केराबारी मोरङ भन्ने बित्तिकै आम नागरिकको सोचाइ औद्योगिक क्षेत्र, तराईको समथर भू–भाग प्रचण्ड गर्मीसँगैै विराटनगरको झल्को आइहाल्छ । गर्मी सुन्ने बित्तिक्कै धेरैलाई चिन्ताले पनि सताइहाल्छ । तर, मोरङको केराबारी गाउँपालिकामा यस्ता ठाउँहरू पनि छन्, जहाँ बाह्रैमास चिसो हावापानीको मौसममा रमाउन सकिन्छ । छोटो तथा कम दूरीको अग्लो चुरेपहाडमा बसेर तराईको फाँटहरू, हरिया जङ्गल र घना बस्तीबीचको सौन्दर्यसँगै चिसो हावा बहने हुस्सु र कुहिरोसँग मजाले लुकामारी खेल्न पनि पाइन्छ ।
प्राकृतिक सुन्दरता र अनुकूल हावापानीमा रमाउन चाहनेका लागि सहज गन्तव्य बन्दै गएको केराबारी मनै लोभ्याउने प्राकृतिक सुन्दरतासँगै नयाँ पर्यटकीयस्थल बन्दै गएको छ । केराबारी मोरङको सबैभन्दा ठूलो गाउँपालिका हो । २१९.८३ वर्ग किमी क्षेत्रफलमा रहेको यस गाउँपालिकामा ७५ देखि १,९७२ मिटर उचाइमा पहाडका थुम्की र डाँडाहरू रहेका छन् । १० देखि ३६ डिग्रीसम्म औसत तापक्रम रहेको छ । यस गाउँपालिकाको राजनीतिक तथा प्रशासनिक संरचनाको कुरा गर्दा १० वटा वडा कार्यालयमध्ये ५ वटा पहाडी भू–भागसँग गाँसिएका छन् । एउटा वडामा पहाड र तराईको सम्मिश्रण पाइन्छ भने बाँकी ४ वटा वडा तराई क्षेत्रमा पर्दछन् ।
अग्ला र सुन्दर पहाड, गड्गडाएर बग्ने खहरे तथा बाहै्रमास सुसाउने झरना, मनोरम डाँडाकाँडा प्राकृतिक छटाहरूले सुशोभित छन् । शान्त, शीतल र हराभरा हरिया वनपाखा, विभिन्न प्रजातिका फूलहरू, लोपोन्मुख जनावरहरू, हजारौं वर्ष पुराना गुफासँगै आफ्नै पहिचान बनाएर बसेका राई, लिम्बू, मगर, याम्फूजातिको सघन बस्तीका कारण कला र संस्कृतिले आगन्तुकहरूलाई सधैँ लोभ्याइरहन्छ । स्थलगत अध्ययन र अनुसन्धानपछि देखिएका केराबारीका पर्यटकीय गन्तव्यसहित नयाँ प्राकृतिक सौन्दर्यहरूको चर्चा गर्ने प्रयास गरेको छु ।
१.(क) जेफाले भ्यू–टावर तथा होमस्टेः मोरङ केराबारी–२ (साविक सिंहदेवी गाविसको वडा नं. ५ को बिहीबारे बजार) को शिरमा जेफाले भ्यू–टावर छ । पूर्व–पश्चिम हाई–वेको सुन्दर हरैंचाको खोर्साने हुँदै केराबारीबाट ३० किलोमिटर उत्तर र कोशी राजमार्गको धरान–धनकुटा सडक अन्तर्गत भेडेटारबाट डाँडाबजार, राजारानी, हुँदै समेवादेखि ५ किलोमिटर दक्षिणपट्टि रहेको छ । साना तथा ठूला सवारी साधनमार्फत् सहजै पुग्न सकिने बिहीबारे बजार (जसलाई हावेचौर भनिन्छ) देखि झण्डै एक हजार पक्की सिँढी चढेर पुगिने धनकुटा र मोरङको सीमास्थल अग्लो पहाडको थुम्कीलाई जेफाले भनिन्छ ।
विशेषताः बाह्रैमास चिसो हावा, हुस्सु र कुहिरोको लुकामारी चलिरहने यस ठाउँमा पछिल्लो समय पर्यटकहरूका लागि होम –स्टेको व्यवस्थापन गरिएसँगै आन्तरिक तथा वाह्य पर्यटकहरूलाई सहज बनेको छ । जेफालेमा निर्माण गरिएको तीनतले भ्यूटावरबाट सूर्योदयको पहिलो किरण कञ्चनजङ्घामा ठोक्किएको दृश्य देख्न सकिन्छ । सँगै कुम्भकर्ण मनासलु हिमाल पनि काखैमा राखेर खेलाउँ झैं लाग्ने गर्छ । यसका साथै विभिन्न हिमशृङ्खलाको दृश्यपान गर्न सकिन्छ ।
खानपानः होम–स्टेमा पर्यटकहरूका लागि प्रतिदिन प्रतिव्यक्ति एक हजार रुपैयाँले खान र बस्न सकिने व्यवस्था रहेको छ । यसबाहेक मागअनुसार स्थानीय मगर समुदायको सांस्कृतिक हुर्रा नाचसँगै रमाउन सकिन्छ । साथै होम–स्टेको बसाइसँगै नजिकै रहेको पाथीभरा देवी मन्दिरको दर्शन, मोरङको पहिलो इलाम बिर्साउने चिया बगानको तिर्सना मेट्न सकिन्छ ।
(ख) ध्वजेडाँडाः केराबारी गाउँपालिका वडा नं. १ (साविक पाटी गाविस) मा रहेको ध्वजेडाँडा पूर्वाञ्चलको अग्लो भ्यूटावरको रूपमा चिनिन्छ । धनकुटाको चौबिसे गाउँपालिका अन्तर्गत डाँडाबजारको सिमानासँग जोडिएको छ । समुद्र सतहबाट झण्डै सातहजार फिटको उचाइमा रहेको यस ठाउँबाट पनि पूर्वाञ्चलका विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । डाँडाबजारको भगिश्वर स्मृति पार्कदेखि दक्षिण हुँदै आधा घण्टाको उकालो पैदल यात्रापछि यो ठाउँमा पुग्न सकिन्छ । यहाँबाट पनि एक नम्बर प्रदेशका प्रायः सबै जिल्ला सदरमुकाम र सूर्योदयको दृश्यावलोकन, हिमशृङ्खलासहितको दृश्यपान गर्न सकिन्छ ।
(ग) ओख्रे भ्यूटावरः केराबारी गाउँपालिका वडा नं.४ मा रहेको यो भ्यूटावर अर्को दोस्रो गन्तव्य हो । ध्वजेडाँडा र जेफाले भ्यूटावरसँग मिल्दोजुल्दो देखिएपनि यहाँ बढी चिसो हावाको बहाव चल्ने गर्छ । यहाँबाट धनकुटा भेडेटारसहित धरान तथा इटहरी लगायतका तराईको चारकोसे जङ्गलको मनोरम दृश्यले थाकेर गएका सयौैं यात्रुहरूको मन बिर्साउने उपर्युक्त गन्तव्यको रूपमा चिनिन्छ । चौबिसे गाउँपालिका अन्तर्गत भेडेटार नाम्जे हुँदै ओख्रेदेखि दक्षिणपट्टि रहेको अग्लो डाँडाको शिरमा रहेको यस भ्यूटावरमा साना तथा हलुका सवारी साधन पनि लैजान सकिने व्यवस्था रहेको छ । सदावहार चिसो हावापानी पाउनु यहाँको प्रमुख विशेषता हो ।
(२) तोप थुम्की डाँडाः केराबारी गाउँपालिकाको वडा नं.४ (साविक याङ्शिला गाविस वडा नं.५) अन्तर्गत चिउरी भञ्ज्याङबाट १ किलोमिटर पश्चिम–उत्तरमा रहेको अग्लो पहाडको थुम्कीलाई तोप थुम्की डाँडा भनिन्छ । टाकुरे बस्तीको शिरमा रहेको तोपथुम्की डाँडा तराईको छोटो दूरीको अग्लो मनोरम पहाडको रूपमा रहेको छ ।
चिउरी भञ्ज्याङबाट उकालो लागेपछि माथिको उचाइमा रहेको यो अग्लो तोप थुम्कीडाँडा पुग्न ग्रामीण कच्ची सडकबाट आधा घण्टाको पैदल यात्रा गर्नुपर्छ । बूढीगङ्गाको शिर अन्तर्गत पर्ने खदम, मुगुखोलाको शिरमा रहेको यो थुम्की पहाड आसपास भएर बग्ने नदी–नाला, खोला सबैैको शिर भएर बग्ने गरेका कारण यस क्षेत्रलाई बूढीगङ्गाको शिर पनि भनिदो रहेछ । पहिले धरानको विजयपुर डाँडासम्म त्यहाँबाट तोपको गोला बर्साउने, तोपको ठूला ठूला आवाज बर्सने गरेका कारण तोपथुम्की भनिएको बूढापाकाहरूले बताउने गरेको ४ नं. वडा कार्यालयका सचिव रमेशप्रसाद कट्टेलले बताए । यो आफैमा एउटा सुन्दर ठाउँ हो । क्रमैसँग मिलेका साना–साना आकर्षक घरहरू, दक्षिणमा देखिने गङ्गापूर्ण नदी, तराईको समथर भू–भागको मनोरम दृश्य आफैमा आकर्षक मानिन्छ । दक्षिणबाट जाने हुस्सु र कुहिरोलाई अग्ला पहाडले छेकिदिँदा यहाँ हुस्सु र कुहिरोको लुकामारी चलिरहन्छ । जसका कारण यहाँ चिसो हावापानीको सन्तुलन पाइन्छ ।
तोपथुम्की डाँडाबाट पूर्वी तराईकै समथर भू–भागमा रहेको मनोरम चारकोसे जङ्गल, सप्तकोसी नदी पश्चिम आसपासका बस्तीहरूको दृश्यावलोकन गर्न सकिन्छ । केराबारी गाउँपालिकाको सबैभन्दा पिछडिएको वडाको रूपमा रहेको यो वडा विद्युत्, सञ्चार सेवाबाट विमुख रहे पनि पछिलो पटक आन्तरिक पर्यटकहरूको आगमन बढेसँगै मोटरबाटोको विस्तार भने तीव्ररूपमा भइरहेको पाइन्छ ।
२. (ख) सिद्धथुम्की डाँडाः साविक याङ्शिला गाविसको वडा नंं.४ स्थित चनौटेमा रहेको यो डाँडाको पनि आफ्नै धार्मिक तथा ऐतिहासिक किंवदन्ती रहेको छ । सिद्धदेवी बाबाकोे पूजाआजा गर्ने गरेका कारण अहिले पनि स्थानीय याम्फू राईहरूले पूजाआजा गर्दै आएका छन् । किरात याम्फूहरूको सघन बस्ती रहेको यस ठाउँबाट केराबारीको पूर्वोत्तर भाग तथा तराईका घना जङ्गल खोला–खोल्सी, नदी आदिको आकर्षक दृश्य देख्न सकिन्छ । यस ठाउँमा प्याराग्लाइडिङको सम्भावना पनि रहेको छ । यहाँका अधिकांश मानिसहरूले आयआर्जनको स्रोत खेतीपाती र पशुपालनलाई मान्दै आएका छन् । शान्त, शीतल र हराभरा हरिया वनपाखा, विभिन्न प्रजातिका फूलहरू, लोपोन्मुख जनावरहरू, हजारौं वर्ष पुराना सातकन्या गुफा र यिनै परिवेशमा छुट्टै पहिचान बनाएर बसेका राई, लिम्बू, मगर, याम्फूजातिको सघन बस्तीले सबैलाई मोहित बनाउँछ ।
३. तामा झरनाः चिउरी भञ्ज्याङ पुगेपछि टाकुरे बस्तीको ओरालो पैदल यात्रापछि थाकने खोलामा पुगिन्छ । थाकने खोलाको उकालो डाँडासँगै कालीखोलाको शिरमा पुगेपछि त्यसको शिरमा रहेको छ, एउटा मनमोहक झरना, जसलाई तामा झरना भनिन्छ । नमस्ते झरना झैं सुन्दर र जोखिममुक्त रहेको सो झरना प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । मनमोहक रूपमा रहेको तामा झरना पर्यटकको लागि नयाँ गन्तव्य बन्न सक्छ ।
धनकुटाको नमस्ते झरनालाई बिर्साउने यो झरना झण्डै ५० मिटर उचाइबाट बगेको छ । यो झरना तामाको जस्तो रङ भएको सिलौटे ढुङ्गाबाट छङ्छङ बग्ने भएकोले यसलाई तामाझरना भनेको स्थानीयवासीको भनाइ रहेको छ । झरनासम्म पुग्ने बाटो व्यवस्थित गर्न आवश्यक छ । झरना नजिकै पुग्ने बाटो विस्तार गर्न सके यहाँ दैनिकजसो मानिसहरूको आगमन बढ्नसक्ने सम्भावना रहेको छ ।
४. (क) सातकन्या गुफाः वडा नं. ४ मै रहेको अर्को आकर्षक गन्तव्य हो, सातकन्या गुफा । वरिपरि हरियाली जङ्गल, खोला किनारैमा प्रकृतिको रानी झैं सुन्दर बनेर बसेको अर्को सातकन्या गुफा पनि मनमोहक र आकर्षक गन्तव्य मानिएको छ ।
याङ्शिलाको चनौटे भन्ने ठाउँ हुँदै झण्डै सडक सञ्जालबाट आधा घण्टाको ओरालो पैदल यात्रापछि खोलाको फेदीमा पुग्न सकिन्छ । परापूर्वकालदेखि सातकन्या देवीको बासस्थान रहेको त्यो गुफामा प्राचीन ढुङ्गा तथा चुनका माटाले बनेको कलाकृतिका कारण अत्यन्तै रोमाञ्चक दृश्यहरू देख्न सकिन्छ । सातकन्या गुफाको पचास मिटरअगाडि झाँक्री गुफा रहेको छ । यी दुवै गुफालाई संरक्षित क्षेत्रको रूपमा विकास गर्न अति आवश्यक देखिन्छ ।
प्रचार–प्रसारको अभावमा आन्तरिक पर्यटक भित्र्याउन नसकिरहेकोे बेला यसको संरक्षण सम्बद्र्धन गर्न भने स्थानीय जुटिरहेका छन् । पूर्वाधार मर्मत तथा पुराताŒिवक धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका निमित्त स्थानीयले केही गर्ने जाँगर चलाएका छन् । गाउँपालिकाले पनि यो ठाउँको विकास गर्न सके निकट भविष्यमा नै यो ठाउँमा पर्यटकको व्यापक भीड लाग्ने सम्भावना रहेको देखिन्छ । पहिले–पहिले सुनसान झैं हुने गरेको यो ठाउँको विकासका लागि गाउँपालिकाले सडक सञ्जाल विस्तार गरेसँगै यसको प्रचार–प्रसार समेत बढ्दै गएको छ । जसले गर्दा अहिले धेरै मानिसहरूको आगमन बढेको स्थानीय पदमबहादुर मगर बताउँछन् ।
ख. शिव पार्वती गुफाः केराबारीको वडा नं. १ पाटीमा रहेको शिवपार्वती गुफा अत्यन्तै पुरानो ऐतिहासिक गुफाको रूपमा परिचित छ । पुरातात्विक तथा विभिन्न प्राकृतिक सौन्दर्ययुक्त यस गुफाभित्र अत्यन्तै सुन्दर तस्बिरहरू देख्न सकिन्छ । शिवपार्वती गुफाको नामले परिचित यस गुफामा हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरू राजमार्गदेखि पैदल हिँडेर आउने गरेका छन् । साथै शिवपार्वती गुफामा पुगेर दर्शन गरे चिताएको पूरा हुने धार्मिक विश्वास पाइन्छ । यस ठाउँमा विभिन्न चाडपर्वमा मेलासमेत लाग्ने गरेको छ ।