- निर्मल बराल
कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको नेतृत्व गर्नु हुने त्यस्तो व्यक्तित्व हुनुहुन्छ जसलाई वहाँका समकालीन, वर्तमान र भविष्यका कम्युनिष्टहरुले गहिरो श्रद्धा र आस्थाका साथ स्मरण गर्दै आएका छन् र गरिरहने छन् । आज हामी वहाँको ४२ औं स्मृति दिवस मनाइरहेका छौं । यस अवसरमा कमरेड पुष्पलाल सहित नेकपाका संस्थापक नेताहरु क. नारायण विलास जोशी, क. निरञ्जन गोविन्द वैद्य, क. नरबहादुर कर्माचार्यप्रति हार्दिक सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । कमरेड पुष्पलालको क्रान्तिकारी व्यक्तित्व, नेपालको कम्युनिष्ट एवं सामाजिक परिवर्तनको आन्दोलनमा पु¥याउनु भएको योगदानहरु वहाँका विशेषताहरु र आजको सन्दर्भमा कमरेड पुष्पलाललाई कसरी स्मरण र सम्मान गर्न सकिन्छ भन्ने विषयमा विचार–विमर्श गर्नु हाम्रो निम्ति महत्वपूर्ण कार्य र अनिवार्य कर्तव्य पनि हो ।
१. तत्कालीन परिवेश र कमरेड पुष्पलालको क्रान्तिकारी व्यक्तित्व निर्माण
कमरेड पुष्पलालको जन्म १९८१ साल असार १५ मा रामेछापमा भएको थियो । त्यस समय नेपालमा राणाहरुको जहानिया र अत्याचारी शासन थियो । पिता कर्मचारी हुनु भएका कारण माता–पितासँग रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक लगायतका ठाउँहरुमा बाल्यकाल बिताई काठमाण्डौं आउनु भयो । प्राथमिक शिक्षा घरमै र माध्यमिक शिक्षा पाटन हाईस्कुलबाट पुरा गर्नु भएपछि कलेज भर्ना भए पनि औपचारिक शिक्षा हासिल गर्ने बाटो तर्फ नलागी नागरिक अधिकार प्राप्तिको आन्दोलनमा लाग्नुभयो । १९८८ बाट राणाशासन विरुद्ध संगठित संघर्ष प्रारम्भ भयो । पुष्पलालको जेठा दाइ गंगालाल श्रेष्ठ त्यो आन्दोलनमा सक्रिय रहनु भएको थियो । पुष्पलाल पनि दाजु र वहाँका साथीहरुको प्रभावबाट राजनीति तर्फ आकर्षित हुनुभयो ।
गंगालाल सहित शुक्रराज, धर्मभक्त र दशरथ चन्दलाई १९९७ सालमा राणा शासकहरुले मृत्यूदण्ड दिए । आफ्ना दाजु सहित वहाँका तीनजना साथीहरुलाई शासकहरुले क्रुरतापूर्वक हत्या गरेको घटनाले पुष्पलालको मस्तिष्कमा विद्रोही एवं क्रान्तिकारी भावनाको विजारोपण ग¥यो । मृत्यूदण्ड दिनु अघि सपरिवार कारागारमा भेट्न जाँदा दाजु गंगालालले पुष्पलाललाई भन्नु भएको थियो–‘मैले प्रजातन्त्रको लागि बालेको दियोलाई तिमीले देशभरिे प्रज्वलित गर्नु ।’ अन्तिम संस्कारको बेला गंगालालको चिता अघि उभिएर पुष्पलालले आफ्नो जीवनको उद्देश्य क्रान्तिलाई बनाउने, अत्याचारी राणा शासन ढाली छाड्ने र नागरिक अधिकार लिई छाड्ने दृढ संकल्प गर्नु भएको थियो । चिता अघि उभिएर गरेको त्यही संकल्प सहित पुष्पलाल राणाशासन विरोधी आन्दोलनमा सचेततापूर्वक संलग्न हुनुभयो । गंगालालले माफी माग्नु भएको भए राणाहरुले वहाँलाई जीवनदान दिन सक्थे र परिवारका अन्य सदस्यहरुले त्यसो गर्न भनेका पनि थिए तर गंगालालले अत्याचारी शासकहरुसँग जीवनको भीख माग्नु भएन बरु मृत्यूदण्ड स्वीकार गर्नु भयो । यस प्रकार दाजु सहितका योद्धाहरुलाई दिइएको मृत्यूदण्ड र शासकहरुको सामुकुनै लोभ प्रलोभनमा नपरी जीवनको भीख माग्नुको सट्टा मृत्यूदण्ड स्वीकार गरेको परिघटनाले कमरेड पुष्पलालको क्रान्तिकारी व्यक्तित्व र राजनैतिक चरित्र निर्माणमा महत्वपूर्ण आधार खडा गरेको देखिन्छ ।
२. नेपाली राष्ट्रिय कांग्रेसबाट विद्रोह र कम्युनिष्ट पार्टीको स्थापना
दाजु सहितका चार योद्धाहरुको शहादत पछि कमरेड पुष्पलाल समेतको संलग्नतामा वि.सं. १९९८ मा प्रजातान्त्रिक संघ नामक राजनैतिक संगठनको स्थापना भयो । पछि वहाँ नेपाली राष्ट्रिय कांग्रेसमा संलग्न भई नागरिक अधिकार प्राप्तिको आन्दोलनको नेतृत्व गर्ने क्रममा गिरफ्तार समेत भई कठोर यातना भोग्नु भयो । नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रिय सचिवालय सचिवको जिम्मेवारीमा प्रवासमा रहँदा क. पुष्पलाल गहिरो अध्ययन र आन्दोलन संगठित गर्ने कार्यमा सकृय हुनुभयो । नेपाली राष्ट्रिय कांग्रेसले राणाशाही विरुद्धको संघर्षलाई टुङ्गोमा नपुर्याउने संकेत र नेतृत्व बीच तीब्र कलह देखे पछि सो दल र जिम्मेवारीसमेत परित्याग गरि माक्र्सवादी दर्शन, विचार र साहित्यको अध्ययनमा लाग्नु भयो । सो क्रममै कम्युनिष्ट पार्टी निर्माण गरी राणा शासनको अन्त्य गर्दै सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादको दिशामा अघि बढ्ने संकल्प गर्नु भयो । पार्टीको वैचारिक एंव सैद्धान्तिक आधार निर्माण गर्ने तयारी स्वरुप कमरेड पुष्पलालले पहिलो पटक माक्र्स, एङ्गेल्स्द्वारा रचित कम्युनिष्ट पार्टीको घोषणा पत्र नेपाली भाषामा अनुवाद सहित त्यसको भूमिका समेत लेखी २००५ सालमा प्रकाशित गराउनु भयो ।
वि.सं. २००६ साल वैशाख १० गते लेनिन जयन्तीको अवसरमा अन्य सहयोद्धाहरु कमरेड नरबहादुर कर्माचार्य, कमरेड नारायण विलास जोशी, कमरेड निरञ्जन गोविन्द वैध समेत भएर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । कमरेड मोतीदेवीको समेत पार्टी स्थापनामा महत्वपूर्ण योगदान रहेको देखिन्छ । कम्युनिष्ट पार्टी स्थापनासँगै पार्टीलाई वैचारिक राजनैतिक, सांगठनिक र संघर्षको क्षेत्रमा सही दिशाबोध गराउने काम मूलरुपमा पुष्पलालले नै गर्नु भयो । राणाशाही हुकुमी शासन विरुद्ध सम्झौताहीन संघर्ष चलाउने, देशीय सामन्तवादलाई चकनाचुर पार्ने, विदेशी एकाधिकार पूँजीवाद तथा साम्रज्यवादबाट देशलाई मुक्त पार्ने, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसँग एकता कायम गर्ने र नेपालमा नयाँ जनवादी गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्ने घोषणा कमरेड पुष्पलालले पार्टी स्थापनाको दिन गर्नुभयो । त्यसको ५ महिना पछि ३० भदौ (१५ सेप्टेम्बर १९४९) मा भएको प्रथम भेलाले कमरेड पुष्पलालद्वारा प्रस्तुत पार्टीको घोषणापत्र पारित गर्दै वहाँलाई सर्वसम्मत महामन्त्रीमा चयन ग¥यो । पार्टी स्थापना लगत्तै कमरेड पुष्पलालले भारत, चीन, शोभियतसंघ, एशिया र युरोपीयन देशका कम्युनिष्ट पार्टीहरुबाट शुभकामना लिन सफलता प्राप्त गर्नु भएको थियो । २००७ सालको राणाशाहीको विरुद्धमा भएको आन्दोलनमा पुष्पलालको नेतृत्वमा नेकपाले सकृय भूमिका निर्वाह ग¥यो ।
३. पार्टी भित्र वैचारिक संघर्ष र कमरेड पुष्पलालको भूमिकाः
पार्टी स्थापना भएको दुई वर्ष मै२००८ सालमा कलकत्तामा सम्पन्न पार्टीको प्रथम सम्मेलनले मरेड पुष्पलाललाई नै महामन्त्री चयन गरे पनि चार महिना पछि बसेको पोलिटव्यूरो बैठकले वहाँलाई महामन्त्रीबाट हटाएर अन्याय गरेको थियो । वहाँलाई किन हटाइयो यसको जवाफ आजसम्म अनुत्तरित छ । स्वयं पुष्पलालले यस प्रकरणबारे ठोस रुपमा बोल्नुभएन । तर कमरेड पुष्पलाललाई महामन्त्रीबाट अपदस्त गरिएको यो परिघटना पछि पार्टीभित्र संगठित रुपमा अवसरवादको प्रवेश भएको देखिन्छ । पार्टीभित्र दरवार र भारत परस्त चिन्तन पनि यो परिघटनासँगै पार्टी भित्र प्रवेश गरेको देखिन्छ । पार्टीको प्रथम महाधिवेशन (२०१०) ले पनि मूल रुपमै पुष्पलालकै लाइन बमोजिम स्थापना कालको रणनैतिक लक्ष्य नयाँ जनवादी क्रान्तिको बाटोलाई निरन्तरता दिने र कार्यक्रमिक रुपमा संविधान सभा, प्रजातान्त्रिक अधिकार, संसदको सार्वभौमिकता, दिल्ली सम्झौताको विरोध र राज्यप्रमुखलाई विशेषाधिकार दिन नहुने प्रस्ताव पारित ग¥यो । तर मुख्य नेतृत्वमा पुष्पलाल चुनिन सक्नु भएन । कमरेड मनमोहन अधिकारी महासचिव हुनुभयो । त्यसपछि नीति र नेतृत्ववीचको अन्तरविरोध र गहिरो खाडल देखा प¥यो । पोलिटव्युरो सदस्य समेत नरहेका डा. केशरजंग रायमाझीलाई अनपेक्षित रुपमा उपमहामन्त्री बनाइयो । उनीहरुले पार्टीभित्र प्रथम महाधिवेशनद्वारा पारित पार्टीको क्रान्तिकारी नीति कार्यक्रम र कार्यनीतिबारे विवाद सुरु गर्न थाले ।
कमरेड मनमोहन अधिकारी उपचारको क्रममा चीन जानुहुने भएपछि डा. केशरजंगलाई कार्यवाहक महासचिव बनाइयो । कमरेड मनमोहन चीनमै रहेको अवस्थामा सम्पन्न दोश्रो महाधिवेशन (२०१४) जेठमा का.वा. महामन्त्री रहेका डा. रायमाझी पक्ष नै हावी भएपछि पार्टी संशोधनवाद र अवसरवादको दलदलमा फस्यो । नेतृत्व डा. रायमाझीले हत्याएपछि पार्टीमा सैद्धान्तिक रुपमै विचलन आएको निष्कर्ष निकाल्दै जिल्ला पार्टीहरुले केन्द्रसँगको सम्पर्क विच्छेद गर्न थाले । अल्पमतमा परे पनि क. पुष्पलालले केन्द्रमा बसी जिल्लाहरुसँग सम्पर्क स्थापित गरी आफ्नो विचार सम्प्रेषण गर्दै उत्साहित बनाउने प्रयास गरिरहनुभयो ।
२०१५ को आम निर्वाचनमा क.पा. ले १०९ निर्वाचन क्षेत्र मध्ये ४८ क्षेत्रमा उम्मेदवारी दिई ४ क्षेत्रमा विजय प्राप्त ग¥यो भने राष्ट्रिय सभामा १ जना पठाउन सफल भयो । क. पुष्पलालले चुनावी घोषणापत्र तयार पार्ने र निर्वाचन परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । डा. रायमाझीका गलत विचार र प्रवृत्ति विरुद्ध निरन्तर अन्तर संघर्ष गर्नुभयो । भारतसँग गरिएको १९५० को सन्धि र उत्तरी चेकपोष्टमा राखिएका भारतीय सैनिक फिर्ता गरिनुपर्नेमा पुष्पलालले जोड दिइरहनुभयो । २०१७ पौष १ गते राजा महेन्द्रले संसद विघटन गरी दल माथि प्रतिवन्ध लगाउने घोषणाको कम्युनिष्ट पार्टीका कार्यवाहक महामन्त्रीका रुपमा रायमाझीले ‘प्रगतिशील कदम’ भन्दै स्वागत गरे । क. पुष्पलालले राजाको सो कदमको तीब्र निन्दा र भत्सर्ना गर्नुभयो ।
२०१७ सालको फौजी काण्ड पछि पार्टी प्रतिबन्धित र भूमिगत रुपमै दरभंगामा १ महिना लामो केन्द्रिय समितिको विस्तारित बैठक (प्लेनम) आयोजना गरियो । सो बैठकमा पुष्पलालले विघटित संसदको पूनस्र्थापना र राजाको निरंकुश शासन विरुद्ध नेपाली कांग्रेससँग संयुक्त मोर्चा निर्माणको प्रस्ताव अघि सार्नु भए पनि वहाँ अल्पमतमा पर्नुभयो । दरभंगा प्लेनमले ठोस कार्यक्रम तय गर्न सकेन । पुष्पलालले रायमाझीको दरबार परस्त नीतिको विरोध र भण्डाफोर गर्नुभयो । २०१९ सालमा सम्पन्न तेश्रो महाधिवेशनले रायमाझीको दरबार परस्त विसर्जनवादी प्रभावबाट पार्टीलाई मुक्त पारे पनि राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित गरी महामन्त्रीमा क. तुलसीलाल अमात्य चयन गर्यो । पुष्पलाल पुनः अल्पमतमै पर्नुभयो । पार्टी पंक्तिमा तेश्रो महाधिवेशनले कुनै उर्जा र प्रभाव दिन सकेन । महाधिवेशन पछि एउटा बैठक सम्म नबसी नेकपाको केन्द ्र विभाजित र विघटित हुन पुग्यो । यस बेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महाविवाद र पार्टी भित्रको अन्तरविरोधको परिणाम तेश्रो महाधिवेशन पछि क.पुष्पलालद्वारा स्थापित नेपाल कम्युनिष्ट पार्टी एकीकृत रहिरहन सकेन । तेश्रो महाधिवेशन पछि पार्टी केन्द ्र विहीन मात्र बनेन अस्वस्थ वहस र आरोप प्रत्यारोपले मर्यादाका सबै सीमा नाघ्न पुग्यो । दोश्रो महाधिवेशन देखि पुष्पलालसँगै एउटै कमिटीमा रहेर काम गरेका नेता मोहन विक्रम सिंहले पुष्पलालसँग गम्भीर वैचारिक असहमती राख्दै ‘गद्दार पुष्पलाल’ शीर्षकमा पुस्तकनै प्रकाशित गर्नुभयो । पछि पुष्पलालको निधनको वखत सो पार्टीका महामन्त्री रहेका क. निर्मल लामाले ‘क.पुष्पलालको निधनले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको’ शोक विज्ञप्ती प्रकाशित गर्दा मोहन विक्रम सहित सिंगो केन्द्रिय कमिटीले महामन्त्री क.लामाको आलोचना गर्ने निर्णय गरेको थियो ।
यसैगरी क.पुष्पलालले पार्टी केन्द्रिय मूखपत्र ‘मुक्तिमोर्चा’ प्रकाशनको जिम्मेवारीमा राख्नु भएका नेताहरु क. जीवराज आश्रित, क. मोदनाथ प्रश्रित, क. मदन भण्डारीले क.पुष्पलाललाई नवसंशोधनवादी, दलाल पूँजीपती वर्गका सहचर, सामन्तवादका गुप्त बन्धु, विस्तारवादका शुभेच्छुक, सामाजिक साम्राज्यवादका अनुयायी, माओविचार धाराका शत्रु, पार्टी एकताका दुश्मन जस्ता १२ वटा अभियोग लगाएर पार्टी परित्याग गरी कोर्डिनेशन केन्द्रसँग पार्टी एकता गर्नु भएको थियो । यसै अवधिमा पार्टी भित्र चिनीयां सांस्कृतिक क्रान्तिको प्रभाव पनि प्रष्ट रुपमा प्रतिविम्बित भयोर त्यसको सकारात्मक प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा देखिन थाल्यो ।
४. पार्टी पूनर्गठनको पहल र क.पुष्पलाल
स्पष्ट विचारधारात्मक राजनैतिक कार्यदिशाका आधारमा केन्द्रिय स्तरबाट पार्टी पूनर्गठनको पहिलो संगठित पहल (२०२३) गोखपुर सम्मेलन मार्फत क. पुष्पलालले नै गर्नुभयो । त्यस पहलका सैद्धान्तिक मान्यताहरुमा आधुनिक संशोधनवादको विरोध, मालेमा विचारको पक्षपोषण, सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको आवश्यकता, दीर्घकालीन सशस्त्र किसान संघर्ष र पार्टीलाई देशव्यापी बनाउनु नै मूख्य थिए । २०२४ साल भदौमा क. पुष्पलालले नेकपाको पुनः संयोजन गर्न प्रयास गर्नुभयो । सो भेलाले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको सट्टा पुष्पलालको नयाँ जनवादी क्रान्तिको लाइनलाई सही ठह¥यायो र वहाँले २०२५ सालमा गोखपुरमा पार्टीको तेश्रो सम्मेलन गरी पार्टी स्थापना गर्नु भई महामन्त्री चयन हुनुभयो । अर्को दोश्रो पूर्नगठनको पहल, केन्द्रिय न्यूक्लियस हुँदै मोहन विक्रम सिंह, क. निर्मल लामा र क. मोहन वैधद्वारा नेतृत्व गरिएको समूहबाट भयो वहाँहरुले २०२८ मा केन्द्रिय न्यूक्लियस गठन गरी २०३१ मा चौथो महाधिवेशन गर्नुभयो । तेश्रो पूनर्गठनको पहल झापा विद्रोहका नेताहरुमार्फत गरियो । उहाँहरुले २०२८ मा कोर्डिनेशन केन्द ्र बनाई २०३५ मा नेकपा (माले)को गठन गर्नु भयो । यसरी तीसको दशकबाट शुरु भएको पार्टी पूनर्गठनका उपरोक्त प्रयत्नहरुबाट सैद्धान्तिक र राजनैतिक समानता रहँदा रहँदै पनि एकिकृत पार्टी निर्माण हुन भने सकेन । तत्कालीन अवस्थामा क. पुष्पलालद्वारा गरिएको पार्टी पूनर्गठनको प्रकृयामा तीनवटै मूल पक्ष एकीकृत भएर जान सकेको भए नेपाली जनवादी क्रान्तिको स्थिति गुणात्मक रुपले भिन्न र उच्च स्थानमा पुग्न सक्दथ्यो कि ? क.पुष्पलालले पार्टी स्थापनामा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका, माक्र्सवादको प्रचार र त्यसलाई स्थापित गर्न गरेको अथक पहल, अनवरत संघर्ष गर्ने इच्छाशक्ति, राजतन्त्रका विरुद्ध गणतन्त्रको पक्षमा लिएको व्यापक संयुक्त मोर्चाको नीति र पार्टी पूनर्गठन गर्न लिएको पहलले क.पुष्पलाल आधारभूतरुपमा सहि भएको निश्कर्ष सहित कालान्तरमा क.पुष्पलाल माथि लगाइएका आरोपहरु प्रति आत्मालोचना गरिएको थियो । क.मदन भण्डारीले २०४४ सालमा सम्पन्न पार्टीको चौथो महाधिवेशनमा क.पुष्पलालको संयुक्त मोर्चाको नीति सही भएको विश्लेषण गर्दै नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय पूँजीवाद, साम्राज्यवाद परस्त चरित्र रहेकोले वामपन्थीहरु राजनैतिक रुपमा शक्तिशाली नभई लत्रिएर नेका संयुक्त जनआन्दोलनमा आउन नसक्ने कुरा नबुझ्नु क.पुष्पलालको केही कमजोरी रहन गएको उल्लेख गर्नु भएको थियो । नेकपा चौमको धाराले पनि नेकाको विश्लेषण र संयुक्त मोर्चा सम्बन्धी नीतिमा क.पुष्पलालका केही कमजोरी देखिए पनि क.पुष्पलाललाई गद्दार भन्नु ठूलो गल्ती थियो भनी स्वीकार गरेको थियो । क. प्रचण्डले पनि पुष्पलालको उच्च मूल्यांकन गर्नु भएको पाइन्छ ।
क.पुष्पलाललाई नेतृत्वबाट विस्थापित गरी कम्युनिष्ट पार्टीलाई ध्वस्त पार्न, कम्युनिष्ट आन्दोलन भित्र प्रायोजित रुपमा घुसपैठ हुन आइपुगेको डा.केशरजंग रायमाझीको धारा आज अस्तित्वमा छैन । तेश्रो महाधिवेशन पछि टुटेको क.आ.को कडी विभिन्न काल खण्डहरुमा एकिक ृत हुँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द ्र) को रुपमा केन्द्रित हुन पुगे । यी दुवै पार्टीहरु बीच ३ जेठ २०७५ मा पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भए पश्चात कम्युनिष्ट आन्दोलनको मूलप्रवाह र क.पुष्पलालद्वारा स्थापित पार्टीको वैचारिक एवं सांगठनिक उत्तराधिकारी पार्टीको रुपमा रहन पुगेको छ र टुटेको नेकपाको इतिहासको कडी जोडिन पुगेको छ ।
५. क.पुष्पलालका योगदानहरु
नेपाली कम्युनिष्ट एवं सामाजिक परिवर्तनको आन्दोलनमा पुष्पलालको महत्वपूर्ण योगदान रहेको स्पष्ट नै छ । ती योगदानहरुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:
क. वैचारिक क्षेत्रमा क. पुष्पलालका योगदानहरुः
क.पुष्पलाल अध्ययनशील र वैचारिक नेता हुनुहुन्थ्यो । लेनिनको अध्ययन, अध्ययन र फेरि पनि अध्ययनबाट वहाँ अभिप्रेरित हुनुहुन्थ्यो । वहाँले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, इतिहास, भूगोल, समाजशास्त्र र संस्कृतिको गहिरो अध्ययन गर्नु भएको थियो । पुष्पलालले माक्र्स, एङ्गेल्सद्वारा रचित कम्युनिष्ट पार्टीको घोषणापत्रको नेपाली भाषामा पहिलो पटक अनुवाद मात्र गर्नु भएन, नेपाली क्रान्तिमा त्यसको महत्व सहितको वेजोड भूमिका समेत लेख्नुभयो । नयाँ जनवादी कार्यक्रम, नेपाली क्रान्तिको मूलबाटो, नेपालको मातृसत्तात्मक समाज, नेपाली जनआन्दोलन एक समीक्षा, नेपाल कम्युनिष्ट पार्टीको १८ वर्षको सिंहवालोकन एवं समीक्षा, नयाँ जनवादी संस्क ृति, दस्तावेजको अध्ययन कसरी गर्ने, नोट्स् अफ् कम्युनिष्ट मूभमेन्ट इन नेपाल, नेपाल नाम कसरी रहन गयो जस्ता अमूल्य कृतिहरु दिनुभएको छ ।
वहाँले नेपाली क्रान्तिका आधारभूत सिद्धान्त, कार्यक्रम र नीति निर्माण गर्नुभयो । नेपाली समाजको चरित्र अर्धसामन्ती, अर्ध औपनिवेशिक रहेको तथ्य उजागर गर्नुभयो । नेपाली क्रान्तिको चरित्र निरुपण, क्रान्तिको लक्ष्य निर्धारण, क्रान्तिको बाटो, मित्रु र शत्रु पहिचान जस्ता नेपाली क्रान्तिका विचारधारात्मक समस्या हल गर्नु भएको थियो । वहाँ पार्टीको कार्यनीतिक कार्यदिशा सही ढंगबाट तय गर्न निपूण हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा लेखन, प्रकाशन लगायत कयौं विचारधारात्मक एवं विश्लेषणात्मक रिपोर्ट र दस्तावेजहरु लेखन गरी वैचारिक रुपमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
ख. संगठनात्मक क्षेत्रमा क.पुष्पलालको योगदानहरु:
क. पुष्पलालले संगठनात्मक क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । वहाँ संगठनलाई क्रान्तिको साधन ठान्नु हुन्थ्यो । स्वयं कुशल संगठक समेत हुनुहुन्थ्यो । राणा शासनको तख्ता पल्टाउन वि.सं. १९९८ मा भूमिगत रुपमा प्रजातन्त्र संघको निर्माणमा योगदान, गणतन्त्रको माग अघि सार्दै १९९९ मा गठित अखिल नेपाल वर्ग सभाको गठनमा योगदान, राणाशाहीको विरुद्ध नेपाल राष्ट्रिय कांग्रेसको संगठन विस्तारमा योगदान, नेपाल कम्युनिष्ट पार्टीको स्थापना प्रवास र नेपालभर संगठन विस्तारमा योगदान, जन वर्ग र पेशागत संगठनहरुको परिकल्पनाकार निर्माण, विस्तार र सुदृढीकरणमा योगदान पु¥याउनु भयो । ‘नेपाल कम्युनिष्ट पार्टीको कार्यपद्दती’ जस्तो महत्वपूर्ण कृति रचना गरेर पार्टी संगठन संचालनमा महत्वपूर्ण मार्गदर्शन गर्नुभयो । क. पुष्पलालकै नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी आजसम्म आइपुग्दा विशाल शक्तिमा रुपान्तरित हुन पुगेको छ । यो पनि क. पुष्पलालकै योगदानको प्रतिफल हो ।
ग. संघर्षको क्षेत्रमा क. पुष्पलालको योगदानहरु:
क.पुष्पलालले संघर्षपूर्ण जीवन बाँच्नु भयो । वहाँ शहीद गंगालालका भाइ हुनुका नाताले २००७ सालको क्रान्ति पश्चात सम्मान र सुविधापूर्ण जीवन बाँच्न सक्नु हुन्थ्यो । त्यो व्यक्तिगत सुविधाको बाटो परित्याग गरी लाखौं नेपाली जनता र राष्ट्रलाई सामन्तवादी र साम्राज्यवादी शोषण र उत्पीडनबाट मुक्त गर्ने संघर्षको बाटो रोज्नु भयो । जहानिया राणाशाही विरुद्धको संघर्ष, दिल्ली सम्झौता विरुद्धको संघर्ष, किसान आन्दोलन, मजदुर आन्दोलन, विद्यार्थी आन्दोलन, महिला आन्दोलन, पञ्चायती निरंकुशतन्त्र विरुद्धको आन्दोलन, जनतन्त्र, जनजीविका र राष्ट्रियताको आन्दोलनका परिकल्पनाकार तथा प्रणेता क. पुष्पलाल नै हुनुहुन्थ्यो ।
६. पुष्पलालका विशेषताहरु:
क.पुष्पलालको जीवन शैली सादा जीवन उच्च विचार र कठोर परिश्रमले युक्त थियो । वहाँको जीवन आर्थिक रुपमा अभावै अभावमा बित्यो । व्यक्तिगत सम्पत्तिको मोहमा कहिल्यै लाग्नुभएन । पार्टी संगठन, कार्यकर्ता र जनताको निम्ति नेताको सम्पूर्ण जीवन अर्पित हुनुपर्ने । नेताको दोहोरो जीवन प्रणाली हुनु नहुने । निष्ठा, त्याग र वलिदानको राजनीति गर्नुपर्ने वहाँका मान्यताहरु थिए । यिनै मान्यताहरु नै पुष्पलालका मुख्य विशेषताहरु बन्न पुगे । राजनैतिक र सैद्धान्तिक रुपमा जति नै तिक्ततापूर्ण विवाद भए पनि उच्च राजनैतिक संस्कार भएको कारण व्यक्तिगत रुपमा सबै प्रति वहाँको सद्भाव र सम्मान रहने गर्दथ्यो । क.पुष्पलाल असाध्यै सरल, अध्ययनशील, मिलनसार, मेहनती, सहनशील, अविचलित र उन्नत संस्कृतिको विशेषताहरुबाट युक्त नेता हुनुहुन्थ्यो ।
७. क. पुष्पलालका कमी कमजोरीहरु:
१. कम्युनिष्ट पार्टीका अन्य संस्थापक सदस्यहरु जो पार्टीको योजनामा संगठन र संघर्षको मोर्चामा क्रियाशील हुनुहुन्थ्यो, उहाँहरुलाई पार्टी स्थापना पछि केन्द्रिय समितिमा नराख्नु पनि गम्भीर कमजोरी हुनगयो । जसको कारण पार्टी स्थापनाको दुई बर्षमै पुष्पलाललाई पि.वि. को बैठकले महामन्त्रीबाट हटायो र वहाँ पार्टी भित्र लगातार अल्पमतमा पर्न थाल्नुभयो । २. क.पुष्पलालले प्रथम द्वितीय, तृतीय महाधिवेशनमा मूलतः गणतन्त्र र नयाँ जनवादी क्रान्तिको पक्षमा वहस गर्नु भयो तर तत्कालीन अवस्थामा पार्टी भित्रका संशोधनवादी एवं दरवार परस्त नेतृत्वका विरुद्ध समयमै निर्णायक सम्बन्ध विच्छेद गरी पार्टी निर्माण र पूनर्गठन गर्ने कार्य गर्न नसेकेको
देखिन्छ ।
३. २०१७ सालको फौजी काण्ड पछि राजाको निरंकुश शासनको विरुद्ध नेपाली कांग्रेस सहितको संयुक्त मोर्चा निर्माण गरी संघर्ष गर्ने र प्रहारको निशाना बनाउने कार्यनीति असाध्यै सही हुँदा हुँदै पनि नेपाली काँग्रेसको वर्ग चरित्र अन्तर्राष्ट्रिय पुँजीवाद र सामन्तवाद परस्त रहेकोले कम्युनिष्टहरु शक्तिशाली भएपछि मात्र लत्रिएर प्रजातान्त्रिक आन्दोलनमा सहकार्य गर्न आउने कुरा बुझ्न नसक्नु क. पुप्पलालको कमजोरी देखिन्छ ।
८. क. पुष्पलालप्रतिको सम्मान र आजको कार्यभार:
१. नेकपाको तेश्रो महाधिवेशन पछि टुटेको संगठनात्मक कडी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भए पश्चात जोडिएको छ । क.पुष्पलालले आफ्नो जीवनकालमा गर्नु भएको पार्टी एकता र पार्टी पुनगर्ठनको प्रयास सफल भएको छं । पार्टी एकता क.पुष्पलाल र संस्थापक कमरेडहरु, दिवंगत अग्रज नेताहरु प्रतिको सबै भन्दा ठूलो सम्मान हुन पुगेको छ । पार्टी एकताले नै नेपाली कम्युनिष्टहरुलाई वैधानिक रुपमा नै राज्य सत्ता सञ्चालनको निम्ति अत्याधिक बहुमतको अवस्थामा पु¥याएको छ । सात मध्ये ६ वटा प्रदेश र दुई तिहाई भन्दा बढी स्थानीय सरकारहरु आफ्नो घोषणापत्र अनुरुप संचालन गर्न सक्ने अवस्था छ । त्यसैले नेकपाको निर्माण हुनु क.पुष्पलालको नेतृत्वमा २००६ सालमा पार्टी स्थापना भएजत्तिकै महत्वको ऐतिहासिक परिघटना र उपलब्धी हो । यो उपलब्धीको हर हालतमा रक्षा गर्नु आवश्यक छ । नेकपालाई फुटाउने, टुक्राउने र विघटन गराउने जस्ता गतिविधि कसैलाई गर्न नदिन निरन्तर खबरदारी गर्न जरुरी छ ।
२. पार्टी एकताले हामी भौतिक रुपमा शक्तिशाली अवश्य बनेका छौ । तर विचारधारात्मक, राजनैतिक र सांस्क ृतिक रुपमा पार्टी अझ उन्नत हुँदै नजानु गम्भीर चिन्ताको विषय हो । आफुलाई लागेको रोग बेलैमा पहिचान गर्नु भनेको आधा रोग निको पार्नु सरह हो । त्यसैले पार्टीलाई समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सक्नेगरी मजबुद बनाउनु र सोही अनुरुप पार्टीका नेता कार्यकर्ताहरुको विचारधारात्मक राजनैतिक, सांस्कृतिक रुपान्तरण गर्नु र जनताको जीवनमा अनुभूति हुनेगरी आर्थिक विकास र समृद्धि सुनिश्चित गर्नु यति बेलाका महत्वपूर्ण कार्यभारहरु हुन् ।
३. आजको हाम्रो पार्टी कमिटि, जवस मोर्चा, सामुदायिक र पेशागत संगठनहरु भुत्ते हुँदै गएका छन् । राजनीतिक आन्दोलन पुरा भएको ठानी संघर्ष र दवाव आन्दोलनहरु उठ्न छाडेका छन् । राज्यले घोषणा गरेका कतिपय लोककल्याणकारी योजनाहरु प्रति पनि जनसमुदायमा उदासिनता देखा परेको छ । परिवर्तनकारी कम्युनिष्ट पार्टीको निम्ति यो गम्भीर चिन्ताको विषय हो । अब यो कमजोरीलाई अविलम्ब सच्याउनु पर्दछ । संवैधानिक रुपमा संस्थागत गरिएका मौलिक अधिकारहरुलाई पूर्ण रुपमा कार्यान्वयन गराउन, भ्रष्टाचार, अनियमितता र अराजकताको अन्त्य गर्न कानुनी दायरा भित्रबाटै जनसमुदायको विशाल दवाव संघर्ष सृष्टि गर्नु र त्यसको रापतापमा कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले जनताका ती जायज मागहरुलाई सम्बोधन र कार्यान्वयन गर्दै जाने कार्यनीतिक कार्यदिशा अपनाउनु आवश्यक छ ।
४. क.पुष्पलालका जीवनका विशेषताहरुबाट आफूलाई युक्त बनाउँदै मुलुकको सार्वभौमिकता, अखण्डता,स्वाधीनता अक्षुण राख्न हरदम सजग हुनु पनि क.पुष्पलाल कै मार्ग पछ्याउनु हो । संविधानले निर्दिष्ट गरेका परिवर्तनका विषयहरुलाई आवश्यक ऐन, कानुन निर्माण गरी शीघ्र कार्यान्वयनमा ल्याउदै, समाजमा विद्यमान सामन्तवादका सबै अवशेषहरुलाई अन्त्य गर्दै, राष्ट्रिय पूँजी निर्माणमा बाधक बनेको दलाल पूँजीवादलाई निरुत्साहित गर्दै, समाजवादी सामाजिक व्यवस्था निर्माणको आधार तयार पार्न ठोस कार्यनीति, कार्ययोजना र कार्यक्रम अघि बढाउनु जरुरी छ । यो नै आजको दिनमा क.पुष्पलाल प्रतिको सम्मान र सच्चा श्रद्धाञ्जली हुनेछ।
(पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीद्धारा २०७७ श्रावण १० गते धरानमा आयोजित विचार गोष्ठीमा प्रस्तुत कार्यपत्र)
४. कम्युनिष्ट आन्दोलनमा वहस ÷डि.पी. ढकाल
५. मिश्र बालचन्द्र, झापा आन्दोलन देखि एमालेको विभाजन सम्म ÷२०५८
६. नवयुगः वर्ष २८ अंक १०, असार २०७०
७. भूसाल वेदुराम÷ कमरेड पुष्पलालका मूख्य योगदान र विशेषता÷ पुष्पलाल स्मृति प्रतिष्ठान २०७५
८. पुष्पलाल छानिएका रचनाहरु ।