- कोलमुनि
मैले सोधेँ, ए हजुरआमा मास्क खोइ ? हजुरआमाले झसङ्ग हुँदै हात नाकमा पु¥याइन् । मास्क छैन ! हाँस्दै भनिन्, होइन, अहिलेसम्म यहीँ पो झुण्डी राखेको थियो । काँ झरेर मरो त ! यति भनेर भुईंतिर नियाल्न थालिन् । पुलिसले पक्डिन्छ नि । अहिले त मास्क नलाई हिँड्न पाइँदैन । मास्क नलाई घरबाट निस्कनेलाई कारबाही गर्ने भनेको छ । झुक्किएर पनि मास्क नलाई हिँड्नु हुँदैन । मैले अलि कड्किएर थपेँ ।
हजुरआमाको चाउरिएको अनुहार निचोरेको निबुवाजस्तो भयो । पर्तिर भर्खरै झरेको रहेछ मास्क टिपेर ल्याइन् । वस्तुलाई महला लाइदिए जस्तो म बूढीलाई के लाइदिन्छन् के लाइदिन्छन् मुखमा ! त्यसै पनि सास बढेर हिँड्न हुँदैन । दमको रोगी छु । त्यसमाथि यो मुखमा महला लाएपछि त झन् सास फेर्नैै गाह्रो । के गर्नु लाउँदिन भन्दा पनि लाउनै पर्छ नलाई हुँदैन भन्छन् । बिहान हिँड्दा लाएर हिँड्यो बेलुका आउँदा छैन ! कहिले बाटाहुँदो हिँड्दाहिँड्दै झर्दो रहेछ । कहिले बसेकै ठाउँमा छोडेर हिँड्दिरहिछु । कति हराएँ कति यस्ता नाकमा लाउने टाला त मैले ! गन्या छैन र मै गन्नु भने ५० भन्दा बढी नै भए हुन् । घटी भा छैनन् ।
लाइरहने बानी भए पो अडिन्छ । एकछिनमा झरिजान्छ, यो झन्झट । डुब्नै लागेको घामलाई जति भरथेग गरे पनि एकछिनमा त्यो डुब्छ नै । आज हो कि भोलि । हामी दिन पर्खेकालाई के लाइरहनु प¥यो, यो मास्क–सास्क ! आमै सन्किइन् एकछिन । आफू मात्र सन्किइनन् । घरका अरूलाई पनि सन्काइन् । यिनले यसो गर्दागर्दै सार्छिन् होला कोरोना । वस्तुभाउ बूढो भए भीर खोज्छ रे । मान्छे बूढो भए निहुँ खोज्छ रे । सन्किँदै ओर्दै पनि आमैले मास्क लाइन् । मास्क लाउनु पर्छ भन्ने ख्याल चाहिँ छ ।
सोफामा बसेकी हजुरआमा सधैँ बसेकै ठाउँमा कहिले उङिरहेकी हुन्छिन् त कहिले झोक्राएर बसेकी भेटिन्छिन् । बोलाएर उठायो, झस्किन्छिन् । एकछिन खडा हुन्छिन् । एकछिनमा फेरि उस्तै । सजिलो गरी सुत्नू भन्यो भने दिउँसो सुत्दा जिउ बिग्रिन्छ रे । उङ्दाउङ्दै एक बार ए नानी यता आइज–आइज । यो लकडाउन कहिले खुल्छ ? खुल्यो क्यार बुझ्बुझ् जा भनिन् हजुरआमाले । के विचार आयो मनमा ! मैले खुलेको छैन आमा । कहिले खुल्छखुल्छ नि अब हाम्रो देशमा कोरोनाका बिरामी बढेकाबढ्यै छन् । घटे त खुल्थ्यो होला नि भोलि, पर्सिदेखि त झन् कडा गर्ने पो भन्दैछ त । असार लागेपछि अलि खुकुलो त भएको थियो । अब फेरि झन् कडा गर्छ जस्तो छ । हैन, म त काठमाडौंँ गएकी रहेछु । भर्खर गाडीबाट ओर्लंदैछु । गाडी दोहोरीलत्ता चलेका थिए । उहाँ त काँ याँ जस्तो हो र ! बाटो काट्ने ठाउँ नपाइने । मास्क–सास्क नलाई हिँडेपनि हुने । म त मास्क बिनै निस्फिक्री हिँडिरहेकी थिएँ । केटाकेटीहरू स्कुल जान थालेछन् । अपिसहरू सबै खोलेका ।
उद्योगधन्दाहरू चलिरहेका । ए मानिसहरू आफू खुसी सडकमा यता र उता हिँडिरहेका । लकडाउनको त कुरोकन्थै पो छैन ! तेरी फुपूले गाडी चढाई दिएथी । गाडीबाट ओर्लंदाओर्लंदै तैंले ब्युँझाइस् । मेरो सपना त खेर जाँदैन पो त ! तै बुझ्बुझ् खुलेजस्तो लाग्या छ है मलाई त यो लकडाउन–सकडाउन । मैले अब कोरोना सङ्क्रमित अलि घटेपछि विस्तारै खुल्छ होला आमा यो लकडाउन भनेपछि हजुरआमाको अनुहारमा उज्यालो छायो । यस्ता बूढाबूढी मान्छेलाई पनि के विघ्न चिन्ता हो ! मजासँग घरमा बसेर खान छोडेर । मानिसलाई यति भएर मात्र पनि नपुग्दोरहेछ । हामी हजुरआमाकै वरिपरि घुमिरहन्छौँ ।
हजुरआमा बिसञ्चो त भको छैन नि ? मैले सोधेँ । खै के सञ्चो भन्नु । के बिसञ्चो भन्नु नानी यो कोरोनाले मन भत्भती पोल्या छ । रातभरि निन्द्रा प¥या छैन । लकडाउन पनि आज खुल्छ भन्यो, खुल्दैन । भोलि त खुल्छ कि भन्यो, खुल्दैन ! यतिकै बर्खा जान्छ जस्तो छ । आज असार पनि कति गइसक्यो ? यसो विचार गर्दा नेपालमा पनि कोरोना सङ्क्रमित निक्कै भइसके जस्तो छ । जीवनमा कुनै कुराको अधिक चाहना छ र त्यो पूरा नभई अप्राप्य भयो भने त्यसले मानिसलाई कि सिर्जनात्मकतातिर लाँदो रहेछ कि विध्वंसतिर । अब यो कोरोना महामारीले विश्व मानव मन कतिको जीवनलाई निरस बनाइदिने हो । कतिलाई आशावादी ।
चारैतिरबाट असफलताले घेरेपछि मानिसको मन त्यतिकै निरस पनि हुँदो रहेछ । एउटा गाउँ हैन । देश होइन । सिङ्गो विश्व नै यो कोरोना महामारीले आक्रान्त भएको छ । हरेक दृष्टिले सम्पन्न मानिएका विश्वका अमेरिकालगायत युरोपियन मुलुकहरूमा पनि धेरै मानिसहरू मरे । उद्योगधन्दा, कल–कारखाना महिनौँदेखि बन्द छन् । उत्पादन नभएर खर्च मात्र बढेपछि जस्तो सुकै सम्पन्न देशले पनि आर्थिक रूपमा घुँडा टेक्दो नै रहेछ । आजसम्म कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ५,५०,००० भन्दा बढी भइसक्यो । सङ्क्रमितहरू १,००,००,००० भन्दा बढी भइसके । गुड्दागुड्दैको गाडीमा अनायास झ्याप्पै ब्रेक लागेजस्तो भएको छ मानव जीवनको गति ।
न रोकिइरहन सक्छ न अगि बढ्न । चैत ११ गतेदेखि नै राम्रोसँग आकाशतिर फर्केर हेरेकी रहेनछु मैले ! मन कोरोनाले जस्तै कालो बादलले आकाश ढाकेको रहेछ । अर्को दसा आज राति फेरि थपियो पानी भने कति घर बगाउने पो हो कि बाढीपहिरोले ! छँदैछ कोरोना कहर, घटेको छैन । शुरू भयो फेरि बाढीपहिरोको कहर । बाढीपहिरोको जोखिममा रात बिताउनेहरू । रातदिन आकाशबाट आरीले घोप्ट्याए जस्तो पानी पर्न थालेपछि खोला, नदी किनारका बस्तीहरू जो रातभरि आँखा घरको बलेसीमा बिछ्याउँछन् । भोलिपल्ट बिहान भएपछि पूर्वतिर हेर्दै लामो सास फेर्छन् ।
हाम्री हजुरआमा कडा । साँच्चै कडा भनेजस्तो भएन भने त लाठो लिएर आइहाल्ने । पछिसम्म हामी नाति–नातिनालाई पनि टेकेको लौरी उजाइहाल्ने । उहिले खसी झिकेर खानेलाई खोरबाट खसी झिक्दाझिक्दै असारेको तोक्मैतोक्माले ठटाएर ५–७ जना लाठेलाई खसी खोसेर लखेट्नुभएको रे । राणाशासन कालको आसपासको कुरा । मैले डराई डराई सोधेँ, ‘आमा तपाइँ बूढी मान्छेलाई लकडाउन खुले पनि के, नखुलेपनि के ? हातखुट्टा बसिकेकी मान्छे । खुले पनि घरै बस्ने हो, नखुले पनि घरै बस्ने हो । बसेकै ठाउँमा खानेकुरा आइहाल्छ । खाने बस्ने केको ल्याङ्ल्याङ । आमै कड्किइन् मैले मात्र खाएर हुन्छ ! तिमेरले खानु पर्दैन ? खाने मुख मात्र भएर हुन्छ ? आउने बाटो नभएपछि कति दिन यसरी बसेर खानु ? काम छैन । सधैँ बसेर खान पुग्छ ? यतिका जनलाई ? अस्ति पो काम थियो । तेरा बाउको पैसा आउँथ्यो र खान पाइयाथ्यो । यस्तै हो भने भोकभोकै मर्ने दिन आउँछन् सबैका । न उद्योगधन्दा चल्छन् न कल–कारखाना न खेतीपाती नै राम्रो हुन्छ । यो साल त अन्नबाली पनि सलह किराले उठाउन दिन्छ जस्तो छैन अनि के खाएर बाँच्ने ? तिमेरलाई पो शोक न सुर्ता भोक न भकारी खायो डकारी हिँड्यो हकारी छ त । म बूढीलाई चिन्ता कम छ ! यो बूढीलाई केको फिटफिट परेको हो भन्ठान्दा हौ । त्यो बाउले कसरी धान्या छ ? भन्ने त छैन । बाउको त्यही कमाइ पनि थिएन भने चेत्थ्यौ ।
उताबाट हजुरआमा आउँदैछिन् । ठूलो चाहिँ नातिले घुमाएर ल्याउँदैछ । एउटा हातमा मैले जान्दादेखि हिँड्दाको लौरो छ । अर्को हातमा पनातिको हात । कसोकसो मेरा आँखा हजुरआमाको नाकमा पुगे । मास्क छैन नाकमा ! उतिमाथि लाएर पठाएको फर्कंदा खाली नाक ! मैले नाकमा मास्क नदेख्ने बित्तिकै लख काटिहालेँँ । आज पनि हजुरआमाले मास्क हराइछन् । मैले फेरि कड्किएर सोधेँ, ए हजुरआमा मास्क खोइ ? कि आज पनि हरायो ? हजुरआमा निहुरिएर पोल्टाउँदो छाम्न थालिन् । नभेटेपछि यहीँ पो राखिरैथेँ । कता प¥यो ! भनेर पोल्टो टक्टक्याउन थालिन् । कहिले त झथ्र्यो मास्क भुईंमा आज झरेन । कसोकसो गर्दा भेट्टाइन् ।
यता पो रछ भन्दै झिकिन् । हिँड्दाहिँड्दै सास बढेर नफुकाली सकिनँ । फुकालेर यता राखिरथेँ फेरि लाउनै बिर्सेंछु । पुलिसले देखेर सोध्नुअगावै हजुरआमाको कानमा मास्क झुण्डिसकेको थियो । हजुरआमा पनि अब त चलाख हुनुभएछ । पुलिसको छेउछाउ पुगेपछि मास्क लाइहाल्नुहुन्छ । कटेपछि फेरि फुकालेर राखिहाल्नु हुँदो रहेछ भनेर हाँस्यौं सबै गलल । पुलिसका लागि लाउने हो र आफ्ना लागि पो लाउने हो त ! कोरोनाबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन । एकछिन् त उल्लीबिल्ली पाथ्र्यौं हजुरआमालाई वरिपरि बसेर हामी नाति–नातिना, पनाति–पनातिनाले । हाम्रो ध्येय भने हजुरआमाले आफ्नो नाकबाट मास्क नझिकिदिए हुन्थ्यो, भन्ने थियो । त्यसपछि त झिक्नु भएन ।
हजुरआमालाई मास्कमा बानी गराउन हामीलाई झण्डै ३ महिना जति लाग्यो । कहिले एउटा कानमा एकातिर मात्रै झुण्डिएर बसेको हुने । कहिले अर्को कानमा हावाले हल्लाइरहेको हुने । धेरैजसो त मुख मात्र छोपेको नाक खुल्लै हुने । मास्क लाउनु छ नाक नछोपी । पहिलेपहिले त त्यो पनि लाउन नमानेर हैरान । हजुरआमाले मास्क लाउन नजानेको देखेर हामी केटाकेटी उहाँको छेउमा उभिएर एक–अर्कालाई हेर्दै खुतुतु–खुतुतु हाँस्थ्यौँ । बल्ल हजुरआमाले मास्क लाउन जान्न थाल्नुभयो ।