- राजेन्द्र किराती
विषय प्रवेशः
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन गरेपछि देशभक्त नेपाली जनताहरू आन्दोलित भए । यही आन्दोलन र दबावसँगै नेपालले लिम्पियाधुरा र कालापानीलगायतका भू–भागलाई समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । यो ऐतिहासिक कार्यको सबैले सराहना र समर्थन गरेका छन् । यसले भारत विरोधी भावना मात्र उत्कर्षमा पु¥याएको छैन, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत विभिन्न स्थानहरूको ऐतिहासिक तथ्य र प्रमाणहरू खोतल्न बाध्य पारेको छ । सिङ्गो नेपाल–भारत बीचको सीमा विवादको दीर्घकालीन समाधानको ब्रम्हास्त्र खोजिरहेको छ ।
यो औसत आवत–जावत गर्ने सडकमार्ग मात्र होइन । यसको रणनैतिक महत्व रहेको छ । किनकि, चीन र भारत जस्ता ठूला व्यापारिक साझेदार मुलुकहरूबीच निर्माण गरिएका यस्ता सडकहरूले निश्चय नै दूरगामी महŒव राख्दछ । यसमा भारतले बिना समझदारी नेपाली भूमिमाथि सडक निर्माण गर्नु अनि नेपालले पनि उद्घाटनपछि मात्र थाहा पाउनु अनि विरोध गर्नुको पछाडि लुकेको रणनैतिक रहस्यलाई नजरअन्दाज गर्न सकिन्न । त्यसैले यस आलेखमा बारम्बारको भारतीय सीमा अतिक्रमण अनि नेपाली मौसमी राष्ट्रवादमा अन्तरनिहीत रणनैतिक सत्यहरूको विषयमा चर्चा गरिएको छ ।
नवउपनिवेशवादः
१५ औं शताब्दीबाट आधुनिक प्रत्यक्ष उपनिवेशवादको जन्म भएको देखिन्छ । यसमा कुनै पनि मुलुकमाथि प्रत्यक्ष सैनिक हस्तक्षेपमार्फत् राजनैतिक, आर्थिक तथा साँस्कृति प्रभुत्व कायम गरिन्थ्यो । तर यता दोस्रो विश्वयुद्धको समाप्तिसँगै धेरैजसो प्रत्यक्ष औपनिवेशिक प्रणालीको अन्त्य भयो । लगभग ठाडो उपनिवेशवादी युग समाप्त गरियो । त्यसपछि उपनिवेशवादी शासनको हस्तक्षेप गर्ने शैली र तरिकामा फेरबदल गरियो । यसलाई नवउपनिवेशवाद भनिन्छ । यसको मुलभुत चरित्र भुमण्डलीकृत हुन्छ । प्रत्यक्ष शासनसत्ता हुँदैन । तुलनात्मकरूपमा अनुकूल दलाल पात्रहरूमार्फत् आफ्नो दलाल एकाधिकार पुँजी हाबी गराउँदै उपभोगवादी साँस्कृतिक साम्राज्य कायम गरिन्छ । कडा शर्त सहितको अनुदान सहयोगको व्यवस्था गरिन्छ वा दानापानी खुवाएर आफ्नो वशमा राखिरहने रणनीतिमा आधारित हुन्छ ।
वस्तुतः पुँजीवादी उत्पादनको व्यापकतासँगै साम्राज्यवादको विकास भएको हो । लेनिनले पुँजीवादको मरणासन्न अवस्थालाई नै साम्राज्यवाद भनेका थिए । यसरी पुँजीको आयतन विस्तार र विज्ञान र प्रविधिको विकाससँगै बढेको जनचेतना र रणनैतिक स्वार्थको टक्करबीच प्रत्यक्ष उपनिवेशवाद कमजोर हुँदै गयो । तब रणनैतिक उपनिवेशवाद टड्कारो आवश्यकता बन्न पुग्यो । यही पृष्ठभूमिमा अप्रत्यक्ष रूपमा कुनै पनि कमजोर मुलुकमाथि राजनैतिक, आर्थिक, सामरिक, सामाजिक तथा सांस्कृतिक प्रभाव र प्रभुत्व स्थापित गर्न थालियो । अरूको भूमिमाथिको अतिक्रमण नै विस्तारवाद हो । हस्तक्षेप र हैकम बढाउनु भनेको अनुकूल शक्ति वा पात्र विन्यासको रणनैतिक अभिष्टमा आधारित देखिन्छ । नवउपनिवेशवाद समग्र हो भने भारतीय अतिक्रमण अंश हो । यसैको अंशगत अभिव्यक्ति कालापानी र सुस्ताहरू हुन् । सार्वभौमतः समग्र प्रधान र निर्णायक हुन्छ भने अंश सहयोगी मात्र हुन्छ । त्यसैले नवउपनिवेशवादी विश्वपद्दतिद्वारा निर्देशित भारतीय विस्तारवादी च्याप्टर नेपाली राष्ट्रियताको लागि गम्भीर खतरा छ ।
मौसमी राष्ट्रवादः
सिद्धान्ततः राष्ट्रको अस्तित्व रहेसम्म राष्ट्रवाद जीवित रहन्छ । अर्थात् राष्ट्र रहेसम्म राष्ट्रिय अन्तरविरोध कायम रहन्छ । अन्तरविरोध कायम रहेसम्म राष्ट्रियताको आन्दोलन जारी रहन्छ । तर मौसमी राष्ट्रवादमा भने सिङ्गो राष्ट्रिय स्वार्थभन्दा पनि कुनै दल, संस्था र व्यक्तिको स्वार्थ अन्तरनिहीत हुन्छ । यो निहीत स्वार्थ, सस्तो राजनैतिक खपत, सस्तो लोकप्रियता र घटना विशेष माहौल निर्माण वरिपरि घुम्ने गर्दछ । माहौलकै पछि लागेर माहौल तताउन यस्तो राष्ट्रवादी रणनीतिको सहारा लिने गरिन्छ । कसैप्रतिको विरोधी भावनाको कभरमा रणनैतिक स्वार्थ पूरा गरिन्छ । स्वयम् नवउपनिवेशवादी मुलुकले पनि रणनैतिकरूपमा मौसमी राष्ट्रवादलाई बल पुग्ने गतिविधि गर्दछ । नेपालमा भारत विरोधी सेण्टिमेण्टमा अन्तरनिहीत कोरा राष्ट्रवाद यसैको कडी हो । तर यस्तो मौसमी राष्ट्रवादी आन्दोलनले साँचो रूपमा राष्ट्रिय अस्मितालाई बचाउन सक्दैन । अर्थात् कसैको रणनैतिक इसारामा उठाइएको राष्ट्रियताको आन्दोलन उसैको रणनैतिक स्वार्थगत चक्रव्यूहबाट बाहिर उम्किन सक्दैन । स्वार्थको हानाथापमा सिङ्गो राष्ट्रवाद नै दाउमा राखिन्छ, जसले मुलुकको अस्तित्व नै समाप्त पार्ने खतरा हुन्छ ।
अन्धराष्ट्रवादः
पछिल्लो समय विश्वव्यापीरूपमै अन्धराष्ट्रवाद हाबी भइरहेको छ । यसले भूगोल, सिमाना र भावनालाई मात्र प्रधान ठान्दछ । जनजीविका र जनतन्त्रलाई बेवास्ता गर्दछ । तर राष्ट्रियतालाई सुदृढ गर्न सबल अर्थतन्त्रसहितको आन्तरिक राष्ट्रियता र जनजीविका मजबुत हुनै पर्दछ । यसले केवल रूपगत रूपमा असीमित भावनात्मक तरङ्ग पैदा गर्दछ । कतिपय सन्दर्भमा त यो थेगिनसक्नु हुन्छ । तर सारगतरूपमा विभिन्न स्वार्थ समूहहरूको रणनैतिक चलखेलको गोटी बन्न पुग्दछ । मूलतः अतिराष्ट्रवाद शक्ति हत्याउने भरपर्दो भ¥याङ सावित भइरहेको छ । ट्रम्प, मोदी, नेपाली अतिराष्ट्रवाद अनि युरोपमा ब्रेक्जिटवादी लहर सङ्कीर्ण –राष्ट्रवादका प्रतिनिधि घटनाहरू हुन् । अतिराष्ट्रवादी प्रवृत्तिले क्षणिक भावनात्मक माहौलसँगै कसैको रणनैतिक स्वार्थ सिद्ध गरे पनि दीर्घकालीनरूपमा आम राष्ट्रिय हित र स्वार्थ सुनिश्चित गर्न सक्दैन ।
वास्तवमा भूगोल, भावना र माहौल सङ्कीर्ण राष्ट्रवादका रूपपक्षहरू हुन् । यसले राज्य रहेसम्म निरन्तर राष्ट्रवादी आन्दोलन भइरहने सच्चाइलाई इन्कार गर्दछ । बरु उल्टै आफ्नो शासनगत वा दलगत स्वार्थको लागि अतिराष्ट्रवादको एकतारे रेट्ने गर्दछ । वाह्य हस्तक्षेपबाट प्रताडित जनताको कमलो भावनामाथि ब्ल्याकमेलिङ गर्न राष्ट्रवादी ढोङ गर्दछ । तर सारमा यो अति निरङ्कुशता, जातीयता, साम्प्रदायिकता, धार्मिकता, प्रतिगमन, एकपक्षीयता र निषेधमा अभिव्यक्त हुने गर्दछ । ढ्याङ्ग्रो ठटाएर स्याल तर्साए झैं वाह्य हस्तक्षेपलाई देखाएर असमानता, विभेद र अन्यायलाई संस्थागत गरिन्छ । आन्तरिक राष्ट्रियता असाध्यै कमजोर हुन्छ । यसको भावनात्मक तरङ्गको कभरमा शासनसत्ता टिकाए पनि वस्तुतः जनतन्त्र र जनजीविकाको ग्यारेण्टी गरिएको हुँदैन । भित्रीरूपमा सुदृढ राष्ट्रियताको सुनिश्चितता बलियो आत्मनिर्भर अर्थतन्त्रले मात्र गर्न सक्दछ ।
प्रगतिशील राष्ट्रवादः
प्रगतिशील राष्ट्रवादमा जनतन्त्र र जनजीविका मुख्य सवाल हुन्छ । अर्थात् यहाँ आन्तरिक राष्ट्रियताको न्यायपूर्ण अभ्यास गरिन्छ । यसमा भूगोल, भावना र सिमाना सहायक हुन्छ । राजनैतिक, आर्थिक, सामरिक र सांस्कृतिक आयामहरू सुदृढ र एकताबद्ध गरिएको हुन्छ । यो वस्तुतः राष्ट्र–राष्ट्रहरूको अस्तित्व रहेसम्म जारी रहने निरन्तर आन्दोलन हो । यसले राष्ट्रिय एकता, सद्भाव, सहयोगी र सृजनशील भावनाको विकास गराउँछ । न्याय र समानताको प्रत्याभूति गराउँदछ ।
यसले राष्ट्र, राष्ट्रियता, जनता, समुदाय, दल, समूह, नेता र कार्यकर्तालाई एकताको सूत्रमा सङ्गठित गर्दछ । आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविकाको केन्द्रीकृत अभिव्यक्ति नै असली राष्ट्रवाद हो । साँचो राष्ट्रियताले हमेसा अन्तर्राष्ट्रियतावादको सेवा गर्दछ । अर्थात् यसले आन्तरिक राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादबीच गतिशील वा रचनात्मक पुलको काम गर्दछ । आन्तरिक राष्ट्रियता बिनाको राष्ट्रवाद ढोङ्गी र कोरा हुन्छ । अर्थात् आन्तरिक राष्ट्रियताको सबलीकरण बिना राष्ट्रवाद सुदृढ हुँदैन । सुदृढ राष्ट्रवादी आन्दोलनको निरन्तर लामो प्रक्रियाद्वारा मात्रै अन्तर्राष्ट्रियतावादमा सङ्क्रमण सम्भव हुन्छ ।
राष्ट्रवादको विशेषतः राजनैतिक, प्राविधिक र अवसरवादी आयामहरू हुन्छन् । राजनैतिक आयाममा आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविकाप्रधान हुन्छ । यसको वकालत प्रगतिशील राष्ट्रवादले गर्दछ । प्राविधिक आयाममा भूगोल, भावना, फलामे पर्खाल सिमानाहरू मुख्य हुन्छ । यसको प्रतिनिधित्व सङ्कीर्ण वा अन्धराष्ट्रवादले गर्दछ । अवसरवादी आयाममा वाह्य तथा आन्तरिक रणनैतिक स्वार्थ हाबी हुन्छ । यो घटना र स्वार्थको पारो बमोजिम तलमाथि भइरहन्छ । यसको पैरवी मौसमी राष्ट्रवादले गर्दछ । विडम्बनाको कुरा नेपाली राष्ट्रियता पनि मौसमी राष्ट्रवादभन्दा माथि उठ्न सकेको छैन । पञ्चायतकालमा महेन्द्र पथीय निरपेक्ष सङ्कीर्ण राष्ट्रवादको बोलवाला थियो । यता गणतन्त्रपछि पनि मौसमी राष्ट्रवाद हाबी भइरहेको छ । राष्ट्रवाद पनि उत्पीडित तथा उत्पीडक वर्गीय हितमा हुन्छ ।
सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायहरूको समान अधिकार र न्यायको सुनिश्चितता सहित राष्ट्रिय स्वाभिमानको वकालत गर्ने निरन्तर आन्दोलन उत्पीडित वर्गीय राष्ट्रवादभित्र पर्दछ । यसलाई प्रगतिशील राष्ट्रवाद भनिन्छ । यसमा न्याय र समानता अनि सबल आर्थिक उत्पादनसहितको सुदृढ राष्ट्रिय एकता हुन्छ । यस्तो बलियो एकताले सुशासन र समृद्धि कायम गर्दछ । यस्तो स्वतन्त्र, न्यायिक र समृद्ध मुलुकले मात्र वाह्य अतिक्रमण विरुद्ध लड्न सक्छ । अतिराष्ट्रवादमा भूगोल, भावना र सिमानाको वकालत गरिए पनि आन्तरिक न्याय सुनिश्चित हुँदैन । अर्थात् यसमा निरङ्कुशता अन्तरनिहीत हुन्छ । यता मौसमी राष्ट्रवाद रणनैतिक स्वार्थगत उद्देश्यद्वारा निर्देशित हुन्छ । यसले सस्तो लोकप्रियतामार्फत् चुनावी बाजी मार्दै शक्ति हत्याउने रणनैतिक स्वार्थमा सिङ्गो राष्ट्रियतालाई बन्धकी राख्दछ ।
सीमा अतिक्रमणः
मुलतः नवउपनिवेशवादी विश्वअर्थराजनीतिद्वारा निर्देशित विस्तारवाद साथै सङ्कीर्ण र मौसमी राष्ट्रवाद हाबी भएको समाजमा सह–अस्तित्व र समानताको सिद्धान्त लागू हुँदैन । यसमा शक्तिशालीले कमजोर मुलुकहरू माथि कुनै न कुनै हस्तक्षेप लादिरहेको हुन्छ । यो सार्वभौम सत्य हो । यही वस्तुगत धरातलमा भारतले नेपाली राजनीति, अर्थतन्त्र, संस्कृति अनि भूगोलमाथि नराम्रो हस्तक्षेप गर्दै आएको छ । नेपाल–भारतबीच १८ सय किमीभन्दा लामो खुला सिमाना रहेको छ, जहाँ दर्जनौं स्थानहरूमा हाम्रो भूमि अतिक्रमित भएको छ ।
यस अतिरिक्त ठूला–ठूला बाँध र तटबन्धहरूले हजारौं बिघा जमिन डुबान हुनुको साथै हजारौं हेक्टर जमिन अतिक्रमण गरेको छ । भारतले कुल ६० हजार हेक्टरभन्दा बढी जमिन हडपेको देखिन्छ । यस्तो भारतीय हर्कत निश्तेज गर्न नवउपनिवेशवादी रवैयाको पर्दाफास गर्नुपर्दछ । अतिराष्टूवाद र मौसमी राष्टूवाद भित्रको कैफियती अनुहार उदाङ्गो पार्नुपर्दछ । प्रगतिशील राष्ट्रवाद स्थापित गर्नुपर्दछ । तब मात्र भारतीय अतिक्रमणको अन्त्य सम्भव हुन्छ । तर अझै पनि मौसमी राष्ट्रवादी जाल मात्रै तुनिरहने हो भने नेपाल दोस्रोे अफ्गानिस्तान बन्ने गम्भीर खतरा देखिन्छ ।
लिपुलेक विवादः
इष्ट इण्डिया कम्पनी सरकार र नेपाल बीच सन् १८१६ मा सुगौली सन्धी भयो । सन्धीबाट नेपालले जितेका ठूलो भू–भाग गुमाउनु प¥यो । यो इतिहासकै सर्वाधिक दुःखद् पक्ष हो । उक्त सन्धीमा काली नदी पूर्वको जमिन नेपालको हुने भनेर स्पष्ट गरिएको छ । काली नदीको मुहान लिम्पियाधुरा उल्लेख गरिएको छ । १८६७ सम्मको नक्सामा लिम्पियाधुरा नेपालमै देखिन्छ । तर भारतीय शासकहरूले लिम्पियाधुराबाट ३० किमी. पूर्वमा रहेको लिपुलेकबाट बग्ने लिपुखोलालाई नक्कली काली नदीको सज्ञा दिँदै नक्सा जारी गरे । सन् १९६२ मा भएको चीन–भारत सीमायुद्धकोक्रममा उसले कालापानीमा सेना उतार्यो । यही विन्दुदेखि आजसम्म लिपुलेक भञ्ज्याङ र कालापानीमा भारतीय सेनाको क्याम्प राखिएको छ । यता सन् १९९६ को महाकाली सन्धीमा भने लिपुलेकलाई महाकालीको शिर उल्लेख गरिएको छ । यसले महाकाली सन्धी हुँदै वर्तमान लोकतान्त्रिक सरकारहरू समेत रणनैतिक सत्तास्वार्थको सौदाबाजीमा राष्ट्रियतालाई लिलाम गर्दै आएको देखिन्छ । तब सडक निर्माण गर्ने भारतीय मन्त्रिपरिषद्को निर्णय १५ वर्षसम्म गुमनाम हुनपुग्दछ । १२ वर्षे निर्माण कार्यको कसैले पत्तो पाउँदैन । यसले आशङ्काहरू जन्माएको छ ।
समाधानः
पहिलो त नेपालीहरू एक हुनु पर्दछ । नवऔपनिवेशिक प्रणालीद्वारा निर्देशित हस्तक्षेपको भण्डाफोर गर्नुपर्दछ । अतिराष्ट्रवादी र मौसमी राष्ट्रवादी ढोङ्गको विरोध गर्नुपर्दछ । राष्ट्रियताको आन्दोलनलाई निरन्तर प्रक्रियाको रूपमा अङ्गीकार गर्नुपर्दछ । यसको लागि न्यूनतम्रूपमा प्रगतिशील राष्ट्रवादको लक्ष्य राख्नु पर्दछ । घटना विशेष रणनैतिक स्वार्थको कौडीमा राष्ट्रियताजस्तो अमूल्य आन्दोलनलाई लिलाम गर्नु हुँदैन । दोस्रो व्यापक जनदबाव सिर्जना गर्नुपर्दछ । त्यसपछि भारतसँग द्विपक्षीय वार्ता र संवादमार्फत् कूटनीतिक दबाव दिनुपर्दछ । यस अतिरिक्त त्रिपक्षीय वा बहुपक्षीय कूटनैतिक वार्ताको पहल पनि गर्नुपर्दछ । सम्भव नभए राष्ट्रसङ्घ हुँदै अन्तर्राष्ट्रिय अदालतमा पनि जान सकिन्छ । योसँगै प्रतिकात्मक, प्रतिकारात्मक र दबावमूलक गतिविधिहरूमार्फत् निरन्तर झक्झकाइरहनु पर्दछ ।
निष्कर्षः
त्यसैले भारतीय हस्तक्षेपको अन्तर्यमा नवउपनिवेशवाद जिम्मेवार देखिन्छ । यता नेपालमा पनि देशभक्तिलाई मौसमी राष्ट्रवादमा सीमित गरिएको छ । वस्तुतः विश्व–व्यवस्थाको नवऔपनिवेशिक चरित्रलाई पहिचान गरी त्यसको वस्तुवादी विकल्प पेश गरेर मात्र भारतीय भूमि अतिक्रमणको स्थायी समाधन गर्न सकिन्छ । मूलतः यस विरुद्ध आम जनतालाई सचेत गराउँदै गोलबन्द गर्नुपर्दछ । नवउपनिवेशवाद समग्र हो भने भारतीय हस्तक्षेप अंश हो भन्ने सैद्धान्तिक सच्चाइलाई स्थापित गर्नुपर्दछ । समग्र सत्तामाथि विजय प्राप्त नगरी आंशिक सत्ताको भरमा अपेक्षित उद्देश्य प्राप्ति हुँदैन । अर्थात् तत्कालीन आन्दोलन भारतीय विस्तारवाद विरुद्ध हुन्छ भने दीर्घकालिकरूपमा नवउपनिवेशवाद विरुद्ध लड्नु पर्दछ । तब संसारभरि व्याप्त सबैखाले हस्तक्षेपहरूको अन्त्य हुनेछ ।