- श्रीप्रसाद जबेगू
हजारौंको रगत
महासागरको छाल भएपछि,
मान्छेका हाडखोर
र मासुका थुप्रोहरू
ढुङ्गा-माटो बनेपछि
लाखौंका पसिनाले,
यिनै ढुङ्गा माटोलाई जोडेपछि
बनेको हो यो
हाम्रो आस्थाको घर
......................................
चित्कारको हुरी चलेर
जिन्दगीको क्षितिज छोपिए
मृत्युको बादल लाग्दै जाँदा
मिलनका आकाशहरू फाटिए
अनि त बन्यो
यो अस्तित्व-भर
हाम्राे प्रिय आस्थाकाे घर,
...........................................
जेलनेल र त्यागहरूको गोधुलीमा
परिवर्तनको दियो बाल्दा
यातनाको अन्धकारबाट
विद्रोहका बीजहरू उमार्दा
हजारौं चेलीहरूका सिन्दुर पुछिनाले
अद्वितीय बलिदानी फुलेपछि
जन्मे कति कति सहिद
ज्ञात अज्ञात आमाका
काख रित्तिएपछि
यही दार्शनिक धरातलमा
बनेको हो, हाम्रो रक्तिम
प्रतिष्ठाको घर,
......................................
र, नै समाजवादको रङमा
साम्यवादको छानो छ,
समृद्धिको चौकट्टा भएर
सङ्घीय लोकतन्त्रको
रानो छ
समानताको ओछ्यानबाट
देखिएको अजीवको सपना
विश्वासको क्षितिजमा
उदाउँदै गरेको हाम्रो त्यो
आस्थाको घर छ
.............................................
अहङ्कारको समिधाले
पाखण्डी भ्रष्टहरूको कात्रोले
अस्तित्वको घरलाई
बेरिहेको छ
गुटको धुँवाबाट सल्केको
डढेलोले सारालाई
घेरिरहेको छ
.......................................................
रातो घरका निर्माताहरू !
आओ ! एक भएर हिम्मतको
धनुष-वाण चलाऔं
हाम्रो आस्थाको
घरलाई बचाउँन
मर्नुपरे मरौँ
तर खुट्टा नकमाऔं ।
२०७७/४/२७ फिदिम,पाँचथर