नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका प्रमुख तीन अङ्ग हुन् । यस्तै चौथो अङ्गका रूपमा प्रेस अर्थात् पत्रकारिताजगत्लाई व्यवहारतः स्वीकार गरिएको छ । नेपालको संविधानको प्रस्तावनामै स्वतन्त्र प्रेसलाई आत्मसात गरिएको छ । समष्टिमा भन्दा यही पत्रकारिताजगत् नै राज्यको चौथो अङ्ग हो । पत्रकारिता आफैमा खोजमूलक कार्य हो, आमजनताको सूचनाको हक प्रदान वा राज्यको स्वेच्छाचारिताको पर्दाफास गरेर मिडियाले जनतालाई सचेत बनाउने काम गर्दै आएको छ । स्वतन्त्र प्रेसको रक्षा र जनताको सुसूचित हुन पाउने हकका लागि जस्तोसुकै सङ्घर्षमा पनि लेखक–पत्रकार उत्रन तयार रहन्छ । यद्यपि नेपाली प्रेसलाई धम्की, दबाव र स्वनियन्त्रणका बाटामा पु¥याउन विभिन्न स्वार्थ समूहले निरन्तर आक्रमण गर्दै आएका छन् । यसै सन्दर्भमा पत्रकारिता पेशा या व्यवसाय के हो ? अधिकार मात्र हुने कि कर्तव्य पनि छन् ? भन्ने जस्ता प्रश्न जनस्तरबाटै उठिरहेका छन् । पत्रकारिता निश्चय नै पेशा हो, व्यवसाय होइन । यो मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । कानून व्यवसायीले गर्ने वकालतजस्तो कानूनी व्यवसाय होइन ।
उद्योगी व्यवसायीले गरेजस्तो उद्योग व्यवसाय पनि होइन । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो । आज पत्रकारितामा नयाँ क्रान्ति आएको छ । प्रविधिमा मात्र होइन, प्रस्तुति, प्रयोग र प्रभावमा पनि । यसकारण पत्रकारिता पेशालाई नयाँ परिभाषासहित थप मर्यादित बनाउन जरुरी देखिन्छ । नेपालको पत्रकारितामा ठूल्ठूला लगानकिर्ता आएका छन् । उनीहरूले इलेक्ट्रोनिक (विद्युतीय) र प्रिण्ट (छापा) दुवै क्षेत्रको मिडियामा लगानी गरेका छन् । नाफामूलक ठूलो उद्योगका रूपमा सञ्चारक्षेत्रलाई प्रयोग गरिरहेका छन् । लगानीकर्ताले लगानी गरेपछि मुनाफा खोज्नु कुनै पनि व्यवसायीको धर्म हो । आजका हाम्रा सञ्चारक्षेत्रका लगानीकर्ता यसै अनुरूपको अपेक्षा गरेर मिडियामा लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताले आशातित नाफा कमाइरहेका छन् । सञ्चारलाई नाफामूलक उद्योग व्यवसाय बनाइरहेका छन् ।
एकातिर यस्तो अवस्था छ भने अर्कातिर सानो लगानीमा चलेका मिडिया चल्न नसकेर मरणासन्न अवस्थामा छन् । जसले लामो समयदेखि पत्रकारितालाई आस्था, विश्वास र मर्यादित पेशा बनाएका थिए तिनको पत्रकारिता पेशा सङ्कटग्रस्त बनेको छ । यस्तो हुनुको मूलकारण सरकारले सञ्चार नीतिलाई समय सापेक्ष बनाउन ढिला गर्नु पनि हो । हाम्रो पत्रकारिता बहुआयामिक बनिसकेको अवस्था मै पुरानै सञ्चारनीति, नियम र नियमावलीले नियमन गर्न सक्दैन । यसर्थ सञ्चारनीतिमा सामाजिक परिवर्तन अपरिहार्य देखिन्छ । सरकारको पुरानो सञ्चारनीति न्यायोचित छैन । ठूला मिडियामा काम गर्ने पत्रकार र सानो लगानीमा काम गर्ने पत्रकारबीच वर्गीय असमानता सिर्जना भइरहेको छ । पछिल्लो समय नेपालको मिडियामा पेशाको झ्यालबाट छिरेर व्यवसायको ढोकाबाट निस्किने प्रवृत्ति बढेको छ ।
यसलाई नियमन गर्न आवश्यक छ । जसरी अन्य क्षेत्रको व्यवसाय छाडेर स्कुल खोल्न, अस्पताल, मेडिकल खोल्न र अकुत नाफा आर्जन गर्न लालायित भए व्यवसायीहरू ठीक त्यसरी नै सञ्चारक्षेत्रमा लगानी गरेर अकुत कमाउने र मिडियाको आडमा शक्ति आर्जन गर्नेदेखि देशको राजनीतिलाई नै प्रभावित पार्नेसम्मका हर्कत अहिले भइरहेका छन् । अझ त्यस्ता सञ्चार उद्योगी र तिनका पक्षधर राज्यका सञ्चारमाध्यमलाई समेत निजीकरण गर्नुपर्छ भनिरहेका छन् यो हुनु किमार्थ ठीक होइन । हाम्रो देशको मिडिया पेशाको नाममा व्यवसाय भइरहेको छ, अझ व्यवसायिकताको आवरणमा व्यापारीकरण भइरहेको छ ।
सञ्चारमा व्यवसायीकरण हुनुपर्छ तर व्यापारीकरण हुनुहुँदैन व्यवसायीकरण र व्यापारीकरण फरक हो । यिनै कुराबीचको अन्तर छुट्याउन र पत्रकारितालाई उत्तरदायित्व र जवाफदेहीपूर्ण पेशा बनाउनका लागि पनि नयाँ सञ्चार ऐन अविलम्ब आउन जरुरी छ । नेपालको संविधानले नै नागरिकको अधिकार र कर्तव्य बारे प्रष्ट पारेको छ । राज्यको चौथो अङ्गमा क्रियाशील पत्रकार पनि समान नागरिक हुन्, तिनको पृथक् विशेषाधिकार हुँदैन तर पेशा, भूमिका र क्षेत्रका आधारमा आम नागरिकले पत्रकारलाई छुट्टै दर्जाका विशिष्ट नागरिक हुन् कि भन्ने ठान्छन् र यथेष्ट सम्मान पनि गर्छन् ।
यही जनसम्मानलाई बुझेर या नबुझेर हामी कतिपय लेखक पत्रकार आफूलाई अरू आम नागरिकभन्दा ठूलो, जान्ने विशिष्ट सर्वज्ञका रूपमा हेर्छौं र त्यस्तै प्रवृत्ति पनि देखाउँछौं । यसो गर्नु सर्वथा भूल हो । पत्रकार भएपछि विशेषाधिकार पाउनैपर्छ जस्तो, देशको नीति नियमभन्दा माथि छु भनेजस्तो प्रवृत्ति चौथो अङ्गका कतिपय सदस्यमा प्रकट भइरहेका छन् । यसो हुनु र सोच्नु अल्पज्ञान हो ।
आफ्नो मात्र नभएर सम्पूर्ण नागरिकको अधिकार रक्षाको लागि पहरेदारी र खबरदारी गर्ने सचेतक हो पत्रकार । आवाजविहीन नागरिकको आवाजलाई मुखरित गर्ने सचेत नागरिक हो पत्रकार । यसरी देशको नागरिकको अधिकारप्रति सचेत रहँदै राज्यका अन्य तीनवटा अङ्गसँग जनतालाई जोड्ने पुलको काम गर्नु पनि हो पत्रकारको काम । यसैकारण लेखक–पत्रकार विनयशील, अध्ययनशील र सचेत हुनुपर्छ । यसैभित्र पत्रकारको मर्यादित अधिकार अनुदित हुन्छ । अधिकारका साथै कर्तव्य जोडिएका हुन्छन् नागरिकका । यति लामो र गौरवपूर्ण पत्रकारिताको इतिहास पार गरेको यहाँसम्म आइपुग्दा पनि हामीले आफ्नो कर्तव्यप्रति सचेत भएका छैनौं कि भन्ने देखिन्छ ।
हाम्रा राजनीतिक संस्था र तिनका नेताहरू संस्थामा र सत्तामा रहँदा पत्रकारको कर्तव्यप्रति चासो राख्ने र फेरि तिनै संस्था र तिनको नेता विपक्षमा रहँदा अधिकारको मात्र वकालत गर्ने द्वैधचरित्र या परम्परागत मनोरोग यसको कारक हो । हाम्रो पत्रकारिता राजनीतिक पत्रकारिताबाट शुरु भएको हो । राजनीतिक पत्रकारिताको आफ्नै मूल्य र महŒव हुन्छ । यही पत्रकारिताको असर पनि हो यस्तो हुनुको अर्को कारण । पत्रकारिताका थुप्रै स्थापित सिद्धान्त छन्, त्यो छुट्टै विषय हो । संसद् नै नभएको बेलामा पनि पत्रकारहरूले सार्वजनिक मुद्दाहरूका आधारमा जनप्रतिनिधिहरूको भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
वास्तविक पत्रकार बन्नु भनेकै जनताको प्रतिनिधि बन्नु हो । प्रायः पत्रकारहरूले सम्प्रेषित गरेका सूचनाकै आधारमा विभिन्न दलका निर्वाचित सांसद्हरूले संसद्मा आवाज उठाउने गर्छन् । यस प्रकार, निर्वाचित दलीय प्रतिनिधिहरूले समेत पत्रकारितामार्फत् प्रशस्त खुराक प्राप्त गर्ने गरेको तथ्य स्पष्ट छ । त्यसैले सामाजिक, राजनीतिक र राष्ट्रकै विकासका लागि पत्रकारको महŒवपूर्ण हात हुने भएकाले पत्रकार बिना मुलुक नै चल्न सक्दैन । त्यस्तै पत्रकारले लोकतन्त्र, नागरिकको अधिकारको रक्षा र राष्ट्रको समन्नुतिका लागि आफ्नो कर्तव्यलाई हरपल अधिकार समान ठान्नुपर्छ । यसैमा पत्रकारिताको पेशागत सम्मान मर्यादा र अधिकार अन्तरनिहित हुन्छ, सबैको हित हुन्छ ।