धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सकहरुले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गरेका छन् ।

गत बिहीबारदेखि आन्दोलनमा उत्रिएका प्रतिष्ठानका शिक्षक चिकित्सक (फ्याकल्टी)हरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिंदै आफ्ना न्युनतम मागहरु समेत पुरा गर्न नसक्ने उपकुलपतिलाई बर्खास्त गर्न माग गरेका हुन् ।

फ्याकल्टीहरुको अढाई बर्षदेखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्नुपर्ने, बृद्धि भएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता पाउनुपर्नेलगायत माग गर्दै आन्दोलनमा उत्रिएको प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले भन्छन्, ‘फ्याकल्टीका न्युनतम माग समेत पुरा गर्न नसक्ने उपकुलपतिबाट प्रतिष्ठानको हितका अन्य काम हुन सक्दैन भन्ने लागेर बर्खास्तको माग गरेका हौं ।’

आन्दोलनमा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ, सिनियर चिकित्सकहरु प्रा.डा.रविन मास्के, प्रा.डा.विक्रम प्रधान, प्रा.डा. नरेन्द्र भट्ट लगायत सहभागी छन् । मंगलबारको धर्ना कार्यक्रममा बोल्दै प्रा.डा.रविन मास्केले आन्दोलनमा उत्रिने आफ्ना साथीहरुलाई प्रतिष्ठानको व्यवस्थापन पक्षबाट धम्की समेत आएको बताए ।

भदौ १९ गते माग पत्र बुझाएर फ्याकल्टीहरुले गत विहिबारबाट धर्ना सहित शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । समाजका अध्यक्ष डा.पोखरेलले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले फ्याकल्टीहरुका माग जायज रहेको बताउँदै हाल उपकुलपति आइसोलेसनमा रहेकाले त्यहाँबाट निस्किएपछि छलफल गरेर माग पुरा गर्ने बताए ।

प्रतिष्ठानका सिनियर चिकित्सकहरुले उपकुलपतिले जथाभावि गरेको नियुक्ति र सरुवा बढुवाको पनि विरोध जनाएका छन् । उपकुलपति गिरी आइसोलेसनमै बसेका बेला कर्मचारीहरुको जथाभावि सरुवा, नियुक्ति गरेपछि उनी विवादमा परेका छन् । अझ प्रतिष्ठानकै खरिदमा भ्रष्टाचार मुद्धा खेपिरहेका व्यापारीसँग बिना टेन्डर डेढ करोडको मेडिकल सामग्री खरिद गरेपछि उनी विवादमा तानिएका छन् ।