दिनभरि विद्यालय गएर अध्ययन गर्ने खेल्ने बालबालिका अहिले दिनभर घरमै बसिरहेका छन् । चैत्र ११ गतेबाट मुलुक लकडाउनमा छ । लकडाउन पहिलेदेखि नै बन्द रहेका विद्यालय र विश्वविद्यालयको शिक्षण सिकाइ कार्य सञ्चालन हुन नसकेका कारण सबै विद्यार्थी, शिक्षक, अभिभावकहरू सल्बलाउन थालेका छन् । यसका साथै सरकारले समेत आफ्नै गतिमा कार्य गरिरहेको छ ।
अनेक उपायहरू खोजिरहेको भए पनि सुझाउने मात्र देखिन्छन् । समसामयिक विषयमा निकै महत्त्वका साथ चर्चा गर्ने नेपाली बानी यसपालिको लकडाउन अवधिमा भर्चुुअल कक्षाको वकालतमा देखिएको छ । यसक्रममा विशेषगरी नेपाल शिक्षक संघ, प्रविधिमैत्री शिक्षक समाज, नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) र नेपाल राष्ट्रिय शिक्षक संगठनका विभिन्न तहका समितिहरूबाट जुम मिटिङ र गुगल क्लास रूमका माध्यमबाट आवद्ध र सूचना प्रविधिप्रति रूचि र पहुँच भएका शिक्षकहरूका सहभागितामा विभिन्न अवधिका कक्षा सञ्चालन भैरहेका छन् । यो क्रम बढ्दै गएको छ । ई–कक्षाहरूमा विषयगत, संस्थागत र सरकारी नेतृत्वदायी व्यक्तिहरूबाट सहजीकरण भएका छन् । ई–कक्षाहरूमा सूचना प्रविधि अर्थात् डिजिटल एप्लिकेशनहरूको प्रयोगका बारेमा चर्चा भइरहेका छन् । केही नमुना अभ्यास पनि भइरहेका छन् ।
पावर पोइन्ट निर्माण, फोटोसप आदि प्रोग्रामका बारेमा अभ्यास पनि नभएका होइनन् । अन्य विभिन्न अनलाइन शिक्षणका साधनहरूका बारेमा परिचयात्मक अभ्यास भइरहेका छन् । त्यसै गरी यी कक्षाहरूमा शिक्षणका जेनेरिक विधिहरूमा बढी र विषयगत शिक्षण विधि, फरक क्षमता भएका विद्यार्थीहरू र साना बालबालिकाहरूका बारेमा कम चर्चा भएका छन् । उमेरअनुसार शारीरिक, मानसिक तथा सामाजिक अवस्थाको विकास नभएमा यसले बालबालिकामा डिप्रेशन, गलत सोचाइ, सामाजिक अपराधजस्ता समस्या ल्याउन सक्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्रा.डा. सरोज ओझा भन्नुहुन्छ । बालबालिकाको उमेर पढ्ने, खेल्ने, मनमा लागेका विभिन्न काम गर्ने हो । कोभिड १९ को महामारी फैलिँदै जाँदा यी नियमित प्रक्रियाबाट वञ्चित भएपछि अहिले उनीहरूको ध्यान मोबाइल र इन्टरनेटमा छ ।
यसले गर्दा खानपिनमा ध्यान नदिने, अभिभावकसँग झर्कने, झगडा गर्ने र कुनामा गई बस्ने समस्या देखिन सक्छ । चाहेअनुसार बाहिर खेल्न नपाउँदा रिसले सामान फुटाउने गरेको पनि पाइएको छ । पढाइमा समेत ध्यान दिन नसक्ने र भविष्यको चिन्ता, डर र त्रासले सशंकित भएको पनि भेटिएको छ । डा. ओझा भन्नु हुन्छ, ‘मेरो नानी बाबु हतास हुने, डराउने, तर्सिने, नखाने, झगडा मात्र गर्ने, भाग्न खोज्ने गर्छन् म के गरूँ डाक्टर साप भन्दै धेरै अभिभावकले सल्लाह माग्न थालेका छन् ।’ (स्रोतː युनिसेफ) तीन वर्षभन्दा मुनिका बालबालिकाको उमेर स्वास्थ्यको हिसाबले अलि संवेदनशील मानिन्छ । उनीहरूको स्याहार सुसार, खानपिन, स्वास्थ्य र सरसफाइ, संरक्षण जस्ता विषय महत्त्वपूर्ण मानिन्छ । अहिले संसारैभर बढेको सन्त्रास र लामो लकडाउनले बालबालिकाहरूमा बेचैनी र विषाद (डिप्रेसन) बढ्ने सम्भावना छ । यस्तो अवस्था बढ्न नदिन बेलैमा विद्यालय संचालन नगरिएमा अबको भविष्य कस्तो होला ध्यान जानु पर्दछ ।
कतिपय प्रयासमा पाठ्यक्रम एकातिर छ काम अर्कैतिर । पाठ्यवस्तु, पाठयोजना, पाठ्यउद्देश्य जस्ता प्रमुख पक्षहरू समेटिनु पर्ने हुन्छ । अधारबिनाका शैक्षिक वहसहरूले मात्र हुँदैन । हाम्रो प्रयासले लक्षित वर्गसम्मको पहुँचको अवस्थाको बारेमा अनुसन्धानबिना निरन्तरता दिनुले रहरमात्र पूरा हुन सक्छ, लक्ष्य पूरा हुँदैन । त्यसैले लक्षित समूहलाई गुगल फारम भर्न लगाई सर्वेक्षण गर्दै बढ्नु पर्दछ । पहुँच नपुगेकाहरूका लागि अर्कै विकल्प खोज्नु पर्दछ । कक्षा १–५ का बालबालिकालाई न प्रविधिको सुबिधा छ न त पाठ्यपुस्तक नै । अझ विपन्न समुदायलाई कुनै चिन्ता नै देखिँदैन । बिहान बेलुका खान र एकसरो लाउनको मात्र चिन्ता छ ।
पेशागत तथा सरकारी नेतृत्वकर्ताहरूका सल्लाह, परामर्शका साथै शिक्षामन्त्री, सचिवसमेत सहभागी बनेर समसामयिक जिज्ञासाका बारेमा जानकारी गराइएको भए तापनि केही नीतिगत तहमा, केही डिजिटल प्रविधि र केही विषयगत शिक्षण विधिका बारेमा प्रस्तुतिको औपचारिक पाठ्यक्रम, विधिवत दर्ता तथा सहभागी प्रमाणीकरण र त्यसको मान्यताका सम्बन्धमा हल्ला मात्र छ । कुनै आधारबिना संस्थागत प्रयासमा भएका यी कक्षाहरूबाट समेत धेरै शिक्षकहरू लाभान्वित हुने कुरामा दुई मत नहोला तर डिजिटल प्रविधिको फुटकर ज्ञान र विशेषगरी डिजिटल शिक्षण प्रविधिमा रहर जागेका सहभागी शिक्षकहरूले त यसप्रकारको उत्साहित भावनाबाट उत्प्रेरित भई गरिएका प्रयासको प्रशंसा गर्नै पर्दछ । बालबालिकाहरू समेत नयाँ अभ्यासमा अकर्षित भएका छन ।
यसरी एकातिर इन्टरनेटको पहुँच र उपलव्ध जनशक्तिका आधारमा भर्चुुअल कक्षा संचालनले अनलाइन कक्षाको प्रभावकारिताको प्रश्न उठेको छ भने अर्कोतिर हाम्रो देशमा विद्युत् आपूर्ति र इन्टरनेटको अति कममात्र सुविधा छ । यी साधनको पहुँच र गुणस्तर कमजोर भएका कारण केही सीमित संख्याका विद्यार्थी बाहेक आमरूपमा भर्चुुअल कक्षामा विद्यार्थीको सहभागिता र सिकाइ न्यून छ । नेपालमा प्रयोग हुने इन्टरनेटको अधिकांश हिस्सा मोबाइलमा डेटा प्याकको आधारमा हुने गरेको सन्दर्भमा शिक्षण सिकाइका लागि डेटा खरिद गर्ने क्षमता धेरै नेपालीको छैन । शिक्षण सिकाइ प्रक्रिया फेसबुक हेरेजस्तो सजिलो पनि होइन । कतिपय सामग्री अपलोड र डाउनलोड गर्नुपर्ने भएकाले छिटो गतिको गुणस्तरीय इन्टरनेट सेवा आवश्यक पर्दछ । यसप्रकारको इन्टरनेट सेवा विस्तार भएको छैन । शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेकोले अहिले चलेका जुम मिटिङ कक्षाहरूमा समेत सीमित व्यक्तिको सहभागिता पाइएको सञ्चालकहरू बताउँछन् । यसरी नेपालमा अहिले संचालित अनलाइन कक्षाका लागि अपायक शिक्षक तथा विपन्न विद्यार्थी दुवै पक्षको सहज पहुँच छैन ।
अनलाइन कक्षा सञ्चालनका लागि सीप र साइबर सेक्युरिटीको ज्ञान आवश्यक पर्दछ । मिटिङ आयोजकबाट र सहभागीबाट प्रविधिको ज्ञान नभएका कारण कक्षामा सहभागी हुने सामान्य अनुशासनसमेत पालना भएको देखिएन । केही शिक्षकहरूले शिक्षकलाई डिजिटल कक्षा शिक्षण सीप सिकाउन सकिने हिम्मत छ तर डिजिटल साधनहरूको पहुँचको समस्या अहिले तत्काल समाधान हुन सक्ने परिमाणमा छैन । लकडाउनको समय शिक्षक साथीहरूका लागि पाठयोजना, विभिन्न कक्षाका प्रश्नहरू निर्माण, शैक्षिक सामग्री निर्माणका साथै पहुँच भएको अवस्थामा विभिन्न भर्चुअल एवम् डिजिटल प्रविधि सीप विकास गर्ने अवसरका रूपमा उपयोग गर्नु राम्रो हो । प्रविधिको पहुँच छैन भने पठनसामग्री अध्ययन र विश्लेषणमा लाग्न समय प्राप्त भएको छ ।
नयाँ शैक्षिक सत्रको समय बित्दै गएको छ । विद्यार्थीमा बेचैन बढिरहेको छ । अभिभावकहरू दिनमा एउटै प्रश्न शिक्षकहरूलाई सोधिरहनु भएको छ । यो विषम परिस्थितिमा बालबालिकालाई टेलिभिजन र रेडियोमार्फत् कक्षा शिक्षण गर्नुपर्ने सुझाव आइरहेका छन् । अहिले सरकारले एनटिभिबाट शिक्षण कार्य सञ्चालन गरिरहेको छ । स्थानीय सरकारका सहयोग र स्वयंसेवी भावनाबाट कतिपय स्थानीय टेलिभिजन च्यानल र एफएम रेडियो स्टेसनको सहकार्यमा शिक्षण कार्य सञ्चालन भएको छ । बास्तवमा हरेक कक्षाका लागि केही आधारभूत ज्ञान केन्द्रित तोकिएको पाठ्यक्रमअनुसार केही विषयवस्तु छनौट गरी स्थानीय रेडियोहरूबाट कक्षा सुरु गर्नुपर्ने आवश्यकता छ । यसो गर्न सकिएमा शैक्षिक सत्रको सुरुवात हिसाब गर्न सकिने र बालबालिकाहरू पनि औपचारिक तरिकाले केन्द्रित हुने वातावरण बन्न सक्छ ।
बालशिक्षादेखि कक्षा ३ सम्मका पुस्तक सामग्री पनि सरकारले तयार गरेको छ । कक्षा चार र पाँचका लागि समेत केही सामाग्रीहरू तयार छन् । तर यी सामग्री डाउनलोड गरेर हेर्ने वा प्रिन्ट गरेर कार्य गराउने अभिभावकको अवस्था प्रविधिको पहुँच र उपयोगको सीप सबैमा नभएका कारण प्रभावकारी होला भन्न सकिने अवस्था छैन । केही वैकल्पिक उपाय अपनाउन ढिलो भएको छ । नयाँ कक्षासम्बन्धी अन्यौल छ । तसर्थ सरकारले विद्यालयहरूलाई अनलाइन अथवा अफलाइन जेजस्तो भए पनि कक्षा संचालनको अनुमति दिनु र सुरक्षित दूरी कायम गरी पाठ्यपुस्तक वितरण तुरून्तै गर्नु आवश्यक छ । यो विषम परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारको भूमिकासमेत प्रष्ट छैन । रोग फैलने त्रास र बचावटका उपायहरूमा केन्द्रित छ सरकार तसर्थ यो अस्तब्यस्तताको अन्त्यका लागि सुरक्षित दूरी कायम गरी, बाँकी रहेका परीक्षा संचालन, नतिजा प्रकाशन, पाठ्यपुस्तक वितरण र नयाँ सत्र सुरुवात गर्नु आवश्यक देखिएको छ ।
नयाँ शैक्षिक सत्रको सुरुवात साथ केही नियमन आवश्यक छ । जुनजुन विद्यालयमा भर्चुअल शिक्षणको संभावना छ, जहाँजहाँ टेलिभिजन र रेडियो शिक्षण सम्भव छ, यी भर्चुअल, टेलिभिजन र रेडियो कार्यक्रमका लागि छोटो अवधिको पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रम, विषयवस्तु, शिक्षण सिकाइ प्रक्रिया, मूल्याङ्कन आदिमा लचकता अपनाउने, विद्यालयहरूले नतिजा प्रकाशन गर्न सुरु गरेसँगै पाठ्यपुस्तक नपुगेमा घर वा छिमेकका दाजुदिदीहरूको पुस्तक मागेर हेर्न लगाउने कार्यहरू गराउन सकिन्छ । कहिलेकाहीँ बालबालिकाको इच्छाअनुसार गीत, कविता, कथा, चित्रआदि सिर्जना गर्न लगाउन सकिन्छ । घर बसाइ अनुभव लेख्न लगाउन सकिन्छ । यस्ता क्रियाकलापमा संलग्न भएको दैनिकी प्रतिवेदन लेख्न लगाउन सकिन्छ । यस्ता धेरै क्रियाकलापका बारेमा सोचौं र बालबालिकालाई सहभागी गराऔं । केही समयको विश्रामपछि कसरी बालबालिकालाई ज्ञानवर्दक क्रियाकलापमा संलग्न गर्न सकिन्छ, यसतर्फ सरकार, शिक्षक र अभिभावक सबैले आआफ्नो भूमिका खेल्नु आवश्यक छ ।
विषम परिस्थितिसँग अनुकूलनका लागि सबैले कार्य गर्नुपर्दछ । बालबालिकालाई कुनै कार्यमा सहभागी नगराई लामो समयसम्म कामविहीन राख्नु अत्यन्त घातक हुनेछ । तसर्थ यस्ता वैकल्पिक सिकाइ कार्यमा संलग्न गर्नका लागि अभिभावकलाई उत्प्रेरित गर्ने, सम्भव भएको साधन प्रयोग गरी ज्ञानवद्र्धक कार्यमा संलग्न गर्नका लागि स्थानीय ठाउँका शिक्षकहरूले भूमिका खेल्नुपर्ने देखिन्छ । यसका साथै स्थानीय रेडियोमार्फत् यसप्रकारका क्रियाकलापको व्यापक प्रचारप्रसार आवश्यक छ । बिना पूर्वाग्रह सरकारी निजी, अंग्रेजी, नेपाली माध्यम, आफ्नो अर्काको विद्यालयको विद्यार्थी नभनी सम्भव भएसम्म स्थानीय शिक्षक परिचालन र क्रियाकलाप निर्माण गरी सुझाव दिनका लागि स्थानीय गाउँ तथा नगरपालिकाले स्थानीय जनशक्तिलाई उपयोग गर्नु सान्दर्भिक देखिन्छ । सुरक्षित दूरी कायम गरी, थोरै संख्या र सिफ्ट (सत्र) व्यवस्थापन गरेर संचालन गर्न सकिन्छ कि ? बहस जरूरी छ ।