साजन पाठक युवासञ्जालबाट सक्रिय हँुदै सामाजिक अभियानमा लागेका युवा हुन् । कोशी गाउँपालिकाका २१ वर्षे साजन बालविवाह विरुद्धको अभियन्ताका रूपमा चिनिन्छिन् । साजनको सामाजिक अभियानको यात्रा भने एकदमै भिन्न छ । २०७१ सालमा एसएलसी परीक्षा दिएपछि साजन गाउँको युवासञ्जालमा आबद्ध भएका थिए । त्यतिबेला खेलकुद, मनोरञ्जन र रमाइलोको लागि उनी सञ्जालमा आबद्ध भएका हुन् । उनी त्यसैमा रमाएका पनि थिए । सञ्जालको सदस्यको हैसियतमा एकपटक गाउँपालिका भएको बैठकमा सहभागी हुने मौका पाएपछि मात्र सञ्जालबाट गर्न सकिने कामको बारेमा बुझेको साजनले बताए ।

‘शुरुमा त रमाइलोको लागि मात्र गठन भएको बुझेको थिए तर, गाउँपालिकामा भएको छलफलमा युवासञ्जालहरूले गर्न सक्ने कामको बारेमा आयोजक ओरेकले बताएपछि मात्र मेरो ध्यान गाउँघरका समस्यामा गयो र सक्रिय हुन ऊर्जा मिल्यो’ –साजनले भने । प्लान इन्टरनेशलन नेपालको सहयोगमा ओरेक नेपालद्वारा सञ्चालित बालिका अधिकारका लागि पैरवी परियोजनाले सुनसरीमा युवासञ्जाल गठन गरेर तथा त्यसमा आबद्ध युवाहरूको क्षमता विकासका लागि काम गरिरहेको छ । कोशी गाउँपालिका सुनसरी जिल्लाकै बढी बालविवाह हुने गाउँपालिका हो तर, साजनजस्ता युवाहरूको सक्रियताले अहिले परिवर्तन आउन लागेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए । ‘केटाकेटीहरू आफैले बालविवाहले हुने हानिको बारेमा बुझेपछि मात्र यो घट्ने हो । साजनजस्ता युवाहरूले समुदायमा बालविवाहको हानिबारे बुझाउन निकै प्रभावकारी भूमिका खेलेका छन्, आफ्ना उमेरसमूहलाई उनीहरूले सम्झाएको पनि सहजलाग्दो रै’छ, अनि मान्दा पनि रहेछन्’ –अन्सारीले भने ।

२ वर्ष पहिला कोशी गाउँपालिका–१ मा मण्डल थरकी एक किशोरीको १८ वर्षकै उमेरमा विहे हुन लागेको रहेछ । साजनले उनका अभिभावकहरूलाई सम्झाउने प्रयास गरे तर, उनीहरूले मानेन् । केटो राम्रो भएको र बिहेपछि पनि पढाउने भनेकोले बिहे गरेरै छोड्ने जिद्दी गरे । साजनले कुनै पनि हालतमा आफ्नो गाउँपालिकामा बालविवाह हुन नदिने भन्दै वडाध्यक्षमार्फत् सम्झाउन लगाए । जनप्रतिनिधिहरूको समेत सहभागितामा कानूनी कुरा बुझेपछि उनीहरूको विवाह रोकियो । यही साल केटीको उमेर २० पुगेपछि उनीहरूको बिहे भएको वडाका वडाध्यक्ष राजु साहले बताए । साजनले समुदायलाई एकदमै सहजरूपमा कुरा बुझाउने भएकोले पनि उनको कुरालाई सबैले पत्याउँछन् र साथ दिन्छन् ।

साजनको कुरा पत्याउन उनको परिवारको कदमले पनि साथ दिएको छ । छोरी मान्छेको सानैमा बिहे गरिदिने भए पनि साजनको दिदीको पोहोर साल २५ वर्षको उमेरमा बिहे भयो । गाउँ,समाजले कुरा काटे पनि साजनको परिवारले उनलाई राम्रोसँग पढ्ने अवसर दिए । उनले स्नातकसम्मको पढाइसकेपछि मात्र दिदीको बिहे भएको साजनले बताए । ‘मैले बालविवाहको असर बारे बुझाउन आफ्नै घरको उदाहरण दिने गरेको छु, सानैमा बिहे गरिदिएको भए के दिदीले पढ्न सक्नुहुन्थ्यो त ? आफ्नै घरको उदाहरणले मलाई पनि सहज भएको छ’ –साजनले भने ।

साजनको सक्रियतामा कोशी गाउँपालिकामा १५ वटा बालविवाह रोकिएका छन् । यसबाहेक समाजमा विद्यमान अरू कुरीतिका विरुद्ध पनि साजन सक्रिय भएका छन् । सामाजिक अभियानमा साजनजस्ता जुझारु युवाहरूको कदमले रुढीवादी मूल्यमान्यता केही हदसम्म कम हुँदै गएका छन् ।

साजन दाइजो लेनदेनको घोर विरोध गर्छन् । दाइजोको निहुँमा महिला दिदीबहिनीमाथि भएको यातनाका घटनाले उनलाई यस अभियानमा पनि सक्रिय बनाएको छ । कतै दाइजो लनदेन, कतै बालविवाह त कतै लागूऔषध दुरुपयोगका बेफाइदा तथा यसले पार्ने समस्याका विषयमा साजन अरूलाई बुझाउँदै हिँड्छन् । उनको यो काममा विभिन्न सङ्घ–संस्था, जनप्रतिनिधि र साथिभाइले पनि साथ दिएका छन् ।

सानै उमेरमा सामाजिक अभियानलाई काँध थापेका साजनजस्ता युवाहरूले थालेको परम्परागत अभ्यास हटाउने अभियानमा होस्टेमा हैंसे गर्ने पालो अब स्थानीय तहहरूको काँधमा आएको छ । प्रत्येक स्थानीय तहले आफ्नो ठाउँमा भएका युवाहरूको सक्रियतामा समाजमा विद्यमान कुसंस्कार हटाउन चासो दिएमा युवाहरूको सिर्जनशील सोचाइले समाज बदलिँदै जानेछ ।