नारी पुरुष दुवै समान एक रथका दुई पाङ्ग्रा हुन् भन्छौ,
त्यसो हो भने पूरै रूपमा समान व्यवहार गरिदेऊ न ।
जब म खाना पकाएर तयार गर्छु
पानीको गिलास तिमी भरिदेऊ न
नानीहरू स्कुलको लागि म तयार गर्छु
स्कुलसम्म नानीहरूलाई तिमी पु¥याइदेऊ न ।
यसरी यत्तिकै एक हौं समान हौं भनेर मात्र
जिन्दगीको गाडी कहाँ चल्न सक्छ र ?
कहिलेकाहीँ मेरो दुखेको टाउको
तिमी आफैले जानेर थिचिदेऊ न
जब म कुनै कामले घरदेखि बाहिर जान्छु
घरको रेखदेख र हेरचाह तिमी गरिदेऊ न ।
अहँ ! नखाऊ कुनै पनि कसम र नगर वाचाहरू
जुनी–जुनी, जन्म–जन्मसम्मको लागि भनेर
बरु हरेक पल खुसीको कारण बनिदेऊ न ।
कहीँ कतै काम र साथीभाइहरूबाट फुर्सद भए
घरमा पनि कोही छ भनेर याद गरी सम्झिदेऊ न
आऊ साथ बसौं न कहिले त, मीठा बातहरु गरौं
ती मीठा बातले मुटुका चोटहरु पनि मेटाइदेऊ न ।
नारी पुरुष दुवै समान एक रथका दुई पाङ्ग्रा हुन् भन्छन्
त्यसो हो भने पूरै रूपमा समान व्यवहार गरिदेऊ न
जब म घरको सबै काम सकेर खुइय सुस्केरा हाल्छु
मलाई हेरी तिमी आँखाको इसारा अनि मन्द हाँसिदेऊ न
जब म शारीरिक रूपले थकित हुन्छु नि
मायालु बनेर तिमी न्यानो अँगालोले अँगालीदेऊ न ।
किन जरुरी पर्छ यी कुराहरू सधैँ भनिरहन
मेरा महसुसहरुलाई आफैले सम्झेर बुझिदेऊ न
नारी पुरुष दुवै समान एक रथका दुई पाङ्ग्रा हुन् भन्छन्
त्यसो हो भने पुरै रूपमा समान व्यबहार गरिदेऊ न ।
–धरान, १२ चतरालाईन