‘लघु’ भनेको ‘सानो’ र ‘वित्त’ भनेको ‘आर्थिक कारोबार’ अर्थात् सानोसानो आर्थिक कारोबारको चल्तीको नाम हो लघुवित्त । यहाँ चर्चा गरिएको लघुवित्तले यो व्यापक अर्थ पनि बोक्दैन । यसले त खाली विशेषगरी महिलाहरूको समूह बनाएर बिना धितो ब्याजमा पैसा लगानी लगाउने कारोवारलाई मात्र बुझिन्छ । यस्तो कारोबार गर्न नेपाल राष्ट्र बैङ्कले इजाजत दिने गरेको छ । इजाजत लिनका लागि पहिला लिमिटेड कम्पनी बनाउनु पर्ने र यस्तो कम्पनीले लघुवित्त कारोवार गर्न राष्ट्र बैङ्कले समय समयमा शर्त तोक्ने गर्छ । त्यो शर्तभित्र बसेर यस्ता कम्पनीले कारोवार गर्ने गर्छन् । यसका अतिरिक्त सहकारी संस्थाहरूले पनि यस्तो लघुवित्तको मोडलमा कारोवार गर्ने गरेका छन् । तिनको मोनिटरिङ र रेखदेख गर्ने काम सहकारी स्वयम्ले नै गर्ने गरेका छन् । राष्ट्र बैङ्कले सहकारीलाई यस्तो इजाजत दिँदैन । सहकारी ऐनअनुसार नै यस्तो काम गर्न बाधा परेको मानिदैन ।

नेपालमा सयभन्दा बढी कम्पनीले नेपाल राष्ट्र बैङ्कको इजाजत लिएर र दर्जनौं सहकारीले यस्तो वित्तीय कारोवार अर्थात् लघुवित्त कारोवार गर्ने गरेका छन् । यस्तो लघुवित्तको अवधारणा बङ्गलादेशबाट शुरु भएको हो र यसको परिकल्पनाकार डाक्टर महम्मद युसुफ हुन् । उनको परिकल्पनामा सानोभन्दा सानो व्यवसाय गर्न पनि पैसा नहुने गरिव परिवारका महिलालाई बिना धितो ऋण दिएर उनलाई जे अनुकूल हुन्छ त्यही व्यवसाय गर्न सहयोग गर्नु हो । यस्तो परिवारले बैंकबाट ऋण नपाउने, बैंकसम्म पहुँच बनाउन नसक्ने, ऋण लिन धितो राख्न नसक्ने हुन्छन् । यिनले व्यवसाय गर्न स्थानीय साहुमहाजनसँग ऋण लिनु पर्दा महँगो ब्याज तिर्नुपर्ने हुँदा यस्ता परिवारको आर्थिक अवस्था कहिल्यै सुध्रिन सकेन । यस्ता विपन्न परिवारलाई हत्तपत्त कसैले ऋण सापटी नदिने र दिए पनि अति नै महँगो ब्याज तिर्नुपर्ने अवस्था बङ्गलादेशमा मात्रै होइन, संसारभरिका गरिब देश र तिनका समाजको अवस्था हो ।

डाक्टर मोहम्मद युसुफले बिना धितो ऋण दिने र त्यसमा ब्याज लिने मात्रै कुरा गरेनन् । उनले ऋण लिनेहरूको समूह बनाउने, समूहमा अनुशासन पालना गर्ने, वित्तीय साक्षरताको जानकारी दिने, स्थानीय स्तरमा र परम्परागतरूपमा गरिने पेशा व्यवसायको संरक्षण र स्तरोन्नति गर्ने, साक्षरता अभियान चलाउने, स्वास्थ, शिक्षाजस्ता विषयको महत्व बुझाउने, बोल्न सिकाउने, व्यवस्थापन सिकाउने, हक अधिकार र समानताको बारेमा चेतना जगाउने, आर्थिक अवस्थासँगसँगै सामाजिक पहुँचको वृद्धि गर्ने आदि जस्ता विषयको परिकल्पना गरिएको थियो । यसको मर्मसहितको प्रयोग बङ्गलादेशमा गरियो । यसको नेतृत्व स्वयम् डा. युसुफले लिए र यो अभियान त्यहाँ धेरै नै सफल भयो ।

बङ्गलादेशका धेरै नै भिखारी र गरिबको जीवनस्तर उकास्न यो अभियानले ठूलो सफलता पायो । डा. युसुफ संसारभरि चिनिए र उनले नोवेल पुरस्कार प्राप्त गरे । त्यसैले तेस्रो विश्वका अरू मुलुकले पनि यसको अनुशरण गर्न थाले । एसिया, अफ्रिका लगायतका देशमा यसको प्रभाव पैmलिँदै गयो । यसै क्रममा नेपालमा पनि यसको प्रवेश भयो । शुरुमा ग्रामीण विकास बैङ्कको नामबाट नेपालमा सरकारले नै यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । पछि आर्थिक उदारीकरणको प्रभावसँगै यो कारोवार निजीक्षेत्रका कम्पनीहरूले गर्न थाले । सरकारले सञ्चालन गर्दा तामझाम धेरै गर्ने र लागत बढाउने काम गरेकाले यी घाटामा गएका थिए ।

जब निजी कम्पनीहरूले लघुवित्तको कारोवार गर्न थाले, तबदेखि नै यो अभियानको मर्मको बेवास्ता गर्न थालियो र यसलाई कमाउ व्यवसायको रूपमा हेर्न थालियो । लगानीकर्ताहरूलाई यसले राम्रै मुनाफा दियो र दिइरहेको छ । धनी र मध्यम्वर्गका मानिससँग कारोवार गर्ने बैङ्कहरूकोभन्दा शेयर बजारमा अत्यधिक धेरै शेयर मूल्य यस्ता कम्पनीको हुनु यसैको प्रमाण हो ।

लघुवित्तको कारोवार गर्ने जति कम्पनी खुले र जतिले राष्ट्र बैङ्कबाट इजाजत लिएर गाउँ–गाउँमा गएर कारोवार गरे, ती सबैको एउटै उद्देश्य धेरैभन्दा धेरै लगानी गर, धेरैभन्दा धेरै ब्याज उठाऊ र धेरैभन्दा धेरै नाफा कमाउ भयो । यो उद्देश्य पूरा गर्न ती कम्पनीहरू सफल हुँदै गए । नियमन गर्नुपर्नेले यिनलाई नियमन त गरेनन् नै एक प्रकारले लुट्न छाडिदिए ।

शुरुका दिनमा त यस्ता लघुवित्त कारोवार गर्ने कम्पनीले छत्तीस प्रतिशतसम्म ब्याज लिन्थे । पछि घटाउँदै लगे पनि अहिले बीस प्रतिशतभन्दा तल कसैको छैन भन्दा हुन्छ । अलि बढी ब्याज लिन पाउने छुट यिनलाई छ । यसमा लागत बढी छ भन्ने मानिन्छ । बैङ्कहरूले नै यस्ता लघुवित्त कारोवार गर्ने कम्पनीमा लगानी गरेका छन् । विपन्न वर्गमा लगानी गर्नू भनी राष्ट्र बैङ्कले तोकेको रकम बैङ्कले यस्ता कम्पनी मार्फत् लगानी गरेर नाफा कमाउँछन् र कमाइरहेका छन् ।

यस्ता लघुवित्त कम्पनीले लगानी गर्नुपूर्व र लगानीपश्चात् समूहमा आबद्ध भएकाहरूको क्षमता विकास, सिर्जनशीलता एवम् व्यवसायिक सुरक्षा, पारिवारिक तथा सामाजिक वातावरण, स्वास्थ्य र शिक्षाको महŒव, बचतको बानी र आवश्यकता, समूहमा एक–आपसमा सहयोग आदिका बारेमा तालिम दिनुपर्छ र सिकाउनु पर्छ । क्षमताको विकाससँगै कर्जा लगानी गर्ने र यस्ता समुदायको जीवनस्तरमा सुधार ल्याउने अपेक्षित लक्ष हो । तर यस्ता लघुवित्त कम्पनीले माथिका कुनै पनि विषयमा कामै गरेनन् । खाली समूहलाई ग्राहक मात्रै ठानेर बैङ्कबाट लिएको सस्तो ब्याजको पैसा लगानी गर्ने र जसरी भए पनि ब्याज असुलेर नाफा कमाउने ध्याउन्न मात्र भएकाले एउटै व्यक्तिलाई धेरैवटा समूहमा आबद्ध गर्ने र ऋण लगानी गर्ने काम मात्रै भयो र भइरहेको छ ।

जसरी निजी स्कुलले अभिभावकसँग, अस्पतालले बिरामीसँग पैसा असुल्ने मात्रै ध्याउन्न गरे र व्यवसायिकताभित्रको सेवाभाव कमजोर हुँदा ती समाजमा बदनाम हुँदै गए, त्यसैगरी यस्ता वित्तीय कम्पनी पनि मुख्य विषय गरिबी निवारणमा ध्यान दिन छाडेर जसरी पनि नाफा कमाउने ध्याउन्नमा लागे ती पनि बदनाम हुने बाटोमा पुगे । अहिले कर्जाको बिमा गर्न थालिएको छ । यसको प्रिमियम शुल्क ऋणीले नै तिर्ने हो । यो निकै महँगो छ । यसले ऋणीलाई आंशिक राहत दिए पनि कम्पनीको लगानी नै सुरक्षित गरेको छ ।

यस्ता लघुवित्त कम्पनीका प्रमोटर्सले सिइओलाई नाफाको टार्गेट दिने र सिइओले बिएमहरूलाई समूह, सदस्य, लगानी, असुली र नाफाको टार्गेट दिएको हुन्छ । यो बेठीक भन्न नमिल्ला तर ती समूहका सदस्यलाई डा.मोहम्मद युसुफले परिकल्पना गरेजस्तो जीवनस्तर उठाउने अरू के के काम गरिएको छ ? त्यसका लागि नाफाको वा सञ्चालन खर्चको कति प्रतिशत खर्च वा लगानी गर्ने गरिन्छ ? खर्च वा लगानी नै गरियो भने पनि कसरी गरिन्छ ? के अपेक्षित नतिजा आएको छ ? होइन भने यस्ता गरिबसँग गरिने कारोवारले पहिले गाउँका हर्के साहुहरू धनी हुन्थे । अहिले शहरिया लगानीकर्ताहरू अर्थात् धनीहरू नै अरू धनी हुने उद्यममात्रै बन्न जान्छ । त्यसैले सम्बन्धित पक्षले यसबारेमा ध्यान दिन जरुरी भएको छ ।।