पाँचथर, सुकेपोखरी/ चुनाव आउँछ, सबै नेता आएर जे भने पनि गरिदिने वचन दिन्छन् । जितेर जान्छन् अनि फर्केर आउँदैनन् । बाटो, खानेपानी, बिजुली बत्ती सबै गाउँलेले नै व्यवस्था गरेका छन् ।
समस्याका बारेमा पटक–पटक सरकारलाई जानकारी गराउँदा वास्ता गर्दैनन् । जितेर गएपछि एक पटक गाउँ फर्केका छैनन् । यो हो पूर्वी नेपालको पाँचथरको फिदिम नगरपालिका–१४ मा रहेको सुकेपोखरी गाउँका जनताको पीडा । नेपाल सरकारको बेवास्ताका कारण सुकेपोखरी परिचित गाउँ छुट्टै राज्यजस्तो भएको स्थानीयको बुझाइ छ । फेदीमा ठूलो पोखरी र तलमाथि वरिपरि आधा दर्जनभन्दा बढी घर । पर्यटकीय गन्तव्यका लागि प्रचुर सम्भावना बोकेको सो गाउँमा केन्द्रको त के स्थानीय सरकारको पनि ध्यान जान सकेको छैन । पाँचथरको फिदिमस्थित पौवाभञ्ज्याङबाट करिव ७ किलोमिटर उत्तरमा रहेको सुकेपोखरी पुग्न सडकको अवस्था बिग्रिएको छ ।
स्थानीयले अन्दाजी ३८ लाख रुपैयाँको लागतमा १० वर्षअघि सडकको रेखाङ्कन गरेका थिए । बर्खायाममा बल्ल–तल्ल गाडीहरू आउने गरेको त्यहाँका स्थानीयको भनाइ छ । ताप्लेजुङ, तेह्रथुम, पाँचथर र इलाम जाने पहिलेको यो मुख्य सडकले इलाम र दार्जिलिङलाई जोड्ने स्थानीय प्रतिजङ राई बताउँछन् । यहाँ २०२८ सालमा शुक्रबारे हाटबजार लाग्ने गरेको इतिहास रहेको उनको भनाइ छ । ‘निजी स्रोतबाट बाटो, बिजुली र पानी ल्याएको हो, नेपाल सरकार कहाँ छ, थाहा छैन’–उनले भने । नगरपालिका नजिक रहेको पर्यटकीयस्थल यही भएको उनले जनाए । पुर्खाले महिनामा एक दिन हवनसमेत गर्ने गरेकोले नजिकै रहेको डाँडा हालसम्म पनि ‘चरु डाँडा’ नामले परिचित रहेको उनले बताए ।
२०३२ सालमा नापी भए पनि सोभन्दा अघिदेखि नै बसोबास गर्दै आइरहेको र हाल १२ घरमा डेढ सय जनसङ्ख्या रहेको उनको भनाइ छ । स्थानीय सरकारले यो ठाउँलाइ प्रवद्र्धन गर्न बजेट नदिएको उनको गुनासो छ । बजेट छैन भन्दै टार्दै आइरहेको अर्का स्थानीय फौजमान राई बताउँछन् । पर्यटन प्रवद्र्धन गर्न चिडियाखाना बनाउन विज्ञहरू ल्याएर देखाए पनि विज्ञले स्वीकृति नदिएको उनले बताए । भएको बजेट पनि कटौती गरेर लैजाने गरेकोमा उनले गुनासो गरे ।
बेरोजगारलाई स्वरोजगार हुने भनेर फारम भराए पनि नजिकका मान्छेले पाउने गरेको उनको गुनासो छ । २०४३ सालमा नै यो पर्यटकीय क्षेत्र भनेर घोषणा गरिए पनि फायल खोज्न नसकिएको उनी बताउँछन् । पौवाभञ्ज्याङदेखि निजीस्तरबाट साढे ७ किलोमिटर दूरीको सडक २०६६ सालमा सर्भे गर्दा २ करोडको लागत निकालेको उनले बताए । कृषि र जनमन गरेर त्यो समयमा ६ घरबाट उठाएको अनुमानित ३८ लाख रुपैयाँ बाटोमा लागेको उनले बताए । प्रतिजङको स्काभेटरको भाडामात्र जोड्दा ४५ लाख लागेको उनले बताए । हालसम्म स्थानीय सरकारले चासो नदेखाएको उनले सुनाए ।
राजनीतिका कारण यो क्षेत्र ओझेलमा पर्दै गएको उनीहरूको भनाइ छ । सबै पार्टी स्वार्थ र पैसामा बिक्ने गरेको स्थानीयको आरोप छ । प्रत्येक वर्ष वैशाख १ गते यहाँ लाग्ने मेलामा १४ वटा गाउँपालिकाको सहभागिता हुँदै आइरहेको उनीहरू बताउँछन् । ५० देखि १ लाखबढी मेलामा आउने गरेको अर्का स्थानीय टिपी राई बताउँछन् । उत्पादित कृषिउपज बिक्रीका लागि पौवाभञ्ज्याङ बजारमा निर्भर रहनुपरेको उनको भनाइ छ । ‘विद्यालय छैनन्, अस्पताल टाढा फिदिममा छ । यहाँको प्रहरी चौकी पनि सुगमतिर सरेको छ’–उनले भने । पहिले डोकोको भरमा बिरामी लानुपर्ने पनि अहिले अलि सजिलो भएको उनीहरूको भनाइ छ । आफू एसएलसी पास भए पनि बेरोजगार बस्नुपरेको स्थानीय सानुमाया बान्तवाले बताइन् ।
कृषिउपज वस्तु आलु, छुर्पी, कोभी, मुला लिन व्यापारीहरू आउने गरेको र छुर्पी भने सिधै काठमाडांै जाने गरेको उनले बताइन् । यो गाउँ भेडापालनको राम्रो सम्भावना भएको स्थानीय टिकुमाया राई बताउँछिन् । ग्राभेल सडक अनिवार्य हुनुपर्ने उनीहरूको माग छ । व्यक्तिगत रूपमा प्रचार–प्रसार गरिरहेको भए पनि सरकारबाट उपेक्षित क्षेत्र भएको उनीहरू बताउँछन् । सडकको लागि केही बजेट छुट्याएको भन्ने सुन्नमा आए पनि त्यसबारे थाहा नभएको स्थानीय विर्ख राईले बताए । केही दिनअघि घरलौरी ५ हजारका दरले उठाएर बाटो मर्मत गरे पनि आवत–जावतमा समस्या भइरहेको प्रतिजङको भनाइ छ ।
जेसिभी पठाइदिनू तेल गाउँलेले व्यवस्था गर्नेछौं भन्दा पनि नपठाएको उनले बताए । ‘विकासका बारेमा निवेदन दर्ता गरिराख्नु भन्छन्, पछि बजेट नै पुगेन भन्दै फिर्ता पठाउने गरेका छन्’–उनले भने । फिदिमदेखि २० किलोमिटरको दूरीमा भए पनि स्थानीय सरकार एकपटक नआएको स्थानीयको गुनासो छ । गाडीमा तेल हालिदिन्छौं भन्दा पनि नआएको उनीहरू बताउँछन् । पछिल्लो समय पर्यटकको आगमन बढ्दै गइरहेकोले दैनिक ५० देखि ६० जना आउने गरेको त्यहाँका होम–स्टे सञ्चालकको भनाइ छ । तर, सरकारले भारतको छुट्टै राष्ट्रजस्तो मानेको छ । ५८ लाख २४ हजारमा बिजुली बत्ती जडान गरी सञ्चालनमा ल्याएको उनीहरू बताउँछन् ।
पोखरीमा केही रकम विनियोजन गरे पनि गाउँको विकासमा सरकारले आँखा नदेखेको उनीहरूको भनाइ छ । ‘घुमफिरको माध्यमबाट मात्र प्रचार–प्रसार हुने हो, सरकारले देख्दैन’ –उनीहरूले दुःखेसो पोखे ।
प्रचुर मात्रामा पर्यटनको सम्भावना बोकेको यो क्षेत्रमा सरकारको ध्यान नजानु दुःखद् भएको होम–स्टेमा भेटिएका नेत्र कार्कीले बताए । प्याकेज योजना बनाएर सुविधा सम्पन्न क्षेत्र निर्माण गर्नु आवश्यक रहेको पर्यटनकर्मी समेत रहेका कार्कीले बताए । ग्रामीण पर्यटन प्रवद्र्धन विकासका लागि केही दिनअघि पाँचथरको पौवाभञ्ज्याङमा आयोजना गरिएको कार्यक्रममा सुकेपोखरी र सोही स्थानमा रहेको होम–स्टेका विषयमा कार्यक्रम सञ्चालन गरिए पनि सोही क्षेत्रमा गएर कार्यक्रम सञ्चालन नगर्नुले सरकारले ध्यान नदिएको पुष्टि भएको स्थानीय बताउँछन् ।