कोरोना कहरको विषम परिस्थितिमा हाल नेपालको निजी क्षेत्र कस्तो अवस्थाबाट गुज्रिरहेको छ ? कोरोनाका कारण तहस–नहस बनेको औद्योगिक क्षेत्र तथा समग्र अर्थतन्त्र के पुरानै लयमा फर्केला ? यस्तो कठिन बेलामा निजी क्षेत्रले तीन तहका सरकारसँग कस्तो अपेक्षा गरेको छ ? के निजी क्षेत्रले अपेक्षा गरे अनुरूप सरकारले राहतका ल्याउला ? लगायतका विषयमा पूर्वाञ्चल ल्यूब आयल प्रालिका प्रबन्ध निर्देशक तथा उद्योग सङ्गठन मोरङका कार्य समिति सदस्य भोलेश्वर दुलालसँग ब्लाष्टका संवाददाता विवेक मिश्रले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना कहरको यो समयमा नेपालको निजी क्षेत्र कस्तो अवस्थाबाट गुज्रिरहेको अनुभव गर्नुभएको छ ?
–पहिलो कुरा, नेपाल सरकारले गर्दै नगर्नु पर्ने कुरा लकडाउन भयो । दोस्रो कुरा, साना, मझौला किसिमका व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको अवस्था एकदमै दयनीय अवस्थामा पुगेको छ । उहाँहरू फेरि फर्किएर व्यावसायिक क्षेत्रमा आउने अवस्था छैन । समग्रमा हाम्रो छाता सङ्गठनहरूले निकालेको जुन डाटाहरू छन्, त्यसलाई आधार मानेर हेर्दा लगभग ७० प्रतिशत व्यवसायीहरू पलायन हुने अवस्थामा छन् । सबैभन्दा मर्कामा साना व्यवसायीहरू परेका छन् । उहाँहरूको पुँजी घरभाडा तिर्दै सकिने अवस्थामा छ । मध्यम् र ठूला वर्गका व्यवसायीहरूलाई पनि असर पर्यो तर पनि उहाँहरू आजको दिनसम्म टिक्न सक्ने अवस्थामा हुनुहुन्छ । यतिबेला सिङ्गो विश्व कोभिड–१९ को महामारीको त्रासले थिचिएको छ । नेपाल पनि यसको प्रभावमा नराम्ररी परेको छ । यस्तो बेलामा निजी क्षेत्र नपर्ने भन्ने हुँदैन ।

धेरै सङ्क्रमित भएका जिल्लामध्ये मोरङ पनि एक हो, यो अवस्थामा मोरङमा रहेर उद्योग सञ्चालन गर्दा कस्ता समस्या झेल्नुपरेको छ ?
–मोरङ जिल्लाको हकमा भन्नुपर्दा यहाँका उद्योगहरूले देशकै अर्थतन्त्रमा उल्लेखनीय भूमिका खेलेका छन् । तर यहीँ रहेको मेरै उद्योगको कुरा गर्नुपर्दा यो लकडाउनको ६ महिनाको अवधिमा करिब डेढ महिना मात्र उद्योग सञ्चालन भयो भने बाँकी अवधि बन्द नै रह्यो । अहिले खुल्ला छ, चलाउनको लागि अनुमति दिएको छ तर, पनि उत्पादित वस्तु बाहिर जान नसक्ने अवस्था भएकाले वस्तु उत्पादन गरेर मात्र नहुने भएपछि उद्योग पूर्णरूपले सञ्चालन गर्ने अवस्था छैन । मोरङ जिल्लाभरका ५० प्रतिशत उद्योग आफ्नो उत्पादन कटौती गरेर सञ्चालित छन् ।

लामो समय उद्योग बन्द रहेको अवस्थामा उद्योगका कर्मचारी र मजदुरको अवस्था कस्तो रह्यो ?
–हालसम्मको अवस्थामा भन्नुपर्दा मैले आफ्नो उद्योगका कर्मचारीहरूकै सहमतिमा चैत र वैशाख महिनाको ५० प्रतिशत तलब दिएँ । अरू महिनाको तलब पूरै दिइराखेको छु । तर, अब कसरी जाने भनेर उद्योगका कर्मचारी र मजदुरहरूलाई नै राखेर कसरी जाँदा ठीक हुन्छ भनेर उहाँहरूकै सल्लाह अनुरूप जाने तयारीमा छु । कर्मचारी र मजदुरको सन्तुष्टि नै हाम्रो चाहना हो ।

यस्तो कठिन अवस्थामा निजी क्षेत्रले सरकारसँग कस्तो अपेक्षा गरेको छ ?
–सरकारसँग हामीले अलिक फरक अपेक्षा राखेका थियौँ तर, सरकारले त्यो अपेक्षातर्फ ध्यानै दिएन । साना, मझौला व्यवसाय पलायन भए भने ठूला व्यवसाय पनि पलायन हुन्छन् । त्यसैले साना तथा मझौला व्यवसायलाई सरकारले कम से कम उनीहरूले लिएको ऋणमा ५ प्रतिशतसम्म ब्याज कायम गरिदिन्छ कि भन्ने थियो तर, सरकारले त्यसो गर्न सकेन र घरबहालमा सरकारको क्लियर भिजन आउनुपथ्र्र्यो । सबै घरधनीलाई सरकारको तर्फबाट अनुरोध गरेर एक वर्षको लागि ५० प्रतिशत भाडा छुट गरेर बाँचौं र बचाऔँ भन्ने अभियान चलाएको भए सायद सबैले मान्थे तर त्यसो सरकारले गर्न नसकेको अवस्था देखिन्छ । हिजोको दिनमा दुई दिन बन्द हड्ताल भयो भने कत्रो क्षति भएको महसुस हुन्थ्यो भने आज सरकारले सात महिना लकडाउन गरिराखेको छ । यसबाट सरकारले के प्राप्ति ग¥यो ? कोरोना नियन्त्रण पनि भएन झन् बढिराखेको छ । अनि लकडाउन खुकुलो गर्दा र पूरै टाइट गर्दामा फाइदा के भयो भन्दा केही पनि हात लागेन शून्य भयो । कोभिड–१९ को केसबाट सरकार डराउनु हुँदैनथ्यो । कोभिड के हो भनेर पहिला बुझ्नु पथ्र्यो । अब पनि कोभिड–१९ को केसबाट मरिन्छ भनेर डराएर भोकै मर्नुभन्दा यसबाट बचेर केही गर्नु चाहिँ राम्रो हुन्छ, जस्तो लाग्छ ।

अब के हुन्छ ? उद्योगीहरू पुरानै अवस्थामा फर्किन सक्लान् ?
–अब पुरानै अवस्थामा फर्कन सहज अवस्था बन्दै गएमा पनि ५ वर्ष लाग्छ । ५ वर्ष किन लाग्छ भने १९ दिने जनआन्दोलनको रिकोभर हुन हामीलाई ६–७ महिना लागेको थियो भने आज ६–७ महिना बन्द भइसक्यो । अझै बन्द लम्बिने अवस्था देखिन्छ, त्यसैले एक वर्षको रिकभर हुन ५ वर्ष कम्तीमा लाग्छ । अझ पर्यटनलगायतका व्यवसायलाई त अझ धेरै समय लाग्न सक्छ ।

लकडाउनको कारणले कामदार अभाव भएको सुनिन्छ, यसले सामानको मूल्य बढ्ने सम्भावना छ ?
–अहिले मूल्यवृद्धि तत्काल हुँदैन । हाल अन्तर्राष्ट्रिय बजारमा सबैको प्रायः मूल्य घटेको छ । त्यसैले पनि मूल्य वृद्धि हुने सम्भावना छैन । नेपाली उद्योगमा रहेका भारतलगायतका अन्य देशका मजदुरको हकमा भन्नुपर्दा आज विराटनगर करिडोर क्षेत्रमा लगभग ३० प्रतिशत भारतीय मजदुर छन् । जुन चाहिँ सीपको आधारमा लाग्ने मजदुरहरू हुन्, जुन नेपालमा उत्पादन भएका छैनन् । जस्तैः केमिस्टहरू भए । केमिस्टहरू भर्खरै मात्रै नेपालमा पहिलो ब्याज उत्पादन हुँदैछन् । एउटा उद्योगमा ४ जनादेखि ७ जनासम्म केमिस्टहरू हुन्छन् । मेसिन उपकरणहरू भारतले सप्लाइ गर्छ । अनि त्यो मेसिन मर्मत गर्न, चलाउन भारतकै प्राविधिकहरू झिकाउनु पर्छ । लकडाउनका कारण ती मजदुरहरू आउन नसक्दा असुविधा त छँदै छ, त्यसको अलावा उत्पादित मालसामान पनि जान पाएको छैन । अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको दाममा गिरावट आएकाले तत्कालै नेपालमा सामानको मूल्य वृद्धि हुने सम्भावना छैन ।

यसै विषयमा सरकारलाई के भन्न चाहनुहुन्छ ?
–यस विषयमा मेरो स्पष्ट धारणा छ– कोभिड–१९ को कारणले आत्तिनु पर्ने अथवा कोभिड–१९ महामारी हो भन्ने पक्षमा म छैन । किनभने चीनको वुहानबाट फैलिएको जुन यो भाइरस हो, एकैचोटी इटालीमा फैलनु । यसबाट सङ्क्रमित भएका व्यक्ति भ्याक्सिन प्रयोग नगरी निको भएर घर फर्कनुलगायतका अवस्थालाई हेर्दा यसलाई महामारी भन्नु ठीक होइन । मैले धेरै अघिदेखि सरकारका मन्त्रीज्यूहरूलाई भनिरहेको छु, सामाजिक सञ्जाललगायत विभिन्न मिडियामा यो महामारी होइन नै भनिरहेको छु । यो महामारी भएको भए आज दुई करोड मान्छे ठीक भएर घर फर्किदैनथे । आज नेपालमै पनि करिब ५० हजार सङ्क्रमितमध्ये ३३ हजार मान्छे ठीक भएका छन् । यो सामान्य रूघाखोकी हो, जुन हामी नेपालीले भोगिराखेका थियौँ । त्यसैले गर्दा यो महामारी होइन । यसमा महामारी भनेर सरकारले ६ महिना लकाउन गरेर बिताइदियो । यो सरकारको अकर्मण्यता हो । भोलि सबैलाई थाहा हुन्छ, लकडाउन गरेर हामीले गल्ती ग¥यांै, यो नजानेर ग¥या रहेछौँ भन्ने हुन्छ । पीसीआर मेसिनमै सत्यता छैन । यसमा पनि ६० प्रतिशत मात्र सत्यता छ भनेर पीसीआर बनाउने वैज्ञानिक अमेरिकन डा. मोरिजले आफ्नो पुस्तकमा लेखेका छन् । उनले भनेका छन्, ‘यो मेडिकल पर्पोजको लागि होइन, यो रिसर्चको लागि बनाएको हो र यसको आधारमा मेडिकल ट्रिटमेण्ट गर्न पाइने छैन ।’ बनाउने मान्छेले नै त्यसो भन्दाभन्दै हामी त्यसकै आधारमा पोजेटिभ र नेगेटिभ भनिरहेका छौँ, खर्च गरिरहेका छौँ । त्यसैले यो तुरुन्तै रोकिनु पर्छ । पीसीआर टेष्ट गर्नु पर्दैन । जसलाई रूघाखोकी, ज्वरो आउँछ घरमा बसेर घरायसी औषधि सेवन गर्दै आराम गर्ने १० दिनमा ठीक भएर काममा फर्कने । यो पीसीआर तुरुन्तै रोकिनुपर्छ । यसको काम छैन र कुनै पनि हालतमा लकडाउन हुनु हुँदैन ।