पूर्वाेत्तर मोरङ जिल्लामा अवस्थित पथरी बजार हरेक हिसाबले सुगम मानिन्छ । यस्तो अनुकूलता यहाँ हँुदाहुँदै पनि कयौं विषय र वस्तुस्थितिका कारण स्नातक तहको शिक्षा दिन नसकिरहेको अवस्थामा पञ्चायत माविको संयोजनकारी पहलमा स्थानीय राजनीतिक दल, सामाजिक अभियन्ता, शिक्षक, बुद्धिजीवी, व्यापारी–व्यवसायी, उद्योगी, सञ्चारकर्मी, स्थानीय अभिभावक तथा विद्यार्थीमाझ प्रतिनिधिमूलक भेलाले यस क्षेत्रमा स्नातक तहमा अनिवार्य जानुपर्ने बाध्यतालाई महसुस गर्दै २०६३ पुस १५ मा पथरी बहुमुखी क्याम्पसको स्थापना गरेको हो । प्रारम्भिक निर्णय कार्यान्वयनलाई निरन्तरता दिँदै तत्काल कार्यक्रम सञ्चालन गर्न, सोही मितिमा मोहनप्रसाद तुम्बापोको अध्यक्षतामा १९ सदस्यीय क्याम्पस तदर्थ समिति गठन भयो । प्रथम क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकीको कुशल संयोजन र तुम्बापो नेतृत्वको समितिको भरपूर प्रयासस्वरुप २०६४ साल कार्तिक १७ गते विधिवत् रुपमा त्रिविबाट सम्बन्धन प्राप्त भयो । यसलगत्तै बिहानीसत्रमा ८ जना प्राध्यापक र ५६ जना विद्यार्थीसहित पञ्चायत माविको भवनमा बीए, बीएड र बीबीएसका कक्षा सुरूवात गरियो ।
यसरी विकसित पथरी बहुमुखी क्याम्पसले हालसम्मको अवस्थामा आइपुग्दा आफ्नै जग्गामा सुविधा–सम्पन्न २० कोठे र २ तले शिक्षण भवन, प्रशासनिक भवन, अतिथि गृह, सरस्वती मन्दिर, चमेना गृह, पाले गृह, शौचालय पक्की, घेराबारा, प्रवेशद्वार, साइकल, मोटरसाइकल पार्कस्थल, २ वटा टेबलटेनिस बोर्ड, बास्केट बल कोर्ट, भलिबल तथा टेनिस कोर्टसमेतको व्यवस्थापन गरेको अवस्था छ । मोरङमा पथरी बहुमुखी क्याम्पस निर्वाचन क्षेत्र नं. ३ कै एकमात्र उच्चशिक्षा प्रदान गर्ने शैक्षिक थलो हो यो । स्थानीय जनसहभागिता र सहयोगमा सञ्चालित नाफारहित विशुद्ध सेवाप्रदायक सामुदायिक शिक्षणसंस्था हो यो ।
पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको यो क्याम्पस जनस्तरबाट सञ्चालित भएकाले यस क्षेत्रका दाताहरु, नगरपालिका, गाउँपालिका, विश्वविद्यालय अनुदान आयोगलगायत अन्य विभिन्न दातृ सँस्था र नगरपालिकाबाट यहाँ सहयोग प्राप्त भइरहेको छ । यस क्याम्पसको सेवाक्षेत्र प्रत्यक्ष रुपमा मोरङकै पथरीशनिश्चरे, सुनवर्षी, लेटाङ नगरपालिका तथा कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाहरु हुन् भने परोक्ष रुपमा प्रदेश नं. १ का पूर्वी पहाडी जिल्लाहरुले लाभ लिइरहेका छन्, जहाँबाट यिनै क्षेत्रअन्तर्गत स्नातक र स्नातकोत्तर तहको शिक्षाआर्जन गर्न यस क्याम्पसमा विद्यार्थीहरु आउने गरेका छन् । अहिले यस क्याम्पसमा ६ सय २५ जना विद्यार्थी अध्ययनरत छन् । २३ जना प्राध्यापक, १४ जना पूर्णकालीन जसमा ४ जना उपप्राध्यापक र बाँकी करार सेवामा र ४ जना स्थायी र ३ जना अस्थायी कर्मचारी कार्यरत छन् ।
यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर नेपालीमा गत वर्ष १३ जना र चालू वर्षमा ११ जना विद्यार्थीहरु अध्ययनरत छन् भने स्नातक तहमा व्यवस्थापन सङ्काय अङ्ग्रेजी र नेपाली दुवै माध्यम, शिक्षाशास्त्र सङ्कायमा नेपाली, अङ्ग्रेजी, जनसङ्ख्या र स्वास्थ्य शिक्षा र मानविकी तथा सामाजिक सङ्कायमा अङ्ग्रेजी, जनसङ््ख्या र समाजशास्त्रका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।
क्याम्पसको सङ्गठनात्मक संरचना निर्माण भएको छ । यसमा व्यवस्थापन विभाग, शिक्षा विभाग र नेपाली विभाग क्रियाशील रहेको छ । यसबाहेक विषयगत शिक्षण समितिहरु गठन भएका छन् । ती समितिले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । प्राध्यापकहरुलाई कम्प्युटरसम्बन्धी तालिमको व्यवस्था गरिएको छ । केही प्राध्यापकलाई आधुनिक प्रविधिसँग शिक्षण सिकाइका लागि ल्यापाटप वितरण गरिएको छ । यस क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले प्राण भर्ने काम गरेको छ । आयोगद्वारा सञ्चालित उच्चशिक्षा सुधार परियोजनाको पहिलो चरणमै यो क्याम्पस छानिएको हो । क्याम्पसमा क्युएए कमिटीले फायल पेश गरेको छ ।
स्वाध्ययन मूल्याङ्कन कमिटी, आन्तरिक गुणस्तर अनुगमन समिति, शैक्षिक परीक्षण समिति, खरिद समिति, अनुसन्धान विकास समितिलगायत विभिन्न उपसमितिहरु गठन भई आफ्नो कार्य गरेको अवस्था छ । क्याम्पसका सबै कामहरुको दस्तावेजीकरण गर्ने काम भइरहेको छ । १ सय २० वटा प्रश्नको एकसय पूर्णाङ्कको सूचकाङ्क भएको स्वअध्ययन मूल्याङ्कन प्रतिवेदन एसएसआर हालसालै बुझाएको अवस्था छ । गुणस्तर सुनिश्चितता प्रत्ययन प्राप्तिका लागि यो क्याम्पस अन्तिम चरणमा आइपुगेको छ । क्याम्पसमा २ सय ५१ पुरूष, ५१ महिला र ११ संस्थागत परिषद् सदस्य छन् । ३ सय १५ जना परिषद् सदस्य रहेका छन् ।
हाल यो क्याम्पसले स्थानीय सरकारसँग स्वास्थ्यसम्बन्धी क्षेत्रमा सहकार्य गर्दै कोरोना रोग सङ्क्रमण, निदान र व्यवस्थापनका लागि प्रभावित क्वारेण्टिइन सेण्टरको रुपमा प्रभावकारी सेवा प्रवाहलाई व्यवस्थित तुल्याउँदै आएको छ ।
राजनीतिले गाँजेको क्याम्पस –
निर्माणकालबाहेक पछिल्लो समयमा स्थानीय राजनीतिक दलबाट उघ्रिएका र विभिन्न ढङ्गले नाम कमाएका स्थापित व्यक्तित्वबाट यस क्याम्पसमा राजनीतिबाहेक अरु केही भइरहेको छैन । बेला–बेलामा यो क्याम्पसमा शिक्षक नियुक्ति प्रकरणले निकै चर्चा पाउने गर्दछ । देखिनमा आएअनुसार कि त राजनीतिक दलका कार्यकर्ताहरुलाई नियुक्ति दिने, कि त मोलमोलाइमा विषय र क्षेत्रबाहिरका मानिसलाई नियुक्ति दिने विषयले क्याम्पस प्रशासन व्यवस्थापन र कार्यालय सञ्चालनप्रति उदासिनता बढ्दो छ । फलतः आम मानिसको लगाव पनि ह्वात्तै घट्दै गएको छ । आय–व्यय र रखरखाव फरफारक सार्वजनिकीकरण र पारदर्शिताको अभावमा कहिलेकाहीँ तैँ चुप, मै चुपको अवस्था यदाकदा भेटिन्छ ।
वर्षौंयता नातावाद, कृपावाद, आफन्तवादको भर्तीकेन्द्र बन्दै गइरहेको आरोप पथरी क्याम्पसलाई लाग्ने गरेको छ । क्याम्पसले यो आरोप चिर्न सकेको छैन । त्रिविको नियम मिचेर गरिएको विज्ञापन खासगरी आफ्ना नजिकका नातेदार, आफन्तलाई नियुक्ति गर्ने प्रपञ्च बेला–बेलामा भइरहन्छ । निश्चित मानिसको कुत्सित मनसाय पूरा गर्न यहाँको समस्यालाई समाधानको बाटोतिर लैजानुपर्नेमा झन् जटिल बाटोतिर गइरहेको छ । त्रिभुवन विश्वविद्यालयले तोकेको अन्तिम प्रवेश सेवा उमेर ४५ वर्षलाई लत्याएर ४० बनाइएको विज्ञापनले निश्चित मानिस आउन सक्ने सम्भावनालाई रोकेको दृष्टान्त यो पंक्तिकार स्वयम्ले पनि व्यहोरेको छ । आजभन्दा झण्डै २ वर्षअघि सामाजिक सञ्जालबाट राजीनामा दिएका क्याम्पस प्रमुखको प्रशासकीय शैली निकै गजबको छ । यद्यपि यो राजीनामाबारे अहिलेसम्म कारबाही भए नभएको अवस्था बाहिर आउन सकेको छैन ।
अहिले क्याम्पसले भोगेका समस्याहरू–
यस क्याम्पसले भोगेका प्रमुख समस्या भनेको अपेक्षाकृत विद्यार्थी सङ्ख्या कम हुनु नै हो । योसँगै आर्थिक समस्या पनि जटिल समस्या हो । यसले गर्दा यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीलाई तलब भुक्तान गर्न सकिरहेको छैन । क्याम्पसलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्न एमफिल र विद्यावारिधि गर्ने अवसर प्रदान गर्न नसक्नु पनि हो । अहिले विद्यार्थी वृद्धि हुने हुँदा कक्षाकोठा अपुग भएकाले विश्वविद्यालय अनुदान आयोग शिक्षण भवन तेस्रो तल्ला निर्माण हुनेछ । अर्को समस्या भनेको परीक्षाफललाई परिणात्मक र गुणात्मक रुपमा अभिवृद्धि गर्न नसक्नु, स्नातक तहमा नयाँ–नयाँ प्राविधिक विषय ल्याउन नसक्नु, नियमित र दिगो आयस्रोत पहिचान र व्यवस्थापन गर्न नसक्नु, समुदायसँगको सम्बन्धको लागि कार्यक्रम ल्याउन नसक्नु पनि हो ।
समुदायको विश्वास जित्न नसक्नु, प्राविधिक विषयहरुको पहिचान र पठन–पाठनमा ल्याउन नसक्नु, समावेशी कक्षाकोठा व्यवस्थापन गर्न नसक्नु, सरोकारवाला पक्षबीच अझ निकटतम् सम्बन्ध स्थापित गर्न नसक्नुजस्ता जल्दाबल्दा समस्याले जेलिएको छ । दिनानु दिन विद्यार्थी ‘ड्रप आउट’ हुने सङ्ख्या वृद्धि हुनु क्याम्पस तहको व्यवस्थापन गर्न नसक्नु स्नातक तहका कार्यक्रम मात्र सञ्चालन हुनु, स्नातकोत्तर तहका कार्यक्रमहरु पनि प्रभावकारी ढङ्गले सञ्चालन हुन नसक्नु र अरु कुनै नयाँ कार्यक्रम ल्याउन पहल नगर्नु पनि हो ।
समाधानका उपायहरू –
राजनीतिक दलबाट रङ्गिएको यस क्याम्पस व्यवस्थापनलाई राजनीतिक दलका नाममा हुने व्यक्तिविशेषको स्वच्छन्द क्रियाकलापभन्दा पनि विशुद्ध संस्थागत ढङ्गबाट अगाडि बढाउन जरूरी छ । विषयगत योग्यता–क्षमता र वार्षिक योजनानुसार क्याम्पस चलाउन ढिलो भइसकेको छ । समुदायको खस्कँदो विश्वास साथमा लिनु जरूरी छ । कतिपय बेला चर्चामा चुलिएको लुटलाई छुट होइन, नातावाद, कृपावाद र आफन्त प्रवेशलाई रोक लगाउन जरूरी छ । विशुद्ध नाफामुखी नभएको यस क्याम्पसलाई त्रिवि नियमानुसार शिक्षक नियुक्ति, त्यसको मापदण्डअनुसार परीक्षा लिने परिपाटी गर्न जरूरी छ ।
क्याम्पस विधान क्याम्पसका प्राध्यापक र कर्मचारी चलाउने भएकाले त्यहीअनुरुप चुस्तदुरूस्त सञ्चालक समिति गठन गर्ने, राजनीतिक झुकावभन्दा काम सम्पादन गर्ने सञ्चालक समिति बनाइनुपर्ने छ । अहिले स्थानीय सरकार बनेको अवस्थामा यस नगरको एकमात्र उच्च शैक्षिक संस्था भएका कारण नगरपालिकाले यस क्याम्पसलाई विशेष प्राथमिकतामा राख्नु पर्नेछ । नगरले यसलाई आफ्नो नीति अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्छ । पथरीमा रहेका स्थानीय सङ्घ–संस्थासँग समन्वय गरी स्रोत पहिचान गर्ने कार्यको थालनी गर्नु आवश्यक रहेको छ । यस क्षेत्रका सामुदायिक वनका अगुवाहरु, सहकारी संस्था र यसका अभियन्ताहरुसँग क्याम्पसको बृहत्तर हित, यसभित्र आफ्नो हकका लागि र साझेदारी कार्यक्रम गर्न एकदमै आवश्यक छ ।
के–के गर्न सकिन्छ ?
क्याम्पसकै एउटा कार्यक्रममा पेश भएका स्थानीय शिक्षाप्रेमी एवम् समाजसेवी युवराज बास्कोटाका अनुसार मोफसलमा विभिन्न महŒवका साथ क्रियाशील यो क्याम्पसलाई इमान र निष्ठाको प्रश्नमा खरो उत्रन सक्ने हो भने पूर्वाेत्तर मोरङमा यो रमणीय क्षेत्रमा क्षेत्रको एकमात्र शैक्षिक हबको रुपमा विकसित गर्न सकिन्छ । यहाँ क्याम्पस बसको व्यवस्था, छात्रावासको व्यवस्था, उपयुक्त खेल मैदान, व्यवस्थित पार्किङ, घेराबारा, आकर्षक बागबगैँचाको व्यवस्थापन गर्न सकिन्छ । सम्पूर्णतामा नै प्रविधिमैत्री शिक्षण सिकाइतिर उन्मुख रहन सकिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शिक्षण संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गर्न सकिन्छ । प्रशस्त जमिन छ ।
यसमा प्राविधिक तथा व्यावसायिक विषयहरु थप्नका लागि भौतिक संरचना निर्माण गर्न सकिन्छ । विद्यार्थी सङ्ख्या वृद्धिका लागि सेवा क्षेत्रमा प्रशस्त १२ कक्षासम्म चलेका विद्यालयहरु छन्, तिनीहरुसँग सहकार्य गर्न सकिन्छ । क्याम्पस हाताभित्र स्वास्थ्यकर्मीसहितको उपचार कक्षा व्यवस्था गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गैरसरकारी संस्थाहरुबाट शैक्षिक विकासका लागि आर्थिक सहयोग प्राप्त गर्न सकिन्छ । क्याम्पस पूर्वतर्फको सडक किनारामा व्यापारिक प्रयोजनको भवन बनाई आम्दानी बढाउन सकिन्छ । क्याम्पस भौगोलिक, यातायात तथा घना बस्तीको क्षेत्रमा स्थापित छ । यसलाई एउटा छुट्टै गहनाको रुपमा विकास गर्न सकिन्छ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थानीय संस्थाहरुबाट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा अक्षयकोष स्थापना गर्न सकिन्छ ।
स्थानीयस्तरमा विज्ञान तथा प्राविधिक विषयका स्नातक तहका कक्षाहरु सञ्चालन गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न विषयविज्ञहरुबाट आतिथ्य कक्षाहरु सञ्चालन गर्न सकिन्छ । बजार क्षेत्र तथा घना आवादी क्षेत्र भएकाले आर्थिक सहयोग प्राप्त गर्न सकिने आधारहरु खोज्न सकिन्छ । पर्यावरणलाई ध्यानमा राख्दै वृक्षरोपण गरी हरियाली क्षेत्र तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिन्छ । सीमित स्रोत र साधनको असीमित लाभ हासिल गर्न सकिने प्रशस्तै आधार छ । परस्पर सहकार्यबाट सीमान्तकृत तथा विपन्न एवम् दलित वर्गले शिक्षा प्राप्त गर्न पाउने वातावरण निर्माण गर्न सकिन्छ । यसका लागि स्थानीयको विश्वास जित्न सक्नु र नेतृत्वमा दृढ इच्छाशक्ति, दूरदर्शिता र यसको कार्यान्वयनमा संस्थागत इमान निष्ठा हुन जरूरी छ । यसको ज्वलन्त उदाहरणका लागि पथरी उद्योग वाणिज्य सङ्घ पथरीशनिश्चरेको कार्यालय भवन निर्माणको प्रसङ्गलाई लिन सकिन्छ ।