सपनाका बारेमा प्रसिद्ध केन्याली मेक्सिकन नायिका लुपिता न्योन्गोको एक प्रसिद्ध भनाइ छ । उनले भनेकी छन्, ‘तिमी जहाँबाट भए पनि तिम्रा सपनाहरू वैधानिक हुन् ।’
लुपिताले भनेजस्तै हाम्रा वैधानिक सपनाहरूलाई हामीले बहसमा ल्याउनुपर्छ । यस्तै बहस मैले गत हप्ता सामाजिक सञ्जालमा शुरु गरेको थिएँ । ‘इटहरी उपमहानगरपालिकाको नागरिक भएको हैसियतले तपाईंले चाहेका ड्रिम परियोजना के हुन्’ भन्दा आएका उत्तरमा म चकित भएँ । कसैले चक्रपथदेखि अस्पतालजस्ता बहुवर्षीय आवश्यक परियोजनाका कुरा आफ्ना ड्रिम परियोजना भएको भने । कसैले आजको भोलि गाडी खरिद गरेर सम्भव हुने नगरबसलाई ड्रिम प्राजेक्ट भने । आजको भोलि निर्णय गरेर सुरक्षासहित सञ्चालन गर्न सकिने रात्रीबजारलाई पनि ड्रिम परियोजना भने । एक महिनामै तयार हुन सम्भव शौचालय निर्माणको परियोजनालाई पनि ड्रिम परियोजना भनेर नागरिकले आवाज उठाउने कुराले हाम्रा सपनाहरूको सीमितता र सपनाहरूको क्षितिज कत्ति सानो बन्यो वा बनाइयो भन्ने देखिन्छ । सपना नदेख्नु दुःखको कुरा होइन । देखेका सपनाहरू पनि सानो देख्नु चाहिँ दुःखद् कुरा हो । त्यस्ता दुःखद् कुराभित्र आम निराशावादको झल्को भेटिन्छ ।
खैर, अब म फेसबुक प्रसङ्गभन्दा फरक आफूलाई लागेका इटहरीका केही ड्रिम परियोजनाका बारेमा बुँदागत लेख्दैछु । उपमहानगर बन्न कानूनीरूपमै आवश्यक एक वडा एक पार्क, सुविधा सम्पन्न अस्पताल, फोहोर व्यवस्थापन केन्द्रदेखि अन्य परियोजना मैले यहाँ समावेश गरेको छैन । यस्तै प्रदेश सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि बाहिरी चक्रपथको परियोजना बाहेकका परियोजना मात्रै मैले यहाँ समावेश गरेको छु ।
१. विशेष छुट र सुविधासहितको प्रादेशिक लघु औद्योगिक ग्राम
इटहरी प्रदेश १ को यातायात र पारवाहनको चौरास्ता हो । यही रणनीतिक महŒवको फाइदा उठाएर इटहरीले खोर्साने खाप वा अन्त कतै आवश्यक क्षेत्रमा ५–१० बिगाहा क्षेत्रमा विशेष छुट र सुविधासहितको प्रादेशिक लघु औद्योगिक ग्राम बनाउनुपर्छ । मेगा औद्योगिक ग्राम बनाउन र सञ्चालन गर्न धेरै खर्च र समय लाग्छ । तर, लघु औद्योगिक ग्राम बनाउन सहज छ । यस्तो ग्राम बनाउनुपर्छ, जसमा भोजपुरमा बसेर खुकुरी बनाउनेदेखि तेह्रथुमको ढाका हुँदै इलामको छुर्पी बनाउनेसम्म आउन सकुन् । धनकुटाको धनकुटे बिस्कुटदेखि उर्लाबारीको च्याउखेती गर्ने हुँदै सङ्खुवासभामा बसेर अल्लोका कपडा बनाउनेसम्म आउन सकुन् । स्थानीय सरकारले निःशुल्क बिजुली, सहज बाटो पहुँच, १ हजार हाराहारीको मात्रै मासिक भाडा, स्तरीय प्रदर्शनी कक्ष, सेमिनार हल, खानेपानीलगायतका पूर्वाधार बनाएर आह्वान गरे प्रदेशभरबाट मान्छेको ओइरो लाग्छ । एक हजारमै त्यत्रा सुविधाहरू पाउने भएपछि प्रदेशको सबैभन्दा सस्तो भाडा भएर जो पनि इटहरी आउँछ । इटहरीले ग्राममा जान प्रवेश शुल्क लिएर आगन्तुक तथा विभिन्न शैक्षिक, सहकारी तथा उद्यमीहरूको भ्रमणबाट पैसा कमाउन सक्छ । स्थानीयहरूले रोजगारी पाउँछन् । इटहरीको आन्तरिक आम्दानी बढ्छ । इटहरीमा प्रदेशभरका राम्रा–राम्रा लघु उद्यमीहरू आएपछि यहाँको शैक्षिक संस्था, स्वाथ्य संस्थादेखि अन्य व्यापार व्यवसायमा पनि राम्रोसँग विकास हुन्छ । इटहरीको चौरास्ता मात्रै होइन, प्रदेश १ को विशाल लघु औद्योगिक ग्राम भएको शहरको परिचय बन्नेछ ।
२. होम–स्टे र सङ्ग्रहालयसहितको सांस्कृतिक थारु भिलेज
इटहरीमा बनाउन प्रस्ताव गरिएको बहुजातीय सङ्ग्रहालयको विपक्षमा हो म । इटहरीमा बहुजातीय सङ्ग्रहालयजस्तो खिचडी परियोजना होइन । थारु जाति विशेष महŒवपूर्ण परियोजना ल्याउने हो । इटहरीको सबैभन्दा ठूलो र रैथाने जाति थारु हुन् । तर, इटहरीमा थारु जातिको संस्कृति झल्काउने गाउँहरू लोप हुँदैछन् । स्थानीय सरकारले कुनै निश्चित ग्रामीण क्षेत्रको पर्याप्त खुल्लाक्षेत्र भएको स्थानमा दुई–तीन दर्जन घर भएको गाउँ निर्माण गर्ने । त्यस्तो गाउँ जसमा हेर्दा आँखाले थारु पहिचान देखोस् । थारुको कला देखोस् । सुँघ्दा नाकले थारु परिकार महसुस गरोस् । सुन्दा कानले थारु बोली र सङ्गीत सुनोस् । घरका भित्तादेखि भुइँसम्म र भुइँदेखि छानोसम्म थारुको मौलिकता झल्काउने कलाहरू नेपालका विख्यात कलाकार ल्याएर बनाउने । वातावरणमैत्री र थारु संस्कृतिसँग जोडिएका बोटबिरुवाको सांस्कृतिक अगुवादेखि वन विश्वविद्यालयका प्राध्यापकहरूले साझा अध्ययन गरेर हरियाली क्षेत्र बनाउने । थारु पार्क, पूजास्थलदेखि अन्य विभिन्न सांस्कृतिक बिम्बहरू सबै अटाउने उक्त क्षेत्रमा । गर्मीमा चिसो र चिसोमा न्यायो हुने खालको डिजाइनका घरहरू मौलिक सामग्री प्रयोग गरेर नेपालका राम्रा आर्किटेकहरू ल्याएर बनाउने र, यसलाई थारु भिलेज होम–स्टे, थारु सङ्ग्रहालय, थारु कल्चरल सेण्टरको रूपमा विकास गर्ने । उक्त भिलेजमा भूमिहीन थारुहरूलाई होम–स्टेदेखि अन्य आवश्यक पर्यटकीय तालिम दिएर छनौट भएकाहरूलाई बस्न दिने । आगन्तुकहरूबाट तीनभन्दा धेरै गुनासो आएका परिवारलाई निष्कासन गर्न सक्ने प्रावधानसहित राख्दा हस्पिटालिटी अत्यन्तै राम्रो हुनेछ । इटहरीको सांस्कृतिक पर्यटनको हब हुनेछ ।
३. ट्याङ्ग्रा हुँदै जेटबोट वा मोटरबोटबाट तालतलैया
जसरी लुम्बिनी क्यानलमा मोटरबोट कुदाएर पैसा कमिएको छ, जसरी नेदरल्याण्डको आम्सटर्डमका क्यानलमा जलविहार गरेर पैसा कमिन्छ, ठीक त्यसैगरी इटहरीको बजार क्षेत्रबाट तालतलैयासम्म मोटरबोट वा जेटबोट यात्रा गर्न सकिन्छ । अहिले प्रदेश १ कै नेपाली इञ्जिनियरहरूले एक फिट पानीमै कुद्न सक्ने जेटबोट बनाएका छन् । त्यही जेटबोटलाई टेङ्ग्रामा प्रयोग गरेर प्रदेश १ को पर्यटन क्षेत्र तालतलैयासम्म जलविहारबाट पुग्न सकिन्छ । टेङ्ग्राको दुवै किनारमा बलियो तटबन्ध, पैदलपथ, फलंैचा, बगैंचा, रेलिङ, सोलार लाइटसहितको डिजिटल होर्डिङ बोर्डदेखि निश्चित लम्बाइको अन्तरमा ब्रिजम क्याफे बनाएर आम्दानी गर्न सकिन्छ । बिहान मर्निङ वा साँझमा टहलिनदेखि दिउँसो तालतलैयामा पर्यटकीय यात्रा गर्न यो परियोजना सम्भव छ । तटबन्ध बाँध, पैदलपथ तथा सोलार लाइटदेखि फलैंचासम्मको काम गर्न सकिन्छ । बजेट पनि ३ लाख हाराहारी जनसङ्ख्या भएको तथा वार्षिक औसतमा १५ करोड हाराहारी आन्तरिक आम्दानी गर्ने इटहरीले धान्न नसकिने छैन । प्रदेश सरकारले वडानम्बर ४ को शान्ति सिर्जना टोलको क्षेत्रमा २ सय मिटर तटबन्ध, पैदलपथसहित सोलार लाइटको कामलाई २२ लाख खर्च गरेको छ भने स्थानीयले गरेको ४४ मिटर बनाउन ८ लाख हाराहारी लागेको छ । २ सय ४४ मिटरको कुल खर्च ३० लाख देखिएको छ । यो भनेको एक मिटरको लगानी १२ हजार ३ सय हो ।
यस हिसाबलाई आधार मान्दा दश किलोमिटर टेङ्ग्राका दुई किरानको लम्बाइ २० किलोमिटर हुन्छ । २० किलोमिटरमा २० हजार मिटर हुन्छ । २० हजार मिटरलाई हरेक मिटरको लागत १२ हजार ३ सयले गुणा गर्दा २४ करोड ६० लाख हुन्छ । अर्थात् पानी जमाउन आवश्यक तटबन्धदेखि पैदलपथ हुँदै सोलार लाइटसम्म टेङ्ग्राको १० किलोमिटर खण्डलाई जम्मा २५ करोड हाराहारी मात्रै लाग्छ । जेटबोट कुदाउन आवश्यक पुल पुनःनिर्माण तथा अन्य पूर्वाधारलाई थप २० करोड मात्रै जोड्दा पनि जम्मा ४५ करोड हुन्छ । अनुमानित ४५ करोडमा यो परियोजना बन्न सक्छ । मूल्यवृद्धि र अन्य प्राविधिक खर्चदेखि डिपिआर शुल्क बढेपनि ५० करोडभन्दा धेरै नाघ्ने देखिन्न । सार्वजनिक, निजी तथा सहकारीको मोडेलमा यसलाई विकास गर्न सकिन्छ । इटहरीका करिब ३ लाख नागरिकलाई शेयर दिएर नगरको मेगा नागरिक परियोजनाको रूपमा पनि विकास गर्न सकिन्छ । ५० करोड खर्च गरेको परियोजनाको आम्दानी पनि राम्रो हुन्छ । जस्तै– अहिले हरेक वर्ष तालतलैयामा ५ लाख पर्यटकहरू पुग्छन् । उनीहरूलाई २ सयको दरले मात्रै शुल्क लिँदा १० करोड वार्षिक कमाइ हुन्छ । बाँकी १० किलोमिटर खोलाको दुवै किनारमा भएको बगैंचा, फलैंचा र रेलिङसहितको आकर्षक पैदलपथमै रहने डिजिटल विज्ञापनदेखि ब्रिज क्याफेको कमाइ पनि आकर्षक हुन्छ । समग्रमा यो परियोजनाले इटहरीलाई घाटा हुँदैन । यो नेपालको जलयात्राबाट पुग्न सकिने शहरी पर्यटन गन्तव्य भएको पहिलो शहर हुनेछ । विभिन्न फिल्म सुटिङदेखि म्युजिक भिडियो हुँदै टिकटकजस्ता सामाजिक सञ्जालले नै यो परियोजनाको भव्य प्रचार गर्नेछन् ।
४. साइकल लेनसहितको ह्विलचेयरमैत्री नेपालको प्रथम ग्रिन रिङरोड
इटहरीका प्रथम मेयर सर्वध्वज साँवाको पालामा इटहरीको परिचय हरित नगरीको रूपमा भएको थियो । अहिले जलवायु परिवर्तन र नवीकरणीय ऊर्जाको प्रयोगमा इटहरीले नेतृत्वदायी भूमिका निर्माण गर्न सक्छ । यसको लागि नेपालकै प्रथम ग्रिन रिङरोड बनाउन सकिन्छ । इटहरीमा अहिलेसम्म रिङरोड बनेको छैन । अब बनाउँदा साइकल लेनसहितको ह्विलचेयरमैत्री ग्रिन रिङरोड बनाउन सकिन्छ । ग्रिन रिङरोडमा नियमित सञ्चालन हुने सार्वजनिक सवारी विद्युतीय मात्रै गर्ने । ट्रली बस बनाएर अथवा विद्युतीय गाडी खरिद गरेर कुन सस्तो र सहज हुन्छ, स्थानीय सरकारले त्यही गर्न सक्छ । यसो हुँदा इटहरीको नाम विश्वभरका वातावरणजन्य समाचार, सङ्घ–संस्थादेखि वातावरण अभियानकर्मीसम्म पुग्छ । उनीहरूले नेपालमा हुने जलवायु परिवर्तनदेखि वातावरणीय मुद्दाको सभा, सम्मेलनदेखि भेलाको गन्तव्य इटहरीलाई बनाउँछन् । इटहरीले त्यही ब्राण्ड बेचेर देशीविदेशी अनुदान, सहयोगको दाबा गर्न सक्छ ।
५. बहुउद्देश्यीय मेगा पार्किङ जोन
इटहरी प्रदेश १ को सबैभन्दा धेरै सवारी कुद्ने क्षेत्र हो । त्यसैले यहाँ मेगा पार्किङ जोन बनाउन अत्यावश्यक छ । अहिले इटहरीका चारै कुनामा विभिन्न बस, ट्रक र निजी गाडीहरूको पार्किङ सडक किनारमा भएको देखिन्छ । खासगरी मालबाहक ट्रकहरूमा यो समस्या छ । यसको समाधानको लागि इटहरीले मेगा पार्किङ बनाउनु पर्छ । अबका केही वर्षमा किमाथाङ्कादेखि जोगवनी हुँदै झापाबाट भित्रिएको एसियन हाई–वेको अन्तर्राष्ट्रिय मेगा ट्राञ्जिट पनि हुनेछ इटहरी । त्यसले अझ यसको महŒव देखाउँछ ।
कम्तिमा ५–१० बिगाहा क्षेत्रमा बहुउद्देश्यीय पार्किङ जोन बनाउन सकिन्छ । बहुउद्देश्यीय अन्तर्गत हेभी निर्माण सामग्री स्टोरेज, सवारी तौलजाँच, कोल्ड स्टोरेजदेखि विभिन्न मुलुकका पैसा सटहीदेखि बैङ्किङ सेवासहितको जोन बनाउन सकिन्छ । ता कि अरुण तेस्रो परियोजनामा लाँदै गरेका ठूला निर्माण सामग्री भेडेटारमा पहिरो आँउदा ल्याएर थन्क्याउने स्थान होस् । यो वर्ष नबिकेका प्रदेश १ का सम्पूर्ण अलैंची, अदुवा लगायतका सबै कृषिउपजको राम्रोसँग स्टोरेज गर्न सकियोस् । सडक किनारमा हुने अनावश्यक रात्रीकालीन पार्किङ बन्द भएर सशुल्क पार्किङ गरेर पैसा कमाउन सकियोस् ।