धरान । माटोको ढिस्कोलाई पूजा गरिने बूढासुब्बा मन्दिरका अनेकन किंवदन्ती सुन्न पाइन्छ । केहीथरी विद्वान् हाङ बुद्धिकर्ण रायको समाधि मान्छन्, केहीथरी महाभारतकालीन एकलव्यको समाधि त, अर्कोथरी विद्वान् भने कुनै किराँत तान्त्रिक शिकारीको समाधि मान्छन् ।
तर, कुन चाहिँ मत दर्बिलो हो त ! अहिलेसम्म प्राप्त लेख्य प्रमाणहरू पनि विवादास्पद भएकाले सबै अनुमानलाई आधार मान्छन् । यि माथिका मतमध्ये कुनै न कुनै मत त प्रमाणिक होलान् ! इतिहासकार इमानसिंह चेम्जोङले तात्कालीन लिम्बुवानका अन्तिम राजा बुद्धिकर्ण खेवाङ लिम्बूको समाधिस्थल भएको उल्लेख गरेका छन् । पहिलो मतअनुसार हाङ बुद्धिकर्ण रायको समाधिस्थ होइन भन्ने तर्क आउने गरेको छ । कसैले लिम्बू जातिभित्रका खेवा वंशको कुनै व्यक्तिको रहेको बताउने गरेका छन् । बुद्धिकर्ण आफै पनि खेवा वंशका थिए । यस विषयमा निकै विवादसमेत चर्किएको थियो । प्रमाणिक आधार नभएकैले पनि विवाद चर्किएको हुनसक्छ । यदि बुद्धिकर्णको समाधि मान्ने हो भने बुद्धिकर्णको समाधि काल २५० वर्षको आसपास मानिन्छ । बुद्धिकर्णको सन्दर्भमा शाह कालका पहिलो राजा पृथ्वीनारायण शाहसँग लडाइँ गरेको इतिहाससँग जोड्ने गरिन्छ । त्यसकारण पनि बूढासुब्बा बुद्धिकर्णको समाधिस्थ स्थल होइन भन्ने प्रमाणित हुन आउ“छ ।
थप प्रष्ट पार्दै भाषाविद् प्रा.डा टङ्क न्यौपाने भन्छन्, ‘बुद्धिकर्णलाई पृथ्वीनारायण शाहको लखेटेर मारेको हो भनेर भन्छन् । बुद्धिकर्ण रायको समाधि यो होइन्, तिनको समाधिचाहिँ मलाई लाग्छ ताप्लेजुङ सुकेटार विमानस्थलको नजिक कतै छ । बुद्धिकर्ण रायलाई गोर्खाली सेनाले मारेको भए एउटा हराइएका व्यक्तिलाई देउताको रूपमा सम्मान गर्न र पूजा गर्न सम्भवै छैन । त्यो बुद्धिकर्णको समाधि होइन । अर्को कुरा के हो भन्दाखेरि बुद्धिकर्ण राय व्यक्ति हो । एउटा व्यक्ति दुई अढाई सय वर्षमै कसैले देउता मान्छ । बुद्धिकर्ण मारिएको २५० वर्ष त भयो ! यहाँ त ५ सय वर्ष अघिदेखि मगरहरूले पूजा गर्न थालेको हो । त्यसकारणले पनि होइन ।’
महाभारतकालीन वैदिक युगमा एकलव्यको समाधिसँग पनि बूढासुब्बाको किंवदन्ती जोडिएको छ । कौरबहरूको पक्षबाट लडाइँमा सहभागी बनेका उनले पाण्डव हार्दा पनि भाइ नै हार्ने र कौरब हार्दा पनि भाइ नै हार्ने देखेपछि तत्कालीन समयमा विजयपुर ऐतिहासिक स्थल भएकाले यहाँ समाधिस्थ भएको मत छ । त्यसको पनि कुनै प्रमाणिक आधारहरू फेला परेका छैनन् । किनकि महाभारतको कालखण्ड १४ सय इसापूर्वको समय मानिन्छ । त्यसकारण पनि किंवदन्तीमा जोड्नका लागि मात्रै जोडिएको हो कि भन्ने प्रमाणिकता पाउन सकिन्छ । आर्यभट (४७६–५५०) का अनुसार महाभारत युद्ध ३ हजार १३७ इसापूर्वमा भएको थियो ।
प्रा.डा. न्यौपानेको भनाइलाई आधार मान्दा समाधिको पूजा हुन थालेको करिब ५ सय वर्ष पुगेको छ । जतिखेर सेन वंशहरूले राज्य गरेका थिए । सेनहरूले नै पश्चिमबाट मगर पूजारी ल्याएर पूजाआजा गर्ने प्रचलन बसालेका हुन् कि भन्ने अनुमान प्रा.डा. न्यौपानेको छ । सेन वंशको इतिहासलाई खोतल्ने हो भने इतिहासकार बाबुराम आचार्यले सेन वंशको शासन काल (१५१८–१५५३) इसापूर्वमा रहेको उल्लेख गरेका छन् । मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले सेन राज्यको विस्तार गरी कोशी नदीभन्दा पारी पु¥याएर विजयपुर पनि आफ्नो हातमा लिएको उनले उल्लेख गरेका छन् । मुकुन्द सेनको पालामा सेन राज्यको ठूलो विस्तार भए पनि आफ्ना छोराहरूलाई राज्यको जिम्मा दिने क्रममा विजयपुर चाहिँ लोहाङ सेनको हातमा सुम्पिएको भनाइ छ । पछि पृथ्वीनारायण शाहले वि.सं. १८१९ मा मकवानपुरमा विजय प्राप्त गरेपछि नेपाल एकीकरणको अभियानको क्रममा वि.सं. १८३१ मा गोर्खालीहरूले सेनलाई पराजित गरेपछि सेन वंशको इतिहास समाप्त भएको देखिन्छ ।
बूढासुब्बाका विषयमा केही लिखत सामग्रीहरू पनि नपाइएका होइनन् । तर, ति लिखत सामग्री पनि विवादास्पद छन् । इतिहास भनेको तथ्य हो । लिखित तथ्य नभएको अवस्थामा किंवदन्ती र विश्वसनीयतालाई आधार मान्नुपर्ने हुन्छ । आखिर के हो त ? कसको समाधि स्थल हो त ? यस्ता आम प्रश्नहरू विवादास्पद लेखोटसँगै जोडिएर आउने गरेका छन् । ‘यो किराँती चाहिँ किराँतीको समाधि हो । तिनी कुनै सिद्ध तान्त्रिक थिएँ, उनी कलियुग सुरु हुनुभन्दा केही अगाडि शिकार खेल्दै यहाँ आइपुगेका थिएँ’ डा. न्यौपाने थप्छन्, ‘विजयपुरमा आएका थिएँ । समाधिमा आएर बसेँ । उनी विलिन भएँ । त्यसपछि हामीहरू राई, मगर, गुरूङ, लिम्बू, बाहुनहरूले पूजा गर्न थाल्यौं ।’ पाैराणिक, वैदिक तथा आधुनिक सबै हिसाबले पनि बूढासुब्बाकाे महत्त्व थप बढिरहेकाे छ ।
मगर पुजारी रहने बूढासुब्बामा माटोको तीन वटा ढिस्का छन् । त्यही ढिस्कालाई नै आधार मानेर पूजाआजा हुँदै आएको छ । त्यसलाई पुष्टि गर्ने गरी वर्षमा दुई पटक गरिने विशेष पूजामा बाँसको लिङ्गो लिएर मन्दिर परिसरमा ढोल, झ्याम्टासहित बाजागाजाका साथ पुग्ने गरिन्छ । जो वैशाखे पूर्णिमाको दिन गरिन्छ । मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आले मगर भन्छन्, ‘वैशाखे पूर्णिमा र महानवमीको दिन यहाँ बाँसको लिङ्गोसहित बाजागाजा ल्याएर आउने चलन छ । यसपटक लकडाउनले बाजागाजा ल्याउन सम्भव भएन ।’ राई र लिम्बूको किराँती भाषा छुट्टिनुपूर्वको शास्त्रीय किराँती भाषामा बुह्रा र सुबाको अर्थ फरकफरक लाग्छ ।
बुह्राको अर्थ हुन्छ, प्रेत र सुबाको अर्थ, आत्मा । दुई शब्दलाई समास गर्ने हो भने प्रेतआत्मा भन्ने अर्थ आउँछ । भाषाविद् डा. न्यौपानेले किराँती शास्त्रीय भाषा पक्कै पनि सिक्किमको लेप्चा भाषा हो कि भनेर अनुमान लगाउँछन् । तर, खाेज अनुसन्धानकै विषय रहेकाे छ । पछि बोल्दाबोल्दै बूढासुब्बा हुन पुगेको उनको दाबी छ । अर्को प्रमाणको रूपमा त्यहाँ मट्याङ्ग्रो पाइन्थ्यो । जुन मट्याङ्ग्रो घोटेर घाउँमा लगाउँदा निको हुन्छ भन्ने विश्वास गरिन्थ्यो । मट्याङ्ग्रो त अहिले पनि विद्यमान छ ।
बाँसको टुप्पो नहुने सन्दर्भमा तान्त्रिक शिकारीले धनुकाँडलाई त्यहीँ माटोमा गाडेर आफू समाधिस्थ भएपछि त्यसैबाट उम्रेको हुनाले बाँसको टुप्पो नभएको एक थरीको भनाइ छ । अर्कोथरि चाहिँ तान्त्रिक शिकारीले शिकार खेल्ने क्रममा मट्याङ्ग्रोले हान्दा बाँसको टुप्पो छिनालिदिएको हुनाले त्यसको टुप्पो हुन छाडेको हुन सक्ने भनाइ छ । तान्त्रिकको समाधि भएकैले गर्दा देउताको स्वरूप मानेर पूजा गर्न प्रचलन बसेको हुन सक्ने डा. न्यौपानेको तर्क छ ।
यहाँ मगर समुदायका पुजारीले कुखुराको भालेको मुटु कलेजो हेरेर जोखाना हेर्ने चलन रहेको बताइन्छ । बाँसमा टुप्पो नहुनु यहाँको विशेषता नै हो । वर्षमा एक पटक वैशाखे पूर्णिमाको अघिल्लो दिन हतियार लगाएर बाँस छिमल्ने चलन छ । तर, खडा रहेका बाँस छिमल्ने नभई वर्षभरिमा लडेपडेका, सुकेका तथा हावाहुरीले लडाएका बाँसहरूलाई छपान गरिन्छ र मन्दिरकै सुरक्षार्थ प्रयोग गरिने मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आले मगरको भनाइ छ । ति छिमलिएका बाँसका सिक्रा विजयपुरबासीले लिएर जाने गरेका छन् । जुन सिक्रा राख्दा भूतप्रेत तथा रोगब्याध नलाग्ने विश्वास गरिन्छ । विजयपुरबासी राजेन्द्र भण्डारी भन्छन्, ‘यहाँको सिक्रा घरमा लगेर राखेमा रोगब्याध नलाग्ने, भूतप्रेत नलाग्ने विश्वास गरिन्छ । हामी पनि लिएर जान्छौं र एक वर्षभरि घरमा राख्छौं ।’
वैशाखे पूर्णिमा र महानवमीका दिन बाँसको लिङ्गोसहित मगर पुजारीले आफ्नो घरबाट गहना पनि साथमै ल्याएर आउने गरेका छन् । जहाँ चाँदीका आँखा, त्रिशूल, धनुषवाँड, पङ्खा राखेर पूजा गरिन्छ । वैशाखे पूर्णिमाका दिन मन्दिर परिसर बेहुली झैं सिंगारपटार पनि गरिएको हुन्छ ।