विजयपुर । २०४६ सालदेखि गीत गाउन थालेका धराने माइला २–३ वर्षयता विभिन्न अपाङ्गता भएका व्यक्तिहरूसँग धरानका विभिन्न चोक तथा गल्लीहरूमा गीत गाउँदै भेटिन्छन् ।

उनको वास्तविक नाम अर्कै भए पनि उनी ‘धराने माइला’ भनेरै चिनिन चाहन्छन् । उनै धराने माइला सडकका गल्लीहरूमा गीत गाएर अशक्तहरूको सहारा बन्दै आएका छन् । प्रदेश नं. १ का विभिन्न स्टेज कार्यक्रमहरूमा पनि गाउन पुगेका उनी ३ वर्षदेखि भने चोक तथा सडक गल्लीहरूमा गाउँदै आएका छन् । अनि त्यहाँबाट प्राप्त सहयोग उनीहरूकै गाँसका लागि उपलब्ध गराउँछन् ।

अपाङ्गता भएका व्यक्तिहरूसँगै चोक–चोकमा गाउँदै हिँड्दा उनलाई कतिपयले उनीहरूलाई देखाएर कमाउन खोजेको पनि भन्छन् तर, उनी आफ्नो त्यस्तो स्वार्थ भने केही नभएको बताउँछन् । उनी भन्छन्, ‘म दिनभर गीत गाउँछु अनि खाना खान घर जान्छु । बिहानको खाना भने साथीहरूसँगै खान्छु ।’

माइलालाई उनको परिवारले पालेको छ भने उनले अरू धेरैको निभेको चुलो बालेका छन् । उनी विशुद्ध समस्यामा परेका व्यक्तिहरूलाई आफूले सहारा दिँदै आएको बताउँछन् । उनी समस्यामा परेकाहरूलाई एक छाक भए पनि खाना खुवाउने अभियानमा जुटेका छन् ।

माइलाले गत साउन महिनादेखि त ‘निभेको चुलो बाल्ने अभियान’ नै चलाएका छन् । उनको अभियानको आयस्रोत भनेको गीत गाएर उठेको पैसा र मनकारीले दिएको सहयोग नै हो । ‘१० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म दिनुभएको छ’ उनी भन्छन्, ‘त्यही सहयोगले म निभेका चुलो बाल्छु ।’

उनले अभियान सुरु गरेपछि सहयोगी मनहरू आए । उनको अभियानलाई सुरज कुलुङ राईले ३० केजी चामल सहयोग गरे । उनले साउनदेखि ‘निभेको चुलो बाल्ने अभियान’ अन्तर्गत प्रतिपरिवार करिब १२ सयका दरले २८ परिवारलाई राहत दिइसकेका छन् । माइला भन्छन्, ‘म त गीत गाउने हो, सबैकुरा साथीहरूले नै गर्नुहुन्छ ।’

माइलासँगै तीन जना दृष्टिविहीन, एक जना सहयोगी र एक जना सिटी सफारी चालक यो अभियानमा हिँडिरहेका छन् । राहत पनि उनीहरूले नै बाँड्छन् । बिहानभरि जुन टोलमा गीत गाउँछन्, त्यही टोलका समस्या परेकालाई राहत सामग्री वितरण गर्छन् । अब भने त्यो राहत सामग्रीको परिमाण वृद्धि गरिने उनले बताए । माइला भन्छन्, ‘पहिले १२ सय बराबरको राहत सामग्री दिने गरेका थियौँ भने अब १५ सय बराबरको दिने योजना छ ।’

सडकका वृद्धलाई घरमा राख्ने सपना
धरान–१५ बगरकोटका माइला बिहानै उठेर सधैँ झैं अपाङ्गता भएका व्यक्तिहरूसँग हिँड्छन् । उनको दैनिकी यसरी नै बित्छ । उनी बिहानै उठेर हिँड्दा विभिन्न स्थानमा ३–४ जना वृद्धवृद्धाहरू सडकमा बसेको देख्छन् । माइला दुःख मान्दै भन्छन्, ‘अब जाडो आउँदैछ कपडा छैन होला । पानी पर्छ, कहाँ बस्छन् होला । वृद्धहरूलाई बाँसको भाटाले बारेर भए पनि घरभित्र राख्न पाए म जीवनमै सबैभन्दा खुसी हुन्थेँ ।’

उनले त्यो सपना मात्र देखेका होइनन् । उनीसँग त्यो सपना पूरा गर्ने केही क्षमता पनि रहेको सुनाउँछन् । उनीसँग धरान–१५ मा १० धुर जग्गा छ । त्यही जग्गामा सडकका वृद्धहरूलाई घर बनाएर राख्ने उनको इच्छा छ । ‘कोही दाता भए धेरै त म आफै गर्ने थिएँ’ –उनले भने ।

उनका एक छोरा र बुहारी छन् । उनीहरू स्थापित भइसकेका छन् । माइलाको कुरामा परिवार पनि सहमत नै छन् । छोराले छाना लगाइदिने भएका छन् । उनलाई केही सहयोग आवश्यक परेको छ । उनी भन्छन्, ‘केही दाताहरूले सहयोग गरे आफै घर बनाएर वृद्धहरूलाई घरमा राख्थेँ ।’