- भोजराज श्रेष्ठ
खुसी हुन ठूलो उत्सवको आवश्यकता पर्दैन । उत्सवले खुसी पनि ल्याउँदैन । खुसी हुनलाई सानै कुरा भए पुग्छ । खुसी क्षणिक हुन्छ । सन्तुष्ट भए खुसी मिल्छ । मानिसलाई सधैँभरि सन्तुष्टि प्राप्त हुँदैन । त्यो पनि क्षणिक नै हुन्छ । आउँछ–जान्छ । यदि सधैँभरि सन्तुष्ट भइन्थ्यो भने यो धर्तीमा विकास सम्भव थिएन । असन्तुष्टिकै कारण यो विकास सम्भव भएको हो । भनेपछि सन्तुष्ट हुँदा त विकास रोकिँदो रहेछ, बाधक हुँदो रहेछ तर, अन्तिम यथार्थ यो पनि होइन । उदाहरणको लागि कुनै मान्छेले पाँच वर्षभित्र कुनै काम गरिसक्ने योजना बनाएको छ । त्यो योजना उसले ४ वर्षमै पूरा गर्यो भने ऊ त्यतिबेला सन्तुष्ट हुन्छ, अर्थात् खुसी प्राप्त गर्छ । त्यसैले खुसी र विकास कहिलेकाहीँ परिपूरक र कहिलेकाहीँ विपरीतार्थक लाग्न सक्छन् ।
अब म मूल मुद्दामा केन्द्रित हुन चाहन्छु । यसै साता अर्थात् असार ४ गते धरानका रङ्गकर्मीहरूमा खुसियाली छायो । उनीहरूको वर्षौैंदेखिको तपश्या त्यो दिन पूरा भएको थियो । नेपाली रङ्गकर्मको फेहरिस्त लामो छ । यस स्तम्भमा त्यो सम्भव पनि छैन तर धरानको रङ्गकर्मको इतिहासलाई भने पक्कै मन्थन गर्न सकिन्छ । धरानको रङ्गकर्मको इतिहासको अवधि शताब्दीको चौघेरामा पुगिसकेको छ । नेपालमा वि.सं. १९८६ मा आधुनिक नाटकको सूत्रपात भएसँगै धरानमा पनि नाटक सल्बलाउन थालेको पाइन्छ । विक्रम संवत्मा कुरा गर्ने हो भने १९९७ सालदेखि धरानमा नाटकले बीजारोपण गरेको अग्रजहरू बताउँछन् । शाकुन्तल नाटकबाट धराने नाट्यकर्मले प्रवेश पाएको बुझिन्छ । आजको दिनमा आइपुग्दा आठ दशक पुगेछ । यो आठ दशकमा नाट्य क्षेत्रमा लागेका सिपाहीहरूबिना नाटक घर नै आफ्नो कर्मलाई प्रदर्शन गरिरहे, कहिले कचहरीका रूपमा, कहिले सडक नाटकको रूपमा ।
सडक नाटकका सूत्राधार अशेष मल्लको सिको गरेर ४० देखि ६० को दशकसम्म धरानमा सडक नाटकहरू देखाइए । ४० को दशकमा यहाँको सडक नाटक पञ्चायतविरुद्ध थियो । नाट्यकर्मी गोपाल देवानले त्यही कालखण्डमा ‘दमनको राप’ लेखे । शासकले निर्धामाथि बुट बजार्दाको त्यो सङ्गीन घडीलाई कलामार्फत् नाट्यकर्मी देवानले सशक्त प्रहार गरे । जो पछिल्लो पटक पनि पूर्वका विभिन्न शहरमा प्रदर्शित गरिए । पञ्चे शासकको निरङ्कुशतालाई गज्जबले चित्रण गरेको छ त्यो नाटकले । त्यो बेलामा लुकिछिपी प्रदर्शन गरिएको त्यो नाटक प्रदर्शन गरेपछि नाट्यकर्मी गोपाल देवान कति खुसी भए होलान्, शब्दमा उतार्न सकिन्न ।
शहर तब मात्रै सभ्य कहलाउँछ, जब कला, सङ्गीतको सम्मान हुन्छ । रोम शहरहरू त्यसै सभ्य कहलिएका होइनन् । जहाँ सुकरात जस्ता विद्वानहरूले कलालाई एउटा मानक बनाए । आजपर्यन्तसम्म ती शहरका दर्शन र मानकलाई पछ्याउँछौं हामी । यो कति पुस्तासम्म चल्ने हो, निश्चित छैन । हामीले कलालाई सम्मान गर्नसके मात्रै विकसित शहरको परिकल्पना गर्न सक्छौं तर, अब धरानलाई हामी त्यो मानकमा स्थापित गर्न सक्ने हुँदै छौं । केही कालखण्डहरू थिए, ती कालखण्डमा धरानले नाटक घर प्राप्त गर्न सकेन । राणाकालीन शासकबाट प्रारम्भ भएको धरानको नाटक गणतन्त्र स्थापित भएपछि मात्रै कलाको सम्मान भएको महसुस धरानका रङ्गकर्मीले गरे । हो, यही खुसी साटे । लकडाउनका बेला पनि नाट्य क्षेत्रमा लागेका धरानेहरू भेला भए । एउटै ठूलै उत्सवको रूपमा लिए । कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको सामाजिक दूरीलाई पनि बेपर्वाह गर्दै उनीहरू खुसीमा सामेल भए ।
उनीहरूमा भएको एउटा उत्कट चाहना पूरा भएको दिन थियो त्यो । सङ्घीय सांसद् जयकुमार राईले शिलान्यास गर्दा धरान–८ सभागृह परिसर उत्सवमय थियो । यो शिलान्यासले करिब डेढ दशक सेलाएको धरानको रङ्गकर्मलाई फेरि उठ्न सघाएको छ । धरानको रङ्गकर्मले नयाँ प्रयोग गरेर नयाँ मानक स्थापित पनि गरिसकेको छ । कवि तथा पत्रकार राजेश विद्रोहीको ‘जिन्दगीः इन्द्रधनुषी सपना’ कवितालाई नाटकीकरण गरेर नयाँ प्रयोग गरेको थियो । धरानको नाट्य लेखनमा नयाँ प्रयोग हुन सकेको छैन तर, रङ्गकर्मको हिसाबले हेर्ने हो भने नयाँ–नयाँ प्रयोग अवश्य नै भएको छ ।
यही बीचमा रङ्गभूमि एकेडेमीले लिम्बू संस्कृतिमा आधारित ‘इङ्घङ’ नाटक प्रस्तुत गरेर लिम्बू संस्कृतिलाई चिनाएको छ । लिम्बू संस्कृति भुल्दै गरेका नयाँ पुस्तालाई इङ्घङले एउटा सन्देश दिएको छ । यस्ता स–साना उपलब्धिलाई दृष्टिगत गर्ने हो भने धरानको रङ्गकर्मले केही न केही सन्देश प्रवाह गरेकै छ । धरानको नाट्य लेखनमा उत्तरआधुनिकतावाद, विनिर्माणवाद जस्ता वाद प्रयोग हुन नसकेको कुरालाई समालोचक सुभाषचन्द्र न्यौपाने स्वीकार गर्छन् तर अभिनयको हिसाबले हेर्ने हो भने विनिर्माण भएको ठान्छन् । उनको भनाइलाई आधार मान्ने हो भने कवि तथा पत्रकार राजेश विद्रोहीको जिन्दगीः इन्द्रधनुषी सपना त्यसको ज्वलन्त उदाहरण हो ।
धरानको रङ्गकर्मले अब नयाँ खुड्किलो पार गर्नेमा आशावादी हुन सकिन्छ । किनकि लामो कालखण्डपछि बन्न लागेको नाटक घरले प्लेटफर्म सिर्जना गर्नेछ । हिजो वर्षमा एकादुई नाटक प्रदर्शन हुने धरानमा नयाँ–नयाँ प्रयोगका साथ नाटक प्रदर्शन हुनेमा आशावादी बन्न सकिन्छ तर, समालोचक न्यौपानेको भनाइ झैं लेखनमा पनि नयाँ प्रयोग हुन आवश्यक छ । बन्न लागेको नाटक घरले लेखनका दृष्टिले पनि खाल्डो पुर्ने विश्वास गर्न सकिन्छ ।
करिब ५ करोडको लगानीमा दुई वर्षभित्र बनिसक्ने यो नाटक घरले अत्याधुनिक प्रविधिलाई आत्मसात गर्नेछ । जसरी प्रविधिको प्रयोगले नाटकलाई जीवन्त बनाउँछ, त्यसरी नै अबको लेखन पनि जीवन्त बन्नेमा आशा गर्न सकिन्छ । परम्परागत सोच र शिल्पलाई नचिर्ने हो भने भने हामीसँग नाटक घर त हुन्छ, तर त्यसलाई पूर्ति गर्ने हामीसँग विकल्प हुँदैन । त्यतिबेला खुसी ठीक उल्टो परिधिमा घुमिसकेको हुनेछ । त्यसैले खुसी जसरी क्षणिक हुन्छ, त्यसलाई जीवन्त बनाउन हाम्रा कार्यहरू त्यसतर्फ केन्द्रित हुनुपर्छ ।