• एलिना मगर

विश्वभर नै महामारीका रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) ले हामी सबैलाई आक्रान्त बनाएको छ । यसका कारण हाम्रो दैनिक जीवन असहज भएको छ । मानव स्वास्थ्यमा मात्र नभएर अर्थतन्त्रमा नै हलचल ल्याएको छ । विभिन्न रिसर्चका अनुसार यो रोग निर्मूल हुनेमा द्विविधा छ । यसैले अब हामी यसैसँग लडेर दैनिक जीवनलाई व्यवस्थित गर्दै सञ्चालन गर्नुपर्ने देखिन्छ ।

कोभिडले सबै व्यावसायिक क्षेत्रलाई असर पारेको छ । त्यसमध्ये पनि पर्यटनको क्षेत्रमा यसले दीर्घकालीन असर पार्नेछ । जसमध्ये पनि बास बसाउने होटल वा होम–स्टे व्यवसाय निकै मारमा परेका छन् । सरकारले वर्गीकरण गरेको कोरोनाको उच्च जोखिमपूर्ण स्थानमध्ये होटल पनि पर्दछ । लकडाउन खुकुलो हुँदै जाँदा होटल व्यवसायलाई कहिले कुन मोडेलमा सञ्चालन गर्ने भन्ने अनभिज्ञ छ । यसैले होटल व्यवसायी मारमा छन् । अहिले विभिन्न स्थानहरूमा होटल व्यवसायीहरू होटल खोलाउनका लागि स्थानीय निकायहरूसँग छलफल चलाइरहेका छन् ।

रहरले भन्दा पनि बाध्यताले साना तथा मझौला होटलहरू सञ्चालन गर्नुपर्ने भएको छ । विदेशी पाहुनालाई लक्षित गरी सञ्चालन गरिएका तारे होटल वा ठूला होटल सञ्चालनमा अहिले नै हतारो गरी खोल्न सकिने अवस्था छैन । साना तथा मझौला होटलहरूलाई विस्तारै सञ्चालनका लागि सहजीकरणको आवश्यकता देखिन्छ । होटलको तहअनुसार मापदण्ड (प्रोटोकल) तय गरिनु आवश्यक छ । जसले गर्दा तोकिएको मापदण्ड सबैले पूरा गर्न सहज हुन्छ ।

हरेक समस्यामा समाधान पनि सँगै हुन्छ भन्ने उक्तिलाई आत्मसात गर्दै होटल व्यवसायलाई पनि सहजताका साथ सञ्चालन गर्न अब हामी होटल व्यवसायीले पहल गर्न र सावधानी अपनाएर अघि बढ्न जरुरी देखिन्छ । अहिले चर्चामा रहेको उखान ‘रोगले भन्दा पनि, भोकले मर्न लागियो’ भन्दै हचुवाको भरमा होटल व्यवसाय सञ्चालन गर्न मनासिव हुँदैन । बिना सचेतना होटल खोल्नु व्यवसायी मात्र नभएर सम्पूर्ण समाजको लागि घातक हुन्छ । यसबारे सञ्चालकले चाहिँ बुझ्न जरुरी छ ।

अन्यत्र क्षेत्रको भन्दा होटलमा कोभिडको ‘रिस्क’ बढी हुन्छ । यसैले कोरोनाबाट बच्ने र बचाउने आधारभूत तयारी भने हामी होटल सञ्चालकले अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । पहिलेको तौरतरिकाबाट होटल व्यवसाय सञ्चालन गर्छु भन्ने सोच अब हामीले भित्रैबाट निकाल्नु आवश्यक छ । अब हामीले स्वास्थ्यप्रति सचेत भई आफू र कर्मचारीलाई तयारी गराउन बाञ्छनीय देखिन्छ । यसका लागि निम्न अनुसारको प्रोटोकोलको खाका तयार गरेकी छु । भोलि निश्चय नै सरकारले होटल व्यवसाय सञ्चालनका लागि निश्चित मापदण्ड तोक्ने नै छ । साना तथा मझौला होटल व्यवसायीले पूरा गर्न सक्ने किसिमले सामान्य ‘माइण्ड मेकअप’ होस् भन्ने मनसायले निम्नअनुसारको खाका तयार गरिएको हो ।

१. होटल परिसर
–होटल प्रवेशस्थल (ढोका) मा सेनिटाइजर फुटटबमा सेनिटाइजर वा केमिकल पानी राख्ने । पाहुना वा होटल प्रवेश गर्ने सम्पूर्णलाई जुत्ताको मुनीको भाग उक्त टबमा चोबल्न लगाउने ।
–प्रवेश गर्ने बित्तिकै हात धुने (साबुन, पानी, तौलिया वा हेण्ड ड्रायर) आवश्यकीय सामग्रीको व्यवस्थापन गरिदिने ।
–रिसेप्सनमा कर्मचारीसँगको दूरी व्यवस्थापनका लागि कम्तीमा एक मिटरको दूरीमा डोरी टाँग्ने वा चिन्ह राख्ने ।
–काउण्टरमा हेण्ड सेनिटाइजर राख्ने ।
–थर्मल गनको व्यवस्था गर्ने ।
–रुम देखाउँदा ढोकाबाहिरबाट रुम देखाउने ।
–गेष्टको पूर्ण ट्राभल हिस्ट्री लिने ।
–गेष्टको पूर्ण विवरण लिएर होटल कर्मचारी आफैले फर्म भर्ने ।
–गेष्ट लगेजलाई सेनिटाइज गरेर मात्र होटलभित्र लैजान दिने ।
–गेष्टको लगेज कर्मचारीलाई छुन नदिने । यदि कर्मचारीले बोकेर रुमसम्म लैजान परेमा टेम्पोररी पञ्जा वा सेनिटाइजरको प्रक्रिया पूरा गर्ने ।
–रुम सर्भिस बन्द गर्ने । यदि गर्नैपर्ने भए रुमको ढोकाअगाडि टेबल राखेर सो टेवलमा खाना वा आवश्यकीय चिज राखिदिने ।
–केही समयका लागि धूमपान वा मादकपदार्थको बिक्री वितरण नगर्ने ।
–रेष्टुरेण्टमा भौतिक दूरी कायम हुने गरी डायनिङ को व्यवस्था गर्ने ।
–खानाका लागि डिस्पोजल भाँडाकुँडाको प्रयोग गर्ने ।
–रुम दिने आन्तरिक व्यवस्थापन गरी जोर बिजोर प्रक्रिया लागू गर्ने ।
–एउटा रुमलाई ४८ घण्टाका लागि पूर्णरूपले डिसइन्फेक्ट हुन छाडिदिने ।
–मेट्रेसमा रेग्जिन अथवा प्लाष्टिकले कभर गर्ने ।
–सिरानीको खोलभित्र प्लाष्टिक कभर गर्ने ।
–कोठाको भुइँमा गलैंचा अथवा पानीले भिज्ने सामग्री नराख्ने ।
–हाउस किपिङलाई अनिवार्य पिपिई वा आवश्यकीय स्वास्थ्य उपकरण लगाउने व्यवस्था गर्ने ।
–रुम चेकआउट भएपछि पूर्णरूपले चेकइनका लागि तयार नहुञ्जेल हाउस किपिङबाहेक अरूलाई प्रवेश गर्न नदिने ।
–पाहुना चेकआउट भएपछि कम्तिमा २४ घण्टा रुम त्यत्तिकै राख्ने र २४ घण्टापछि (सेनिटाइज प्रक्रिया) केमिकल वा अल्कोहल स्प्रे छर्केर थप २४ घण्टा छाडिदिने र सरसफाइ गर्ने ।
–दिनमा कम्तिमा दुई पटक व्यस्त एरियालाई सेनिटाइज गर्ने वा केमिकलको प्रयोग गरी सरसफाइ गर्ने ।
–रुम खाली रहेको समयमा पूर्णरूपले सूर्यको प्रकाश वा हावा छिर्न ढोका झ्याल खुल्ला राखिदिने ।
–भान्छाकोठा र भाँडाकुँडा आवश्यकताअनुसार सेनिटाइज गर्ने ।
–रुममा पानी तताउने भाँडो राखिदिने वा तातोपानी दिने व्यवस्था गर्ने ।
–सम्भव भए गेटमा गाडी वा मान्छे छिर्दा सेनिटाइज गर्न टनेल बनाउन सकिन्छ ।
–सम्भव भएसम्म रुमको साँचोलाई डिजिटलाइज गर्ने ।
–सकेसम्म पेमेण्ट सिस्टमलाई डिजिटलाइज गर्ने ।

२. कर्मचारी
–पाहुनाको प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारीले अनिवार्य रूपमा उचित मास्क र पञ्जा वा स्वास्थ्य उपकरणको प्रयोग गर्ने ।
–होटेल प्रवेश गरी काममा जानुपूर्व अनिवार्य तापक्रम नाप्ने ।
–सकेसम्म घरबाट लगाएर आउने कपडा कार्यस्थलमा रहँदा प्रयोग नगर्ने व्यवस्था मिलाउने ।
–हाउस किपिङलाई अनिवार्य रूपमा पिपिईको प्रयोग गराउने ।
–पाहुनाको सम्पर्कमा आएपछि वा केही चिज छोएपछि साबुनपानीले हात धुने ।
–पाहुनालाई भौतिक दूरी पालनाका लागि अनुरोध गर्ने ।
–रुघाखाकी वा कुनै प्रकारको स्वास्थ्य समस्या भए जानकारी गराउने र बिदाको व्यवस्थापन गरिदिने ।
–कर्मचारीलाई कोभिडबाट बच्नका लागि अनिवार्यरूपमा तालिम दिने ।

३. पाहुना
–मास्कको प्रयोग अनिवार्य गर्ने ।
–होेटल वा रेष्टुरेण्टमा छिर्दा अनिवार्य रूपमा हात धुने ।
–आफ्नो तापक्रम जँचाउने ।
–ग्रुपमा भए रुम हेर्ने र बुकिङ कन्फर्म गर्ने प्रक्रिया एक जनाले मात्र गर्ने ।
–अनिवार्य रूपमा ट्राभल हिस्ट्री लिने ।
–आफ्नो सक्कल परिचय अनिवार्य रूपमा टिपाउने ।
–स्वास्थ्य समस्या भए जानकारी गराउने ।
–आफ्नो सामान आफै लिएर रुममा जाने ।
–भौतिक र सामाजिक दूरी कायम गर्ने ।
–स्वदेश बाहिरबाट आउने पाहुनाले स्वास्थ्य परीक्षण रिपोर्ट ल्याउनु पर्ने ।