कोरोनाभाइरस (कोविड १९) महामारी फैलिन नदिन लकडाउन लगाइएको बेला नेपालका केहि विद्यालय तथा क्याम्पसहरुले पनि अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन् । नेपालमा अनलाइन कक्षा कति प्रभावकारी होला ? यसै विषयमा शिक्षा संग सम्बन्धीत विभिन्न निकायका प्रमुख, प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरु संग व्लाष्टखबरका संवाददाता विवेक मिश्रले संकलन गरेकाे अनुभव र धारणा यस्तो रहेको छ ।
दिर्घधोज चापागाँई (प्रमुख) शिक्षा विकास तथा समन्वय ईकाइ, मोरङ
अहिल अनलाईन मिटिङ, अनलाईन कक्षा भनिराखिएको छ वास्तवमा अनलाईन कक्षा भनेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले एनटिभि प्लसमा पहिले देखिनै कक्षा चलाईरहेको थियो । अंग्रेजी, गणित र विज्ञानको कक्षा धेरै अघिदेखी नै चलाई राखिएकै थियो । हाल सबै तिर अनलाईन कक्षा चलाउने भनिएको छ, पहिलो कुरा के बुझ्नु पर्यो भने अनलाईन कक्षा भन्ने बित्तिकै नेटको पहुँच हुनुपर्यो । सबै ठाँमा सबै विद्यार्थीहरु नेटको पहुँचमा छैनन् दोस्रो कुरा नेटको पहुँच भएतापनि सबै विर्थहरु संग नेट चलाउने उपकरणहरु छैन । जसले गर्दै जुन लक्ष्य राखिएको छ त्यो सतप्रतिशत पुराहुन सक्ने भन्नेकुरा छदैछैन तरपनि जो संग इन्टरनेट तथा उपकरणको पहुँच छ उसको लागी चै अनलाईन कक्षाले सहयोग हुन्छ । लक्ष्य राखे अनुसारको प्रभावकारीता हुन गाह्रो छ । अनलाइन कक्षा सबैलाई लक्षित गरेर गरिएको छैन एउटा एसइइ केन्द्रित गरिएको छ । लक्ष्य गरेकोमा पनि सबैको पहुँचमा छैन, त्यसले गर्दा जति लक्ष्य गर्यो, त्यो अनुसार हुनसक्ने सब्भावना कम छ ।
अभिषेक घिमिरे (संयोजक) वृहत राष्ट्रिय शिक्षा अभियान
अनलाइन शिक्षण सबैका लागि होइन । विश्वमा प्राविधिक क्रान्ति गरेका मूलुकले पनि पूर्ण रुपमा यसलाई अबलम्बन गर्न नसकेर सामाजिक दूरी सहित विद्यालय संचालान गर्न थालेको समाचार आउन थालेका छन । नेपालमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको संख्या पछिल्लो समयमा ह्वात्तै बढेको भए पनि इन्टरनेट सेवा महँगो र अस्थीर छ. सबै स्थानमा र बालबालिकाको पहूँचमा नभएकोले औपचारिक सिकाइकै लागि भने यो त्यति भरपर्दो छैन ।
अनलाइन कक्षा अहिले ग्ल्यामर जस्तै बनेको छ । धेरै विद्यालयले यसलाई देखासिखीका रुपमा प्रयोग गर्नु भएको जस्तो देखिन्छ. तर, यसलाई नकारात्मक भन्न मिल्दैन । यो समयमा जे जान्नु भएको छ वा जे सक्नु भएको छ त्यही गर्नु भएको छ. यसले सबैलाई एक किसीमको उर्जा र उत्साह दिएको छ । विद्यालयसंग अभिभावक र विद्यार्थीलाई जोडेको छ । सामाजिक संजाल र संचार माध्यमबाट आउन सक्ने नकारात्मक प्रवाहलाई कम गर्न र केही मात्रामा भए पनि सिर्जनात्मक हुन विद्यार्थीलाई प्रोत्साहन गरेको छ । हिंजो कम्प्युटर खोल्न नसक्ने शिक्षक आज भिडियो कन्फरेन्समा सहभागी हुन थालेको देखिन्छ । शिक्षण सिकाइमा डिजिटल क्रान्तिको सुरुवात भएको छ. शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री बन्न सहयोग पुगेको छ ।
सबै विद्यार्थीको पहूँचमा नभएकोले अहिले स्थानीय सरकार तथा विद्यालयले मिलेर विद्यार्थीलाई उनीहरुसंग भएको स्रोत तथा साधानका आधारमा वर्गीकरण गर्नु पर्दछ । सोही वर्गीकरणका आधारमा विभिन्न मोडल बनाएर शिक्षणसिकाइ गतिविधि संचालन गरिनु पर्दछ । स्थानीय तथा प्रदेश सरकारको पहलमा रेडियो, टेलिभिजन, टेलिफोन, मोबाइल शिक्षक लगायतको सहयोगमा राहत कक्षा संचालन गर्न सकिन्छ. तर यो समय औपचारिक पाठ्यक्रम वा कोर्स नपढाइ विद्यार्थीको सामाजिक विकास, संस्कार लगायतका कुरामा बढी पहल गर्नुन पर्दछ. विद्यार्थीले पुस्तकमा पढेका किताबी ज्ञानलाई व्याबहारिक रुपमा प्रयोग गर्ने अवसरको रुपमा लकडाउनलाई लिनु पर्दछ. विद्यालय र शिक्षकले शिक्षण सिकाइ पद्धतिमा रुपान्तरण गर्ने अवसरका रुपमा लिनु पर्दछ ।
प्रेम भटराई (अध्यक्ष) नेपाल राष्ट्रिय शिक्षक संगठन, मोरङ
सरकारले निम्न वर्गिय समुदायलाई बिभिन्न राहतका प्याकेजहरु ल्याएको भएपनि शैक्षिक क्षेत्रले अहिले सम्म कुनै राहत पाउन सकेको देखिदैन । २०७६ चैत्र ६ गते देखी बन्द शैक्षिक संस्थाहरु त्तकाल खोल्ले अवस्थामा देखिदैनन्, जसको मार लाखौँ विद्यार्थीहरुले भोग्नु् परेको छ । सहरी क्षेत्रका सुविधा सम्पन्न केहि विद्यालयले अनलाईन प्रविधि मार्फत नतिजा प्रकासित, भर्ना अभियान र सिमित विद्यार्थीलाई कक्षा संचालन गर्ने औपचारीकता बाहेक खासै उपलब्धीपुर्ण काम गर्न सकेको देखिदैन भने ग्रामीण क्षेत्रका प्राय सबै विद्यालयले त्यो पनि गर्न सकेको देखिदैन । अनलाईन कक्षा चलाएका विद्यालयमा पनि सबै विद्यार्थी सहभागी हुन सकेका छैनन् भने स्वयम सबै शिक्षकहरु प्रविधिको पहुँचमा छैनन् ।
यि र यस्तै सवालहरुले यथास्थीतिमा कुनै पनि विद्यालय एक्लैले समस्याहरुको समाधान गर्न नसक्ने निश्चित छ । यसका लागी १) सम्पुर्ण शिक्षकहरु प्रविधिमा सवल हुनुपर्छ । २) प्रत्येक विद्यालय र समुदायमा तिब्र गतिमा चल्ने इन्टरनेटको सुबिधा हुनुपर्छ । ३) सम्पुर्ण अभिभिावक र विद्यार्थीहरुलाई प्रबिधिको पहुँचमा ल्याउन सम्बन्धीत सबै पक्ष लाग्नु पर्छ । ४)तिन वटै तहका सरकार र दाताहरुले राहत भनेको दाल, चामल, तेल आदि मात्र उपभोग्य बस्तु होइन, शिक्षा पनि मानवको लागि महत्पुर्ण उपभोग्य वस्तु हो भन्ने कुरा बुझ्नु र बुझाउनु पर्छ ।
त्यसैले शिक्षा संग सरोकार पक्ष विद्यालय र शिक्षक मात्र होइनन् । सरकार र समुदायको झन् ठुलो सहयोग आवस्यक हुने हुनाले उल्लेखित सुझावहरुलाई तत्काल समाधान गर्न तिनवटै सरकारले प्रत्येक विद्यालय संग सहकार्य गरि कार्यन्वयन गर्न अब ढिला गर्नु हुन्न । अन्यथा विद्यार्थीको भविष्य अन्धकारमय हुने निश्चित छ ।
राजकुमार पन्त (शिक्षक) श्री लक्ष्मी मा.वि. लक्ष्मीमार्ग, मोरङ
हाल शिक्षालाई प्रविधिमैत्री बनाउदै यस कठिन घडिमा पनि कसरी कक्षा संचालन गर्न सकिन्छ भन्ने बहस चलीरहेको छ । अनलाईन प्रबिधिको प्रयोगबाट कक्षा संचालन गर्न सरकार तथा केहि शिक्षण संस्थाहरु लागिरहेको सुन्नमा आएको छ । नेपाल जस्तो भौगोलिक विकटता भएको, अनलाईन कक्षा संचालन गर्न भौतिक पुर्वाधारहरु बिधुत, इन्टरनेटको पहुँच नपुगेको र विधुत सेवा उपलब्ध भएका ठाँउहरुमा पनि लोडसेडिङको मारमा बस्नुपर्ने अवस्था छ । विद्यार्थी तथा अभिभावहरु जो विपन्नता संग जुधिरहेका छन्, उनिहरुले घरमा आफ्ना लागि वा छोराछोरीहरुका लागि अनलाईन कक्षाका लागि आवश्यक सामग्रीहरु जुटाउन कठिन देखिन्छ । समयको व्यवस्थापन, सामग्रीको व्यवस्थापन देखी लिएर दक्षताको समेत प्रश्नचिन्ह खडाहुन सक्दछ । थोरै शहरी क्षेत्रको भुगोललाई मात्र हेरेर यो कार्य गर्नु गराउनु उचित हुन सक्दैन । तर यसको अर्थ प्रयासनै बेकार छ भन्ने होइन तर लकडाउन कहिले सम्म रहने (बैशाख २५ मात्र वा अझै कति?) यो निश्चित नभएको, दक्ष जनशक्ति तयारी छैन? कोरोना कहर विच विद्यार्थीहरु अध्यायन गर्न तयार छन्, छैनन् कि उनिहरुलाई थोपरिएको आभास हुने हो कि ? भौतिक सामग्री जस्तै कम्प्युटर, ल्यापटप, उपयुक्त प्रकारको मोवाईल सेट देख्न र छुन समेत नपाएका विद्याथीहरु सम्म यसको पहुँच कसरी पुर्याउने, समुहमा यस प्रविधिलाई कसरी प्रयोग र व्यवस्थापन गर्ने आदि जस्ता आन्तरिक ब्यवधानहरुको बारेमा व्यापक छलफल र समाधान तथा व्यवस्थापनका उपायहरु अवलम्बन नगरी हतारमा गरिएको निर्णयले प्रभावकारी नतिजा देला कि नदेला राम्ररी सोच्न जरुरी देदिन्छ ।
धर्मेन्द्र केसी ( संचालक) जिज्ञासु फाउण्डेसन
लकडाउनकै बाध्यताले भएपनि विधुतिय प्रणालीको पठनपाठन नेपाली सन्दर्भमा नयाँ आयामको रूपमा आएको छ जसले विद्यार्थीहरूलाई आफ्नो पढाईसँग र भावनात्मक रूपमा सहपाठीहरूसँग समेत जोड्छ साथै शिक्षक र शैक्षिक संस्थाको डिजिटल साक्षरतामा पनि एउटा छलाङ प्रदान गर्नसक्छ । विकसित मुलुकहरूमा पहिलेबाटै अभ्यासमा रहेको यो अनलाइन शैक्षिक प्रणाली हाम्रो लागि समग्रमा नयाँ हो त्यसैले यसका लागि शैक्षिक संस्था, शिक्षक, विद्यार्थी र अभिभावक अभ्यस्त नहुनु स्वभाविक छ । हाल यसका लागि भिडियो कन्फ्रेन्स मिटिङका लगि बनेको जुम एप प्रयोगमा पाईन्छ । स्काईप, गुगलमिट आदि पनि प्रचलनमा छन् । मुडल, क्यान्भास आदि विधिहरू भने अनलाईन सामाग्री प्रदान गरि विद्यार्थीहरूलाई असाईनमेन्टहरू दिएर क्रमशः फलोअप गर्नेगरी अप्रत्यक्ष सिकाईका रूपमा प्रयोग गरिन्छ ।
नेपालमा राम्रो मोबाईल नेटवर्क, स्थिर विधुतप्रवाह मात्र नभएर स्मार्टफोन, ल्यापटप र ईन्टर्नेट सुविधामा पहुँच नभएको धेरै ठुलो भुगोल र वर्ग पनि छ जसमा विद्यार्थी मात्र नभएर विधालयहरूपनि पर्छन् जसलाई यो प्रणाली बाध्यकारी बनाईनु व्यवहारिक हुँदैन । अझ यो विकराल महामारीको बेलामा विपन्न विद्यार्थी र तिनका परिवार त खाद्यान्न अभावमा समेत रहेको पाईन्छ । खाद्यान्न जोहो गर्ने यो बेला स्मार्टफोन र इन्टरनेट सुविधा सहित अनलाइन कक्षाकालागि तयार होउ भन्दा उनिहरूलाई थप मानसिक पिडासमेत पुग्न जान्छ । सरकारले यस महामारीबाट पाठ सिकेर सामान्य अवस्थामा समेत अनलाइन कक्षा र विधिकालागि पुर्वाधार, तालिम, सामाग्रीहरू शैक्षिक संस्था र विद्यार्थीहरूको पहुँचमा आउने गरि कार्यक्रमहरू अघि बढाउनुपर्ने देखिन्छ ।