चीनको वुहान उद्गम स्थल मानिएको कोरोनाको प्रभाव आज विश्वभर सोचेभन्दा द्रुत गतिमा विस्तार भइरहेको छ । यस प्रकारको महामारी हाम्रो कल्पनाभन्दा पनि बाहिरको भएकोले के गर्ने र कसरी यसबाट मुक्ति पाउने भन्नेमा विषयमा विश्वका शक्ति सम्पन्न मुलुकहरूले समेत कुनै उपाय नपाइरहेको अवस्थामा हामीले पाउन सक्यौ भने त्यो कुनै अद्भूत चमत्कार भन्दा कम हुने छैन ।

हामीले शुरुमै यो रोगलाई महामारीको रूपमा आँकलन गर्न सकेर अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सकेको भए हामी पूर्णरूपमा सुरक्षित रहने थियौ, अनि देशभित्रको कुनै पनि क्षेत्र लकडाउन गर्न पर्दैन थियो, आर्थिक, शैक्षिक लगायत सम्पूर्ण क्षेत्रहरू सुचारू हुने थियो भन्नेहरूको पनि कमी छैन । कहिलेकाहीँ यस्तो लाग्छ, हामी नेपालीहरू जन्मैदेखि राजनीतिक रूपले धेरै सचेत रह्यौ अर्थात् हरेक विषयमा आफ्नो अग्रिम धारणा बनाउछौ जे कुरालाई पनि नकारात्मक रूपमा मात्र लिन्छौ । यही कोरोनाकै विषयमा समेत एकाथरी मानिसहरूको भनाइ कोरोनाको कारणले सृजित लकडाउनले गर्दा भोखमरी जन्य रोगका कारण धेरैले ज्यान गुमाउनु पर्छ त्यसैले लकडाउन गर्नै हुन्न, अनि भोलि सरकारद्वारा चालिएका कदमले भाग्यवश हामी सवै सकुशल रहन सफल भयौ भने उनीहरूकै कुरा ठूला बिना कारण लकडाउन गरेर अर्थतन्त्र ध्वस्त भयो । अर्काथरी भन्छन्, हैन आर्थिक रूपमा मुलुक जेसुकै होस् बाँचे पछि आर्थिक समृद्घि हासिल गरिएला कोरोनाको औषधि, खोप तयार नहुञ्जेलसम्म लकडाउनलाई अझ कडा गर्नुपछ र भोलि दुर्भाग्यवश यही कोरोनाको कारणले कसैले मृत्यु नै वरण गर्नु पर्यो भने फेरि यिनै मानिसहरू सरकारलाई नै दोष दिन्छन् र भन्छन् लकडाउन खुल्ला गर्नै नहुने । तर यि दुवै भनाइलाई समेत मध्यनजर गर्दै सरकारले देशको आर्थिक अवस्था, यो दुई महिनासम्ममा कोरानाले पारेको असर र रोगको पहिचान भएको क्षेत्र, बिरामीको अवस्था आदिलाई मध्यनजर गर्दै जे जसरी आशिंक रूपमा लकडाउनलाई खोल्ने तयारी गरेको छ यो प्रशंसनीय छ र अब विस्तारै अझ खुकुलो पार्दै लानेमा आशा एवं विश्वास लिन सकिन्छ ।

देशले उच्च आर्थिक वृद्घिको प्रक्षेपण गरिरहेको समयमा एक्कासी कोरोना महामारीको रूपमा देखा पर्दा पक्कै पनि आर्थिक वृद्घिको अंक अहिले नै आँकलन गर्नु केवल मजाक सिवाय केही हुने छैन । तथापि हाम्रो कुल गार्हस्थ्य उत्पादनमा (जीडीपी) मा कोरोनाको कारणले सबैभन्दा बढी असर पारेको पर्यटन क्षेत्रको योगदान न्यून मात्र रहेकोले त्यसैको कारणले धेरै असर गर्छ भन्नेभन्दा पनि यस महामारीले हरेक क्षेत्रलाई केही न केही असर पु¥याएकै छ । त्यै पनि हामीले यस मानेमा केही हदसम्म सन्तोषको सास फेर्नुपर्छ कि यो आर्थिक वर्षको ८ महिना १० दिन हामीले हरेका क्षेत्रलाई निर्वाध रूपमा सञ्चालन गर्न सफल रह्यौ जसले गर्दा इमान्दारीपूर्वक भन्नुपर्दा यो आर्थिक वर्ष केही क्षेत्रलाई छोडेर ठिकठाकै जाने आँकलन गर्न सकिन्छ । अब यो लेखलाई विशेष गरी बैंकिङ्ग क्षेत्रतर्फ केन्द्रित गर्न चाहन्छु किनकि बैंकिङ्ग क्षेत्र भन्नासाथ अन्य सम्पूर्ण आर्थिक क्रियाकलाप गर्ने उद्योग, व्यापार खानीलगायत सम्पूर्ण क्षेत्रहरू नै यससँग स्वतः जोडिएर आउनेछन् ।

हाल देशमा शुरु भएको लकडाउनले आजका दिनसम्म आइपुग्दा ४७ दिन पूरा गरेको छ । यो अवधिसम्म धेरै हदसम्म उद्योग, व्यापार, व्यवसाय, शैक्षिक संस्थालगायत पूर्णरूपमा बन्द अवस्थामा रहेका छन् । ति उद्योगी, व्यवसायीहरूको आम्दानी धेरै हदसम्म शून्य प्रायः छ भने खर्च करिबकरिब उही हाराहारीमा छ । अब यस्तो अवस्थामा के गर्ने भन्नेमा उहाँहरूमा एक प्रकारको तनाव हुनु स्वभाविक नै हो । होटल उद्योगहरूले ६ महिनालाई होटल बन्द गर्ने, कर्मचारीको तलब १२.५० प्रतिशत मात्र प्रदान गर्ने लगायतका विभिन्न निर्णयहरू गरेको सुन्न थालिएको छ । त्यसै गरी एयरलाइन्स कम्पनीहरूले पनि कर्मचारीहरूको कटौती, पारिश्रमिकमा ह्रासलगायतका अनेकानेक उपायहरू अवलम्बन गरको सुन्नमा आएको छ । यि र यस्ता अल्पकालीन योजना कत्तिको कार्यान्वयन होला त्यो त भविष्यले नै बताउँला तर विगतमा कहिल्यै नभएको फुर्सद जो आज उहाँहरूलाई मिलेको छ, यस्तो अवस्थामा केही यस्ता उद्योगी व्यवसायीहरू प्नि हुनुहुन्छ जो भोलिका लागि दीर्घकालीन योजना बनाएर बस्नु भएको छ । जब यो महामारीमा केही कमी आउँछ उहाँहरू योजनाका साथ फुत्त बजारमा आउनुहुन्छ, हो भविष्य उहाँहरूकै लागि हो ।

अब मुख्य विषयतर्फ प्रवेश गरौं, अहिले केही उद्योगी व्यवसायीहरूले ब्याज छुटको विषय निकाल्ने, केहीले बचतकर्तालाई शून्य ब्याज प्रदान गरौं अनि कर्जाको ब्याजदर ३.४ प्रतिशतको हाराहारीमा ल्याउँ भन्नुभएको भन्ने कुरा पनि सुन्नमा आएको छ । यसरी देशमा रहेका करोडौ बचतकर्ता, जो आर्थिक रूपमा पनि मध्यमस्तका छन् उनीहरूलाई मुद्रास्फितीभन्दा कम हुने गरी ब्याज दिनु भनेको बचतकर्ताहरू प्रतिको बेइमानी हो भन्दा फरक नपर्ला । अनि अहिलेको अवस्थामा सम्पूर्ण क्षेत्रहरू घाटामा जान हुने अनि बैकिङ्ग क्षेत्रमात्र नाफामा जानुपर्ने के छ, त्यसैले बैंकले ब्याज लिनु भएन भन्ने आवाज पनि यदाँकदा सुन्नमा आएकै छ । के उहाँहरुको माग ठिक छ त ? पहिलो बचतकर्तालाई ब्याज नदिने भन्ने जुन कुरा छ, के यी उद्योगी व्यवसायीका लागि ति करोडौं सर्वसाधारणले खाईनखाई राखेको बचतवाट योगदान दिनुपर्ने अवस्था हो त ? पक्कै होइन त्यसैले पहिलो विषय शुरुमै मान्न सकिने देखिँदैन । त्यसै गरी बैंकहरूले सधै नाफा नै कमाई रहनुपर्छ भन्ने छ र ? भन्ने प्रश्नको उत्तर जान्नुभन्दा पहिला म यो सोध्न चाहन्छु कि यहाँहरू मध्ये को–को हुनुहुन्छ जो बैंक घाटा मै जाओस् वा डुब्नै लागोस् म त्यै बैंकमा पैसा राख्छु भन्ने ? यसको उत्तरमा एकजनाको उत्तर पनि सकारात्मक आउँछ, मलाई त्यस्तो लाग्दैन । त्यसैले बैंक नाफा आर्जनका साथ सर्वसाधारणको विश्वासले मात्र चल्ने संस्था हो, अनि बैंकले सम्पूर्ण हिसाबकिताबहरू परदर्शी रूपमा राखेर जहिल्यै नाफामा संचालन हुन प्रत्यत्न गर्छ ।

त्यतीमात्र होइन हरेको वर्षको नाफाबाट कम्तीमा २० प्रतिशत रकम कहिल्यै नबाँढ्ने गरि रिजर्भमा छुट्याएर पनि राख्छ । हो यसरी उच्च पारदर्शी हिसाबमा चलेका, उच्च मात्रामा रिजर्भ भएका बैंकहरूको समेत पूँजीको प्रतिफल १०.१२ प्रतिशतभन्दा बढी हुन सकेको छैन भने यसमा धेरै विवाद गर्नुपर्ने देखिँदैन । तथापि हालको विषम परिस्थितिमा बैंकहरूले चाहिँ आफ्नो नाफाको केही अंश त्याग्नै हुँदैन भन्ने पनि होइन । नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायतका निकायले कोरोनाको महामारीको कारणले कुनकुन क्षेत्रले केके सुविधा दिने भनेर निर्देशन दिएको सबैलाई जानकारी नै छ । त्यो मध्ये छुट दिन लागू गर्ने सरकारी निकाय बाहिरको हेर्ने हो भने बैंक मात्र हो कि ? अरू कुनै निकायले पनि दिएका छन् ? यसतर्फ पनि मनन गर्न जरुरी छ । बैंकहरूले चैत महिनाको किस्ता तिर्ने ग्राहकहरुको १० प्रतिशत ब्याज फिर्ता गरिसकेको अवस्था छ । अन्य निकायहरूले तोकेको छुटहरू कतिले प्रदान गरेका छन् कसैले चासोसमेत लिएको पाइँदैन । त्यति मात्र होइन बैंकहरूले कोरोनाको अवस्था सृजना भएपछि प्रवाह गर्ने अधिकांश सेवासुविधाहरू निःशुल्क समेत गरिसकेको अवस्था छ, जसको कारणले बैंकहरूको वार्षिक वित्तीय विवरणमा प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ र नाफामा ठूलो मात्राको संकुचन आउने पक्का छ ।

यसै गरी केही उद्योगी, व्यवसायीहरू अहिलेको अवस्थामा साच्चै नै मारमा हुनुहुन्छ, तपाईंहरू त्यो उद्याोग व्यवसाय भोलिका दिन सञ्चालन गर्न सक्ने अवस्थामा पनि नहुनुहोला, खासगरी साना तथा घरेलु उद्योग सञ्चालकहरू अनि विपन्न वर्ग कर्जा उपभोग गर्ने ग्राहकहरू । यो महामारी बिरुद्घमा तपाईं उद्योगी व्यवसायी , बैंक , निक्षेपकर्ता अनि सरकार मिलेर मात्र जित हासिल गर्न सकिन्छ न कि एक आपसमा दोषारोपण गरेर । हामी सबैको इमान्दार प्रयासको त्यतिकै खाँचो छ, कतिपय उद्योगी व्यवसायीहरू वर्षौंदेखि राम्रो मुनाफामा सञ्चालनरत हुनुहुन्छ अनि अहिले २.३ महिना व्यवसाय बन्द भयो भनेर फेरि सुविधा नै खोज्ने, अनि कोही जागिरदार हुनुहुन्छ तलब लगातार आइरहेको छ अनि बैंकको कर्जा तिर्न ढिलासम्म पाइहालिन्छ नि भनेर ढिला गर्ने यि र यस्ता कार्यले कसैको राम्रो गर्दैन । अहिले म, मेरो भन्नेभन्दा पनि हाम्रो भन्ने भावनाका साथ कसले कहाँ त्याग गर्नु पर्ने हो ? को साच्चैको पीडित हो ? हरेकले आआफ्नो ठाउँमा बसेर इमान्दारीपूर्वक कार्य ग¥यौ भने योभन्दा ठूला समस्यालाई पनि सजिलै पार लगाउन सक्छौ ।

बैंक भनेको बास्तवमा तपाईंको मित्र नै हो, जबसम्म तपाईंले प्रगति गर्नुहुन्न तबसम्म बैंकले प्रगति गर्न सक्दैन त्यसैले कहाँकहाँ समस्या छ बसौ छलफल गरौं जस्तासुकै विषम परिस्थिति माथि विजय हासिल गर्न सकिन्छ तर हरेक अवस्थामा आफ्नो मात्र फाइदाको लागि अरूलाई मार पार्न खोजियो भने यस्तो अवस्थावाट उन्मुक्ति पाउन सकिँदैन । बास्तवमा तपाईं उद्योगी व्यवसायीहरू जोसँग आज पनि बैंकको ब्याज किस्ता तिर्ने अवस्था छ तिरीहाल्नुस्, असारसम्मको समय छ भनेर ढिला नगर्नुस् । तपाईंले एकाध महिना पछाडि तिर्दा त्यो तिरेको पैसाको त्यही एकाध महिनाको ब्याज जोगिने मात्र हो तर त्यती तपाईंले वहन गरिदिँदा बैंकको नजरमा तपाईं सधै उत्कृष्ट ग्राहकमा दर्ता हुनुुहुनेछ जसको मतलव तपाईंको त्यागको कैयौ गुणा बढी तपाईंले बैंकबाट प्राप्त गर्नुहुन्छ । त्यसैले तत्काल देखिने सानातिना लाभहानीमा अल्झिनुभन्दा दीर्घकालीन सोँच विकास गरौं । त्यसै गरी बैंकहरूले यथार्थमा हाल तिर्न नसक्ने ग्राहक तथा अझ अहिले थप रकम आवश्यक पर्ने ग्राहकको पहिचान गरी उहाँहरूको आवश्यकता वमोजिम सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्नेदेखि अन्य के गर्न सकिन्छ सदासहायतापूर्वक गर्नुपर्ने देखिन्छ ।

अन्तमा, यसरी विश्व जगत्मा देखिएको महामारीले हामी मानव जगत्लाई केही सिक्ने मौका समेत प्रदान गरेको छ । हामीले आजसम्म गरी आएका कामहरूको समीक्षा गर्ने समयावधि दिएको छ, त्यसलाई भरपूर सदुपयोग गरौं । म मेरो भन्नेभन्दा समाज र राष्ट्रको बारेमा सोचौं । आफू पनि सुरक्षित रहौं, अरूलाई पनि सुरक्षाको प्रात्याभूति दिलाऔं, यो सुरक्षित रहने भनाइ अझ फराकिलो दायरामा ल्याएर आर्थिक रूपमा समेत आफू सुरक्षित रहौं र अरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाऔं । यस महामारीको कारणले वैदेशिक रोजगारीमा रहनुहुने हाम्रा दाजुभाइ दिदीबहिनीको स्वदेश फिर्ताले उहाँले आर्जित सीप प्रविधिले देशले आर्थिक फड्को मार्ने आशा तथा विश्वासका साथ यस महामारीबाट हामी नेपाली मात्र नभएर सम्पूर्ण विश्वले छिट्टै मुक्ति पाओस् भन्ने कामना समेत गर्दछु ।

(लेखक मितेरी डेभलप्मेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ र यस लेखमा उल्लेखित विचार उहाँका निजी हुन्)