थाइल्याण्डको समुद्री किनारको पानी सन् २००४ को डिसेम्बर २६ मा स्वाट्टै घटेर गयो । अरूले खासै ध्यान दिएनन् । तर आफ्ना बाआमासँग रमाइरहेकी १० वर्षकी अङ्ग्रेज बच्ची टिल्ली स्मिथले आत्तिँदै भनिन्, ‘अब एकैछिनमा सुनामी आउँछ बाबा । उनका बाआमा चनाखो भए तत्काल सोधे, ‘कसरी छोरी ?’ उनले भनिन्, ‘भूगोल पढाउने सरले भन्नुभएको यसरी समुद्रको पानी स्वाट्टै घट्यो भने एकै क्षणमा सुनामी आउँछ रे ।’ तत्काल सुरक्षा गार्डलाई खबर गरियो । माइकिङ भयो । १ सय जनाको ज्यान बच्यो सानी बच्चीको ज्ञानका कारणले । जबकी थाइल्याण्डकै त्यस्तै अर्को ठाउँमा सम्भावित दुर्घटनाको अनुमान गरिदिने वा भनौँ जान्ने कोही थिएनन् र सयौँको ज्यान गयो सोही सुनामीको कारणबाट ।
जापानको पूर्वीक्षेत्र सेण्डाई प्रान्तमा सन् २०११ मार्च ११ मा गएको भूकम्पपछि आएको सुनामीले १८ हजारभन्दा बढीको ज्यान लिए तापनि धेरै विद्यालयका विद्यार्थी र शिक्षक बचे, अरूलाई पनि बचाए । तर ‘ओकावा इलिमेण्टरी स्कुल’ का ७४ जना स–साना विद्यार्थी र १० जना शिक्षकले एकै ठाउँमा ज्यान गुमाए किनकी उनीहरूलाई सुनामी के हो र कसरी बच्ने भन्ने थाहा थिएन, सिकाइएको थिएन । उनीहरूलाई जुन ठाउँ सुरक्षित भनेर सिकाइएको थियो, त्यहीँ सहायता पर्खंदा पर्खंदै डुबानमा परेर उनीहरू मरे । त्यस्तो कमजोरी वा लापरबाहीको बारेमा अदालतमा उजुरी प¥यो । अदालतले स्थानीय सरकार र प्रदेश तहको सरकारलाई विद्यालय सुरक्षा मापदण्डमा सुधार गर्न र क्षतिपूर्ति दिन आदेश त ग¥यो तर ती कलिला बच्चाको जीवनको मूल्य पैसासँग कसरी साट्न सक्छौं ? भनेर उनीहरूका अभिभावकहरूले प्रश्न गरिरहेका छन् । बूढा अभिभावकहरू भने आफू बाँचेर बच्चा गुमाएकोमा पश्चाताप गर्दैछन् ।
यता हाम्रो नेपालको दृश्य अलिक फरक छ । २०७६ असार २८ गते इलामका ३ जना किशोरी विद्यार्थीलाई माईखोलाले बगाएर बेपत्ता बनायो । उनीहरू वर्षा भइरहेकै समयमा खोला तर्दै थिए । यस्तै किसिमका घटनाहरू धेरै भएका छन् । कतिपय घटना त भेलमा छिरेर दाउरा तान्ने गर्दा भएका छन् । कतिपयको भने पानीको प्रवाह र खोलाको बारेमा थाहा नपाएका कारणले पनि ज्यान गएको छ । पढेलेखेकै मान्छेहरू अति सामान्य लाग्ने विपद्मा परेर मृत्युवरण गरेका वा घाइते भएका धेरै घटना छन् । जब कि सामान्य सावधानीले उनीहरू बाँच्ने थिए ।
यी दुईखाले उदाहरणबाट के प्रष्ट हुन्छ भने विपद् के हो ? यसबाट कसरी जोगिने ? भनेर सिक्ने जान्ने मौका पाएका विद्यार्थीहरू बाँच्न सफल भए । उनीहरूले अरूलाई पनि बचाए । धन्य भए । तर नजान्नेहरूले ज्यान गुमाए । अमूल्य जीवन मूल्यहीन भएर गए । पीडा थपेर गए ।
विपद् व्यवस्थापनमा राम्रो नतिजा दिन सक्ने देश भनेर चिनिएको जापानले विगतका पाठहरूबाट सिकेर आफ्नो औपचारिक तथा अनौपचारिक दुवै शिक्षा पद्दतिमा सुधार गरेको छ । पाठ्यक्रम र शिक्षण विधिमा परिवर्तन ल्याएको छ । जसमध्ये बच्चाहरू र अभिभावकहरूलाई सँगसँगै सहभागी हुन प्रोत्साहन गर्ने ‘कार्यहरू क्याराभान’ विपद् मेला, घटनाका सङ्ग्रहालयहरू र सिकाइ केन्द्रहरू प्रत्येक शहरमा छन् । शिक्षासम्बन्धी विश्व विद्यालयले शिक्षक उत्पादन गर्दा विपद् व्यवस्थापन विषय अनिवार्य बनाएको छ । विपद् पढेका जेहेन्दार छात्रछात्राले आधारभूत विद्यालयमा अध्यापन गर्छन् । प्रत्येक विद्यालयमा विपद् सम्पर्क शिक्षक तोकिन्छन् । ती शिक्षकहरूलाई क्षेत्रगत रूपमा विपद् स्रोत शिक्षकहरूले समय–समयमा तालिम तथा समन्वयको कार्य गर्दछन् । यसलाई प्रदेश तहका सरकारहरूले राम्ररी सहयोग गरेका छन् ।
सामान्य किसिमका विपद्बाट मात्र बर्सेनि ५ सयभन्दा बढीको ज्यान जाने र अर्बौंको क्षति हुने नेपालमा विपद्का बारेमा के सिकाइन्छ र के पढाइन्छ त भनेर हेर्दा उल्लेख्य व्यवस्था पाइँदैन । कक्षा ६ देखि केही प्रकोपहरू के हुन् ? ती कसरी हुन्छन् भन्ने वर्णणात्मक प्रस्तुति छ तर ती प्रकोपहरूको प्रभाव कसरी कम गर्ने ? प्रकोपबाट कसरी बच्ने ? आपतमा कसलाई खबर गर्ने ? सुरक्षित स्थान कुन हो ? त्यहाँ कताबाट कसरी कति समयमा सुरक्षित रूपले पुगिन्छ ? जस्ता कुराहरू जानिराख्नु पर्छ भन्ने कुरा उल्लेख छैनन् । नमूना अभ्यास गराउने कुरा पनि छैन ।
स्थानीय तहले आफ्नो विशिष्टतालाई सुहाउँदो आफ्नै पाठ्यक्रम तयार गरेर सिकाउन मिल्ने कानूनी व्यवस्था भए तापनि यसले सार्थकता पाएको छैन । विपद् व्यवस्थापनका क्षेत्रमा दीर्घकालीन सोचका साथ कार्यहरू अघि बढिरहेका छैनन् । स्थानीय रैथाने प्रविधिहरू जोगाउन र सही उपयोग गर्न सकिएको छैन । मुख ताक्ने प्रवृत्ति छ । एउटै प्रकारका विपद्ले बर्सेनि एउटै ठाउँमा असर गरिरहेका छन् । न्यूनीकरण प्रयास अपर्याप्त छन् वा भएकै छैनन् । व्यवस्थापन प्रतिकार्यात्मक छ । राहतमुखी छ अनि प्रचारात्मक छ ।
विश्वविद्यालयहरू पनि व्यवहारिक शिक्षामा उदासिन देखिन्छन् । शिक्षक हुन विपद् पढ्नै पर्दैन । धेरै औपचारिक प्रमाण–पत्रहरू जीवनसँग जोडिन बाँकी नै देखिन्छ । विद्यालयक्षेत्र परिचालनका लागि माथिल्लो तहबाट निर्णय गर्दा सहयोगात्मक भन्दा पनि निर्देशनात्मक निर्णय भएको पाइन्छ । जब कि त्यससम्बन्धी पाठ्य सामग्री, तालिम सामग्री, प्रशिक्षण सामग्रीहरूको उत्पादन, प्रशिक्षण र उपलब्ध गराउनुपर्ने थियो । नमूना अभ्यासहरूमा सहयोग गर्नुपर्ने थियो । यसमा विषयगत क्षेत्रले समन्वय गरेर पठाउनु पर्नेमा ती क्षेत्रमा काम गर्ने संस्थाहरू नै अलमल्ल छन् । हाम्रो सङ्घीयता शासन प्रणाली अभ्यास हेर्दा यहाँ निर्देशनले भन्दा पनि गुणस्तरीयताबाट माग सिर्जना गरी सहयोगात्मक पद्दतिबाट मात्रै अगाडि जान सक्ने देखिन्छ ।
सन् २०३० का लक्ष्यहरू पछ्याउँदै नेपालले विपद् जोखिम न्यूनीकरणको १२ वर्षे रणनीति तयार गरेर कार्यारम्भ गरेको यो दोस्रो वर्ष हो तर रणनीतिअनुसार काम हुन सकेको छैन । रणनीतिको स्थानीयकरण हुने क्रममा छ । सार्थक नतिजाको लागि हाम्रो सोचाइ र कार्यशैलीमा परिवर्तन जरुरी छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई ‘काम’ को रूपमा सूचीकृत गरिनुपर्छ र मापन गरिनुपर्छ । स्थानीय लक्ष्य तोकेर निरन्तर लाग्नुपर्छ । तब मात्रै हामो लगानी सार्थक हुन्छ । जन र धनको क्षति न्यूनीकरण हुन्छ ।
(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव खनालको यो लेख शिक्षापत्र डटकमबाट साभार गरिएको हो ।)