- रामचन्द्र वाग्ले
मानिस आफैले आफ्नो देहत्याग गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । विश्व स्वास्थ्य सङ्गठन २०१९ का अनुसार विश्वमा बर्सेनि करिब आठ लाख मानिसहरूले आत्महत्या गर्छन् । अहिले विश्वमा मानिसहरू मर्ने अठारौं मुख्य कारण आत्महत्या हो । नेपालमा प्रत्येक वर्ष करिब सात हजार मानिसहरूले आत्महत्या गर्ने तथ्य विश्व स्वास्थ्य सङ्गठनले देखाएको छ । नेपालमा हरेक एक लाख व्यक्तिमध्ये करिब नौ जनाले आत्महत्या गर्ने गरेको एक अध्ययनले देखाएको छ । प्रायः १५ देखि २९ वर्ष उमेर समूहका किशोरकिशोरीहरू मर्नुको दोस्रो कारण आत्महत्या नै रहेको छ । आत्महत्या गर्ने उमेर समूहमा १५ देखि ३५ वर्षसम्मका मानिसहरू सबैभन्दा बढी रहेको पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन २०२० अनुसार सबैभन्दा बढी आत्महत्या गर्ने देशहरूमा लिथुवानिया पहिलो, रसिया दोस्रो, गुआना तेस्रो र उत्तर कोरिया चौथो स्थानमा रहेका छन् । लिथुवानिया, रसिया, गुआना र उत्तर कोरियामा आत्महत्या गर्ने मानिसहरू प्रत्येक एक लाखमा क्रमशः ३२, ३१, २९ र २७ जना रहेका छन् । उक्त तथ्याङ्कअनुसार महिलाहरूले भन्दा पुरुषहरूले बढी आत्महत्या गर्ने गरेको पाइएको छ । हाल विश्वमा प्रत्येक चालीस सेकेण्डमा एक व्यक्तिले आत्महत्या गर्छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क २०१६ का अनुसार ७९ प्रतिशत आत्महत्या न्यून तथा मध्यम् आयआर्जन भएका देशहरूमा हुन्छन् । नेपालमा लकडाउनमा (शुरुको ७४ दिनमा ) मात्रै बाह्र सयभन्दा बढी मानिसले आत्महत्या गरेको र पछिल्ला दिनहरूमा प्रत्येक दिन १९ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ ।
मानिसहरू भावनाको आवेगमा आएर, मानसिक र परिस्थितिजन्य कारणहरूले गर्दा आत्महत्या गर्ने गरेको पाइएको छ । मनोसामाजिक परामर्शदाताहरूकाअनुसार सम्बन्धविच्छेद, प्रेममा धोका, पारिवारिक समस्या, प्रियजनको मृत्यु, बेरोजगारी, सामाधान नदेखिने समस्या, डिप्रेसन, बाइपोलर डिसअर्डर आदि कारणहरूले गर्दा मानिसहरूले आत्महत्या गर्छन् । आत्महत्याको सबैभन्दा प्रमुख कारक तŒव डिप्रेसन हो । अहिलेसम्मको अनुसन्धान अनुसार आत्महत्या गर्ने व्यक्तिहरूमध्ये करिब ८० प्रतिशत व्यक्तिहरू डिप्रेसनको शिकार भएको पाइएको छ ।
आत्महत्याको वैज्ञानिक कारण चाहिँ यास्तो छ कि परिस्थितिजन्य, भावनात्मक र मानसिक समस्याहरू देखिएको समयमा मानिसको मस्तिष्कमा सेरोटोनिन र डोपामिन नामक रसायनको कमी हुन्छ भने क्विनोलिनिक अम्लको मात्रा वृद्धि हुँदै जान्छ । यसले गर्दा मानिसको मस्तिष्कमा नकारात्मक सोचहरू मात्र विकसित हुँदै जान्छ, जसले गर्दा मानिसले आफ्नो समस्याको सामाधान आत्महत्या नै हो भनेर निर्णय लिन पुग्छ ।
पृथ्वीमा भएका सबै प्राणीलाई समस्या छ । दुःख र पीडा नभएका मानिस विश्वमै छैनन् । प्रत्येक मानिसलाई कुनै न कुनै प्रकारको समस्या र दुःख छ । समस्या र दुःख प¥यो भनेर सबैले आत्महत्या गर्ने हो भने पृथ्वीमा मानिसको अस्तित्व नै लोप भएर जान्छ ।
समयले सबै समस्यालाई हल गरिदिन्छ । कुनै पनि व्यक्तिलाई सधैँभरि दुःख हुँदैन । दुःखपछि सुख अवश्य पनि आउँछ । हामीले आफूलाई दुःख परेको बेला आफूभन्दा बढी दुःखी मानिसहरूलाई हेरेर जीवन जिउने आँट गर्नुपर्छ । मनमा आत्महत्या गर्ने विचार आयो भने आफू मरेपछि आफ्ना बाबुआमा, इष्टमित्र र साथीभाइहरूको के हविगत होला भनेर एकपटक विचार गर्नुपर्छ । सपाङ्गले अपाङ्गलाई र धनीले गरिबलाई हेरेर जीवन जिउने अठोट गर्नुपर्छ । अपाङ्गहरूले झमककुमारी, कमल लामिछाने, रोमा न्यौपाने, अरुणीमा सिन्हा, गिरिस शर्मा, शेखर नायक, जोन नास, निक भुजिसिक, आरोन फोथेरिनगम, एलेक्स जनार्डी, एण्ड्रिया बोसेली, स्टेफेन हकिङ र फ्रिडा काहलो जस्ता व्यक्तिहरूको जीवनीबाट प्रेरणा लिएर उनीहरू जस्तै बन्ने कोशिस गर्नु पर्दछ ।
हामीले आत्महत्या गरेर के पाउँछौं ? के आत्महत्या समस्याको समाधान हो त ? माथि उल्लेख गरिएका व्यक्तिहरूले पनि हामीले जीवनमा केही गर्न सक्दैनौं भनेर सोचेका भए विश्वकै चर्चित व्यक्ति बन्न सफल हुन्थे ?
एउटा बाबुआमाको लागि सबैभन्दा दुःखको कुरा भनेको आफूलाई अन्तिम संस्कार गर्ने छोराछोरीलाई आफूले अन्तिम संस्कार गर्नु हो । कयौं बाबुआमाले विशेषगरी आमाले आफ्ना श्रीमान् बितेर जाँदा पनि आफ्नो सन्तानको मुख हेरी बाँचेका हुन्छन् र आफ्नो सम्पूर्ण जीवन सन्तानको लागि अर्पण गरिरहेका हुन्छन् । विशेषगरी किशोरकिशोरीहरूले आत्महत्या गर्नुभन्दा अगाडि एकपटक आफ्ना बाबुआमालाई, उहाँहरूको माया, ममतालाई सम्झियांै र म मरेपछि उहाँहरूको हालत के होला भनेर सोच्यौं भने सायद आधा जति आत्महत्या हुँदैनथे होला । यसका लागि बाबुआमाले पनि छोराछोरीहरूलाई साथीजस्तै व्यवहार गर्नुपर्छ र आफ्ना सन्तानले भन्न चाहेका कुराहरू सजिलै भन्न सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । संसारमा सन्तानलाई सबैभन्दा बढी माया कसैले गर्छन् भने ती बाबुआमा नै हुन् । बाबुआमाले भन्दा बढी माया सन्तानलाई अरू कसैले गर्दैनन् । तर कतिपय वर्षौंदेखि माया गर्दै आउनुभएका आफ्ना बाबुआमाको माया बिर्सेर क्षणिक मायाको पछि लागेर आफ्नो देहत्याग गर्न अग्रसर हुन्छन् ।
आत्महत्या जित होइन, हार हो । हामी लाखौं शुक्राणुहरूसँग प्रतिस्पर्धा गरी जित हासिल गरेर जन्मिएको प्रत्येक व्यक्ति आत्महत्या गरेर मर्नको लागि हो र ? मानिसको जीवन भनेको अमूल्य चोला पनि हो । यसलाई त्यत्तिकै खेर फाल्नु हुँदैन । के स्वरसम्राट नारायणगोपाल, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाह, भृकुटी, सीता, नेल्सन मण्डेला, अल्वर्ट आइन्सटाइन, आइज्याक न्युटन, भगवान गौतम बुद्घ, थोमस एल्वा एडिसन, म्याडम क्युरी, मदर टेरेसा, अब्राहम लिङ्कन, चाल्र्स डार्विन, एलेक्जेण्डर ग्राहम बेल आदि व्यक्तिहरूको जीवनमा दुःख र समस्याहरू थिएनन् ? के उहाँहरूलाई हामीलाई भन्दा कम दुःख थियो र ? तर पनि उहाँहरूले आफ्नो जीवनदेखि कहिल्यै हार खानुभएन । त्यसैले गर्दा त उहाँहरू मरेर गए पनि नेपाल तथा विश्वमा उहाँहरूको नाम अमर छ ।
युवाहरू भनेका देश विकासका आधार हुन् । युवाहरूमा भएजति स्फूर्ति, जाँगर र शक्ति अरू कुनै उमेर समूहमा हुँदैन । यस्ता युवाहरू नै सबैभन्दा बढी आत्महत्या गरेर मरे भने देश विकास कसरी हुन्छ ?
मरेर जाँदैमा वा आत्महत्या गर्दैमा आफ्नो समस्या समाधान हुन्छ भन्न सकिँदैन । किनभने कतिपय अवस्थामा आत्महत्या गरेपछि मृतकको समस्या उसका आफन्तलाई सर्न सक्छ । उदाहरणका लागि यदि कुनै व्यक्तिले धेरै रकम ऋण लिएको छ भने ऊ मरेर गयो भन्दैमा उसको ऋण माफी हुँदैन । उक्त रकम उसका परिवार, आफन्त, साथी वा उसका साक्षीले तिर्नुपर्ने हुन्छ । यसले गर्दा उनीहरूलाई दोहोरो दुःख आइपर्दछ । भनिन्छ, आत्महत्या गरेर जाने व्यक्तिको आत्माले कहिल्यै शान्ति पाउँदैन । त्यसैले चाहे जस्तोसुकै समस्या आइपरोस्, साथीभाइ, आफन्त, नातेदार, बाबुआमा, छोराछोरीसँग बसेर सल्लाह गरौं, परामर्श लिऊँ तर आत्महत्या कहिल्यै पनि नगरौं । आत्महत्या समस्याको समाधान होइन, यो त तपाईंको बाबुआमा, छोराछोरी, नाताकुटुम्ब, साथीभाइ र तपाईंको भलो चिताउने मानिसहरूको लागि समस्या र दुःखको शुरुवात मात्र हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक एक आत्महत्याको कारणले गर्दा थप अरू २० आत्महत्या हुन्छन् ।
आत्महत्या गर्ने विचार गरेका मानिसहरूले विभिन्न पूर्वलक्षणहरू देखाइरहेका हुन्छन् । विभिन्न अध्ययन अनुसन्धानअनुसार आत्महत्या गर्ने व्यक्तिहरूमध्ये करिब ८० देखि ९० प्रतिशतले कुनै न कुनै लक्षण देखाउने गरेको पाइएको छ । मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्यका अनुसार आत्महत्या गर्ने व्यक्तिहरूले आत्महत्याको बारेमा कुरा गर्ने, लेख्ने, साथीभाइसँग बिदा माग्ने, आफ्ना सामानहरू अरूलाई बाँड्ने, एक्लै बस्न रुचाउने, आत्महत्या गर्न प्रयोग गरिने वस्तुहरूतर्फ आकर्षित हुने, कसरी सजिलै मर्न सकिन्छ भनेर योजना बनाउने, आफूप्रति घृणाको भाव राख्ने आदि जस्ता क्रियाकलापहरू देखाइरहेका हुन्छन् । हामीले ती लक्षणहरू पहिचान गरी त्यस्ता व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउनु पर्छ ।
मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्यका अनुसार आत्महत्या गर्ने लक्षण देखाएका व्यक्तिहरूलाई छिटोभन्दा छिटो मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग दिलाउने, उनीहरूको सल्लाहअनुसार उपचार गराउने, खानपानमा हेरचाह पु¥याउने, शारीरिक क्रिmयाकलापमा विस्तारै विस्तारै अग्रसर गराउने, एक्लै हुन नदिने जस्ता कुराहरूमा ध्यान दिनुपर्छ । त्यस्ता व्यक्तिहरूलाई परामर्श र उपचार प्रदान गर्न महाराजगञ्ज टिचिङ अस्पतालको मनोविज्ञान शाखा (साइकोलोजी डिपार्टमेण्ट), पाटनको मानसिक स्वास्थ्य अस्पताल अथवा आफूले चिनेका मानसिक स्वास्थ्य विज्ञहरूसँग सम्पर्क गर्नुपर्छ ।
(लेखकः स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्र विषयका स्नातकोत्तरका शोधार्थी हुन् ।)