• बिना डि. तामाङ

एसईई परीक्षाको तयारीमा जुटिरहेका धरान–११ स्थित लिवर्टी स्कुलका विद्यार्थी ट्रायुसन थापा मगर उत्कृष्ट स्थान ल्याउने योजनासहित तयारीमा थिए । लकडाउनको कारण सरकारले आन्तरिक मूल्याङ्कनको आधारमा उत्तीर्ण गर्ने घोषणा गरेपछि खिन्न भए । उनी भन्छन्,‘लकडाउनमा पनि अनलाइन क्लासहरू लिँदै पढाइ गरेको मेहनत काम लागेन । उत्तीर्ण गराउने यो तरिकाले सही मूल्याङ्कन हुँदैन ।’ धरान उपमहानगरपालिका शिक्षा शाखाका अनुसार ट्रायुसन थापा मगरजस्तै धरानका दस परीक्षा केन्द्रमा निजी तथा सामुदायिक विद्यालयका २ हजार ८ सय २८ जना परीक्षार्थीहरू एसईईको तयारीमा थिए । २०७६ चैत्र ६ गतेदेखि शुरु हुनुपर्ने एसईई परीक्षा रोकिएपछि शिक्षा मन्त्रालयको निर्णयानुसार सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनको आधारमा उत्तीर्ण गरिने भएको छ ।

कोभिड–१९ कोरोना भाइरसको महामारीका कारण उत्पन्न लकडाउन अर्थात् बन्दाबन्दीको स्थितिले नेपालको शैक्षिक क्षेत्रमा परिरहेको नकारात्मक प्रभावको झलक दिन्छ, माथिको प्रसङ्गले । सरकारी निर्णयअनुसार विद्यालयहरू यतिबेला एसईईको आफ्ना विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनमा व्यस्त छन् । तर, धरान–१५ स्थित शिक्षा सदन माविका पूर्व प्रधानाध्यापक अम्विकाकुमार सम्बाहाम्फे आन्तरिक मूल्याङ्कनको पक्षमा छैनन् । सम्बाहाम्फे भन्छन्, ‘यस्तो प्रक्रियाबाट विद्यार्थीको वास्तविक मूल्याङ्कन हुन्न ।’

धरान उपमहानगरपालिका क्षेत्रभित्र फरक क्षमता तथा धार्मिकसहित गरी कुल ५५ सामुदायिक विद्यालयहरू सञ्चालनमा रहेका छन् भने ९६ निजी तथा संस्थागत विद्यालयहरू सञ्चालित छन् । यी विद्यालयहरू कोरोना सङ्क्रमणको डरका कारण बन्द भएका छन् । अर्थात् यतिबेला कोरोनाले विद्यालयका सबै गतिविधिहरू शून्य बनाएको छ । तर, जेठ ३२ देखि सरकारले लकडाउन खुकुलो बनाउने नीति लिए पनि विद्यालयजस्तो अधिक सङ्ख्यामा जमघट हुने क्षेत्र तत्कालै सञ्चालनमा आउने सम्भावना ज्यादै कम छ । त्यसैले करिब तीन महिना लामो विद्यालय बन्द अझै पनि लम्बिन सक्ने अवस्था छ ।

विद्यालय खुल्ने वा नखुल्ने दुवै अवस्था अनिश्चित हुँदा अभिभावकहरूमा आफ्ना सन्तानको शैक्षिक भविष्य र स्वास्थ्यको बारेमा पनि उत्तिकै चिन्ता बढेको छ । एकातिर कोरोनाको कहर, अर्कोतिर बच्चाको भविष्य ! यस्तो अवस्थामा बच्चाको स्वास्थ्यलाई नै बढी प्राथमिकता दिएको सुस्मिता राई बताउँछिन् । युरेका मा.वि.मा कक्षा १ मा अध्ययनरत विद्यार्थीका अभिभावक राई भन्छिन्, ‘अहिले नै विद्यालय खोलिहाले पनि पढ्न नानी पठाउदिनँ, बरु घरैमा पढाउँछु । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढेकोले विश्वास गर्न सकिने स्थिति छैन ।’

कोरोनाको कारण विद्यालय खुल्ने वा बन्द भइरहने अन्यौलका बीच सरकारले वैकल्पिक शिक्षण प्रणालीलाई प्रयोगमा ल्याएको छ । सरकारको नीतिअनुसार विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरेर विद्यार्थीहरूलाई रेडियो, एफएम, टीभी र अनलाइनलगायतबाट शिक्षण विधि प्रयोग गरिने भएको छ । विद्यार्थीलाई निरन्तर पढाइमा ध्यानाकर्षण गराउन एक हदसम्म यो उपाय ठीकै होला । तर, अर्काे कोणबाट हेर्दा सम्पूर्ण विद्यालयहरू भौतिकरूपले विद्युतीय माध्यमको प्रयोग गर्न सक्षम नभएकोले व्यवहारिक पनि देखिन्न ।

त्यसैले वैकल्पिक प्रणाली प्रभावकारी नहुने विचार राख्छन्, दन्तकाली मावि धरान–१४ का प्रधानाध्यापक सीताराम कोइराला । उनी भन्छन्, ‘कक्षाभित्र प्रत्यक्ष उपस्थित भएर पढाउँदासमेत ध्यान नदिने प्रवृत्ति विद्यार्थीहरूमा छ, यस्तो अवस्थामा वैकल्पिक प्रणाली सफल होला जस्तो लाग्दैन ।’ धरान–१८ स्थित कारमेल हाईस्कुलकी प्रिन्सिपल सुभद्रा राई पनि वैकल्पिक प्रणाली व्यवहारिक नभएको बताउँछिन् । राई भन्छिन, ‘सबै विद्यार्थी वा अभिभावकहरूसँग स्मार्ट फोन नहुनु, फोन भए पनि प्राविधिक ज्ञान नहुनु तथा फोन र प्राविधिक ज्ञान भए पनि सबै ठाउँमा नेटवर्क कनेक्सन नहुनु समस्या हो ।’

एकातिर लकडाउनका कारण अघिल्लो शैक्षिक सत्र प्रभावित बन्न पुगेको छ भने अर्कोतिर वैशाखदेखि शुरु भएको नयाँ शैक्षिक सत्र पनि निर्धारित समयावधिमा पूरा हुन सक्छ कि सक्दैन भन्ने तीखो प्रश्न तेर्सिएको छ । विद्यालय कहिलेदेखि खुल्ने कुरा नै अनिश्चित रहेको वर्तमान परिस्थितिमा कुन शिक्षण प्रक्रिया उपयुक्त हुन्छ त ? यसबारे धरान–४ स्थित युरेका आवासीय माविका निर्देशक सुदीप योल्मो योञ्जन भन्छन्, ‘विद्यालयले आवश्यक सुरक्षाका प्रबन्धहरू जस्तै सेनिटाइजरको प्रयोग, आवश्यक दूरी, टाइम मेनेजमेण्ट गरेर वा क्लासहरू थपेर पढाउन सकिन्छ ।’ तर, विद्यार्थी र अभिभावकमा कोरोनाको डरले घर गरिरहेको हुनाले विद्यार्थी विद्यालय आउने कि नआउने भन्ने दोधार बाँकी नै रहन्छ ।

लामो समयसम्म विद्यालय बन्द भइरहँदा आगामी शैक्षिक सत्र पनि प्रभावित हुने भएकोले सरकारले नै सुरक्षाको उपाय निकालेर विद्यार्थी वा अभिभावकलाई विद्यालय सुरक्षित क्षेत्र भएको सन्देश दिन आवश्यक छ । आखिर ढिलो–चाँडो सरकारले विद्यालय खोल्नै पर्ने भएकोले पनि सरकारले उपयुक्त योजना ल्याउनै पर्छ । के हुनसक्छ त त्यस्तो योजना ? किरातेश्वर माविका प्रअ योगेन्द्र पालुङ्वा भन्छन्, ‘विद्यार्थी र अभिभावकहरूमा रहेको डरको मनोविज्ञान हटा

उन सरकारले परीक्षणको व्यवस्था गर्नुपर्ने र विद्यालयले पनि क्लास रोटेसन सिष्टम अपनाई बिदासमेत काटेर सिफ्ट व्यवस्था गरी पढाएमा शैक्षिक क्षेत्र चलायमान हुनसक्छ ।’ सधैँ विद्यालय बन्द भइरहनुभन्दा प्रअ योगेन्द्र पालुङ्वाले भनेजस्तो सरकारले विद्यार्थी तथा अभिभावकमा रहेको ‘डरको मनोविज्ञान’ लाई हटाउन आवश्यक छ । त्यसो त अहिले पनि डरको मनोविज्ञान हट्दै गएकोले पहिलेको तुलनामा मानिसको आवागमन तथा सार्वजनिक स्थलहरू अलिक खुकुलो भएको देख्न सकिन्छ ।