ताप्लेजुङ । कम्युटर एसोसिएशन नेपाल (क्यान) ताप्लेजुङले जिल्लाका ७५ जनालाई आईसिटी सम्वन्धी तालिम प्रदान गरेको छ ।
प्रदेश निर्वाचन क्षेत्र बिशेष कार्यक्रम अन्र्तगत प्रदेशसभा सदस्य होमकुमारी साँवाको योजना तथा फुङ्लिङ नगरपालिकाको समन्वयमा शुक्रवारबाट सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भौतिक दूरी कायम गरी तालिम सञ्चालन गरिएको क्यान ताप्लेजुङका अध्यक्ष विष्णुकुमार हाङ्वाङले जानकारी दिए ।
अध्यक्ष हाङ्वाङका अनुसार तालिममा साइबर अपराध र कानूनी व्यवस्था, आईसिटीको प्रयोग र यसको प्रभावकारिता तथा कोरोना भाइरसले पारेको प्रभावका बीच आईसिटीको उपयोगका विषयमा विज्ञहरूले सहजीकरण गरेका थिए । भर्चुवल माध्यमबाट क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले अहिलेको परिस्थतिलाई प्रविधिमैत्री संरचनाको प्रयोग र विकास गर्ने अवसरको रुपमा लिएर स्थानिय सरकारले काम गर्नुपर्ने बताए ।
तीनै तहका सरकारले आआफ्नो क्षेत्रमा रहेका सूचना प्रविधिका जानकारहरूको बौद्धिकतालाई उपयोग गर्न सक्ने नीति ल्याउन आवश्यक रहेको अध्यक्ष कुँवरको जोड थियो । कोभिड १९ जस्तो अहिलेको विषम परिस्थितिमा घरमै बसेर पनि सूचना प्रविधिको माध्यमबाट आफ्नो काम गर्न सकिने भएकोले सूचना र प्रविधिका उपयोगिताका बारेमा अब सरकारले नै धारणा बनाउन आवश्यक रहेको कुँवरको भनाइ थियो ।
यता कार्यक्रमका प्रमुख अतिथि फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशराज तिमल्सिनाले स्थानिय तहले समेत प्रविधीको प्रयोगलाई प्राथमिकतामा राखेको बताए । आगमी बजेटमा नै प्रविधिको प्रयोग बढाउने क्षेत्रमा समावेश गरिएको समेत उनले जानकारी दिए । फुङलिङ नगरलाई प्रविधीमैत्री नगरका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको समेत उनले सुनाए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिमल्सिना सहित, जिल्ला समन्वय समिति ताप्लेजुङका शाखा अधिकृत गणेश अधिकारी, होटल व्यावसायी संघका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
यता भर्चुवल माध्यमबाट क्यानका प्रदेश तथा केन्द्रिय पदाधिकारीको समभागिता रहेको क्यान ताप्लेजुङका सचिव अरुण श्रेष्ठले जानकारी दिए ।