२०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका तिलक राईले जित हासिल गरे । ‘कम्युनिष्टहरुको लालकिल्ला’ ढालेर नयाँ इतिहास रचेका तिलकका लागि चुनौतीका चाङ पनि उत्तिकै छन् ।
मेयर राईसँग गोपाल दाहालले गरेको कुराकानी :
भिडियाे : उपेन्द्र चाम्लिङ
धरानको मेयर बन्नुभएको नौ महिना पुग्यो । यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– जुन रूपमा स्थानीय सरकार प्रमुखको हिसाबले नगरवासीको अपेक्षा थियो, मेरो वाचा थियो । त्यसअनुसार वातावरण प्रतिकूल भएकाले काम गर्न पाइएको छैन । किनभने कोभिड–१९ को सङ्क्रमणले पाँच–छ महिनायता सबैकुरा ठप्प बनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नगरले कसरी काम गरिरहेको छ ?
– कोभिड–१९ को सन्दर्भमा स्थानीय तहहरूमध्ये हामीले उत्कृष्ट काम गरेका छौं । फागुनदेखि नै बीपी प्रतिष्ठानका तत्कालीन कार्यवाहक भिसीसँग, हात्तीसार कलेजसँग बसेर सचेतना फैलाउने, सेनिटाइजर बनाउने, उपचारलाई प्राथमिकता दिने काम गरेका थियौं । लकडाउनका बेला राहत वितरण, विदेशबाट आएका नगरवासीलाई क्वारेण्टिनमा राख्ने कुरा, पीसीआर टेष्ट, सडक मानवको व्यवस्थापन गर्नेलगायतका कुरा सबैसँग समन्वय गरेर ग¥यौं ।
अहिलेसम्म हामीले ३ हजार पीसीआर टेष्ट गराएका छौं । ७ हजार टेष्ट गर्ने हाम्रो लक्ष्य छ । यसबाट समुदायमा धरानको स्थिति के छ भन्ने मूल्याङ्कन गरेर उपमहानगरपालिका आफैले हरियाली वनमा आइसोलेसन बनाएको छ । अहिले पनि कोभिड–१९ कै नियन्त्रण, उपचार, सचेतनाका काममै लागिरहेका छौं ।
केही समयअघि कोरोना नियन्त्रणको काममा बीपी प्रतिष्ठानले सहयोग गरेन भनेर यहाँको गुनासो पनि सुनियो । किन त्यस्तो भयो ?
– अहिले पनि मेरो गुनासो छँदैछ । विशेषगरी कोभिड अस्पताल ४ महिनाअघि स्थापना भएर सञ्चालन हुने भनियो तर अहिलेसम्म पनि सही ढङ्गले हुन सकेको छैन ।
यत्रो महामारीका बेला बीपी प्रतिष्ठानका नेतृत्वकर्ता उपकुलपति आफै लागेर फिल्डमा आउनुपर्छ भन्ने माग हो । म जनप्रतिनिधि मात्र होइन, प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य पनि हो । त्यसकारण मेरो दोहोरो दायित्व छ । नगरवासीले के भइरहेको छ, त्यहाँ भनेर प्रश्न गर्नुहुन्छ । यस्ता हरेक कुरामा मेयरले भिसीलाई भन्ने कि कसलाई भन्ने ? त्यसको जवाफदेही को हो भन्ने कुरा त स्थानीय सरकारलाई थाहा हुनुप¥यो । यस्ता कुरा भिसीको लेभलबाट आउनु प¥यो ।
अहिले झनै जोखिम बढिरहेको छ । कसरी काम भइरहेको छ त ?
– अहिले लकडाउन छ । जिल्ला प्रशासनले पनि निषेधाज्ञा जारी गरेको छ । २० वटै वडाका जनप्रतिनिधिहरू, उद्योगी व्यापारीहरूसँग, प्रहरी प्रशासनसँग समन्वय गरेर काम गरिरहेका छौं । सबै चोक–चोकमा बस्न सक्ने गरी प्रहरी उपलब्ध छैनन् तर नगरवासी आफैले कुरा बुझेर, आफै सचेत भएर लकडाउनलाई कार्यान्वयन गरिरहनुभएको छ । हो, तरकारी, खाद्यान्न र दूधमा अलिकति समस्या थियो तर त्यो हामीले सहजीकरण ग¥यौं । म सबै नगरवासीलाई धन्यवाद दिन चाहन्छु । नगरवासीकै सहयोगका कारण यो लकडाउन सफल भइरहेको छ ।
कोभिड–१९ का कारण नगरको बजेट पनि घट्यो । यसले विकासमा कस्तो असर पार्ला ?
– कोभिडले त समग्रमै असर गरिरहेको छ । हाम्रो दैनिक जीवन, आर्थिक समृद्धि, विकास निर्माणको कुरादेखि लिएर सबै पक्षमा यसले असर गरिरहेको छ । नगरको विकास ६ महिनादेखि ठप्प छ । आर्थिक वर्ष २०७६÷७७ का आयोजनाहरू धेरै हदसम्म पूरा भएनन् । लगभग ८ करोड बजेट पेमेन्ट गर्नसकेनौं । अहिले १ अर्ब ७१–७२ करोडको बजेट बनाएका छौं । यही स्थिति रहने हो भने १ अर्ब पनि नउठ्न सक्छ । यसले विकास निर्माण, समृद्धि र भौतिक पूर्वाधारमा पनि ठूलो असर गर्ने देखेको छु ।
अलि फरक प्रसङ्गमा जाऔं । यहाँले चुनावअघि जितेँ भने सरकारी सुविधा लिन्न भनेर घोषणा गर्नुभएको थियो । अहिले के गरिरहनुभएको छ ?
– सरकारी सुविधालाई हामीले सूक्ष्म ढङ्गले विश्लेषण गर्नुपर्ने रहेछ । नगरपालिकाको मैले बस्ने कुर्सी पनि सुविधा हो, एसी पनि सुविधा नै हो । मैले यो लिन्न भनेँ भने ढोङ्गी हुने भयो । मैले खासगरी नगरबाट पाउने आर्थिक सुविधा लिन्न भनेको हो । मेरो प्राइभेट गाडी पनि छ तर मैले प्राइभेट गाडी चढेँ भने मेयरको अपनत्व, रेस्पेक्ट, पहिचानको अवमूल्यन गरेजस्तो हुन्छ । सस्तो लोकप्रियता हुन्छ । तर मैले के भनेको छु भने म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्नँ । आर्थिक पारदर्शिता गर्छु ।
मैले उपमहानगरपालिकाको प्रमुखका हिसाबले पाउने आर्थिक सुविधा लगभग ३५–४० हजार हुँदोरहेछ । त्यो पैसा नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापतिको संयोजनमा ५ सदस्यीय कोष व्यवस्थापन समिति बनाएको छु । समितिले निर्देशन गरेअनुसार त्यो पैसा खर्च भइरहेको छ । यसअघि ५ महिनाको लगभग २ लाख रुपैयाँ हामीले कोभिडमा खर्च गर्यौं ।
तपाईंले धरानमा ऐतिहासिक रूपमा जित्नुभयो । तर नगरमा अधिकांश जनप्रतिनिधि र कर्मचारीहरू तपाईंको भन्दा फरक दलका छन् । काम गर्न कतिको अप्ठ्यारो हुन्छ ?
– हाम्रो अहिले ३० जनाको कार्यपालिका छ, त्यसमध्ये म आबद्ध नेपाली काङ्ग्रेस पार्टीबाट मेयरसहित ६ जना मात्र छौं । २४ जना अर्को पार्टीका हुँदा मनोवैज्ञानिक असर त पर्छ नै । तर नगरप्रमुखको हैसियतले यो कुर्सीमा बसिसकेपछि को कुन पार्टीको भनेर मैले बिर्सिनु पर्छ । मुद्दा, समृद्धि, विकास, एजेण्डा, नीति निर्माणको हिसाबले मैले सबैलाई उत्तिकै देख्नुपर्छ । हेर्नुस् नगरसभा सम्पन्न ग¥यौं । बाधा विरोध त स्वभाविक रूपमा उठ्छ । केही साथीहरूको फरक मत थियो, मेरो पनि केही कुरामा फरक मत थियो तर नगरको समृद्धि र विकासका लागि हामीले सहजीकरण ग¥यौं । अझै पनि चुनौती छ हामीबीचमा अझै पनि सहज छैन हामीलाई । तर त्यसलाई सहज रूपमा लिँदै, छलफल गर्दै, अभ्यास गर्दै अगाडि लानुपर्छ ।
नगरसभालगत्तै तपाईंसहितको टोली विकासका विभिन्न एजेण्डा लिएर काठमाडौं गएको थियो । विकासका विषयमा के के कुरा भए त ?
– धरानका महत्वपूर्ण योजनाहरूका लागि मेरो नेतृत्वमा काठमाडौं गएका थियौं । त्यहाँ गएर हामीले एयरपोर्ट, बसपार्क, बाईपास रोड र खानेपानीका विषयमा बुझ्यौं ।
यसमध्ये खानेपानी पहिलो एजेण्डा हो । अहिले नगरवासी र केही पक्षमा अविश्वास देखिएको छ । म नेपाली काङ्ग्रेसको प्रतिनिधि, त्यो पार्टीको नगर सभापति । हाम्रो पार्टीमा पनि केही अविश्वास छ । हिजो म पार्टी सभापति मात्र रहँदाखेरी म मा पनि केही अविश्वास थियो । मैले त्यतिबेला प्रतिपक्ष दलको हैसियतले भूमिका खेलेँ । मैले नगरपालिकालाई खबरदारी गरेँ । त्यतिबेला मैले खानेपानी संस्थान अहिले तत्काल गाभ्नु हुँदैन कि भनेँ । त्यही खबरदारी गरेको कारणले गर्दा नगरवासीले मलाई चुनावमा मत दिएर जिताउनुभयो । म अहिले कार्यान्वयन गर्ने तहमा आएको छु । त्यसैले अब काम गर्नुपर्छ ।
मैले विज्ञ समिति गठन गर्छु भनेको थिएँ । काठमाडौंका ४ जना र धरानका २ जना रहेको खानेपानीको विज्ञ टोली बनिसकेको छ । हामीले विज्ञ टोलीलाई सबै कागजपत्र दिएका छौं, अध्ययन भइरहेको छ । यो टोलीको रिपोर्ट अनुसार खानेपानीको कार्यक्रम अगाडि बढ्छ ।
कहिलेसम्म हस्तान्तरण होला त यो आयोजना ?
– अस्ति मन्त्रिपरिषद्ले निर्णय गरेको कुरा हो । मन्त्रालयले निर्णय गरेर खानेपानी संस्थानलाई चिठी लेखिसकेको छ । संस्थानले अब शाखालाई लेख्छ, त्यसपछि प्रक्रियागत ढङ्गले आउँछ । म मिति तोक्न चाहन्न, प्रक्रियागत ढङ्गबाट सहज ढङ्गबाट हस्तान्तरण हुन्छ । अहिले ठेकेदारको अपरेटिङ पिरियड शुरु भएको छैन । ९ महिनाको समय छ उहाँको । ९ महिने पिरियडमा ठीक भयो भने न जिम्मा लिने हो, नत्र हामी कहाँ जिम्मा लिन्छौं ।
बसपार्कको समस्या पनि लामो समयदेखि रहिरहेको छ । अबको योजना चाहिँ के छ ?
– हिजैदेखि धरानको समस्याको रूपमा रहेको हो बसपार्क । भानुचोकदेखि छाताचोकसम्म चारचक्केरहित बनाउनु पर्छ कि भन्ने लाग्छ मलाई । यसलाई छलफलको विषय बनाउन चाहन्छु । तपाईंको मिडियामार्फत् नगरवासीलाई आग्रह गर्न चाहन्छु ।
बसपार्क सुन्दर बस्ती विकास आयोजनामा प्रस्तावित भएको छ । प्रदेश सरकारले बनाएको डिपिआरमा हामी छलफल गर्दैछौं । ४४ करोडको बजेट अलि ठूलो भइरहेको छ । त्यसमा आवश्यक कुराहरू राखेर अलिकति घटाएर बसपार्क यही आर्थिक वर्षबाट हामी शुरु गर्छौं । सुन्दर बस्ती विकास आयोजनाका लागि हामीले जनताको जग्गा अधिग्रहण गरेका छौं । हरेक जग्गामा बाटो, ड्रेन, खानेपानी, बत्ती पु¥याउनु पर्छ । म त्यसक्षेत्रका जनतालाई के आग्रह गर्न चाहन्छु भने बसपार्क बन्छ, बनाउनु पर्छ र सुन्दर बस्ती विकास आयोजना पनि सँगसँगै बन्छ ।
सुन्दर बस्ती आयोजनामा राम्रो जग्गा जति नगरपालिकाकै कर्मचारीहरू र व्यापारीले हात पारे अनि वास्तविक जग्गाधनीले पछाडिको जग्गा मात्र पाए भनेर स्थानीयहरू लामो समयदेखि आन्दोलन गरिरहेका छन् नि ? त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
– यसमा म शून्यसहनशीलता अपनाउँछु । हामी जनप्रतिनिधि, कर्मचारीहरूमा सूचना आएको हुन्छ । हामीले नै योजना लाने अनि हामीले नै अगाडि अगाडि जग्गा ओगट्ने, यो राम्रो होइन । त्यो त भ्रष्टाचार हो । यो बसपार्कको जग्गामा पनि त्यस्तो भएको भए उहाँहरूको जग्गा जफत हुन्छ । म आउनुभन्दा अगाडि पनि यो कुरा छलफल चलेको छ । पहिला पनि केही कामहरू भएका छन् भन्ने जानकारी आएको छ । कुनै न कुनै रूपमा त्यो जग्गा फिर्ता हुन्छ ।
एयरपोर्टको कुरा लिएर मन्त्रालयतिर पनि पुग्नुभएको थियो रे । बन्छ त धरानमा एयरपोर्ट ?
– धरानमा एयरपोर्ट बन्नुपर्छ । यो हाम्रो आवश्यकता हो । त्यसैका निम्ति विगत १२–१५ वर्ष अगाडिदेखि वडा नं. १७ को डाँडाघोपाका जग्गाधनीहरूले ६–७ बिगाहा जग्गा नगरपालिकाको रोहवरमा यती इन्कर्पोरेटलाई दिएका छन् । त्यसकै लागि नगरपालिकाले ५० लाख रकम पनि छुट्याएको छ । केही नगरपालिकाको जग्गा छ, केही अधिग्रहण गर्नु पर्नेछ । अघिग्रहण गरेको जग्गालाई सट्टा–भर्ना दिने गरी काम अघि बढाइएको छ ।
अहिले म सुकुम्बासी साथीहरूलाई आग्रह गर्न चाहन्छु कि जहाँ एयरपोर्ट बन्दै छ, त्यहाँ सुकुम्बासीको बस्ती बसिरहेको छ । एयरपोर्ट बनाउने हो भने सबैले त्याग गर्नु जरुरी छ । नगरपालिकाले के गर्नुपर्छ, हामी तयार छौं ।
प्राइभेट कम्पनीले एयरपोर्ट बनाउने नीति छैन नेपालमा । जग्गा यतीको नाममा किनिएको छ । तर सरकारले नै इन्ट्रेस्ट गरेको छैन भने कसरी बन्न सक्ला एयरपोर्ट ?
– तपार्इंले ठ्याक्कै भन्नुभयो । सङ्घीय सरकारले यसलाई स्वामित्व ग्रहण नगरेसम्म एयरपोर्ट बन्दैन र यती इन्कर्पोरेट प्रालिले उक्त जग्गा धरान उपमहानगरपालिकालाई फिर्ता गर्नुपर्छ भन्ने मेरो प्रष्ट विचार हो । एयरपोर्ट बनेन भने पनि यतीले त्यो जग्गा फिर्ता गर्नुपर्छ । कानूनी पाटो के हो त्यो आफ्नो ठाउँमा छ तर एयरपोर्ट बन्ने नाममा स्थानीयले त्यो जग्गा दिएका हुन् ।
धरानको बाईपास रोडको कुरा कहाँ पुग्यो ?
– यो विषयमा मन्त्रीज्यू, सचिवज्यूसँग कुरा भयो । उहाँहरूको पनि के बाध्यता रहेछ भने यो बाटोको मापदण्ड धेरै पहिले बनेको रहेछ । धरान भएर जाने चुरे सडकको मापदण्ड १ सय ४० फिट छ । तर अहिले त्यो सम्भव छैन । त्यसकारणले यो पुनर्मूल्याङ्कन हुन्छ भन्ने कुरा भएको छ ।
हामीले उहाँहरूसँग बाईपासको कुरा उठायौं । अहिलेको मापदण्डमा केही बढाएर जनताको आवश्यकताअनुसार बनाउने प्रस्ताव ग¥यौं । उहाँहरूले ‘सडक विभागकै मातहतमा हामी लगानी गर्न चाहन्छौं’ भन्नुभयो । त्यो बाटोले पूरा भयो भने बाईपास किन बनाउनु प¥यो । बरु सेउती करिडोर, सर्दु करिडोर बन्यो भने त्यसले बस्तीलाई पनि क्षति हुन दिँदैन । त्यसलाई रिङरोड बनाउने अवधारणा पनि हो । मन्त्रालयबाट तपाईंहरू सहमति कायम गरेर एउटा न्यूनतम् मापदण्ड बनाउनुस्, हामी बाटो बनाउँछौं भन्ने कुरा आएको छ ।
एक समय तपाईं आफै पनि सर्दुजलाधार बचाउने अभियानमा हुनुहुन्थ्यो । तर अहिले पनि अतिक्रमण, प्लटिङ, किनबेच भइरहेको छ । जलाधार संरक्षणमा नगरको नीति के छ ?
– सर्दुजलाधार क्षेत्र भनेको राष्ट्रकै सम्पत्ति हो । त्यसलाई जलाधारकै रूपमा विकास गर्नुपर्छ भन्ने हाम्रो सोच छ । म सबैलाई आग्रह गर्न चाहन्छु, त्यस्तो कुरामा पैसा फसाउनु हुँदैन । त्यस्तो कुरामा व्यापार गर्नु हुँदैन । जलाधार भनेको खानेपानी मात्र होइन, हावापानी पनि हो । रमणीयता पनि हो । पर्यटन प्रवद्र्धन गर्ने क्षेत्र पनि हो । अहिले त्यो क्षेत्रमा बाटो नगइदिएको भए त्यसमा कसैले आँखा लगाउँदैनथे । त्यो क्षेत्रलाई जलाधारकै रूपमा विकास गर्नुपर्छ । अहिले कसैले किन्ने बेच्ने गर्नु हुँदैन ।
धरान र इटहरीबीच सीमाङ्कनको समस्या छ । पहिला तपाईंले अभियान पनि चलाउनुभएको थियो । अहिले त कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । के गर्दै हुनुहुन्छ ?
– सुनसरीका १२ वटै स्थानीय तहको बैठकमा मैले सीमा समस्याको कुरा पनि उठाएको थिएँ । इटहरीका साथीहरूले हाम्रो सिमानामा ढुङ्गा, गिट्टीको टेण्डर गर्नुभएको छ । यता वराहक्षेत्रका साथीहरूले हाम्रो सिमानामा टेण्डर आह्वान गर्नुभएको छ । हामीले पटक–पटक गएर जफत गरेका छौं ।
यो हामीले बनाएको सिमाना होइन, राज्यले बनाएको सिमाना हो । हाम्रो सिमाना तल हो । साथीहरूले घाँस, दाउरा गर्नुभएको छ, हामीले दिइरहेका छौं । तर जब मेरो भन्नुहुन्छ, त्यतिबेला हामीले कुरा उठाउने हो । उपभोग गरेकोमा हामीलाई समस्या छैन, तर त्यो हाम्रो जग्गा हो । हामीले यो कुरा प्रष्टसँग उहाँलाई भनेका छौं । त्यसमा हिजो पनि म क्लियर थिएँ, आज पनि क्लियर छु ।
धरानको फोहोर जङ्गलमा फालिन्छ । यसको उचित व्यवस्थापन कहिले होला ?
– निजी क्षेत्रसँग साझेदारी गरेका छौं । तुरुन्तै कार्यान्वयन हुनुपर्ने हो । लकडाउनले गर्दा अलि समस्या भएको छ ।
तपाईं मेयर हुनुभन्दा धेरै वर्षअघि बुद्धचोकमा बुद्धको मूर्ति स्थापना गर्ने भनेर समिति बनाएर बजेट लगियो । त्यसपछि फछ्र्यौट भएन । अहिले मेयर बनेपछि त्यो ठाउँमा चिण्डोको प्रतिमा स्थापना भयो भनेर विवाद पनि उत्पन्न भयो । त्यसलाई कसरी लिनुहुन्छ ?
– म सर्वप्रथम तपाईंको प्रश्न सच्याउन चाहन्छु । बुद्धको मूर्ति भनेर पैसा कहिले पनि लगिएको छैन । मसँग माइन्युट पनि छ ।
मिडियामा समितिको लेटरप्याड नै सार्वजनिक भएको थियो । त्यसमा समितिको नामै त्यही थियो त ?
– मिडियाले गलत लेख्यो । बुद्धचोक निर्माण तथा बुद्ध प्रतिमा अनावरण उपभोक्ता समिति हो । त्यो फायल छ मसँग । निर्माण चाहिँ बुद्धचोक गर्ने हो । कसैले मूर्ति दियो भने अनावरण गर्ने हो भन्ने थियो ।
त्यतिबेलाको इन्टेन्सन त बुद्धको प्रतिमा अनावरण हुन्छ भन्ने रहेछ नि ?
– होइन, माइन्यूटमा बुद्धको मूर्ति निर्माण भन्ने कहाँ छ र ?
त्यतिबेला अहिले जस्तो चिण्डोको प्रतिमा बनाउने भन्ने चाहिँ निर्णय थियो त ?
– बुद्धचोक निर्माण भनेको फराकिलो बनाउने भन्ने हो । चोक फराकिलो बनाएपछि कसैले बुद्धको मूर्ति दियो भने राखौं न भन्ने मनसाय हो । तर बुद्धको मूर्ति बनाउने भन्ने होइन । मै हुँ त्यसको अध्यक्ष । म ढाँट्दिनँ । कसैले मूर्ति दिएको भए राख्ने मेरो मनसाय थियो । हामीले पहल पनि गर्यौं ।
केही भिक्षुहरूले, लामाहरूले मलाई बुद्धको मूर्ति चोक–चोकमा राख्ने होइन । तपाईंहरू यहाँ साकेला नाच्नुहुन्छ, कुखुरा काट्नु हुन्छ । रगत लाग्छ, बिटुलो हुन्छ । कसैले दिसा–पिसाब गरिदेला, राख्नु हुँदैन भनेर मलाई सम्झाउनुभयो । बुद्धको मूर्ति लाने भनेर पैसा निकालेको पनि होइन । बुद्धचोक निर्माण भनेर हो । हेर्नुस् ०६०÷६१ सालमा बनेको चोक अहिलेसम्म जस्ताको त्यस्तै छ । कहीँ पुनर्निर्माण गर्नु परेको छैन ।
बेरुजु चाहिँ कसरी आयो त ?
– त्यो त त्यतिबेलाका नगरपालिकाका कर्मचारीको कमजोरी हो । काम भइसकेको छ, बिल, भौचर बुझाएको छ, त्यो त फछ्र्यौट हुनुपर्ने हो नि । काम भएको थिएन भने कारबाही गर्नुपर्यो ।
विवाद चाहिँ किन उठ्यो होला त ?
– राजनीतिक स्वार्थका कारण उठ्यो । नत्र ०६० सालमा भइसकेको कुरा उठाउनु पर्ने कुनै कारण थिएन । पछि वडाले विगत ५–६ वर्षदेखि बजेट राखिरहेको थियो । त्यहाँ साढे ५ लाख पैसा चाहियो तर पैसा दिन कोही तयार भएनन् । एकजना दाताले दिनुभएको थियो । पहिला उहाँ पनि बाहिर हुनुहुन्थ्यो । अहिले ठिक्क उहाँ आउनुभयो, वडाले पनि बजेट छुट्यायो । मैले नगरप्रमुखको हैसियतले उद्घाटन गरेँ ।
यो विवाद चाहिँ कुत्सित मनसायबाट भएको हो । गरिब मानसिकताको उपज हो । बुद्धिष्ट साथीहरू यहाँ आउनुभयो । मैले माइन्यूटहरू सबै देखाइदिएँ । उहाँहरू चुप लागिसक्नु भयो तर अरूले उठाइरहेका छन् । तपाईं ब्लाष्टबाटै आउनुभएको छ । ब्लाष्टले नै मेरो नामको मात्र छापिदियो । पत्रकारलाई म धन्यवाद दिन चाहन्छु कि मेयरको आयो भने अरू सबैको आउनुप¥यो नि ।
अरूको पनि बेरुजु रहेछ भन्ने त भयो । के त्यसमा अब नगरले छानबिन गर्दैन ?
– नगरले प्रक्रिया अगाडि बढाइरहेको छ । हामीले लेखासमितिलाई काम अगाडि बढाउनू भनेका छौं । कर्मचारीलाई भनेका छौं ।
कुनैबेला धरानलाई विकासको नमूना शहर भनिन्थ्यो । तर अहिले ठूला योजनाहरू विवादमा पर्ने गरेका छन् । नकारात्मक मानसिकता किन बढिरहेको छ ?
– तपार्इंले सही कुरा उठाउनुभयो । म पनि ०५४/५५ सालतिर धेरैवटा उपभोक्ता समितिमा बसेर काम गरिसकेको छु । त्यतिबेला र बीचमा केही वर्षसम्म धरान नमूना नै थियो विकासमा । मान्छेले आफ्नो अगाडिको १०–१२ फिट जग्गा दिए । लाख–लाख पैसा दिए । उपभोक्ता समितिले बाटो बनायो ।
अहिले विस्तारै आफै ठेकेदार हुन थाले । मान्छेहरू पैसाको कमिसनमा पर्न थाले । उपभोक्ता समितिमा विवाद हुन थाल्यो पैसाकै निम्ति । अहिले उपमहानगरपालिकाबाट बढीभन्दा बढी पैसा पार्न खोज्ने, उपभोक्ताहरूको कम पार्न खोज्ने, अनि ठेकेदारसँग मिलेर काम गर्न खोज्ने हुँदा विवाद बढेको हो ।
अब यहाँको कार्यकाल करिब २ वर्ष बाँकी छ । यो अवधिमा धरानको विकासमा के के गर्ने भिजन लिनुभएको छ ?
– मेरो कार्यकालमा धरानका हरेक घरमा खानेपानी पुर्याउनुपर्छ । नगरवासीलाई विश्वासमा लिएर यो पूरा गर्छु । जसले यो आयोजना निर्माणचरणदेखि हालसम्म अनियमितता गरेको छ, तलमाथि गरेको छ । योजनाअनुसार काम गरेको छैन भने त्यसलाई कारबाही गर्छु ।
बसपार्क हाम्रो कार्यकालमा सकेसम्म निर्माण सम्पन्न गर्छौं, नभए पनि पूर्णता दिने प्रयास गर्छौं । एयरपोर्टको कुरा टुङ्गो लगाउनेछौं । बाईपासका कुरा पनि टुङ्गो लगाउने चरणमा छौं । अर्को सर्दु, सेउती करिडोर निर्माण गर्ने चरणमा हामी अगाडि बढिरहेका छौं । त्यस्तै बीपी प्रतिष्ठानलाई अधिकतम सदुपयोग र धरानवासीको अधिकतम अपनत्व बनाउने काम गर्नेछु । खासगरी धरान उपमहानगरपालिकामा अनियमितता हुँदैन, ढिलासुस्ती हुँदैन, यहाँ मिलेमतोमा गलत काम हुँदैन भन्ने कुरा स्थापित गर्नु मेरो प्रमुख एजेण्डा हो । यो दुई वर्षमा धेरै काम गर्न सक्दिनँ म । मैले राम्रो सन्देश दिने हो । ठूला काम गर्न नसकिएला तर पाइपलाइनमा रहेका कामहरू पूरा गर्ने विश्वास बनाउनु पर्छ ।