• तुलसीप्रसाद दुलाल

अनलाइन शिक्षणमा वास्तविक समयको कक्षा तथा कुनै पनि समयमा विद्यार्थीले आफै सिक्ने पद्धतिको प्रयोग गरिएको हुन्छ । अनलाइन शिक्षणमा सिन्क्रोनस र असिन्क्रोनस दुइवटा पद्धति सँगसँगै अगाडि लैजानु अनिवार्य हुन्छ । शिक्षक सहजकर्ताको रुपमा रहेर सिकारु समक्ष भौगोलिक रुपमा फरक स्थानमा बसि कुनै खास तोकिएको समयमा कुनै खास तोकिएका विषयमा मात्र कक्षामा जस्तै पठनपाठन गर्ने गरी उपस्थित हुनु सिन्क्रोनस हो तरविद्यार्थीले आफुलाई अनुकूल हुँदा र मन लागेको समयमा मात्र पाठ पढ्ने वा तोकिएका कामहरु गर्ने असिन्क्रोनस विधि हो ।

ईण्टरनेट र सूचना प्रविधिको विकास हुनुपूर्व नै प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा विद्यालयमा भर्ना भई अध्ययन गर्न नसक्नेहरुका लागि पत्राचार, रेडियो र टेलिभिजनबाट दूर शिक्षा तथा खूला सिकाइका अवसर र विधिहरु प्रचलनमा थिए । त्यतिमात्र काहँ हो र क्रिस्चियनधर्मको प्रचार समेत बुक पोष्ट गरि बिभिन्न पाठ्य सामाग्रीहरू पठाइने गरिन्थ्यो । ईण्टरनेट र प्रविधिको विकास भए पछि अनलाइन सिकाइ, भर्चुअल सिकाइअनलाइन परीक्षा जस्ता थुप्रै अवधारणाहरु विकास भए र भइरहेका छन् । धेरै अंग्रेजी एप्लिकेसनहरु अनलाइन शिक्षणको सुरुवातसंगै विकासभइ विश्वव्यापी रुपमा प्रयोगमा रहेका छन् ।

विश्वविद्यालयका कोर्ष भन्दा छोटा व्यावसायिक तालिम तथा अन्य खास विषयका प्याकेज तथा मोड्युलहरु अनलाइनमा प्रचलितछन् । धेरै विश्वविद्यालयहरूले मिश्रित (प्रत्यक्ष र अनलाइन) प्रणालीहरु अपनाइरहेका छन । केही विषयहरूको पढाइ प्रत्यक्ष र केही विषयको अनलाइन तथा विषयमै पनि केही पाठहरू प्रत्यक्ष र केही पाठहरु अनलाइन गर्ने गरिएको छ । नेपाल खुला विश्वविद्यालयले कम्तीमा सबै विषयमा तोकिएका १५÷१६ हप्तासम्म ३ घण्टाका अनलाइन कक्षा र कोर्ष अनुसार १०।१२ दिनका प्रत्यक्ष कक्षाहरु सञ्चालन गर्ने गर्दछ । यस्ता कार्यहरू कुनै नयाँ होइनन् । विश्व लकडाउनको अवस्थामा रहेकोबेला अझ यस्ता धेरै पद्धतिहरू प्रविधिमैत्री भइरहेका छन । आवस्यकतापछि अविस्कारको सामानान्तर विकास भइरहेको छ ।

विद्यार्थीले आफुलाई अनुकूल हुँदा र मन लागेको समयमा मात्र पाठ पढ्ने वा तोकिएका कामहरु गर्ने असिन्क्रोनस विधि हो । सिक्रोन्स विधिमा मुख्यगरी अडियो कन्फ्रेन्सिङ्ग, वेबवेस्ड भिडीयो कन्फ्रेन्सिङ, च्याट मेसेजिङ, स्क्रिन सेयरिङ र एप्लिकेशन शेयरिङ जस्ता टुलहरुको प्रयोग हुने गर्दछ । असिन्क्रोस विधिमा सिकारुहरूले अन टाइम र अन डिमाण्ड सिकाइ अनुभवलाई प्राथमिकतामा राखेको हुन्छ ।

कोभिड १९ महामारीको कारण विश्वविद्यालय, कलेज र विद्यालयहरु बन्द भएको समयमा कुनै तोकिएको निस्चित समयमा शिक्षक वा सहजकर्ताले भिडियो कन्फ्रेन्सिङ टुल, जुम क्लाउड मिटिङ मार्फत अनलाइन कक्षा चलाइरहेको अवस्था सिन्क्रोनस हो र यो समयमा विद्यार्थी अनलाइन उपस्थित हुन सकेन, ईण्टरनेटले काम गरेन, विजुली भएन, उसको घरमा नेट सुबिधा छैन वा अन्य उसका व्यक्तिगत कारणले सहभागी हुन सकेन भने त्यो उसको पाठ वा शिक्षकले सहजीकरण गरेको विषय छुट्छ । सिनक्रोनस विधिको यो समस्या समाधान गर्न अनलाइनको असिन्क्रोनस विधि प्रयोग हुन्छ । त्यो खास गरी सिकाइ व्यवस्थापन प्रणाली हो । अहिले प्रयोगमा आइरहेका जुम, स्काइप, गुगल मिट, टिम्स, फ्युजमेसिन आदि सिन्क्रोनस विधिमा शिक्षकले सहजीकरण गर्ने, पाठ प्रस्तुत गर्ने वा व्याख्या गर्ने हो । सिन्क्रोनसमा विद्यार्थी छुट्यो भने पनि उसले असिन्क्रोनसबाट त्यसको परिपूर्ति गर्न सक्ने व्यवस्था हुन पर्दछ ।

मुलुक लकडाउनको अवस्थामा अफलाइन सामाग्रीहरू सम्बन्धित अभिभावक मार्फत सानो कक्षाका बालबालिका हरूलाइ उपलब्ध गराइदिनु अथवा प्रत्येक शिक्षण सस्थाहरूले दैनिक पाठको योजना, विद्यार्थीले सिक्नुपर्ने विषयहरु, त्यसका लागि आवश्यक पढ्ने सामग्री, भिडियो, अडियो, अनलाइन प्ल्याटफर्म, विभिन्न क्विज तथा परियोजना कार्यहरू राखिदिएमा विद्यार्थीले आफुलाई अनुकूल हुने समयमा त्यो प्रणालीमा विद्यालयले उपलब्ध गराएको युजर र पासवर्ड प्रयोग गरेर ती सामग्री हेर्न, डाउनलोड गर्न, पढ्न र तोकिएका काम गर्ने सिकाइ व्यवस्थापन प्रणालीको विकास समेत गर्नु अवस्यक देखिन्छ ।

छोटो समयमका लागि शिक्षण सिकाइ अवरुद्ध हुन नदिन, विद्यार्थी र शिक्षकहरू सम्पर्कमा रहिरहन र सिक्ने अवसरबाट वञ्चित नगर्न सिन्क्रोनस विधिबाट शिक्षण गर्न सकिएला तर यो दीर्घकालीन प्रयोजनका लागि असिन्क्रोनस विधिमा रुपान्तरण हुनै पर्दछ ।

अनलाइन शिक्षण प्रत्यक्ष शिक्षणको विकल्प होइन तर यो प्रत्यक्ष शिक्षणको परिपुरक हो । यसका लागि प्रविधि, विषयवस्तु र पूर्वाधारको जरुरी हुन्छ । प्रत्यक्ष शिक्षणमा शिक्षकले केही तयारी नगरी कक्षामा प्रवेश गरेर तोकिएको पाठ पढाउन सक्छन् तर अनलाइन शिक्षणको असिन्क्रोनस विधिमा शिक्षकले धेरै तयारी गरेर, विभिन्न सामग्री खोजेर, बनाएर, टाइप गरेर, अडियो रेकर्ड गरेर, भिडियोहरु बनाउने, क्विज बनाउने, गेम बनाउनेजस्ता थुप्रै काम गर्नु पर्दछ । हरेक प्रकारका सिकारुलाई उपलब्ध हुने गरी सामग्री उपलब्ध गराउनुपर्छ । तोकिएको हप्ता वा पाठ अनुसारका मोड्युलहरु विकास शिक्षकले तयार गर्नु पर्दछ ।

अनलाइन परीक्षणका केही अलग्गै एप्लिकेशन तथा टुल्सहरु पनि उपलब्ध छन् तिनीहरुको प्रयोग गर्न सकिन्छ । अनलाइन शिक्षणमा विद्यार्थीको मूल्याङक्नका लागि मुल्याङकनका क्षेत्रहरू (रूब्रिक्स) तथा ई पोर्टफोलियो, राख्नु आवश्यक हुन्छ । यसो गर्नाले शिक्षकलाइ विद्यार्थीको सिकाइ स्तर पहिचान गर्न सहज हुन्छ । रेकर्ड बिनाको प्रयास खेर जान दिनु हुदैन । शिक्षकसाथीहरूले अनलाइन वा अफलाइन शिक्षण गरिरहनु भएको छ भने अाफ्नो कार्यको अभिलेखिकरण गर्नु आवस्यक छ ।

(लेखकः विराटनगरस्थित आर्दश माविका प्राधानध्यापक हुन् ।)