ताप्लेजुङ/ ताप्लेजुङको तिब्बती सीमामा पर्ने तोक्पेगोला ‘स्वर्गको घर’ भन्दै वर्णन गर्नेहरूको कमी छैन । सदरमुकाम फुङ्लिङबाट दुई दिन पैदल हिँडेपछि त्यहाँ पुगिन्छ ।
मिक्वाखोला गाउँपालिका–५ मै परे पनि पापुङबाट एक दिन जङ्गलैजङ्गलको बाटो हिँड्नुपर्छ । बाटैभरि पहाडको कापबाट खसेका छाँगा छहराहरू भेटिन्छन् । ठाडो खोल्सो झैं छङ्छङ गर्दै बगेको मेवा नदीको किनारैकिनार दुई दिन हिँड्दा बाटो काटेको पत्तै हुँदैन । घना जङ्गलभित्र चराचुरुङ्गी र वन्यजन्तुको विभिन्न आवाजले मुग्ध बनाउँछ । करिब १० देखि १२ घण्टाको पैदल यात्रापछि पुगिन्छ तोक्पेगोला । खुला चौरमा फुलेका रङ्गीचङ्गी फूलहरूको बीचमा बनेका काठका घरहरू निकै आकर्षक र कलात्मक देखिन्छन् । दायाँतर्फ मेवा नदीको आकार लिँदै बगेको सोदोपोखरीको निकास, बायाँपट्टि सुन्दर छाँगा सुसेलिरहन्छ रातदिन । दक्षिणतिर क्षितिजसम्मै फैलिएका लेकाली वनका फाँटहरू, धुपी, सुनपाती, भैरुङ्पातीलगायतका बुट्यानहरूले आँखा झिमिक्क पार्न दिँदैनन् । यस्तै अग्र्यानिक सौन्दर्य साँचेर बसेको छ, तोक्पेगोला ।
तोक्पेगोला तिब्बतको सीमानजिक रहेको ऐतिहासिक नाका हो । यस क्षेत्रमा सीमान्तीकृत समूहमा सूचीकृत ‘तोक्पेगोला’ (स्थानीय भाषामा ढोक्प्या भनिने) जातिको बसोबास छ । तोक्पेगोला जाति शेर्पा परिवारभित्रै पर्छन् । तोक्पेगोला नाम कसरी रह्यो भन्ने सम्बन्धमा यथेष्ट प्रमाण भेटिँदैन । नेपाली शब्दकोशअनुसार गोला भन्नाले ‘पर्वतको काखमा रहेको व्यापार व्यवसाय गर्ने थलो’ बुझिन्छ । स्थानीय वृद्ध तेञ्जिङ शेर्पाका अनुसार नेपाल र तिब्बतबीच युद्ध हुँदा यो बाटो नेपालका सेनाहरू तिब्बततर्फ गएका थिए । तर, सेनाहरू त्यहाँ नपुग्दै युद्धविराम भयो र उनीहरूले सामान बोकाएर लगेका याक र चौंरीहरू गोठालालाई जिम्मा दिए । शेर्पा भन्छन्, ‘गोठालाहरूको भाषामा गोठालालाई ‘थोक्प्या’ र बस्ने ठाउँलाई ‘थोक्प्याई’ भनिन्थ्यो । पछि त्यही अपभ्रंश भएर ढोक्पे हुँदै तोक्पे रहन गयो ।’ विस्तारै घरहरू बने । मानिसहरू बस्न थाले ।
‘पछि पापुङ, साँवा, नाल्बु, लिवाङ, खोक्लिङलगायत गाउँका मानिसहरू तिब्बतसँगको व्यापारका निम्ति आवत–जावत गर्ने क्रममा त्यहीँ बास बस्ने क्रम सुरु भयो । सानो व्यापारिक केन्द्र नै बनेको हुनाले यसलाई गोला भनियो । अनि ठाउँको नाम तोक्पेगोला रह्यो’ –शेर्पाले भने । मुख्य व्यवसाय पशुपालन हो । प्रत्येकले याक र चौंरी पालेका छन् । हिजोआज नजिकका तीनपोखरी, लोदेन, सिङ्सोङ्देन, साधुटारजस्ता लेकाली फाँटमा याक र चौंरीका गोठले ढाकिएका छन् । ६ महिना हिउँले ढाक्ने हुँदा बस्ती खाली हुन्छ । हिउँदमा गोठसहित औल (पापुङ) झर्ने स्थानीय मिलनदोर्ची शेर्पाले बताए । यहाँबाट ओम्बोक्ला नाका हुँदै दुई दिनमा तिब्बतको रिउ बजार पुगिन्छ । तिब्बतीसँग यहाँका नागरिकको व्यापारिक सम्बन्ध छ । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित तोक्पेगोला घरहरू झुरुप्पै भएकाले बजारजस्तै देखिन्छ ।
घरमाथि राखिएका ध्वजापताकाहरूले गाउँ झिलिमिली देखिन्छ । तोक्पेलीहरूले प्रत्येक वर्ष नागपञ्चमीमा ढुक्पाछेसी पर्व मनाउँछन् । यो दिन नागको पूजा गरेर घरघरमा बौद्ध धर्ममा आधारित पुस्तकहरू घुमाउने गर्छन् । यसो गर्नाले घरमा लक्ष्मी भित्रिने र दुःख–कष्ट हरण हुने जनविश्वास छ । उक्त अवसरमा ताप्लेजुङसहित पाँचथर, तेह्रथुम, इलाम र सङ्खुवासभासम्मका मानिसहरू तोक्पेगोला पुग्छन् । साँझपख सुरु हुन्छ धुञ्ज्याङ (नाचगान गर्नु) । बस्तीको बीचमै रहेको सामुदायिक भवनमा सबै भेला हुन्छन् । बाहिरबाट पुगेका अतिथिको स्वागत र उनीहरूलाई मनोरञ्जन दिलाउने उद्धेश्यले सुरु हुन्छ सांस्कृतिक कार्यक्रम । शेर्पा जातिको स्याब्रू नाच निकै आकर्षक रहन्छ । सबै जनाले हात समाएर समूहमा यो नाच नाचिन्छ । तोक्पेगोला जातिको बसोबास रहेको नेपालको एकमात्र स्थान हो ।
बस्तीनजिकै दुई ठूला पोखरी (भूतपोखरी र सोदोपोखरी) छन् । उचित प्रचार र त्यहाँसम्म पुग्ने बाटो मर्मत नहुँदा बाहिरका आन्तरिक तथा वाह्य पर्यटकको नजरमा खासै पर्न सकेको छैन । तर, पछिल्लो समय भने पर्यटकको चहल–पहल केही बढेको वडाध्यक्ष डण्डु लामाको भनाइ छ । तोक्पेगोला जाति र लिम्बू जातिको संस्कृति, चौंरीपालन, जडीबुटीको अवस्थाका विषयमा अध्ययन गर्नेहरू पनि पुग्न थालेको लामाले बताए ।