- मधुराज केरुङ
परिचय
सामान्यतया के–लाःङ (च्याब्रुङ) नाच्दा गाइने गीतलाई नै के–साम भनिन्छ । के–साम अवसरवश विभिन्न उत्सव र पर्वहरुमा के–लाःङ सँगै गाइने गीत हो । यसका व्युत्पत्तिका सन्दर्भमा अनेक आख्यान, जनश्रुति, मिथक र किंवदन्तीहरु छन् । लयबद्ध के–साम गीतहरु च्याब्रुङको तालमा ‘कुसरक्पा’ नाचसँग मात्र गाउने गरिन्छ । पालाम र हाक्पारेको जस्तै नै प्रमुख गायकले पहिले शुरु गर्छ र अन्य सहभागीहरुले एक–एक लाइनमा कोरस हाल्छन् र प्रत्येक पंक्तिको टुङ्ग्याउनीमा ‘सरलै सर’ को ‘काफेक्वा’ अलाप्छन् । वृद्ध–वृद्धा, तरुण–तरुणी सबैले सामूहिक रुपमा केसाम गाउने गरिन्छ । प्रसङ्ग अनुसार गीतमा मुन्धुमी दृष्टिकोणले निर्माण गरेको सृष्टि वर्णन, मायाप्रीति, फूल, जोवन र यौवनका कुराहरु आउँछन् । यसरी आफ्नै भेषभूषा र गरगहनामा सजिएर च्याब्रुङको ताल र गीतमा नाच्दै गाइरहेको दृश्य हेर्दा जो कोहीको पनि हुट्हुटी जागेर आउँछ । र, थाहै नपाई लहरमा मिसिएर गाउन थाल्छन्, ‘सरलै सर’ ।
‘के’ उत्पत्तिका किंवदन्तीहरू
यहाँ ‘के–साम’ को कुरा गर्दा ‘के’ र ‘के–लाःङ’ को कथा बिना मुन्धुम पूरा हुँदैन । त्यसैले ‘के’ उत्पत्तिका विभिन्न आख्यानहरु सङ्क्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।
(चेम्जोङ–२०६३, पाना (६२) ले “एउटा यात्री रातपरेपछि जङ्गलको धोद्रो रुखको फेदमुनि बास बसेको थियो । र, त्यो समयमा अनौठो आवाजद्वारा उसको एकाग्रता भङ्ग भयो । त्यही नै बेला उनलाई एउटा नयाँ विचारले सचेत बनायो । त्यसपछि त्यो खोक्रो रुख काटी ढोल बनाएर बजाउँदा दुई किसिमको आवाज आयो । यसको दायाँतर्फबाट आएको आवाज चर्को र हृदयस्पर्शी थियो र देब्रेतिरबाट आएको आवाज भद्दा थियो । यसरी उनले आफ्नो मान्छेलाई ढोलको आविष्कार गरिदिए” भनेका छन् ।
(येहाङ–२०६२, पाना, ७६–७७) का अनुसार “बाजाईबाले पटक–पटक घर बनाउँदा पनि मूल खम्बामा ‘थक्पा’ (धुलेकीरा) लागेर ढलिरह्यो । धुलेकीराको आक्रमणबाट मुक्त हुन बाबु ‘सोधुङ्गेन् लेप्मुहाङ’ लाई उपाय सिकाइमागे । बुबाको सल्लाहमुताविक नै फेदाङ्माहरुसँग राय सुझाव माग्दा सरासर लासामी भएको ठाउँमा जान सुझाउँछन्, र त्यसपछि लासामीलाई ‘के’ बनाइमाग्छन् । लासामीले ‘हङ्सिङ’ रुखलाई ढाली गिँडेर खोपी धोद्रो बनाई, मृगको छाला तन्काएर बाँसको सुइरो पाङ्ग्रा उनेर राखी बजाउँदा ‘च्याङ्गुरुम् कुरुम’ भनेर घन्कियो” भनेका छन् ।
(माबुहाङ–२०६२, पाना–९१) ले “ताप्लेजुङको इखाबु गाविसका लोक्फातेम्बे हाङ्फातेम्बे लमुफुङ्देनहाङ लेदेनहाङ्बा र पेबु लाप्साहाङ्बाले खेलौना (केक्वा) खेल्ने क्रममा ‘के’ (च्याब्रुङ) बनाए । बनाएको ठाउँ ताप्लेजुङको लेलेप गाविसको केखिङ् गाउँ हो” भनेका छन् ।
(याक्थुङ्बा–२०७४, पाना–१) का अनुसार “तिगेञ्जङ्नाको केसामी र नाम्सामी नाम गरेका दुई जुम्ल्याहा दाजुभाइ थिए । भाइ नाम्सामी (मान्छे)ले दाइ केसामी (बाघ)को बध गरेपछि छाला उतारेर केसामीको स्वर (बाघको जस्तो) अनुसारको आवाज निस्कने ‘के’ बनाए” भनेका छन् ।
(सम्बाङ्फे–२०६९, पाना, २७) का अनुसार “सर्वप्रथम सोधुङ्गेन लेप्मुहाङले लाधक्हाङ र नाम्धक्हाङलाई च्याब्रुङ बनाउन लगाए । उनीहरुले लेक (सिम्युकेन मुदेन) तर्फ लाधक्हाङले धूपी (साङ्सिङ) को औल (तिमेन्दिङ वरक) तर्फ नाम्दक हाङले खमारी (हङ्सिङ) को च्याब्रुङ बनाएका थिए” भनेका छन् ।
उपर्युक्त भनाइहरुलाई केलाउने क्रममा (खजुम, –२०७१ पाना ८–१०) मा खजुमले वस्तुगत ढङ्गले केलाएका छन् । खजुमले पहिलो भनाइमा चेम्जोङले च्याबु्रङको उत्पत्तिको बारेमा मुन्धुमलाई आधार मानेका छैनन् । लिम्बूहरुका मुन्धुममा यात्रीको चर्चा कहीँ पनि पाइँदैन भनेर खण्डन गरेका छन् । त्यस्तै दोस्रो भनाइमा मुन्धुमसँग नजिक हुन खोजे पनि घटना, पात्र र स्थान मिलेन । तेस्रो भनाइ नै ठीक हो भन्ने कुरामा उनले सहमति जनाएका छन् । चौथो भनाइमा पात्र र घटना उल्लेख गरे पनि स्थान छैन । पाँचौं भनाइमा घटना, स्थान र पात्रहरु पनि स्पष्ट छैनन् । तुत्तुतुम्याहाङ, साम्बा, येबा र मुन्धुमविद्हरुको भनाइमा पनि केक्वा (खेलौना) बाटै हाल ‘के’ (च्याब्रुङ) भएको अनुमान गर्न सकिन्छ । मुन्धुमले वर्णन गरे अनुरुप पात्र, घटना र स्थान मिलेको र केधिङ तेम्बे पनि हाल ताप्लेजुङको लेलेपमा अवस्थित रहेकोले केधिङ तेम्बेमा नै ‘के’ निर्माण भएको हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर वैज्ञानिक तवरले च्याब्रुङको ध्वनिबाट धमिरालगायतका कीटपतङ्गहरु मर्छन् कि मर्देनन् भनेर प्रमाणित गर्नलाई यसको फ्रिक्वेन्सी र डेसिबल मापन गर्न आवश्यक छ ।
के, के–लाःङ र के–सामको सम्बन्ध
‘के’, के–लाःङ र के–सामबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । ‘के’ लाःङ (नाच) र साम भनेको गीत हो । यदि के–लाःङबिना के–सामको कुरा गरियो भने बिनामष्तिस्क मानिसको चेतनाको कुरा गरे जस्तो मात्र हुन आउँछ । लिम्बू समुदायले ‘के’ लाई आफ्नो प्राचीन सांस्कृतिक बाजाको रुपमा लिने गर्छन् । सामान्यतया ‘के’ खमारी, सिमल र शिरिषको काठको बनाइन्छ । लगभग दुईदेखि तीनफिटसम्मको काठ गिँडेर एकापट्टि गोरु वा गाईको छाला र अर्कोपट्टि बाख्राको छालाले मोरेर बजाइन्छ । ढोलको बाहिरदेखि बीच भागमा सानो दुलो पारिन्छ, र बाँसको भाटा लगाई छालाले राम्ररी कसिन्छ । ढोलभित्र रुद्राक्ष वा पाङ्ग्रा पनि हाल्ने गरिन्छ । ‘के’ भिरेर विभिन्न अवसर र पर्वहरुमा चराचुरुङ्गी र जनावरहरुको अनुकरण गर्दे नाचिन्छ । नाचहरु विभिन्न किसिमका हुन्छन्, जस्तै ः परेवा नाच, मयुर नाच, कुखुरा नाच, ढुक्कुर नाच, कोइली नाच, बाँदर नाच, माछा नाच, दुम्सी नाच, भँगेरा नाच इत्यादि हुन्छन् । विशेष गरेर यो नाच घरपैंचो, विवाह, तुङ्दुङ्गे पूजा, चौतारी बनाउँदा, साइमुन्द्री र वाग्दात माग्दा अनिवार्य रुपमा नाच्नुपर्छ । यी बाहेक अन्यान्य जातीय सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्दा पनि शोभाको लागि नाचिन्छ । च्याब्रुङको पनि धेरै किसिमका तालहरु हुन्छन् । तालमा ताल मिलाउँदै के–साम गीत गाइन्छ । कुन अवसरमा च्याब्रुङ नाचेको हो, त्यही अनुसार के–साम गाउनुपर्ने हुन्छ । घरको मूल खम्बामा रक्सी, फूल, चामल र काँसको थालमा दियो–कलश राखेर वरिपरि फन्को मार्छन् । च्याब्रुङ च्याङ...च्याब्रुङ च्याङ...च्याब्रुङको तालमा के–साम गाउँदै नाच्दा साँच्चै लिम्बूहरुको बेग्लै सभ्यताको झल्को दिन्छ ।
के–साम शास्त्रीय छन्द
के–सामलाई लिम्बू लोकसाहित्यमा शास्त्रीय छन्दको रुपमा लिइन्छ । अन्यान्य लोकछन्दहरु जस्तै नियमबद्ध हुन्छ । याक्थुङ पेन्युक्हाङ (२०५८) ले निर्धारण गरेअनुसार के–साम गीत ८ मात्राको हुन्छ । उदाहरणस्वरुप हिम ‘के’ (थक्थाम्मा) को संक्षिप्त केसाम हेरौंः
हुक्फाक्वा सिभाक खेङ्बासे
पङ्जिरी पङ्वा तेङ्बासे
सेमिक्ला सिघक् फा?लआ
आनि?रग चुम्से आल्लआ
सोखुदो थाम्मा लिम्मोओ
तुम्याहाङ यम्बा हिम्मोओ
च्वा पक्वा नुमेन् आभाङे
हिम्सिगाङ आनी आधाङे
हेन्बारी हेप्लेक खुङ्मेओ
हाङ्जिरी सिलाङ पुङ्मेओ
इक्सादिङ खाम्बेक खाम्मेत्नु
अक्वाना माङमेन् साम्मेत्नु
नाहेन्दिङ मिक्सो एप्तेर्रो
नेत्तिगेन् फुङ्वा चाङ्घते?रो ।। सरलै सर (याक्थुङ्बा, २०५८ ः४९)
नेपाली भावानुवादः
अँगालो मारी खेलेका साथीहरु हो ।
निगालो काटी बाँस जस्तै
अब त हामी साथी हो ।
उखुको रस गुलियोमा पल्किएर
घरको ठूलो घरमूली
पवित्र पानी बाँध्यौं
घरभित्र हामी पस्यौं
दोसल्ला घुम्लुङ्ग ओडेर
सम्मानित खाँबो फेदमा
पृथ्वी धरती माटो मान्दै
अक्वाना देवतालाई मान्दै
ईष्र्या डाही थिची लैजांै
घरधनीको जगजगी उठाई लैजौं । सोरलै सर ।
त्यस्तै पाँचथर फालेलुङ गाउँपालिका वडा नं. ५ हाल फेदेन–४ गढी निवासी केलाङ सांस्कृतिक समाजका अध्यक्ष मनकुमार केरुङ (४२) का अनुसार विवाहमा बेहुला बेहुलीलाई आशिर्वाद दिने के–साम गर्दा यस्तो गाइन्छ–
केलाङ्नु के–साम साम्मेमार
नेत्तिगेन् फुङ्वा चाङ्मार
ताक्चेप्पि फेजा साघकि आ
नेत्तिरे फुङ्वा ताधकिआ
माङ्गेन्ना येबो खुङ्सिर
लाहिके नामहिके युङ्सिर
सिगेवा फुङ्ग चाङ्चाङ्लो
नेत्तिगेन फुङ्वा थाङ्थाङ्लो
के–सामको महŒव
मुन्धुमी सभ्यतामा के–साम केवल गीत मात्र होइन, च्याब्रुङको अद्भूत शक्ति पनि हो । च्याब्रुङकै आवाजले घरको धमिराहरु थर्किएर मरेको किंवदन्ती छ । के–साम गाउँदा ‘के’ उत्पत्तिको कथा र यससँग मानवजीवनको सम्बन्धका अनेक किस्साहरु आउँछन् । नयाँ घर बनाएपछि घरको रक्षक देवता (सेअक्लुङ अक्वानामा) लाई घरको रक्षा गर्नू भनेर मानमनितोसहित च्याबु्रङ नाच्दै अक्वानामालाई मनाउँदै के–साम गाइन्छ । घर बाँध्ने (हिमखेङ्मा) गर्दा मुधक थक्नाम (माउ धमिरा) नलागोस्, दैवी तथा प्राकृतिक प्रकोपहरुलाई आउन नदिन, मुन्धाङ सेरी (चट्याङ), साम्हिक सुरित (आँधी बतास), वाहिक्तुङ्हिक (मुसलधारे पानी), छेक्ने विश्वासकासाथ केसाम गाइन्छ । विवाह (तेन्धाम मेख्खिम) गर्दा बेहुला बेहुलीको जीवन सुखमय बितोस् । यो जुनीमा मात्र होइन, अर्को जुनीमा पनि छुट्नु नपरोस् । सगरमाथा जस्तै सधैँ अटल र फुलेको फूल जस्तै सधैँ जगजगी रहोस् भनेर आशिर्वाद प्रदान गरिन्छ । च्याबु्रङ नाच्दै के–साममा शुभकामना तथा हार्दिक बधाई ज्ञापन गरिन्छ । शुभ कार्यमा मात्र के–साम गाइन्छ, दुःखको कार्यमा भने वर्जित नै गरिन्छ । के–साम गीत र यसको साङ्गीतिक महत्व उच्चतम् कोटीको हुन्छ नै । मूलतः याक्थुङ जातिको जीवन दर्शन मुन्धुमले निर्देशित गरेअनुरुप हुने भएकोले सामाजिक परम्परा, रीतिरिवाज र मूल्यमान्यताहरु मुन्धुममा आधारित हुन्छन् । अतएव, मानवीय जीवनमा गीतको अत्यन्तै अहम् भूमिका हुन्छ । के–साम गीतको अजस्र स्रोत पनि मन्धुम नै हो । त्यसैले लोकजीवनमा के–साम गीतबाटै आस्था, विश्वास र ज्ञानहरु पुस्तान्तरण भइरहेका हुन्छन् । विभिन्न कार्यहरुमा गाइने के–साममा शदियौंदेखि सँगालेर राखिएका अनुभव, कला र दर्शनहरु के–साम गीतबाटै अभिव्यञ्जित हुन्छन् । लिम्बुवानको गाउँबस्तीहरुमा च्याबु्रङको आवाज र के–सामको गुञ्जायसले नेपालको सांस्कृतिक विविधताको गतिलो प्रमाण दिन्छ । गाउँबस्ती डाँडापाखामा गुञ्जिने के–सामले नै मौलिक नेपाली गीत–सङ्गीतको पनि परिचय दिन्छ । ‘के’ र के–सामको महŒव सर्वथा र विश्वजनिन छ ।
निष्कर्ष
अहिले तमाम लिम्बू लोकसाहित्यहरु सिःलाम (मृत्युपथ) तिर उन्मुख छन् । यसको प्रमुख कारकतत्व राज्यको एकल भाषिक नीति नै हो । राज्यले सुनियोजित रुपमा भाषाको हत्या गरेपछि स्वतः रुपमा साहित्यको पनि मृत्यु हुन्छ । युनेस्कोका विद्वानहरुले भविष्यवाणी गरेका छन् कि ‘यो शताब्दीको अन्त्यसम्ममा केही शासकहरुको भाषाबाहेक अधिकांश भाषाहरु ठाडै जान्छन् ।’ यसको शिकारमा फेरि पनि लिम्बू भाषा प¥यो भने लिम्बूभाषासँगै सबै लिम्बू लोकसाहित्यहरु पनि ठाडै जानेछन् । लिम्बू भाषा बोल्दा असभ्य, जङ्गली, भूसतिघ्रे, अगतिलो भन्ने । अङ्गे्रजी, चाइनिज र हिन्दी भाषाहरु बोल्दा मात्र सभ्य र गतिलो भन्ने । राज्यले नै जबर्जस्ती यस्तो मानसिकताको विकास गरिदिएपछि कसले बोल्छ त लिम्बू भाषा ? कसले गाउँछ त लिम्बू गीत ? अब राज्यले मष्तिस्कमा रोपिदिएको यस्तो हीनवृक्ष जराबाटै उखेलेर फाल्नुको कुनै विकल्प छैन । बदलिँदो समयसँगै नयाँ पिँढीहरुलाई स्वपहिचानको बोध गराउन आवश्यक छ । ‘के’ निर्माणको लागि आवश्यक कच्चा पदार्थहरु उपलब्ध हुन सक्छन् कि सक्दैनन् भन्ने विषयमा पनि गम्भीर हुनुपर्छ । सर्वप्रथम ‘के’ बनाउँदा गाई वा गोरुको छाला चाहिन्छ । प्रचलित नेपालको संविधानले गाई वा गोरु काट्न निषेध गरेको छ । ‘के’ निर्माणको लागि अवरोधक तŒवको रुपमा रहेको संविधानलाई संशोधन गरेर गाईलाई राष्ट्रिय जनावरबाट अविलम्ब हटाउनु पर्छ ।
अनि मात्र ‘के’ र के–सामको जगेर्ना गर्न सकिन्छ । राज्यले नै यस्तो सांस्कृतिक सम्पदाहरु संरक्षण गर्ने नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न सकेको खण्डमा संस्कृतिको संरक्षण र जीविकोपार्जनको गतिलो माध्यम पनि हुनेछ । यस्तो सांस्कृतिक सम्पदाहरुले जताबाट पनि अन्ततोगत्वा राज्यलाई नै नाफा हुन जान्छ । अहिले मुलुक पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको र तीनै तहका सरकारकहरु समेत बनिसकेका छन् । स्थानीय तहमा नै यस्तो सांस्कृतिक उत्पादनबाट पुँजी निर्माण गर्न सकिन्छ । स्वदेश तथा विदेशका विभिन्न बजारहरुमा बिक्री वितरण गरेर आर्थिक उपार्जन गर्न सकिन्छ । यसतर्फ हाम्रो ध्यान जान सकेको अवस्थामा के र के–साम पनि ज्युँदो रहन्छ र ठूलो लाभ पनि प्राप्त हुन्छ ।