मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकाले पछिल्लो समयमा भौतिक विकासका काममा अग्रता लिँदै आएको छ । यहाँका बाटादेखि अन्य पूर्वाधारमा सुन्दरहरैंचा नगरपालिकाले राम्रै फड्को मारेको पाइन्छ । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विविधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ । सुन्दरहरैंचा नगरपालिकाको वि.सं. २०६८ को जनगणना अनुसार कुल जनसङ्ख्या ८०,५१८ रहेको छ, जसमा महिला ४२,८२४ जना र पुरुष ३७,६९४ जना रहेका छन् । सुन्दरहरैँचा नगरपालिकामा घरपरिवार सङ्ख्या भने १८,६१० रहेको छ । यहाँको औषत बसोबास (जनघनत्व) ७३०.९२ प्रतिवर्ग कि.मि. रहेको पाइन्छ ।
हावापानीः यहाँको हावापानी समशीतोष्ण प्रकारको रहेको छ । यस नगरपालिकामा हिउँदयाममा तापक्रम निकै कम हुने गर्दछ भने वर्षायाममा निकै गर्मी हुने गरेको छ । २०७३ मा यहाँको न्यूनतम् तापक्रम ४.८ डिग्री सेल्सियसदेखि अधिकतम् तापक्रम ४०.४ डिग्री सेल्सियसका बीच रहेको पाइएको छ । यस नगरपालिकामा वर्षायाममा ज्यादा वर्षा हुन्छ भने हिउँदमा कम वर्षा हुने गर्दछ । यहाँ ०७३ मा एक दिनमा बढीमा ८४ मिलिलिटरसम्म वर्षा भएको पाइएको थियो । यहाँ आ.व. २०७२/०७३ मा वर्षभरिमा करिब १०७९.८ मिलिलिटर पानी गरेको पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालय धरानले जनाएको छ ।
नदीनालाः सुन्दरहरैंचा नगरपालिकाको पूर्व–पश्चिम सिमाना किस्ती खोला र बूढीखोलाले छुट्याउँछ । भौगोलिक कालखण्डको इतिहासमा यहाँ बग्ने साना र ठूला नदी–नालाहरू प्रशस्त पोखरी, ताल तलैयाहरूको निर्माण हुन गएको छ । यहाँ भएका प्रमुख नदी, खोलाहरूमा बूढीखोला, गछियाखोला, लोहोन्द्रा खोला, भोर्जना खोला, तेलिया खोला, झरना खोला, सुकुना खोला, मधावा खोला, हसिना ताल रहेका छन् । वर्षाको समयमा पहाडी भू–भागमा पानी पर्दा पनि यिनमा बाढी आएको देख्न पाइन्छ । त्यसबेला बाढी र नदी कटानको समस्या देखिने गरेको छ । यस नगर भएर बग्ने मुख्य खोला बूढीखोला, गछिया खोला, लोहोन्द्रा खोलाले खोलाको किनारमा पर्ने बस्तीहरूमा भू–क्षय तथा जमिन कटान गर्ने गरेको पाइन्छ ।
वन जङ्गल र वन्यजन्तुः प्रदेश नं. १ अन्तर्गत तराईको जिल्ला मोरङ वनजङ्गल र जैविक विविधताको दृष्टिकोणले सम्पन्न जिल्लाको श्रेणीमा पर्दछ । मोरङ जिल्लाको यस नगरपालिकामा कुल क्षेत्रफल ११०.१६ वर्ग किलोमिटरमध्ये २० प्रतिशत वन क्षेत्रको रूपमा रहिआएको छ । जुन राष्ट्रिय वन र सामुदायिक वन क्षेत्रको रूपमा रहेको छ ।
यस नगरपालिकामा पाइने प्रमुख वनस्पतिका प्रजातिहरूमा साल, सिसौ, सिमल, जामुन, कदम, खयर, करम, पिठारी, छतिवन, बोहरी, खमारी, बोटधँगेरो, बकाइनो, इप्पिल, टिक, वर–पीपल, बेल, अमला, निम, पलाँस, आँप, डुम्री, कटहर, लिची, नरिवल, सुपारी, बयर, काँशीअमला, कैँदल, राजवृक्ष, अशोक, चेरी, समी, मसला, बडहर, अम्बा, केरा, कागती, भोगटे, सरिफा, दारिम, तित्री, फडिर, असारे, साज, साँदन, कुम्भी, हर्रो–बर्रो, हल्लुडे, शिरिष, तारी, कुसुम, क्यामुना, दबदबे, चिलाउने, टुनी, कर्मा, मालती, पाचपाते, सतिसाल, वनसुन्तला, नेवारो, अशोक, सपेटा रहेका छन् । यसैगरी घस्रने जन्तुहरूमा गोमन, गनग्वाली, हरहरे, करेत, शिरिषे, धामन, हरेउ, ढोडिया, सुनगोहोरो, छेपारो, अजिङ्गर, भित्ती, कछुवा, सर्प, गड्यौला, जुकालगायत अन्य कीटपतङ्ग आदि र चराचुरुङ्गीहरूमा कोइली, मैना, सुगा, ढुकुर, लुइँचे, गौंथली, काग, भँगेरा, मयुर, हुटिट्याउँ, हुचिल, जुरेली, भद्राई, चिल, बाज, कोटेरा, ठेउवा, बट्टाई, चिबे, भ्याकुर, फिस्टो, रुप्पी, गिद्ध, धनेश , कालिज, लाटोकोसेरो, चमेरो, कुखुरा, तित्रा, धाबी चरो, हाडफोरुवा, क¥याङकुरुङ, सारस आदि प्रजातिका र आप्रवासी चराचुरुङ्गीहरू पाइन्छन् ।
पर्यटकीय क्षेत्रः अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक बहुधार्मिक र सामाजिक विविधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ । विज्ञान, प्रविधि र सञ्चार प्रणालीमा भएको अभूतपूर्व विकासले समुच्च विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले यस्ता राष्ट्रिय सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरी अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएकोले यस व्यवसायको विविधीकरण र विस्तारद्वारा आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भएको छ । यहाँका प्रमुख नदी–खोलाहरूमा बूढीखोला, गछियाखोला, लोहोन्द्रा खोला, किस्ती खोला, जोर्जना खोला, तेलिया खोला, मधवा खोला, हसिना ताल आदि हुन् भने हसिना सिमसार क्षेत्र, नयाँ वृन्दावन गौशाला, वृद्धगङ्गाका सम्र्पूण क्षेत्र, बाघझोडा, किचमगढी, साकेला थान, पचाम ग्राम थान, काली खोला, भुल्के जलाधार संरक्षण क्षेत्र, सामुदायिक वनक्षेत्र रमणीय तथा मुख्य पर्यटकीय स्थलहरू हुन् र राजमार्गसँगैको वडा नं. ४ मा निजी क्षेत्रको गोकुलम् र गोकर्ण रिसोर्ट पनि रहेको छ । यसका अतिरिक्त नगरमा भएका महŒवपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूको विवरण तल उल्लेख गरिएको छ ।
१. हसिना सिमसार :
सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । यो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसङ्ख्यक देवीदेवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र पशुपन्छीको बासस्थान समेत रहेको यो क्षेत्र पर्यटकीय मात्र नभई वनभोज, अध्ययन–अनुसन्धान र अवलोकनका लागि समेत उत्तिकै उपयोगी रहेको छ । यो क्षेत्रमा नगरपालिका, नेपाल पर्यटन बोर्ड र जिविस मोरङले पनि बजेट उपलब्ध गराएपछि हालसम्म एउटा कलात्मक पानी ट्याङ्की, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्युसम्मका विभिन्न अवस्था समेटिएको पूर्वाचञ्लकै ठूलो बुद्धको प्रतिमा र यो क्षेत्रको पोखरीमा डुङ्गा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ । यस क्षेत्रभित्र आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमा, विश्वमा नै लोप भइसकेको डाइनोसरको प्रतिमा निर्माण गरी पर्यटकलाई लोभ्याइएको छ ।
२. बाघझोडा सिमसार क्षेत्र :
नदी–नाला, तलाउ, पोखरी, कुवा, धाप तथा दलदले क्षेत्रहरू खासगरी जहाँ जमिन लुक्दैन पानी सुक्दैन त्यस्ता क्षेत्रहरूलाई सिमसार भनिन्छ । बाघझोडा सिमसार क्षेत्र सुन्दरहैँचा नगरपालिकाको उत्तरतर्फ रहेको छ । यस क्षेत्रमा सुकुना सामुदायिक वन, उपभोक्ता समिति बाघझोडामार्फत् सञ्चालन र व्यवस्थापन रहेको छ । यस सामुदायिक वनमा सालका रुखहरू प्रशस्त मात्रामा पाइन्छन् । यस सिमसार क्षेत्रको उत्तर–पूर्वी क्षेत्रमा २ वटा तालहरू सिमसार क्षेत्रकोरूपमा रहेका छन् । यसबाट सिंचाइ नपुगेका क्षेत्रहरूमा व्यवस्थित योजना बनाएर सिंचाइ गर्न सकिने सम्भावना रहेको छ । यस बाघझोडा क्षेत्रमा धार्मिक मन्दिर तथा खेलमैदान पनि रहेको छ । यस मैदानको व्यवस्थित उपयोग गर्नसके यस नगरबाट प्रतिभावान खेलाडी उत्पादन गर्न सकिने सम्भावनासमेत रहेको छ ।
३. किचमगढीः
सुन्दरहरैँचा नगरपालिकाको वडा नं. १ मा यो गढी रहेको छ । यो गढी ऐतिहासिक, धार्मिक, पुराताŒिवक दृष्टिकोणले राष्ट्रिय सम्पदाको हैसियत बोकेको स्थान मान्न सकिन्छ । वृद्धवृद्धाको भनाइ एवम् जनश्रुतिका आधारमा यो गढी पहिले निकै फराकिलो, उच्च डाँडो, अण्डाकार, घना जङ्गल भएको, वरिपरि ठूलो र गहिरो जलाशय भई चारैतिरको भू–भाग पूर्णरूपमा धाप हुनुका साथै अव्यवस्थित रूपमा रहेको थियो । त्यस स्थानमा जान पूर्व–उत्तर र पूर्व–दक्षिण गरी दुईवटा साना बाटोका अतिरिक्त कुनै बाटा थिएनन् । पूजाआजाको पर्वमा समूहगत रूपमा बाहेक अन्य समयमा एक्लैै यस गढीको परिसरमा जान मानिसहरू डराउँथे । आश्चर्य लाग्ने कुरा त के छ भने यहाँ कुनै बेला सेतो सिंह, सेतो हात्ती र कुनै बेला बुलाकी लगाएका ठूला सर्पहरू र यस्तै अन्य जनावरका साथै अनौठा जीवहरू भेटिने हुनाले यस गढीमा मानिसहरू एक्लै जान हिच्किचाउँथेँ ।
गढीको भौगोलिक तथा अलौकिक शक्तिका सन्दर्भमा तथ्यगत अवस्था नियाल्दा छोटो समयमा निकै ठूलो परिवर्तन भएको स्पष्ट देखिन्छ । हाल यो गढी साँघुरो र होचो हुँदै गएको छ । गढी वरिपरिका जलाशय तथा धापहरू पूरा समाप्त भई सुख्खा र खेतीयोग्य जमिनमा परिणत हुँदै गएका, पुराना र ठूला रुखहरू सम्पूर्ण काटिएर उजाड भएका छन् । दुई–चार वर्ष अघिमात्र केही राजनीतिक दल तथा गाउँबासीबाट केही वृक्षरोपण गरिएको र ग्रामथान नामक दुईओटा साना मन्दिर निर्माण गरिएका छन् ।
४. नयाँ वृन्दावन गौशालाः
सुन्दरहरैँचा नगरपालिकाको पश्चिमी सिमाना सुनसरी जिल्लासँग जोडिएको छ । सोही सीमा जोडिएको बूढीखोलातर्फ निर्माण भइरहेको नयाँ वृन्दावन गौशालाले धार्मिक पर्यटकीय प्रवद्र्धन र धार्मिकग्राम निर्माणका लागि प्रशस्त सम्भावना देखिएको छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो कृष्णलीला देखाएको पवित्र तीर्थस्थल वृन्दावन गौशालालाई सचित्ररूपमा जस्ताको त्यस्तै निर्माण गर्ने अभियान नयाँ वृन्दावन गौशालामा थालनी गरिएको छ । राधेश्याम सेवा ट्रष्टको पहल तथा श्री १०८ दीनबन्धु शास्त्री महाराजको पहलमा स्थानीयको सहयोगमा अहिले सुन्दरहरैँचामा नयाँ वृन्दावन गौशाला निर्माण भइरहेको छ । चार कठ्ठा जमिनबाट निर्माण सुरु गरिएको यो धार्मिकग्राम अहिले सात बिघाभन्दा बढी क्षेत्रफलमा पुगिसकेको छ भने सो क्षेत्रमा नेपालकै ठूलो राधाकृष्णको मन्दिरको निर्माण भइरहेको छ र विश्वकै ठूलो गाईको प्रतिमा निर्माण गर्न डीपीआर तयार भएको छ । पहिले खोलाको झाडीले भरिएको क्षेत्र अहिले धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भएको छ । अहिले निर्माण भइरहेको नयाँ वृन्द्रावन गौशालामा हाल गाई र बाच्छाबाच्छीसमेत संरक्षण गरिएको छ भने नदी नियन्त्रणका लागि वृक्षरोपणका कामहरूसमेत भएका छन् ।