होइनन् भन्ठानेछन् । त्यस दिन मतिर फारम भराउनेको कुनै झुत्तो लागेन । मैले बैदेशिक रोजगार विभागको कार्यालय हाम्रो कार्यालयबाट अन्यत्र नसरुन्जेल यो अक्कल अपनाइरहेँ ।
तर किताव सजाउने वा देखाउने वस्तु हुँदै होइन । यो त ज्ञानको साधन हो । म किताव देखाउनका लागि बोक्दिनँ । तर कुनै बेला ममा यस्तो बाध्यता पनि आइलाग्यो । म वैदेशिक रोजगारका लागि फारम भरिदिने झुत्तोलाई देखाउन किताव बोकेर हिँडे पनि कार्यालयमा फुर्सदको समयमा ती कितावमा घोत्लिने गर्थेँ ।
...
किताव पढेर प्राप्त ज्ञानलाई अन्तरमनको भण्डारले भर्नु कोही कसैका लागि आनन्द प्राप्त होला । तर म चाहिँ कितावबाट प्राप्त ज्ञानलाई सार्वजनिक हितमा सदुपयोग गर्नुलाई कितावी ज्ञानको सार्थकता ठान्ने गर्छु । सबैको सबै कितावमा पहुँच नहुन सक्छ । आफ्ना लेख रचनाहरुमार्फत ती कितावको सन्दर्भ प्रस्तत गर्न मन लाग्छ, मलाई । जसका कारण आफूले नपढेका किताव र त्यहाँको सानोभन्दा सानो भए पनि विषयवस्तुको सूचना ती पाठकहरुले पाऊन् भन्ने लाग्छ । यस्तै अन्य लेखकहरुले दिएको कितावबारे सूचना पनि सङ्ग्रह गर्न मन लाग्छ । ताकि ती कितावको सोधीखोजी गर्न सकूँ ।
म प्रवासमा आएपछि मैले मसँग भएका सिमित किताव लगायतका हस्तलिखित सामग्रीहरुको अध्ययनमा समय लगानी गरेँ । आफूसँग नभएका सन्दर्भ सामग्रीहरुको फोटो खिच्दै पठाउन सहयोगी हातहरुसमक्ष आग्रह गरेँ । यसक्रममा मैले मेरी छोरी युन्छोमीका साथै मित्रहरु देवेन्द्र खापुङ र गोविन्द न्यौपानेलाई धेरैपटक दुःख दिएको छु । अझै कतिलाई दुःख दिइने हो थाहा छैन । पुराना हस्तलिखित सामग्रीहरु उपलब्ध गराउनुहुने सँस्कृतिकर्मीहरु टङ्क वनेम र भरत तुङघङ (दिवंगत) प्रति ऋणी छु ।
सामान्यतय म कितावसँग भएपछि मेरो छेउमा कलम र नोटबुक पनि हुने गर्छ । पढ्दै जाँदा आफूलाई घत परेको वा लेख्न सोचिरहेको विषयवस्तुलाई अगाडी बढाउन सहायक हुने सन्दर्भहरुको बूँदा टिपोट गरिहाल्छु । म पानाहरुमा कलम वा पेन्सिलले अन्डरलाइन दिएर किताबलाई फोहर बनाउन चाहन्नँ ।
यहीँ अध्ययनपद्दतिबाट पढ्दै बूँदा टिपोट गर्दै र त्यसलाई विवेचना गर्दै जाँदा मैले आफ्नो पहिलो अन्वेषणात्मक किताव ‘आदिवासी विद्रोहको इतिहास’ (२०७६) पाठकसमक्ष प्रस्तुत गर्न सफल भएँ ।
यो किताव काठमाडौंमा विमोचनको तयारी भइरहदा छोरी युन्छोमीले एक दिन भनिन्, ‘विमोचनको दिन लगाउन एउटा नयाँ कोट त सिलाउनोस् हौ, बाबा ।’
दराजमा हेरेको पुरानै कोट रहेछ । त्यसलाई ड्राई क्लिनर्सकोमा लगेँ । १० वर्ष पुरानो त्यहीँ कोट लगाएर विमोचन कार्यक्रममा प्रस्तुत भए । सायद कितावसम्बन्धी थोरोको भनाई सम्झेर बसिरहेकी थिइन्, युन्छोमी । साँझ घर फर्केपछि उनले हाँस्दै भनिन्, ‘आज बाबाले पुरानै कोट लगाएर नयाँ किताव निकाल्नुभयो ।’
...
कोरोना भाइरसबाट सुरक्षित रहन म एकान्तवासमा छु, यतिखेर । म मनोरञ्जन, आनन्द र समय कटानीका लागि किताव पढ्दिनँ । मेरो लागि ज्ञानको साधन हो, किताव । त्यसैले साधनामा तल्लिन रहन मन लाग्छ । अहिले म दैनिक १२ घण्टा कितावसँगै हुन्छु । एकातिर किताव हुन्छ, अर्कोतिर कलम र नोटबुक । यसैक्रममा मैले यसै दुई साताभित्र नौ वटा अनुसन्धानमूलक लेख लेखेर ल्यापटपमा भण्डारण गरिसकेँ । पढ्न र लेख्नका लागि केही सूचीहरु पनि तयार पारिसकेको छु ।
कोही कसैले मलाई अहिले कुन किताव पढिरहनुभएको छ, वा कहिलेसम्म कति किताव पढिसक्नुभयो भन्ने प्रश्न गरे भने मबाट उनीहरुले चित्त बुझ्दो जवाफ भने पाउने छैनन् । आजभोली खासगरी नेपालको र त्यसमा पनि सिमान्तकृतहरुको इतिहाससम्बन्धी विषयको सूची बनाएर त्यसले खोजेको सन्दर्भ सामग्री रहेको किताव पढेर बूँदा टिपोट गर्दै आवश्यक विवेचना गर्नमा ब्यस्त भएकोले मसँग माथि उल्लेख गरिएको सम्भावित प्रश्नको चित्त बुझ्दो जवाफ भने यतिखेर पाउने छैनन्, प्रश्नकर्ताले ।
किताव भनेको शक्तिको स्रोत हो । अँग्रेजी निवन्धका पिता फ्रान्सिस बेकनले भनेको महत्वपूर्ण भनाई राख्न चाहन्छु । उनले भनेका छन्, ‘ज्ञान भनेको शक्ति हो ।’ किताव ज्ञानको स्रोत भएकैले यो शक्तिको स्रोत हो ।
माथि पनि भनिसकेँ, किताव सजाउने र देखाउने वस्तु होइन, यो त अध्ययन गर्ने र त्यहाँभित्रको पाठलाई जीवनपद्दतिमा अनुशरण गर्ने साधन हो । किताव भनेको आत्मा पनि हो । जस्तो कि सिसेरो भन्छन्, ‘किताव नभएको कोठा र आत्मा नभएको सरीरबीच केही फरक हुँदैन ।’