उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेसँग कोरोना महामारीका बेला शैक्षिक गतिविधि सञ्चालनबारे गरिएको संक्षिप्त कुराकानीः
कोरोनाले शैक्षिक प्रणालीलाई प्रभावित पार्ने यस्तो सम्भावना देख्नु भएको छ ?
–कोरोनाले विश्वको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ । यसले जीवनका अन्य महत्वपूर्ण क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि गहन असर गरेको छ । यसको प्रभावले परम्परागत शिक्षण सिकाइका कतिपय मूल्य र मान्यतामा परिवर्तन गर्ने सङ्केत पनि दिएको छ । कतिपय समस्याहरूका अलावा पनि हालको शैक्षिक प्रणालीमा सकारात्मक र गुणात्मक आयाम थपिने विश्वास गर्न सकिन्छ । यो चुनौतीले दिएको उज्यालो पक्ष हो ।
चालु वर्षको शैक्षिक सत्र त प्रभावित नै बनाएको भनेर रोइलो भइरहेको छ ? सरकार गैरजिम्मेवार बनेको हो ?
–यसमा सरकारलाई दोष दिएर हामी पन्छिन सक्दैनौं । एउटा जिम्मेवार नागरिक हुनाका नाताले हामीले पनि युगजीवनका यथार्थ कटुसत्य र प्रभावको सामयिक विश्लेषण गर्नुपर्दछ । कोरोनाको प्रभावले विश्वव्यापी शैक्षिक गतिविधि ठप्प छ । त्यसैले यो परिस्थितिकीय समस्या हो । यस समयमा सरकारले विद्यालय खोले पनि समाजले स्वीकार गर्दैन । बरू अनलाइन पठन–पाठनलाई मान्यता दिनचाहिँ सरकारले ढिला गरेकै हो । तथापि अब त्यो पनि निर्णय भएको छ । शैक्षिक सत्र नाश हुन नदिने सरकारी निर्णय स्वागतयोग्य नै छ । शैक्षिक सत्र नै गायब हुने हो कि भन्ने सबैलाई चिन्ता अवश्य छ । तर, पाठ्यक्रम र पाठ्यभार घटाएर पनि शैक्षिक सत्रलाई अगाडि बढाउने पछिल्लो निर्णयले ती प्रश्नहरूको जवाफ दिएको छ । यो सबैका लागि खुसीको कुरा हो ।
हिसानले कक्षा ११ को भर्ना अभियानलाई तीव्र बनाइरहेको छ । अध्यापन चाहिँ कुन मोडलमा गर्ने सोचमा हुनुहुन्छ ?
–हिसान सुनसरीले आफ्ना सम्पूर्ण सदस्य विद्यालयहरूलाई भर्ना अभियान तीव्रताका साथ सञ्चालन गर्न आग्रह गरेका छौं । यसले शैक्षिक क्षेत्रमा गतिशीलता प्रदान गरेको छ । हामीले भदौ ५ गतेदेखि कक्षा १२ को कक्षा विद्युतीय प्रविधिका माध्यमबाट अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छौं भने असोज ५ गतेबाट कक्षा ११ को कक्षा सञ्चालन गर्ने तयारीमा छौं । हाल भौतिक रूपमा कक्षा सञ्चालन सम्भव नभएकोले हामी भर्चुअल कक्षालाई नै प्रयोग गर्छौं । यसबाहेक अन्य वैकल्पिक विधिहरूको पनि आवश्यकताका आधारमा प्रयोग गर्छौं तर, हाम्रो मुख्य प्राथमिकता अनलाइन विधि नै हुनेछ ।
अहिलेको विकल्प त अनलाइन नै होला, अनि यो अवस्थामा सबै विद्यार्थीको पहुँचमा अनलाइन शिक्षा छैन भनेर सरकारले नै विभिन्न आँकडा प्रक्षेपण गरिरहेको छ ? हिसानले कसरी सम्भव बनाउला ?
–हो, हाम्रो प्राथमिकता अनलाइन विधि नै हो । सुनसरी जिल्ला प्रविधिको उपलब्धताका हिसाबले सुगम छ । कतिपय समस्याहरू छन् । मोबाइल, ल्यापटप र इण्टरनेटका समस्याहरू आउन सक्छन् । हामी त्यसलाई गम्भीरताका साथ विश्लेषण गरिरहेका छौं । त्यसमा वैकल्पिक विकल्प खोजिन्छ नै । साथीसाथी शेयर गरेर पनि पढ्न सक्ने वातावरण बन्न सक्छ । सानो–सानो समूहमा विद्यालयमा बोलाएर सुरक्षित रूपमा प्रविधिले समस्यामा रहेका विद्यार्थीहरूलाई अध्यापन गराउन पनि सकिन्छ । हामीले आफ्ना विद्यार्थीहरूको जिम्मेवारी सहज पूरा गर्छौं र निर्धारित समयमा तोकिएको पाठ्यभार पूरा गर्नेछौं । जहाँसम्म सबै विद्यालय र क्षेत्रका विद्यार्थीको समस्या छ । त्यसमा बहुवैकल्पिक विधि प्रयोग होला । हामी मूलतः ती समस्याबाट मुक्त छौं ।
नेपाल सरकारले जारी गरेको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका–२०७७ को सिर्जनात्मक पक्षहरू कार्यान्वयन गर्न तीनै तहको सरकार चुकेको हो ?
–यसमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले समस्यामा निर्णय नगरेकै कारण समस्या भएको हो । संस्थागत विद्यालय र सामुदायिक विद्यालयका मनोविज्ञानले पनि कतिपय समस्याहरू देखिएका हुन् । स्थानीय सरकारले शुल्क र पठन–पाठनका विषयमा स्पष्ट निर्देशन दिएनन् र अहिले पनि चुप छन् । यसरी बहुवैकल्पिक शिक्षाका विषयमा स्पष्ट व्याख्या पनि भएन । अझ लकडाउनको शृङ्खलाबद्ध र सिलसिलेवार प्रयोग मात्रले सधैँ त्रास र अन्यौल मात्र सिर्जना भयो । अब हामी आशा गरौं । सबै निकायले पाठ सिकेर अगाडि जाने बाटो खोल्नेछन् र विकल्पका विविध रूपको प्रयोगले हामी सफल हुनेछौं ।
शिक्षाको हकमा कोरोना चुनौती कि अवसर ?
–कोरोनाको प्रभावले अहिलेलाई चुनौती जस्तो देखिए पनि यो एउटा सुनौलो अवसर पनि हो । शिक्षण सिकाइमा यसले प्रविधिलाई प्रवेश गराएको छ । युगान्तकारी परिवर्तनका सङ्केतहरू देखिन थालेका छन् । परम्परागत शिक्षण विधि र आधुनिक विधिको अन्तरघुलन भएको छ र यसले समाजलाई नयाँ मार्गमा लैजानेछ । अब खोजमूलक, प्रदर्शनमूलक, परियोजनामुखी साँचो शिक्षण विधिको ढोका खोल्नेछ, जुन एक्काइसौं शताब्दीको अनुकूल हुनेछ । तसर्थ यो अवसर नै अवसरको हो भन्ने मलाई लाग्दछ । धन्यवाद ।