हुन त धरान बजारलाई सरसर्ती हेर्दा यो बजार अत्यन्तै आकर्षक लाग्छ । सिलसिलेवार तरिकाबाट आकर्षक तवरले सजाइएका समानहरू, एउटै बजारमा विविध तवरका पसलहरू त्यसमा पनि फुटपाथसमेतका चौडा सडकहरूले बजारको शोभा बढाएकै छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणपछि प्रारम्भिकरूपमा रहेको धरानको खरिद बिक्री केन्द्रस्थल जो त्यस बेलाको वडा नं. २ र ५ मा पुरानो बजार र नयाँ बजारको नामले प्रसिद्ध थियो । अहिले पश्चिम सर्दुु खोलाको छेउछाउसम्म फैलिएको छ भने पूर्वतर्फ सेउती किनारसम्म पनि फैलिएको छ । साथै यो शहर पूर्वदेखि पश्चिमसम्म नै फैलिएको छ । बजारको उन्नतिमा साक्षी रहेका प्रतिष्ठानहरूमा धरान औद्योगिक क्षेत्र, कृषिबजार, बी.पी.को.स्वा.वि.प्रतिष्ठान, शैक्षिक संस्थाहरू आदि प्रमुख छन् भने यस उपमहानगरलाई आर्थिकरूपमा सबल बनाई व्यवसाय विस्तारमा सहयोग पु¥याउनेमा भारतीय पेन्सन पेइङ अफिस, बृटिश पेन्सन अफिस र रेमिटेन्सबापत आम्दानीको महत्वपूर्ण भूमिका छ ।
जहाँसम्म उपभोक्ताको लागि बजारको प्रश्न छ धरान पौराणिक उपभोक्ता बजारको श्रेणीमा आउँछ ।

एक समयमा पूर्वको पहाडी क्षेत्रका बासिन्दाहरूको आवश्यकता पूर्तिको लागि प्रमुख खरिद बजारको रूपमा धरान बजार नै प्रसिद्ध थियो । पूर्वी पहाडका बासिन्दाहरू आफ्नो उपभोग्य वस्तु खरिद गर्न र आफ्ना कृषि उत्पादनसमेत बिक्री गर्न धरान झर्थे । हप्तामा दुई दिन (शुक्रबार र शनिबार) पालैपालो लाग्ने पुरानो बजार र नयाँ बजारको हटियामा आफ्ना साग, तरकारी, फलफूल तथा अन्य कृषि उत्पादन तथा जडिबुटीलगायत उपभोग्य घरेलु उत्पादन बिक्री गरी उपभोग्य वस्तु नुन, तेल, चामल, दाल, लत्ताकपडालगायत अन्य उपभोग्य सामग्री खरिद गरेर लैजान्थे । यसैगरी साप्ताहिक लाग्ने हटियामा कृषि उत्पादन खरिद गर्न सीमावर्ती भारतबाट पनि व्यापारीहरू नियमितरूपमा आउने गरेका थिए । त्यतिबेला पहाडी बाटो भएर तिब्बतसम्म पनि उपभोग्य समान जाने गरेको थियो । साथै भूतपूर्व सैनिकहरूको उच्च आयस्तरले गर्दा यहाँका पसलहरू पनि आधुनिक डिजाइनका उपभोग्य सामानहरूबाट भरिभराउ रहन्थे । बृटिश गोरखा सैनिकहरूले विदेशबाट फर्कंदा ल्याएको विदेशी सामानको बिक्री केन्द्र पनि धरान रहेकोले छेउछाउका सीमावर्तीलगायत उपभोक्ताहरूको आकर्षणको केन्द्र धरान बजार नै थियो । २०३० सालसम्म धरान बजार यसरी नै चारैतिरका छिमेकी उपभोक्ताको लागि उपभोग्य वस्तुको खरिदको लागि आकर्षणको केन्द्र रह्यो ।

तर, २०३० सालपछि धरानको खुद्रा व्यापारमा ह्रास आउन शुरु भयो । पूर्व–पश्चिम राजमार्गको निर्माण सम्पन्न भएलगत्तै उत्तर–दक्षिण राजमार्ग निर्माणको अवधारणा शुरु भएपछि आसपासका क्षेत्रमा पनि बृहत् उपभोक्ता बजारहरूको विकासले गर्दा ग्रामीण उपभोक्तामा धरानको आकर्षण कम हुँदै गएको देखिन्छ । साथै पहाडी जिल्लाको कृषि तथा अन्य उत्पादन खरिद गर्न भारतसमेतका व्यापारीहरू पहाडीक्षेत्रमै पुग्ने गरेको तथा यातायातको कमजोर सुगमता भए पनि केही उत्पादन चीनतर्फ पनि त्यहीँबाट निकासी गर्न सकिने भएको साथै देशभित्र र बाहिरका उत्पादनस्थलबाट पहाडी बजारसम्म सामान सोझै पठाउन सकिने भएकोले आज धरानको बजार व्यापारिक केन्द्रभन्दा पनि पारवहन मार्ग (ट्राञ्जिट पोइण्ट) को रूपमा सीमित भएको छ । पहाडतर्फ विकास भएको सहकारी आन्दोलनको असर पनि धरान बजारमा पक्कै परेको छ । २०४० सालको आसपास निर्माण भएका मेची राजमार्ग, कोशी राजमार्ग र सिद्धिचरण राजमार्गले र त्यस्ता राजमार्गका लिङ्क सडकले धरानको व्यापारिक विस्तार खुम्च्याएको छ ।

यसमा दुईमत छैन कि धरान उपमहानगरको भोगौलिकरूपमा जतिसुकै बजार विस्तार भए पनि, जनसङ्ख्यामा जतिसुकै वृद्धि भए पनि, ठूला–ठूला घरहरू र सपिङ कम्प्लेक्स निर्माण भए पनि, डिर्पाटमेण्ट स्टोरहरू खुले पनि, धरानवासीको आर्थिक स्तर उकासिए पनि धरानको आर्थिक विकास अपेक्षाकृतरूपमा हुन सकेको छैन । आज पनि धरान उपमहानगरवासीहरू देशको समृद्धिमा आफ्नो अस्तित्व तथा भूमिका र राष्ट्रियस्तरका आयोजनाहरूमा आफ्नो हिस्सा खोजिरहेका छन् । हुन त २०४५ सालको महाभूकम्पपछि बृटिश भर्ती केन्द्रको साथै कतिपय सरकारी कार्यालयको पलायनले गर्दा मृत शहरको उपमा दिन थालिएको धरानको आज त्यो परिस्थिति चाहिँ छैन तर, कमजोर राजनीतिक पहुँच समेतका कारण देशका नेतृत्वकर्ताको नजरमा हाम्रो यो नगर प्राथमिकतामा पर्न सकेको छैन ।

पर्यटन प्रवद्र्धन, धार्मिक पर्यटन प्रवद्र्धन, शैक्षिक केन्द्र, स्वास्थ्य केन्द्र, आवासीय शहरको प्रचुर सम्भावना बोकेको यो नगरले कुनै एउटा कुरामा पनि नाम कहलिने गरी विशिष्ट स्थान प्राप्त गर्न सकेको छैन । उद्योगको नाममा धरान औद्योगिक क्षेत्रबाहेक हामीसँग देखाउने केही छैन । राष्ट्रियस्तरको शेयर बजारमा धरानका लगानीकर्ताहरूको सम्मानजनक बाहुल्य रहनु, ठूला–ठूला निजी विकासे आयोजनाहरू हाइड्रोपावर, हवाई सेवा, वित्तीय संस्थाहरूमा धरानका लगानीकर्ताहरूको थिचोमिचो रहनु, इटहरी क्षेत्रका कतिपय औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूको स्वामित्व धरानेहरूको नियन्त्रणमा रहनुले धरानको विकासमा लगानीको कमी नभएको पक्कै देखाउँछ तर, नगरमा विकासको ढोका खुलेको देखिएको छैन ।

एक समयमा त्रिभुवन राजपथ र हेटौंडा–मुग्लिन राजमार्गको निर्माणपछि हेटौंडा नगरले यस्तै नियति भोग्नुपरेको थियो । तर, त्यस नगरमा उत्पादनमूलक उद्योगहरूको विस्तारले आज त्यो शहरमा आर्थिक विकास भएको छ । हो, यस्तोे फाइदा भीमफेदीले प्राप्त गर्न सकेन । कहीँ हाम्रो हविगत त्रिभुवन राजपथको निर्माणपछि भएको भीमफेदीको जस्तो त हुने होइन ? कति धरानवासीमा यो सोच पनि आएको छ । अहिले दिगो आर्थिक विकासका लागि उत्पादनमूलक औद्योगिक विकास नै हुनुपर्छ भन्ने छैन । कुनै पनि ठूलो परियोजना ल्याएर जनशक्तिको पलायन रोकेर विकासलाई गति दिन सकिन्छ ।

तर, त्यसको लागि निजी क्षेत्रको लगानीकर्ता तथा राजनीतिक नेतृत्वसमेतको दृढ इच्छाशक्ति आवश्यक हुन्छ । साथै सबै भरपर्दो स्रोतहरूलाई एकै ठाँउमा भेला गर्न सक्ने प्रयास पनि हुनुपर्छ । यसको लागि स्थानीय नेतृत्व, व्यावसयिक सङ्घ–संस्थाहरूसँग सक्रियताको अपेक्षा गर्नु अनुपयुक्त नहोला । सबैले आर्थिक विकासको लागि सामाजिक सोचका साथै व्यावसायिक सोच पनि विकास गर्नु पर्दछ ।

व्यक्तिगत रूपमा धरानकै आर्थिक विकासको लागि नभई पूरै देशको लागि आवश्यक मात्रै केही राष्ट्रियस्तरका योजनाहरू जोगवनी–किमाथाङ्कासम्म सडक, पूर्वदेखि चतरा हुँदै हेटौंडासम्मको निर्माणाधीन राजमार्ग, प्रस्तावित बर्दिबास–काँकडभिट्टा रेल मार्ग, मध्य पहाडि लोकमार्ग, अरुण जलविद्युत् आयोजना आदिलाई मध्यनजर राखी धरान उपमहानगरमा कस्तो लगानी ल्याउन सकिन्छ भन्ने गृहकार्य गर्ने समय अहिले आएको छ । यस कार्यमा धरान उपमहानगरपालिकाबाट प्रस्तावित औद्योगिकग्रामको योजना अत्यन्तै सराहनीय छ । यही परिप्रेक्ष्यमा धरानको कृषिबजार र बी.पी.को.स्वा. विज्ञान प्रतिष्ठानको विस्तारीकरण अपरिहार्य छ । यस्ता आयोजनाहरू समेतमा सामाजिक दायित्वमा आँच नआउने तरिकाले स्थानीय लगानी तथा श्रम आकर्षण गर्नसके आकर्षक व्यवस्थापनको शुरुवात गर्न सकिन्छ ।

यो लेख लेख्ने क्रममा निजी क्षेत्रको परिवारकै सदस्य भएको नाताले हामीले स्वीकार गर्नै पर्छ कि हामी धरानका व्यवसायीहरू उपभोक्ता संरक्षणका नाममा अलि कमजोर नै छौं । यो आरोप होइन, व्यक्तिगत अनुभव र सोच हो । आज पनि धरान बजारका व्यापारिक प्रतिष्ठानहरू बदलिँदो परिस्थितिअनुसार परिवर्तन हुन नसक्नाले उपभोक्ताको लागि कम आकर्षित रहेका छन् । हामी व्यवसायीहरू आफूलाई सामान्य उपभोक्ताभन्दा बढी चेतनशील सम्झन्छौं । जस्तोसुकै गुणस्तरको सामान जुनसुकै मूल्यमा उपभोक्तालाई भिडाउन सक्ने हाम्रो विश्वास छ । परिवर्तित आधुनिक गुणस्तरका सामानहरूमा लगानी गर्न हामीले सकिरहेका छैनौं । यो हाम्रो मनोविज्ञान भएको छ ।

बजारमूल्यमा पनि एकरूपता छैन । व्यवसायी तथा उपभोक्ता दुवै खरिद बिक्री गर्दा मोल मोलाइ गर्न रुचाउँछन् । गुणस्तरमा पनि एकरूपता छैन । प्रदर्शनीको तरिकामा पनि कुनै खासै परिवर्तन आउन सकेको छैन । केही व्यावसायिक प्रतिष्ठानहरू यसको अपवाद पनि छन् र उनीहरूको कार्य गर्ने तरिका प्रशंसायोग्य नै छ र उदाहरणीय भन्न सकिन्छ । तर, धेरैजसोमा समष्टिगत परिवर्तनको आवश्यकता छ । यस्तो गति बजारको रह्यो भने केही व्यवसायीको व्यवसाय अवश्य फस्टाउला तर, यसले समष्टिगत रूपमा सम्पूर्ण बजारको उत्थानमा नकारात्मक असर पारेको हुन्छ ।

आज वार्षिक ८० अर्बको कारोबार रहेको धरान बजार विगत दश वर्षदेखि यही आकारमा रहेको छ । जबकि छिमेकी इटहरी, दमक, बिर्तामोड, मुढे, खाँदबारीको बजारको कारोबारको आकारमा धेरै राम्रो वृद्धि भएको छ । कारोबारको आकारको तुलनाले के देखाउँछ भने धरानको जम्मा आर्थिक कारोबारको करिब करिब २० प्रतिशत हिस्सा बी.पी.को.स्वा. विज्ञान प्रतिष्ठान, कृषिबजार र धरान औद्योगिक क्षेत्रमार्फत् प्राप्त हुन्छ । यसको राम्रो पक्ष के हो भने यदि केही ठूला परियोजनाहरू धरानलाई विन्दु बनाएर सञ्चालन हुन्छन् भने त्यसले खुम्चिँदै गएको धरानको आर्थिक कारोबारको आकारलाई टेवा प्राप्त हुनेछ ।

अब समय आएको छ, स्थानीय निकाय स्थानीय व्यावसायिक सङ्गठनहरूले सामूहिकरूपमा आर्थिक कारोबारको आकारको लक्ष्य निर्धारित गरी रोजगारी नीति, लगानी प्रोत्साहन नीति, स्थानीय राजश्व नीति, आधारभूत संरचनासम्बन्धी नीति तय गर्नुपर्छ र पारम्परिक व्यवसायमा व्यवसायीहरूले पनि आफ्नो सोच तथा व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक छ ।