“आज माघ १ गते । वर्षभरि ननुहाउनेहरूले नि पानी छर्कनुहोला है !”
बिहान सुरु भयो मेरो फेसबुक स्ट्याटसबाट ।
मेरो सँधैको बिहानी टर्रो चियाबाट सुरु हुन्थ्यो । हरित चिया । मेरी पत्नी रुक्मिणी चिया दिएर आफ्नो दैनिक कामधन्दा र माघीको तयारीमा लागी । म भने फेसबुकका अन्य गतिविधि नियाल्दै बसेको थिएँ ।
चियाको टर्रो स्वादजस्तै एउटा टर्रो कमेण्ट आइहाल्यो रुस्मिताबाट ।
उसले अंग्रेजीमा लेखी -“ल शुभकामना तिमीलाई पनि ।”
उसलाई सोधें च्याटमा,“के भयो ? नाम परिवर्तन एक्कासी ? कति दिन भो नबोलेको पनि । के भयो हँ ?”
अस्मिताले प्रश्नको जवाफ दिई,“थुक्क…” लेखेर ।
म विलखबन्दमा परें । फेरि लेखी,“कुक्कुर” !
लाग्यो, जिस्किरहेकी छे । तर फेरि लेखी,“गतिछाडा ।”
“ठीक छ । अरू दिन भए त स्वीकार्थें । आज त गाली नगर । कुकुर भएर त कसरी नुहाउनु ।”जिस्किने लयमा अंग्रेजीमा लेखें र पठाउन खोजें, तर भएन । उसले ब्लक गरिछे । कारण बुझ्नै नपाई ऊ अलप भई । यसैबेला ‘टिङ्ग’को आवाज आयो । ब्लक भएपनि रुस्मिताको कमेण्ट आएको रहेछ । हेरें,“जीउलाई होइन कुकुर-मनलाई पखाल ।” म झसङ्ग भएँ । किनकि यो रुस्मिता त ‘घरकी’ थिई जो ‘अर्की’सँग मिलिसकेकी थिई । रुक्मिणी र अस्मिता ‘रुस्मिता’ भइसकेका रहेछन् ।
मैले च्याटका अन्तिम शव्दहरू हेरें,“थुक्क……, कुक्कुर……, गतिछाडा….. ।
एकछिन गम खाएँ,उसले ठीकै भनेकी थिई । दिमाग क्लान्त भयो । केही पल म भावशून्य भएँ, कतै हराएँ ।
***
अन्नपूर्ण, मनास्लु, रारा, शे-फोक्सुण्डो, तिलिचोजस्ता रमाइला गन्तव्यहरूका लागि देशीविदेशी पर्यटकहरूलाई सहज बनाउने सानो कार्यालय थियो मेरो । यस्तै एउटा भ्रमणका लागि अस्मिताले मलाई सम्पर्क गरेकी थिई । उसको एकल अन्नपूर्ण पदयात्राको लागि मैले सहयोग गरेको थिएँ । र धन्यवाद दिनको लागि ऊ फेसबुके चौतारोमा मसँग गाँसिएकी थिई । उसँग सामाजिक, राजनीतिक, सांस्कृतिक विषयहरूमा बहस गर्न मजा आउँथ्यो । महिलाका विषयमा ऊ खरो उत्रन्थी । व्यक्तिगतस्तरमा पनि हामी एकआपसका धेरैजसो कुरा जान्दथ्यौं, सबैजसो नजाने पनि ।
“ग्रीन टी नखानुस् । यसले त प्रेशर घटाएर कमजोर बनाउँछ रे ।” ऊ सम्झाउँञी ।
“तर यो टर्रो स्वाद जिभ्रोलाई प्यारो भइसकेको छ ।” म भन्थें । र, अलिकति जिस्किएर थप्दिन्थें “मलाई अक्सर जीवन बँचाइ पनि टर्रो नै मन पर्छ । गुलियो भन्दा पनि ।”
“है । जीवन चैं कसरी टर्रो नि ?” ऊ वक्रभाषा बुझ्दिनथी ।
म भन्थें,“जस्तो कि तिमी टर्रो छौ र त मलाई मन पर्छ ।”
“हो, हो खूब ।” स्त्रीसुलभ रिसाइको इमोटिकन पठाउँथी ।
कथित अनलाइन कामहरू बोकेर म घर पुग्थें । घरका अफलाइन कामहरू पत्नीले नै गर्थी । म यस्तै विविध साथीहरूसँग गफिरहेको हुन्थें, विशेष गरी अस्मितासँग जिस्किरहेको । रुक्मिणी नजिक आउँदा हतपत ल्यापटपभरि माइक्रोसफ्ट एक्सेलको बडेमानको खाता देखाउँथे ।रुक्मिणी यताउता अलमलिएपछि म अस्मिताको मुस्कानको स्माइलीलाई जिस्काउँथें र भन्थें,“भो नदेखाऊ ती उछिट्टिएका दाँतहरू ।”
ऊ पनि जिस्किनमा समस्या मान्दिनथी । मेरा स्टाटसहरू उटपट्याङ पनि हुन्थे । कहिलेकाहीं यसमा तीखा कमेण्टहरू दिन्थी ऊ ।
एउटा स्टाटस यस्तो थियो मेरो - “सम्बन्धहरू डिपोजिट राख्नुस् । पछि यादहरू ब्याजको रुपमा मिल्नेछन् ।”
अरू कमेण्टको साथै बैंककी जागीरे रुक्मिणीले कमेण्ट गरेकी थिई उसकै बैंकमा डिपोजिट गर्न आग्रह गर्दै । केही साथीहरूले मलाई भेट्दा सोधेका थिए,“हैन, भाउजूले बुझ्नुभएन कि कसो ? यो त अलि अपाच्य भएन र ?”
“यसमा डराउनुपर्ने, लजाउनुपर्ने के नै छ र ? हरेक सम्बन्धहरू निर्वाह गरेपछि,अपनाएपछि, आखिर कुनै समयपछि ती यादहरू बनेर आउँछन् नै । सुख्खा रहनेको लागि न याद, न सम्बन्ध । बालुवामा न फूल फुल्छ, न त हरियाली छाउँछ । त्यसैले मरुभूमि जतिपल्ट गए पनि एउटै स्वरुपको हुन्छ । तर जङ्गलले हरेक भ्रमणमा नवीन अनुभूति दिन्छ । ती सबै सम्बन्धहरूको लगानीमा हुर्किएका ब्याजहरू हुन् ।” मैले यसैगरी सम्झाएको थिएँ ।
रुक्मिणीले कम्तीमा फेसबुकमा जे लेख्न पनि छुट दिएकी थिई । बरू अस्मिता जिद्दी गर्थी कहिलेकाहीं । ‘यस्तो पठित मान्छेले के लेखेको यस्तो ? हटाऊ त्यो ।’ र, म स्टाटस हटाउन पनि बाध्य हुन्थें ।
महिला दिवसको दिन मैले लेखेको थिएँ - “महिला स्वतन्त्रताको पहिलो शर्त विवाह बहिष्कार हो । जबसम्म राम्रो केटा खोज्ने र चैन गर्ने मानसिकता हाम्रो केटीगणमा, केटी-परिवारगणमा र समग्रमा समाजमा कायम रहन्छ तबसम्म महिला मुक्ति र स्वतन्त्रता सम्भव छैन ।”
अस्मिताले महिलावादको विषयमा कटाक्ष गर्नु स्वभाविक थियो । उसले एक घण्टा बहस गरी । “सृष्टिकर्ता, आमा, संसार-सञ्चालक, दयाकी खानी, ममतामयी देवी ।” शव्द खेलाउन ऊ पनि पोख्त थिई । स्त्रीप्रति अपमान गरेको आरोप खाएँ मैले, तर पनि ढीट रहें । किनभने वैवाहिक संस्थाको महिला-उत्पीडन हेर्न मलाई कुनै टाढाको गाउँ जानुपर्दैनथ्यो ।
स्तात्तकोत्तर पूरा गरेरपनि ‘नारी-पुरुष बराबर’को झीनो आभाष पनि थिएन मेरै घरमा । म टिभीको रिमोटलाई ‘खिचिक्क खिचिक्क’ पारी पारी कुनै एउटै च्यानलमा नअड्किई घण्टौं बिताउँथें । उसैगरी रुक्मिणी सिमीका कोसाहरूलाई ‘ठिनिक् ठिनिक्’ भाँच्दै हुन्थी छेवैमा । काउली वा साग केलाउँथी । आँसु निकाल्दै प्याज काट्थी । चामल पखालेर बसाउँथी । छतमा पानी सकिएको छ कि ? गमलाहरू सुख्खा छन् कि ? फोहोरहरू कतै कुनाकानीमा लुकेका छन् कि ? मेरो कमिजको घाँटीको भाग मैलो भइसक्यो कि ? तेल, नून, बेसार के के कति सकियो र बाँकी छन् ? सबै ख्याल गर्थी । र, पनि कुनै गुनासो बिना मेरासामु टर्रो स्वादको चिया र पाउरोटी लिएर हरेक बिहान उठाउन आउँथी ।
“यो टर्रो चिया पिउँदा पिउँदा तिमी पनि टर्रो भइसक्यौ” भनेर भन्दिनथी ।
साँझ म मेरो कार्यालयबाट उसको कार्यालय पुगेर उसलाई ल्याउँथें । बाटोमा हामी तरकारी बजार पस्थ्यौं र किनमेल गर्थ्यौं । ‘हामी’मा मेरो काम केबल उसले किनेपछिको तरकारी भएको झोला बोकेर छेउमा उभिनु मात्र हुन्थ्यो । ऊ मोलमोलाई गर्थी । पाँच रुपियाँ भए नि घटाउँथी । छानेर राम्रो बन्दाकोभी तौलिन्थी जतिबेला मेरा आँखा बन्दाकोभी जत्रै साहुनीका स्तनमा हुन्थे ।
घर फर्कँदा हामी दुवै कार्यालयका कामहरूको तनावले श्रान्त हुन्थ्यौं । तर रुक्मिणी केही खाजा बनाउँथी र पाकधन्दामा लाग्थी । परिकारका अनेक घेराहरू लगाएर, गिलासमा पानी र कचौरामा अचार समेत राखिसकेपछि बल्ल मेरो बोलावट हुन्थ्यो । म फेसबुके चौतारोमा गफिएर वा कुनै नवउटपट्याङ रचना पोष्टिएर उठ्थें । सपासप खाएर चुठ्थें । ऊ भाँडा बटुल्थी, बेसिनमा जम्मा पार्थी, माझ्थी र हात पुछेर कार्यालयका केही खुद्रा काम भ्याएर मात्र सुत्थी ।
प्रेमिल समयमा मैले भनेको थिएँ,“म मेरी प्रेमिका केबल मेरै होस्, तर मसँग हिंडिरहँदा भने दुनियाँले नजर लगाइरहोस् भन्ने पनि चाहन्छु । तिमी त्यसरी सजिएर, सिंगारिएर हिंड्नू; हेर्ने मान्छेहरू पनि केटो यस्तो अनाकर्षक, तर केटी भने हिरोइन पट्याएछ भनून् न ।”
मेरा यस्तो अचाक्ली चाहना वा अनर्थ इच्छाको उसले सदैव पालना गरी । तौलको ख्याल राखी । पहिरनमा ध्यान दिई । श्रृंगारका हर संसाधन खरिद गरी,र साँच्चिकै मसँग हिंडेको बेला अरूले थूक निल्ने नै बनाइदिई ।
गाउँबाट माइजू पर्ने आएकी थिइन् ।आमा, बुवा र ऊ गफिन थाले ।
“गाउँमा धान रोपियो होला, अब त…”- बुवा।
“छोरो कत्रो भो ? स्कूल हाल्देको कि ?- रुक्मिणी।
“खोलो बढेर यो पालि पनि दुःख दियो होला है असाराँ” -आमा।
“सबै तिम्रै जिम्मा त होला घरको काम, कि भाइले सघाउँछ ?” - आमा।
“साँची, लोकसेवा दिनुभयो हजूरले ? ऐले त आरक्षण बढाएको छ नि ।” - रुक्मिणी ।
घरमा मलाई अप्ठेरो भनेको गफ गर्नु नै हुने गर्थ्यो । म कुनै गफभित्र छिर्न सकिनँ । छिर्न सकिन्छ कि सोचें तर प्रविष्टिको कुनै साइत जुरेन । धान रोपे पनि नरोपे पनि हाम्रो घरमा भारतकै चामल चल्थ्यो । छोरो जत्रो भए पनि मसँग टेबल टेनिस खेल्न आउने थिएन । उसले पढ्न थाले पनि मसँग सोध्न वा गृहकार्य गराइमाग्न आउने थिएन । गाउँको खोलो जतिसुकै बढे पनि सयौं किलोमिटर टाढाको हाम्रो घरछेउ आइपुग्ने थिएन । यी यावत् जानकारी मलाई बहस गरेर चासो राख्नुपर्ने विषयजस्ता लाग्दै लागेनन् । रुक्मिणी आगन्तुक पाहुनाको स्वागतकोलागि गर्नुपर्ने कामहरू त टार्थी, टार्थी । मेरो गफविहीनताको अप्ठेरो पनि सम्हाल्थी ।आधा घण्टाको कुराकानीभरि मैले बेलाबेला टाउको हल्लाएँ, मुस्कुराएँ; आरक्षणको कुरामा मलाई एउटा स्टाटस लेख्न मन लाग्यो ।
“महिलालाई आरक्षणले होइन अधिकारले सुसज्जित पार ।”
अस्मिताको उत्निखेरै कमेण्ट आयो - “र, त्यसको छानबिन, छलकपट र छिनोफानो गर्ने अधिकार पुरुषलाई देऊ । हैन त ?”
म यिनै विषयवस्तु सँगालेर एउटा लेख छाप्न चाहन्थें । अनि छापिएको लेख फेरि फेसबुकमा चर्चा गरेर रमाउन पनि । बिक्ने विषय महिलावाद पनि थियो ।
दशैं सकिएपछि रुक्मिणीले सहेलीहरूको जमघट गराई घरमा, पतिहरूसहित । म उनीहरूका श्रीमानहरूसँग क्रिकेट, राजनीति र चीनले गरेको विकासबारे गफिन थालें । तर पत्नीहरू भान्छाकक्षमा हाम्रै कुरा काट्दैथिए, मैले ध्यान दिएँ ।
“तेरो भिनाजुको धेर नबोल्ने बानी छ । गमी हुनुहुन्छ । काम पर्दा चाहिं सघाउनु हुन्छ । थोरै बोल्ने तर सही बोल्ने क्या ।” रुक्मिणी ढाँट्दै थिई ।
उसका साथीहरू पनि श्रीमानका स्वादका बारे, भुल्ने बानीका बारे,खास परिकारप्रतिको आशक्तिबारे वा राति दाँत किट्ने वा घुर्ने बानीका बारे यसरी आलोचना गर्दैथिए कि त्यसमा आलोचनाको रङ कम र गौरवको रङ गाढा थियो । काकीहरू, फुपूहरू र माइजूहरूकायस्ता गफहरू धेरैपटक नेपथ्यबाट सुन्ने गरेको थिएँ मैले । तर काकाहरू, फुपाजुहरू, मामाहरू वा मेरा साथीहरू अर्थात् हामीहरू यस्तो भन्दैनथ्यौं -
“तेरी भाउजूलाई जुत्ता खोलेर दुईटै मिलाएर राखेको मन पर्छ ।”
“मुकुन्देकी ममीलाई मटनको मम भनेपछि अरु केही चाहिन्न ।”
“रेजिनालाई यो रेस्लिङ चैं मनैनपर्ने खेल हो ।” आदिआदि ।
त्यहाँ गफिंदै गर्दा फेसबुके चौतारोमा अस्मिताले व्यक्तिगत प्रश्न राखी । उसको यो चासो अनौठो थियो । दशैंभरि म उसँग रोमान्टिक भएकोले पो हो कि ?
“तपाईं म्यारिड् हो ?”
एकछिन सोचें । के भनूँ । उही वक्रभाषा आयो मगजमा ।
“मैले विवाह गरेको थिएँ तर ‘म्यारिड्’ होइन ।”
“हँ ?” उसले छक्क परेको स्माइली पठाई ।
सोचें, कोही ‘म्यारिड’ कसरी हुन्छ ? ‘मैले विवाह गरें’ भन्दा ‘म’ कर्ता भो ‘विवाह’ कर्म । अब ‘विवाह’ले ‘म’मा के गर्यो र ‘म’लाई कर्म बनाउनु ? व्याकरण नै मिलेन नि । ततक्षण भित्तोमा हामी दम्पतिको तस्वीर हेरें । रातो पहिरन र सिउँदोभरि सिन्दूरमा रुक्मिणी लजाएकी थिई; यो विवाहले गरेको थियो । मलाई हेरें; मलाई त विवाहले केही गरेकै रहेनछ ।
नारी-शरीरको आवरणलाई भने केही परिवर्तन अवश्य गर्छ विवाहले । भनिन्छ, विवाह मनैदेखि हुन्छ । म रुक्मिणीको शरीर हेर्छु र भोग्छु, तर के म उसको मनभित्र पस्छु त ? वा मेरो मनभित्र ऊ पस्छे र ? मन म्यारिड हुन्छ त ? अँहँ । मान्छेको मन र विचार म्यारिड हुनै सक्तैनन् । मेरो त स्वभाव पनि म्यारिड छैन । मैले निष्कर्ष निकालें ।
“मान्छे म्यारिड् हुनै सक्तैन नि । उसको व्यवहारमा अलिअलि र शरीरको आवरणमा अलिअलि विवाहको प्रतिच्छाया देखिने मात्रै हो ।” - मैले स्टाटसको रुपमा यो ठेलिदिएँ ।
सँगैका गफाडीहरूले त समर्थन गरिहाले । अस्मिताको कटाक्ष मुन्तिर आयो ।
“हो, खासमा म्यारिड हुने महिलाले मात्रै हो । पुरुष त सँधै भर्जिन नि ।”
यसपछि अस्मितासँग च्याटको सम्पर्क भएन । मैले पठाएका पचासवटा जति बूढीऔंलाहरू उसले हेरी, तर जवाफ दिइन । सायद उसको अपेक्षाभन्दा फरक पुरुष पात्र थिएँ म ।
***
च्याटमा एक्कासी ऊ फर्किएकी थिई तीन शव्दहरूमार्फत् - “थुक्क… कुक्कुर… गतिछाडा ।” यी शव्दहरू हेर्दाहेर्दै मलाई भाउन्न छुटेको थियो र म सायद भूँइँमा लडेको थिएँ ।
उठ्ताखेरि म कोहीसँग बोलिरहेको थिएँ । ऊ मलाई सम्झाउँदै थियो ।
“तिम्रा कुरा म लेखिदिन्छु । जम्मै । जस्ताको तस्तै ।”
मैले भनें,“रुक्मिणीसँग माफी चाहन्छु । अस्मितासँग पनि । र, रुस्मिताहरूसँग ।”
उसले जम्मै कुराहरू सुन्यो । र, भन्यो,“अब म जानुपर्छ । मलाई सबैले खेदो खन्छन् ।
कुकुरहरूसँग बोल्न मन लाग्छ, म कुकुरको भाषा बुझ्छु नि । तर यस्तो भन्दा मान्छेहरू पागल भन्छन् ।”