- लोकराज निरौला
अन्धविश्वासका विरोधी र तार्किक लेखक रामदेव पाण्डेले ‘विश्वासभित्रका अन्धविश्वासहरू’ नामक पुस्तकमा छुवाछुत, पशुपंक्षी, बलिप्रथा स्वास्थ्य, वर्षा, महिलासँग जोडिएका सामाजिक सञ्जाल चमत्कार, सपना, उखान, मृत्यु, भूकम्प, ग्रहण, ज्योतिष हस्तरेखा र कुण्डली विवाह, वनस्पति र अन्धविश्वास विविध अन्धविश्वास गरी २० वटा शीर्षकमा २ सय २० प्रकारका नेपाली समाजमा रहेका अन्धविश्वासहरूको वर्णन र चिरफार गरेको पाइन्छ ।
यीमध्ये महिलासँग जोडिएका अन्धविश्वासमध्ये एउटा विषय वा सन्दर्भ हो, साउनमा हरियो लगाउने प्रचलन । नेपालमा नेपालका हिन्दु धर्मावलम्बी महिलाहरू धर्म–कर्ममा पुरुषभन्दा अलिक बढी विश्वास गर्दछन् । अन्धविश्वास पुराना मात्र नभई नयाँ–नयाँ पनि भइदिने र त्यसका स्वरूपहरू फेरिने गर्दछन् । त्यस्तै एक नयाँ अन्धविश्वासको रूपमा साउन महिनामा महिलाहरूले हरियो पहिरन लगाउने प्रचलन पनि केही वर्ष अगाडिदेखि नै आएको हो । यो अन्धविश्वास हाल आएर नेपाली महिलाजगत्मा व्यापक भइसकेको छ ।
पहिला साउन महिनामा हरियो चुरा लगाउनु शुभ हुन्छ भन्दै शुरु भएको यो प्रचलनमा हाल आएर सम्पूर्ण वस्त्र नै हरियो लाउने र कतिपय महिलाहरूले त भित्री वस्त्र पनि हरियो लगाउने गर्न थालेका छन् । यो विशेषगरी हिन्दु तथा गैरहिन्दु नारीहरूमा झाँगिदै गएको अन्धविश्वास हो । आजभोलि साउन महिनामा हरिया चुरा, कपडा र हातमा राम्रो मेहन्दी लगायो भने आफूले चाहेको प्रेमीले बढी मन पराएको भ्रमसमेत महिलाहरूले भर्न थालेका छन् । व्यापारी व्यवसायीले एउटा सञ्जालकै रूपमा प्रचार–प्रसार गरिरहेका हुन्छन् । यसलाई धर्म, परम्परा, संस्कार, संस्कृतिको लेपन लगाइदिएपछि यो काट्नै नहुने, छोड्नै नमिल्ने संस्कार बनिहाल्छ ।
सम्भ्रान्त वर्गका लागि यस्ता प्रचलनहरू सौख हुन्छन् । मध्यम्वर्गको लागि बोझ र निम्नवर्गको लागि देखासिकीको रोग बन्ने गर्दछन् । अशिक्षित, पढाइ लेखाइ भएर पनि कुनै आफ्नो स्वअध्ययन विश्लेषण नगर्ने हिजोआजको सामान्य प्रचलनहरू बुझ्न नचाहने बाहिरी जगतलाई नबुझ्ने र धर्म परम्परा संस्कार संस्कृतिको बहानामा आफू भइरहेको विभेद र अन्यायलाई छुटयाउन नसक्ने घरपरिवारको प्रचलनलाई सोझै प्रतिकार गर्न नचाहने र नसक्ने महिलाहरू यस्तो गर्दछन् ।
साउन महिनामा हरियो चुरा र वस्त्र लगाउने प्रचलनको सन्दर्भमा एक पटक चुरा उत्पादन गर्ने कारखानामा धेरै रङका चुराहरू मेसिनबाट उत्पादन भएर आउनु पर्ने थियो तर प्राविधिक गडबडीवश रङहरूको मिश्रण मिलावट गर्न गल्ती हुँदा कारखानाबाट सबै चुराहरू हरियो रङमा मात्र तयार भएर निस्के ।
एकै रङका चुराहरू बजारमा बिक्री नहुने भएपछि त्यो कारखानाको विज्ञापन ढाँचा तयार गर्ने व्यक्तिले त्यो शहरभरिका ज्योतिष, साधु सन्तमहन्त, पुजारी पण्डितहरूलाई बोलाएर केही दान दक्षिणासमेत दिएर साउन महिनामा नारीहरूले हरियो चुरा, हरियो वस्त्र लगाउँदा शुभ हुन्छ । मनमा चिताएको कुरा पुग्छ भनेर नारीहरूमा प्रचार गरिदिनु प¥यो भनेर भन्न लगाएछन् । त्यो विज्ञापन ढाँचा तयार गर्ने व्यक्तिले भनेअनुसार नै उनीहरूले गर्दै भन्दै गएपछि महिलाले साउन महिनामा हरियो चुरा र वस्त्र लगाउने प्रचलन शुरु भएको मानिन्छ ।
हिन्दु नारीहरूमा ब्रतसम्बन्धी अन्धविश्वासले पनि त्यत्तिकै गाँजेको छ । एकादशी, औंशी, पूर्णमा, तीज, पञ्चमी, स्वास्थानी जस्ता एक दिनदेखि एक महिने सम्मका ब्रतहरू जम्मै महिलाको जिम्मामा छन् । ती ब्रतकथाहरूले महिलाहरूलाई कुन स्थानमा राखेको छ र कस्तोे शोषण गरिरहेको छ भन्ने कुरा वर्षौंदेखि ब्रत बस्दा पनि महिलाहरूले छुट्याउन सकेका छैनन् । तीजमा पानीसम्म नखाई ब्रत बसेर पतिको खुट्टाको पानी खाएमा पति भएकाहरूका लागि आयु बढ्ने अन्धविश्वासको ब्रत पनि नजिकै आएको छ ।