कहाँको मानिस सफारीमा तरकारी बेच्न लिएर आएछ । मास्क नै नलाई झुक्किएर छेउमा पुगिहालेँछु । सेनिटाइजरको बोतल छेउमा राखेको रहेछ । झिकेर हातमा दल्दा पो झसङ्ग भएँ । यसो हेरेको त उसको पनि मास्क चिउँडोमा थियो । बोल्न सजिलोको लागि तल सारेर बोलेको । एक दिनमा कति गाउँ डुलेर भ्याउँदा हुन् । यस्तै चौरासेले त हो नि समुदायमा छिटो कोरोना फैलाउने भनेको । कोरोनाको यस्तो बिगबिगी छ । मान्छे विभिन्न बहानामा रगरग गाउँ डुल्न छोड्दैनन् । कतै त्यो मानिस पनि कोरोना सङ्क्रमित नै पो थियो कि भन्ने कुराले रातभरि निन्द्रा लागेन । छेउमा पुगिहालिएछ । भनेको बेला सामाजिक दूरीको पनि कहाँ ख्याल भइरहन्छ र ! आइरहन्छन् छिन–छिनमा तरकारी र फलफूल बेचिहिँड्ने । हातमुख जोड्ने व्यवस्था त गर्नै प¥यो होला । बर्खा बित्यो शीतल तापेर अब हिउँद बित्ने होला घाम तापेर । भुँडी भर्न नपरे त केही थिएन । सानो नानीलाई घरमा एक्लै छोडेर हिँड्नु पर्छ । उसकी मामु पनि यसरी नै पल्लो गाउँतिर पसेकी छे । २–४ पैसा आउँछ । के हुन्छ र यसो नुन, तेलको जोहो गर्न सकिन्छ कि भनेर मात्र हो, अरु कुनै उपाय छैन । त्यही पनि धेरै हो, उसको भनाइ । एकछिनमा फेरि साइकलमा तरकारी नै बेच्दै एक महिला आइन् । उनको पनि उही दशा थियो । आयो है आयो । सागसब्जी आयो । ताजाताजा रायोको साग, भेण्टा, बोडी, भिण्डी, निगुरो, घिरौँला । कहिले त दिनभरि करायो, दक्षिणा हरायो । बिक्रीबट्टा छैन । टिप्पालिने दिउँसोको चर्को घाम थियो । कराउँदै झरिन् साइकलमा ओरालो । के बिकोस् । कोरोनाको डरले कसैले किन्छन् । कसैले किन्दैनन् ।
बजार सिल छ । अब ३ दिनपछि सिल खुल्ने कुरामा सर्वसाधारण विश्वस्त छन् । आजैदेखि तिनका पनि अनुहारमा सिल गरिएको आफ्नो चोक, बजार खुल्नेछ । पसलहरु खुल्नेछन् । आफूलाई चाहिएको सामान बेसाउन पाइनेछ । यस्तै आशाका किरणहरु सल्बलाउन थालेका छन् । दुई चक्के, चार चक्के र छ चक्के सवारीका साधनहरु सामान्यतः चलेकै छन् । मानिसहरु पुग्नुपर्ने र नपुगी नहुने ठाउँमा जसोतसो गरेर आउने–जाने गर्दै छन् । पैदल हिँड्नेको पनि कमी छैन । भदौ महिनाको चर्को घाममा पनि गर्मीको कुनै पर्वाह नगरी हिँड्न बाध्य छन् । एक–दुई पसलका सटरहरु अलिकति नजानिदो ढङ्गले खोलिएका छन् । मानिसहरु आफूलाई चाहिएको सामान लिन र लिएर पस्दै निस्कँदै गर्दैछन् । लुकीछिपी अत्वश्यक वस्तुको किनबेच हुँदैछ । औषधि पसलहरु सामान्यतः खुलेकै छन् । चल्नु त प¥यो दिनचर्या जसरी भए पनि सबैले बुझेका छन् । महामारीबाट आफू पनि बच्नु छ र अरुलाई पनि बचाउनु छ ।
सबैको अनुहार निचोरेको निबुवा जस्तो भएको छ । प्रायः सबैको एउटै भनाइ छ, अब कसरी बाँच्ने होला ? रोगबाट मात्र पनि होइन । भोकबाट पनि बच्नु छ । जिल्लामा २ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् । दिनानु दिन बढ्दो छ सङ्क्रमितको सङ्ख्या । नेपालमा पनि भकाभक कोरोना सङ्क्रमितहरुको मृत्यु हुन थाल्यो । समुदायमा हरेक मानिसका आँखा अगाडि मृत्यु उभिएजस्तो र अनुहार श्मसानघाट जस्तो देखिन थाल्यो । मानिसहरुको आउजाउ त चोकउँदो, बाटाउँदो बाक्लै छ । कोही कहीँ उभिँदैन । आउने आउँदो छ । जाने जाँदो छ । कोही सधैँ झैं भलाकुसारीका लागि रोकिने कुरा छैन । बरू परैबाट हाई–हेल्लो ग¥यो । आफ्नो बाटो लाग्यो । शहर, बजारले मात्र होइन, अब गाउँले जीवनले पनि कोरोना सङ्क्रमणको जोखिम उठाउन थाल्यो । १६ भदौ २०७७ का दिन देश लकडाउनमा चलेको ५ महिना ५ दिन भएछ । कोरोनाकै कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ८,४८,००० पुग्यो । सङ्क्रमित २,५३,००,००० पुगे । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ४०,००० पुग्यो । ज्यान गुमाउनेको सङ्ख्या २ सय २८ भयो ।
कोरोनाकै डरले ४–५ महिना घरभित्रै बसेर बिते । तल्लाघर, माथ्लाघर, वल्लाघर, पल्लाघर गयो । कोरोनाकै कुरा ग¥यो । एउटाले एउटा कुरा गर्छ । अर्कोले अर्को कुरा । कुरैकुरामा ४–५ महिना बिताउनु भनेको सानो हानिको कुरा होइन । अञ्जानमा भनौं कि जानीजानी भनौं, अभावका खाल्टा हामी आफैले खन्यौं । कोरोना त आउँछ जान्छ । हाम्रा यी बचेर जिउने दिन रहेछन् । बीचमा केही होलो खुकुलोको अनुभूति भए पनि लकडाउनले फेरि जरा गाड्यो । सङ्क्रमित र जोखिमपूर्ण ठाउँहरु धमाधम सिल हुन थाले । अरु विकल्प नै पनि के छ र ! सामाजिक दूरी कायम गर्ने र नाकमा मास्क अनिवार्य भयो । बेलाबेला साबुन पानीले हात धुनु र सेनिटाइजरको प्रयोग गर्नु त छँदैछ । अस्तिसम्म कोरोनालाई टाढै देख्ने आँखाहरु अब दिनानु दिन नजिक मात्र होइन, आफ्नै सामुन्ने देख्न थाले । अरुको मृत्युमा डराउने मन अब आफ्नै मृत्युसँग डराउन थाल्यो । मानिसमा बढी आत्तेस र डर महसुस हुने भनेकै आफूमाथि आपत् आइपरेपछि रहेछ । विस्तारै मानिसहरुको अनुहारमा एक खालको सन्नाटा छाउन थाल्यो । मानिसहरु आफैमा सबै रोगी जस्ता देखिन थाले । शहरबजारका के कुरा ! गाउँगाउँ पनि आइसोलेसन र क्वारेण्टिनमा बसेजस्तो देखिन थाले । राजधानी भेण्टिलेसनमा रहेजस्तो देखिन थाल्यो । मानिसहरु फेरि एक–अर्कामा उति बोलचाल गर्न छोडे । एउटा एकातिर फर्केको बेला अर्को अर्कातिर फर्केको देखिन थाल्यो ।
चलायमान जीवनको गति पुनः रोकिएको अनुभूति हुन थाल्यो । घरका झ्याल, ढोकाहरु बन्दको बन्दजस्तो देखिन थाले । एक–दुई खुले पनि थाहै नपाई खुल्ने । थाहै नपाई बन्द हुने गर्न थाले । घरहरु पनि खाली झैं लाग्ने । पाइलापाइलामा कोरोना देख्न थाले आँखाहरु । चाडपर्वहरु पनि सुनसान । थाहै नपाई आउनेजाने गर्न थाले । तीज त्यस्तै भयो । अब दशैँ, तिहार आउँदैछन् । सधैँजस्तो हो भने यसपालिको दशैँको पनि रौनक शुरु हुने बेला भयो । मानिसहरु कसैमा पनि दशैँको हर्षोल्लास केही छैन । बरू त्रासको भारी थपिएको छु । जीवनभन्दा चाड, पर्व ठूला होइनन् । बचियो भने त अर्को–अर्को साल मनाए भइगो नि चाडपर्व । जीवन नै नरहे के मनाउनु चाडपर्व ! यसपालिको त दशैँ, तिहारको टीकोमा पनि रङ होइन, कोरोना भाइरस मुछिन पनि के बेर ! कसै–कसैले त भन्न पनि थाले, ‘यसपालिको दशैँमा टीका, जमरा लाइँदैन । कोरोनाको महामारी यस्तो छ । चाडबाडमा कोरोना झन् फैलिन पनि के बेर ।’
यसपालिको दशैँमा टाँकी पनि नफुल्ने भयो । तिहारमा सयपत्री, गोदावरी र मखमली पनि नफुल्ने भए । नानीहरु पनि नयाँ लुगामा सजिएर उफ्रँदै मावलीघरको आँगन र सिकुवाउँदो खेल्न नपाउने भए । लिङ्गेपिङ र रोटेपिङमा बसेर मच्चिन पनि नपाउने भए । यतिबेलैदेखि बारीका डिलमा टाँकी फुल्न थाल्थ्यो । यसपालि सुरसार छैन । नौरथा लागेपछि बज्न थाल्थे गाउँका ढिकीहरु चिउराको बासना छर्दै गाउँभरि । यसपालि बज्दैनन् ढिकीहरु पनि र छर्दैनन् चिउराको बासना गाउँमा । तिहारमा देउसीभैलोले पनि रन्किने छैन गाउँ । भाइटीकाको दिन दिदी, बहिनीहरुले भन्नेछन्, ‘यसपालिको तिहार यस्तै भयो, माइतीराजा । अर्को साल मनाउँला राम्ररी ।’ घर वरिपरि बल्ने झिलीमिली बत्ती पनि यसपालि रमेर बल्ने छैनन् । साँच्चै यसपालिका दशैँतिहार दशैँतिहारजस्ता लाग्ने छैनन् । सधैँ झैं कसैको निधारमा चम्किने छैन रातो अक्षताको टीका र जमरा । टाँकी फुल्न थालेपछि दशैँ आयो भन्दै हामी बबुरा आँगनमा भेला भएर रमाउँदै कत्ति उफ्रन्थ्यौँ ।
म सम्झन्छु जतिबेला हामी साना थियौँ । बुबाआमा टाँकी फुलेपछि दशैँ आउँछ भन्नुहुन्थ्यो । हामी टाँकी फुल्न थालेपछि कहाँ आइपुग्यो दशैँ ? भनेर सोध्थ्यौँ । माथि पञ्चमी डाँडाउँदो आइपुग्यो भनेर जवाफ दिनुहुन्थ्यो । हामी फुच्चाफुच्चीलाई अरु के चाहियो र हाम्रा आँखा पञ्चमी डाँडातिर केन्द्रित हुन थाल्थे । घरको सिँगारपटार शुरू भएपछि मात्र हामीलाई विश्वास हुन्थ्यो । साँच्चै अब दशैँ आएकै हो रहेछ । यसपालि त घरको सिँगारपटार पनि नहुने भयो । म यतिबेलाका नानीबाबुहरुलाई यसै भन्दैछु, ‘यसपालिको दशैँतिहार यस्तै भयो । बाँचिएछ कोरोनाबाट भने अर्को साल मनाउँला राम्रो गरी ।’