धनकुटा /  पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ काठमाण्डौमा सार्वजनिक गरिए छ ।

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले कविता संग्रह सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए । ‘धनकुटाकाले सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,’ उनको भनाइ थियो, ‘यस कविता संग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।’

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा. रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताए । उनले कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएर आफ्नो खुसी प्रस्तुत गरे । उनले धनकुटामा मात्र बसोबास रहेको यहाँका आदिवासी आठपहरिया समुदाय र प्रशासनिक थलोको रुपमा रहेको धनकुटा गौंडालाई विम्वको रुपमा कवितामा पस्किएको बताए ।
कार्यक्रममा साहित्यकार तथा प्रकाशक संस्था पुर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, साहित्यकार पवन आलोक, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको टिप्पणी गरे ।

‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशासनिक थलो धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएपछि आफूले पुनःस्मरण गराउन मात्रै चाहेको बताए । कार्यक्रममा उनले शीर्ष कविता वाचन गरेका थिए । कार्यक्रममा धनकुटामा बसोबास गर्ने आदिवासी आठपहरिया जातिका महिला दिदिवहिनीहरु मौलिक भेषभुषामा उपस्थिति थिए । धनकुटामा आठपहरिया समुदायका दिदिवहिनीहरुलाई स्थानीयले इष्टेनी र पुरुषलाई इष्ट भनेर सम्बोधन गर्दछन् ।

कान्तिपुर दैनिकका धनकुटा उपसम्पादक रहेका अधिकारीले चार वर्ष अगाडि गीत संग्रह ‘पहिलो स्पर्श’ सार्वजनिक गरेका थिए । पुस्तक प्रकाशन पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको हो ।
तस्विर÷ शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवस लगायतले कविता संग्रह सार्वजनिक गर्दै ।