"अति प्रयोग र दुरुपयोग केहीको पनि कहिल्यै  नगर्नु " यस्तै भन्नुहुन्थ्यो आमा
सायद,मान्छेको अति प्रयोगको परिणाम हो कोरोना
आयो,भित्रियो अदृश्य शक्ति,महाबिनाश काल बनेर
 
मान्छे,मान्छे नरहेपछि,मान्छेका गुण  बिर्सिएपछि
पैसा ईश्वर  सम्झ्यो र पुजा गर्यो,बिर्सेर श्रम सम्मान 
सोच्यो मात्र पैसा कमाउने उपायहरु
 श्रीमती त के बेच्यो,आमा छोरी बुहारी आफन्तहरु 
बेचेर इज्जत बन्यो पैसा पुजारी
लाग्छ,चुलिएर अत्यचार पोखिएको हो 
उधुम मच्चाइरहेछ कोरोना बनेर अदृश्य शक्ति
 
अँध्यारा छन् घर आँगन दलान खेत बारीहरु
सुन्सान छ्न् हाटबजार गाउँ शहरहरु
सडक सुन्सान लमतन्न सुतेको छ
चोक गल्ली बाटाघाटासबै सबै सुनसन छन्
मान्छे थुनिएर,बाहिरिएका छ्न् चिडिया घरहरु
 सातो हराएका बस्तिहरु
निभेका चुलोहरु 
डडेलो लागेको  छ गाउँ शहर र सारा बिश्वमा
हरियाली छैनन् जङ्गल चौरहरु
फुलेका छैनन् सयपत्री गोदाबारीहरु
चराको चिर्बिर कतै सुनिन्न 
हुच्चिल रुन्छ रातभरि बस्तिमा अचेल
 
आकाश पोखिएर निरन्तर बगाइरहेछ अश्रुधारा
उर्लेर खोलाको जवानी बलात्कार गर्दैछ किनारा
बगाउँदैछन् मानव बस्तिहरु
हरिया फाँटहरुलाई बगर बनाएर 
मृत्युकै लाखे नाच देखाइरहेछ्न् खोलाहरु
 
उडेका छन् मानव  फूलका रङहरु
होचिएका छन् अग्रगामी आशाहरु
केवल हत्या हिंसा बलात्कार आकाशीएका छन् 
भोकको आगो दन्किएको छ बस्ती बस्तिमा
ट्रकका ट्रक कोरोना मृतकहरु
डाेजरले पुरेका दृश्य देखाउछ टेलिभिजन
हजारौं कोरोना संक्रमित र क्वारेन्टाइनको अभाब पढ्छन् समाचार रेडियोहरु
दिन दुई रात चार बढ्दोछ संक्रमण
औसधि पत्ता नलागेको,गुर्जो कागती बेसार ज्वानो अदुवा लगायत खाने सिफारिस गर्छन् बिज्ञहरु
त्रासादीपूर्ण छ मानव जगत
अचानक कुन बेला टिपिइने हो कालाबाट 
त्यसै त्यसै झोक्राइरहेछ मानव बस्ति
 
स्नेहको  फूल चाहिने हो,यो समय
यसै बेला विशेष चाहिने हो अभिभाबकत्व
ठुलो अपेक्षा हो राज्यबाट /नेताबाट जनताको
 मुसा बनेर जिउ जोगाउँदै होलान् सायद 
देखिन्नन् नायकहरु यताकतै
 
सिङ्गो देश मुर्झाएको छ
हावाझैँ कोरोना माहामारी दौडिरहेको छ
बृद्ध बाआमाको राम्रो हेरचाह गर्नू
स- परिवार सुरक्षित बस्नू,
यो हुलचालमा जिउ जोगाउने समय हो
मृत्यु बोकेर कोरोना सल्बलाइरहेको यसघडीमा
नमानौँ यो वर्ष तीज दशैँ तिहार छट वा होली
नखेलौँ लिंगे पिङ नलगाऊँ दशैँका टीका जमरा
बाँचिएछ भने आघौँ साल खाउँला खिर ढकने 
जम्मा भएर सबै दिदीबहिनी र दाजुभाइ 
मुल घरमा नाचगान गरौंला,तीज मनाउँला
यसपाली म दर खान आउँदिन ,बाटो नहेर्नू भाइ ।
 
बेलबारी,मोरङ