हजुर तरकारी लिनुहोस् है ताजा तरकारी
लौ हजुर आयो है आयो ताजा माछा, जिउँदो माछा
हजुर जुत्ताचप्पल, जामा, गञ्जी, सर्ट लिनुहोस् है, सस्तोमा......

आजकल विराटनगर बजारमा स–साना बालबालिकाहरूले सकिनसकी रिक्सा कुदाउँदै शहरका टोल–टोलमा चिच्याउँदै घुमिरहेका हुन्छन् । कोहीले आफ्ना अभिभावकको सहयोग पाइरहेका हुन्छन् भने धेरै चाहिँ दाजुबहिनी वा दिदीबहिनी वा दाजुभाइ मिलेर सकिनसकी पालोपालो रिक्सा कुदाउँदै टोल–टोलमा व्यापार गर्न घुमिरहेका हुन्छन् । ६ महिनादेखि निरन्तर यसरी असिनपसिन हुँदै टोल–टोल घुम्नु उनीहरूको रहर होइन, बाध्यता हो । शहरीक्षेत्रमा बस्ने गरिब परिवारका बालबालिकाहरू कोरोना महामारीले गर्दा पढ्नबाट मात्र बञ्चित भएका छैनन् कि परिवारमा साँझ बिहान के खाउँ, कहाँबाट ल्याउँ भन्ने अवस्थामा पुगेका छन् । उनीहरूका अभिभावकले गर्दै आएको जनमजदुरी पेशा लकडाउन र निषेधाज्ञाले गर्दा धरासायी भएको छ । रिक्सा, सिटी, अटो, ठेला केही पनि चलेका छैनन् । बजार चलायमान नहुँदा उनीहरूको रोजगारीमा प्रत्यक्ष असर परेको छ । तरकारी, फलफूल र साना मनिहारीको पसल गर्नेहरूसमेत प्रभावित भएका छन् । जसको मार शहरी गरिब बालबालिकाहरूमा प्रत्यक्ष परेको छ ।

कोरोना महामारीले गर्दा खुला आकाश मन पराउने बालबालिकाहरू शैक्षिकसंस्था नखुलेका कारण घरमै सीमित छन् । ग्रामीण क्षेत्रका बालबालिकाहरू त आ–आफ्नो गच्छेअनुसारको कृषिकर्ममा भुलिरहेका छन् । धेरैले विद्यालय नलागे पनि आफ्ना अभिभावकलाई घरको काममा सहयोग गरिरहेका छन् । पारिवारिक र सामाजिक वातावरणमा घुलमिल भइरहेका छन् ।

तर शहरी गरिब बालबालिकाहरू कोभिडका कारण प्रत्यक्ष त्रासमा परेका छन् । शहरी क्षेत्रका लाखौं गरिब बालबालिकाहरू सिर्जनशीलताविहीन भएका छन् । उनीहरू कोही आमाबुबालाई तरकारी र फलफूल बिक्री गर्न सघाउँदैछन् । तर, कोभिडमा व्यापार पनि खुम्चिएकोले धेरै बालबालिकाहरू कैदी झैँ बस्न बाध्य छन् । स्कुल जान, पढ्न, खेल्न, साथीभाइसँग रमाइलो गर्न रुचाउने नानीहरूलाई कोरोना महामारीले मनोवैज्ञानिक त्रास थपेको छ । अर्कोतिर, महामारीमा बाहिर हिँडडुल गर्न नपाइने, आमाबाबुले गर्दै आएको व्यापार पूर्णरूपमा प्रभावित हुँदा आर्थिक अवस्था दयनीय बनेकोले बालबालिकाहरूलाई झन् पीडा थपिएको छ ।

कतिपयको घरमा कलह सिर्जना हुँदा बालबालिकाहरू पनि घरेलु हिंसाको मारमा परेका छन् । कोरोना महामारी लामो समयसम्म चलेको र अझै चल्ने भएकोले शहरी क्षेत्रका गरिब बालबालिकाहरू अझै धेरै त्रास र आर्थिक मारमा पर्ने निश्चित छ । अझै अभिभावकको आम्दानीसमेत गुमेकोले अब उनीहरूको पढाइ पनि सङ्कटमा पर्ने अवस्था सिर्जना भएको छ । धेरैपछि विद्यालय खुले पनि सबै अभिभावकले बालबालिकाहरूलाई पढाउन सक्ने अवस्था हुँदैन । निजी स्कुलमा पढाउनेहरूले त पक्कै छोराछोरी स्कुल पढाउन चुनौती छ ।

हो, कोरोनाले सबै उमेर समूह र वर्गका मानिसलाई उत्तिकै तर्साएको छ । तर, अझ बढी कोरोनाको चपेटामा निम्नवर्ग परेका छन् । जसको प्रत्यक्ष असर उनीहरूका सन्तान अर्थात् बालबालिकाहरूमा पनि परेको छ । कतिपय बालबालिकाको त बाबुआमा दुवै सङ्क्रमित भएर आइसोलेसनमा लगिएको अवस्था छ । ती बालबालिका कसरी बसेका होलान्, के खाँदै होलान् ? यस्तो परिवारको बालबालिकाको पीडा कति कहालीलाग्दो होला ? धेरै बिरामी भएका बालबालिकाले पनि भनेजस्तो उपचार पाएका छैनन् । यसबारे स्थानीय, प्रदेश र सङ्घीय सरकार कसैले खोजीनिती गरेको पाइँदैन । गरिब भएकोले उनीहरूलाई टोल समाजका छिमेकीहरूले पनि वास्ता गर्दैनन् ।

जसले गर्दा बालबालिकाहरू भोकभोकै मात्र नभएर आफूलाई दीन–हीन भएको हीन भावना पाल्न बाध्य भएका छन् । जसको असर उनीहरूको भोलि पठन–पाठनमा मात्र नभएर निर्णय क्षमतामा पनि पर्नेछ । हुने खाने परिवारका बालबालिकालाई लकडाउन ‘एक चाड’ झैं भएको होला । उनीहरू घरमै विभिन्न सुविधा उपभोग गरिरहेका होलान् । अनलाइन कक्षा पनि लिइरहेका होलान् । तर, हुँदा खाने वर्गलाई चाहिँ कोरोनाले जिउनु न मर्नु बनाएको छ । कोरोनाले गर्दा नै निजी क्षेत्रमा काम गर्ने थुप्रै दम्पतीले जागिर गुमाएका छन् । जसको प्रत्यक्ष असर बालबालिकामा परेको छ । छोराछोरीको उज्वल भविष्यका निम्ति जोहो गरेर राखेको पैसा लकडाउनको शुरुवाती दिनमै सकिएको छ । तर कोरोना सङ्क्रमण अझै नियन्त्रणमा आइसकेको छैन । जसले परिवारको गुजारा चलाउन झन्–झन् सङ्कट थपिँदैछ ।

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने बाबुआमा कामविहीन भएर खाली हात घरमै बस्न बाध्य छन् । केहीले विरक्तिएर आत्महत्या पनि गर्न थालिसकेका छन् । धेरै बालबालिकाहरू आधापेट खाएर जीवन गुजारिरहेका छन् । जसले गर्दा बालबालिकाहरूमा कुपोषणको जोखिम पनि थपिएको छ । राष्ट्रिय बालदिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउने गरिन्थ्यो । तर, कोरोनाका कारण यस वर्ष बालदिवस प्रत्यक्ष प्रभावित भएको छ । विद्यालयहरू बन्द भएकोले कुनै औपचारिक कार्यक्रमहरू भएका छैनन् । कोभिडकै त्रासले भविष्यका आशलाग्दा कलिला मुनाहरूले निराशाको घेराभित्र निस्सासिनु परेको अवस्था छ । सबै सुविधाले सम्पन्न परिवारका बालबालिकाको लागि प्रत्येक दिन बालदिवस हुने गरेको छ । तर गरिबीको रेखामुनी रहेका बालबालिकाको लागि न सरकारको तर्फबाट नै कुनै पहल भयो, न त कुनै नीतिको निर्माण नै भएको छ । सडकमा रहेका र पहुँच नभएका बालबालिकाको लागि हरेक वर्ष मनाइने बाल दिवस शब्द र नारामा मात्र सीमित भएको छ । झन् यसपालि त कोभिडले गर्दा उनीहरूसम्म नारा पनि पुग्ने अवस्था छैन ।

कोरोना महामारीका बेला भिख मागेर आफ्नो दैनिकी चलाउने सडक बालबालिकाको अवस्था झन् कहालीलाग्दो छ । आफूले आफूलाई बालअधिकारकर्मी भन्दै खोक्नेहरू खै, यो महामारीको बेला कुन दुलोभित्र पसे ? आकर्षक नारा बनाएर अनेकौं प्रतिबद्धता गरेर बालअधिकारको संरक्षण गर्छु भन्ने अधिकारकर्मी, सरकार महामारीको यो कठिन समयमा चाहिँ खै, कता लुके, के बालअधिकार शब्द र नाराको लागि मात्रै हो ?

हाल महामारीको अवस्थामा ४४ प्रतिशत जनसङ्ख्या ओगटेका बालबालिकाका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारहरू, विद्यालय र अन्य सम्बन्धित सरोकारवालाहरूले उनीहरूको बचाउ, संरक्षण, विकास र सहभागिताका सवालमा गरेका कार्यहरूको पुनरावलोकन गर्न जरुरी छ । विशेषगरी शहरी क्षेत्रका गरिब र जोखिम अवस्थामा रहेका बालबालिकाहरूको मनौवैज्ञानिक समस्या, उद्धार र पुनस्र्थापनामा सबैले हातेमालो गर्न आवश्यक छ ।

बालअधिकारकर्मी वासु अधिकारी कोभिडलाई त्रासका रूपमा मात्र नभएर व्यस्त जीवनशैलीका कारण बालबालिकासँग बढेको पारिवारिक दूरी घटाउने अवसरको रूपमा लिनुपर्ने बताउँछन् । हुन पनि दैनिक हतारमा विद्यालय जानुपर्ने, धेरै पढ्नुपर्ने, गृहकार्य गर्नुपर्ने, भनेको बेला साथीभाइ भेट्न र रहर लागेअनुसार खेल्न पनि नपाइने व्यस्त र दबावमूलक जीवन अहिले छैन । यसैले बालबालिकासँग बसेर परिवार इष्टमित्रका विषयमा कुरा गर्ने, पुराना तस्बिर देखाएर आफन्त चिनाउने भूमिका पाका सदस्यले निभाउनु पर्छ ।

यसैगरी करेसाबारीमा काम गर्नु, बोटबिरुवा चिनाउने, समान्य खनजोत गर्ने काममा पनि बालबालिकालाई लगाउन सकिन्छ । यसबाहेक आफ्नो रीतिरिवाज अनुसारको संस्कार बुझाउने र बालबालिकालाई सामाजिक परम्परा बुझ्ने काम पनि गर्न सकिन्छ । यति मात्र नभएर परिवारका सदस्यमा भएको गीत गाउने खेल्ने वा अन्य सीपहरू बालबालिकाहरूलाई सिकाउन सकिन्छ । साथै बालबालिकाहरूको रुचिअनुसार सीप विकासमा सहयोग गर्न सकिन्छ । जस्तोः चित्र बनाउने, गीत, कविता लेख्ने गाउने, विभिन्न यन्त्रहरू बनाउने रुचि बालबालिकामा हुन्छ । तर शहरी गरिब बालकालिकाहरूले यो सुविधाको अवसर प्राप्त गर्न सक्दैनन् । किनभने उनीहरू महामारीको त्राससँगै झन् दयनीय गरिबीको दबावमा परिरहेका हुन्छन् ।

सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले ठूलो–सानो, धनी–गरिब केही नभनीकन संसारका सबै देशहरूको सातो लिइरहेको छ । आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त मानिने देशहरूको प्रयासले पनि अझैसम्म समाधानका लागि केही परिणाम दिन सकेको छैन । संसारका खासगरी शक्तिशाली देशका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान, धनाढ्य व्यापारीहरूलाई कोरोना भाइरस चुनौती भएको छ ।

कोरोना भाइरसका कारण नेपालको अवस्था पनि ‘दिन दुईगुना रात चौगुना’ भयावह बनिरहेको छ । नेपालमा कोरोना सङ्क्रमणले ६ सय बढीको मृत्यु भइसकेको छ । पचास हजार बढी मानिसहरू सङ्क्रमित भइसकेका छन् र दिनानु दिन थप नयाँ सङ्क्रमितहरू थपिइरहेका छन् । ६ महिनादेखि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा जारी छ । कलकारखाना, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक संस्था ठप्प छन् । अनौपचारिक क्षेत्रको रोजगारी पनि गुमेको छ । लामो समयदेखि शैक्षिकसंस्था बन्द भएका कारण भविष्यका कर्णधार मानिने कयौं बालबालिकाको वर्तमान नै अन्योलमा छ । त्यसमा पनि शहरी गरिब बालबालिकाहरू झन् धेरै समस्यामा छन् । यसैले उनीहरूको अधिकारका लागि सरकारी, गैरसरकारी सबै क्षेत्रले हातेमालो गरौं ।
(लेखकः मोरङ क्याम्पस विराटनगरका स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् ।)