पथरीशनिश्चरे । कला साहित्यको क्षेत्रमा प्रदेश १ मा सक्रिय मोरङको पथरीशनिश्चरेमा ०७६ को एसइइ परीक्षामा सामेलहरुका लागि राखिएको प्रदेश १ स्तरीय अनलाइन चित्रकला प्रतियोगिताको फाइनल भएको छ ।

नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजना र एभरेष्ट आर्ट फ्यूजनको सहयोगमा कोरोना भाइरसका कारण जारी बन्दाबन्दी (लकडाउन) को सदुपयोग गर्दै आयोजित प्रतियोगितामा पथरीशनिश्चरे ५ स्थित सुगाहाट माविकी सन्ध्या मगर प्रथम भइकी छन् ।

पब्लिक हाइस्कुल धरानका रुपक राई द्वितीय र पथरीशनिश्चरे १ को सुनाखरी माविकी इक्सा केरुङ तृतीय हुन पुगेका छन् । तीन जना बाहेक उत्कृष्ठ बनेका सन्देश राई, प्रकृति राजवंशी, सुवास राउत र अञ्जना राईमध्येबाट २ जनालाई स्थानीय पञ्चायत माविमा सञ्चालन हुने फाइन आर्ट कलेजमा अध्ययनका लागि ५० प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।

‘लकडाउनमा भइरहेका सकारात्मक पक्ष र कामहरु’ शिर्षकमा चित्र तयार गर्न तोकिएको थियो । जसबाट प्रथम, द्वितीय, र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने कला साहित्य प्रवद्र्धन समितिकी कोषाध्यक्ष, एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष प्राज्ञ सरोजा खड्गीले बताइन् । प्रतियोगिताको निर्णायकमा चित्रकारहरु अनुराधा थापा, प्रनोद दत्त र छितेन शेर्पा रहेका थिए ।

एभरेष्ट आर्टले यसअघि नगरका २ स्थानको कालोपत्रे सडकमा कोरोना सचेतनाको पेन्टिङ तयार गरेर आफ्नो बार्षिकोत्सव फरक तरिकाले मनाएको थियो ।