जुन मुलुकको सरकारका लागि बलात्कारपछि हत्यासम्मका आङै जिरिङ्ग पार्ने घटना सामान्य दैनिकीभन्दा बढी केही होइनन्, जुन मुलुकमा अपराधकर्मीलाई राजनीतिकर्मीका रूपमा स–सम्मान स्वागत गर्ने दल नै सत्तारुढ छ, जुन मुलुकमा जति निर्लज्जतापूर्वक ढाँट्न सक्यो, त्यति अब्बलकोटीको नेता बन्न सकिन्छ ।
जहाँ अनन्त चुट्किला सुनाएरै आकर्मण्यताको पिनासले पाकिसकेको नाक हाँसी–हाँसी जोगाउन पाइन्छ, त्यहाँ बुद्धिजीवीहरू बिनासित्ती कुनै नैतिकता र सरमको अपेक्षा गरेर सरकारको आलोचना गर्छन् ? किन उनीहरू बेकारमा आफ्ना शिरका रौं झर्ने गरी प्रधानमन्त्रीलाई कटाक्ष गर्छन् ? तर बौद्धिकहरू प्रतिक्रियात्मक नहुने समाजको कल्पना गरौं । नागरिक समाज चुप लागेको देश कल्पना गरौं । कति भयावह लाग्छ ।
अब लागौं विषयवस्तुतिर । युनानी पौराणिक कथामा दुई विपरीत चरित्र बोकेका पात्र नार्सिसस र फिनिक्स हुन्छन् । नार्सिसस आफ्नो सौन्दर्यको इगोले फुलेर गल्ती गर्ने हुँदा मर्छ । फिनिक्स आफूलाई समय र परिस्थिति अनुकूल चलाउन सक्ने हुँदा मरेर पनि बाँच्छ । नेकपा पनि यिनै दुई विपरीत परिस्थितिमा गुज्रिएको छ । यसले आफूलाई युनानी नार्सिसस पथमा लाने र आफ्नो सर्वनाश गर्ने हो कि फिनिक्स पथमा लागेर रूपान्तर गरी नयाँ जीवन लिने हो ? यस कुराको निक्र्योल नेकपाका नेता÷कार्यकर्ताकै गतिविधिमा निर्भर छ ।
नार्सिसस आत्मरतिको घेराबन्दीमा परेर समाप्त भएजस्तै व्यक्ति र संस्था पनि आत्मरतिमा रमाए भने विनाश हुन्छन् । फिनिक्सले जस्तै नयाँ युगमा आफूलाई अनुकूलन गर्दै व्यक्ति र संस्था बढे भनेमात्र बाँच्न सक्छन् । नेकपाले यसपटक प्राप्त सफलतामा दङ्ग पर्दापर्दै नार्सिसस जस्तो विनाश वा फिनिक्स जस्तो नयाँ शक्ति र जीवनका साथ अगाडि बढ्न सक्ने वा नसक्ने अन्योल दर्शाएको छ । सङ्गठनात्मक व्यवस्थापनमा नेपालकै सर्वोच्च पार्टी एमाले थियो, तर यसले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई राम्ररी पछ्याउन नसक्दा दलाल पुँजीवादको चालक–सहयोगी भइसकेको छ । पूर्व नेकपा (माओवादी केन्द्र) पार्टी दमन, शोषण, उत्पीडन, विभेद, विद्रोहको गर्भबाट जन्मेको, राजनीतिक संस्कृति नभएको र विनाशको पर्खाइमा छट्पटाएको पार्टीलाई एमालेको साथ नै प्राणवायु भएको छ ।
साङ्गठनिक संरचनाका सबै तहमा करिब २० हजार प्रतिनिधि, हजारौं सामाजिक, पेशागत सङ्गठनमा राम्ररी झाँगिएको ७ लाखभन्दा बढी सङ्गठित सदस्यसहितको लाखौं समर्थक, शुभचिन्तकहरूको पार्टीलाई रूपान्तरणकारी चेतनालाई एकीकृत परिचालन गरेमा मात्र ५–१० वर्षमा ‘सुख नेपाली, समृद्ध नेपाल’ सम्भव हुनेछ । गुटबन्दीले यो शक्तिलाई एकीकृत गर्न सक्दैन । समाजवादी अवधारणा मात्र पार्टी र सरकारको दरिलो जग बन्ने सम्भावना देखिन्छ । यस्तै किसिमले सरकार चल्ने हो भने नार्सिससको बाटो जाने के बेर ? गरिब जनताको प्रिय पार्टीको गरिब जनताको न्याय गर्न नसक्ने र अलोकप्रिय काम गर्दै जाँदा कसरी बाँच्ला नेपाल कम्युनिष्ट पार्टी ?
नेकपाले मुलुक र समाजलाई अन्धकारतर्फ धकेलिरहेको छ । सामन्ती मानसिकताको सेरोफेरोमा रही सवारी चलाएर जनताको दुःख–कष्टबाट अपार आनन्दको मजा लिने, मपाइँ बन्ने, विचारभन्दा शक्तिको तुजुकले मत्ताहात्तीजस्तो देखिने, सिंहासनमा पु¥याउने निरीह जनतालाई माखो समान नठान्ने संस्कार हाबी भएसँगै मुलुक धरापमा फस्दै गएको छ । यतिबेला नेकपा र खासगरी नेताबाट शासक बन्नेहरूको अहम् र अहङ्कारले सीमा नाघेको छ ।
साइकल चढेर सिंहदरबार छिरेका लालबाबु पण्डितको पजेरो मोहदेखि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको सत्ताशक्तिको उन्माद, सेनाको हेलिकप्टर प्रयोग गरी प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा सपत्नी धार्मिक स्नान गर्न पुगेको सन्दर्भ आलोचित बनिरहँदा सुरक्षाको नाममा राष्ट्रपति विद्यादेवी भण्डारीको लागि विलासिताको सीमा नाघ्ने गरी करोडौं रुपैयाँ पर्ने रातो कार्पेट खरिद हुन लागेको विषय जोडिएपछि विकासको आशमा बाँचेका जनता स्तब्ध बनेका छन् ।
नेकपाको चारैतिर धाजा फाट्न थालेकोले दलीय चरित्र नबदलिएसम्म समृद्धिको आशा राख्न सकिँदैन । हुटिट्याउँले आकाश थामेको भ्रम पाले जस्तै सरकार चलाउनेहरू अरिङ्गाल राजनीतिकै भरले सरकारमाथिका आलोचना थामिनेमा विश्वस्त थिए सायद । त्यस्तो ठ्याक्कै नभएपछि अरिङ्गाल सङ्क्रमण सरेर मन्त्री र सल्लाहकारकै स्तरमा पुगेको हो कि भन्ने आभास हुन थालेको छ ।
राजनीतिको आडमा बलात्कार र हत्याका आरोपीहरु कानूनबाट मुक्त हुँदै गएका छन् । गाउँ, घर र दूरदराजमा गरिब जनताबाट चर्को ब्याजदरमा रकम असुल्नेहरू आज पनि उत्तिकै सक्रिय छन् । यातायात र व्यापारिक क्षेत्रमा सामन्तहरू त्यति नै बलिया बन्दैछन् । ठेकेदारहरू राज्यसत्ताका शक्तिशालीसँगको साँठगाँठसँगै आफ्ना गतिविधिमा बलिया बन्दैछन् । भ्रष्टाचारीहरू आफ्नो कर्तुतबाट मुक्त हुन सत्ता र न्यायालयसम्मलाई उपयोग गर्न सफल छन् । जागिरका लागि पैसा र पहुँच नहुनेको कुनै गुञ्जायस छैन । यो वास्तविकताले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको उद्देश्य पूरा हुँदै गरेको सङ्केत गरेका छन् त छैन ? सामन्तवादी मन्दिरको गजुर निकाल्दैमा त्यसको जग कमजोर हुन्छ भन्ने छैन ।
राजनीतिक शक्तिहरू नै यसका दोषी हुन् । वर्तमान शासकहरूमै नवराजाको प्रवृत्ति देखिँदैछ । कोरोना भाइरसले देश आक्रान्त बन्दासमेत नेकपाका नैतिकहीन नेताहरू कुर्सीका लागि लुँछाचुँडी गरिरहेका छन् । भ्रष्टाचारी र बलात्कारीलाई उन्मुक्ति दिने नेकपाको अवयव बनेको छ । कोरोना भाइरसको किट खरिदमा समेत अनियमितता गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने स्वास्थ्यमन्त्रीलाई छुट दिइएको छ । सुन्दा अप्रिय सुनिन्छ, तर जनताको दुईतिहाइ मतको विश्वास लिएर लोकतन्त्रको उत्तराधिकार थाम्न आइपुगेको कम्युनिष्ट सरकार घोर अलोकतान्त्रिक र फासिवादी पूर्वअभ्यासको बाटोमा हिँडिरहेको आभासले बेलाबेला झसङ्ग पार्छ । यो सङ्केत सुखद् होइन ।
संस्कारसहितको राजनीति लोकतन्त्रको उच्चतम् उपलब्धि हो । तर राजनीति आफै एक क्रान्ति हो । यसले आफैलाई जन्मदिनेलाई निल्न पनि सक्छ । यो दुईधारे तरबार भएकाले चलाउनेले होस् र बुद्धि दुवै पु¥याउन सक्नुपर्छ । यसको सही प्रयोग भनेको जनताले बनाएको संविधानको अक्षर र भावनामा चल्न सक्नु हो । लोकतन्त्रमा हुकुमीशैली हाबी भए परम्परावादी अधिनायकवादी शासकको जे हविगत भएको थियो, त्यस्तै गति नयाँ शासकहरूको हुनेछ । आज त्यस्तै लक्षण नेकपामा देखिन थालेको छ । सिद्धान्त र गन्तव्य यकिन नहुँदा अब हुने परिवर्तनले देश र जनतालाई खाल्डोमा हाल्ने काममात्रै गर्न सक्छ ।