धरान । साहित्यकार पिटर जे कार्थकको क्यान्सरका कारण निधन भएको छ ।

७७ वर्षको उमेरमा नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ उपन्यासबाट चर्चामा आएका दार्जिलिङका उनी पछिल्लो समय नेपालमै बस्दै आएका थिए । अङ्ग्रेजी साहित्यमा उनको योगदान अतुलनीय मानिन्छ । उनको पछिल्लो पटक ‘काठमान्ड्युस’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित भएको थियो । सन् १९७८ मा उनको पहिलो उपन्यासले साझा पुरस्कार प्राप्त गरेको थियो ।

कार्थक साहित्यकारसँगै पत्रकार र संगीतकारसमेत रहेका थिए । भारतको सिलोङमा सन् १९४३ मा जन्मिएका उनको परिवार दार्जिलिङमा बसाइँ सरेको थियो । कार्थक नेपालमा सन् १९६५ मा आएका थिए । पत्रकारितामा पनि सक्रिय रहेका उनी पछिललो समय नेपाल रिपब्लिक मिडियाको अङ्ग्रेजी संस्करण रिपब्लिकामा कार्यरत रहेका थिए । उनी कपि एडिटरको रूपमा कार्यरत रहेका थिए ।

कार्थकलाई दुई साता अघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो । घाँटीमा क्यान्सर देखिए पछि उनलाई किमोथेरापी दिँदै आएको थियो । बुधबार पुनः अस्पतालमा भर्ना गरिएको उनको अस्पतालमै निधन भएको हो । साहित्यको क्षेत्रमा अपुरणीय क्षति भएको अर्का साहित्यकार ज्ञान उदासले बताए ।