-सुदीप पाख्रिन
आज पनि
विक्षिप्त हावा चल्ने भयमा
रात–रातभरि थर्थरी कामिरह्यो
सहरको बीचमा ठिङ्ग उभिएको बूढो पिपलको रुख
आज पनि
कठोर आँधीहरुमा पनि
भत्किन नपरेकोमा शोक मनाउँदै
चूपचाप उभिरह्यो, दिनैभरि, चोकको शालिक
आज पनि
अल्छी मान्दै
र, घन्टैपिच्छे चिच्याउनुको
लाचारपनमा पीडित हुँदै
मौन व्रत बसेको कुनै तपस्वीझैं
खडा रहिरह्यो, शालिकछेउकै घण्टाघर
आज पनि
खुल्ला सडकमा
सडकबीचमै उफ्रँदै, कुद्दै
निस्फिक्री कात्तिक–उत्सव मनाइरह्यो
छाडा कुकुरहरुको एक हूल
आज पनि
राजमार्गको बीचैबीच भएर
हजारौं सूर्य आफ्नै अनुहारमा बोकेका
केटाकेटीका एक झुण्ड दौडिरह्यो
उडाउँदै उनीहरुकै सपनाजस्ता कागजका हजाइजहाजहरु
गुडाउँदै उनीहरुकै रङ्गीविरङ्गी रहरका पाङ्ग्राहरु
आज पनि
तर फूलजस्ता कतिपय नानीहरु
देखिएनन् यी सडकहरुमा
आज पनि गुडेनन् मान्छे नै किच्लाजस्तो गरेर
कतिपय गुण्डा गाडीहरु
आज पनि तर
सडकको मौनतालाई
सडकको उपल्लो छेउसम्मै लखेट्दै
बेलाबेला हुइँकिरहे
पल्सरहरुले हाँकिरहेका केही युवा उद्दण्डताहरु
पाकेन होला भोक चुल्हामा आज पनि
पीडाको एउटा नमीठो धुनले
तरङ्गित भइरहे होलान्, बाआमाको मन
चिसो चुल्हो घेरेर बसिरहेका आफ्नै नानीहरु पनि
यस शताब्दिकै एउटा त्रासदि बनेर
आफ्नै अगाडि सल्बलाइरहे होलान्, आजपनि...
र सोधे होलान् प्रश्नवाचन चिन्हहरुझैं लाग्ने नानीहरुले
घरमै थन्केर बसेका सामानहरुझैं लाग्ने
आफ्नै लाचार चेहराका बाआमाहरुलाई
‘यी केही दिनदेखिका
मौन दोकानहरु
बेलाबेला ध्यान गरिरहेझैं गर्ने सडकहरु
कुनै नमीठो आशंकाले त्रसित हुँदै
अनि डर मान्दै बाहिर निस्कने बालक गल्लीहरुमाझ
यो सहरको अनुहार किन हाम्रै भोग र भुँडीजत्तिकै भयावह छ, हँ ?’
आज पनि
विक्षिप्त हावा चल्ने भयमा
रात–रातभरि थर्थरी कामिरह्यो
सहरको बीचमा ठिङ्ग उभिएको बूढो पिपलको रुख...
आज पनि सहर
केही प्रतिशत मात्रै बाँच्यो ।
(पाख्रिनको कवितासङ्ग्रह ‘दगुरिहिँड्ने चौबाटो’बाट साभार)