पत्रकारिता आम सञ्चारमाध्यमको एउटा साधन, सीप र कला हो । नेपाल लगायत एसियाका मुलुकहरूले नयाँ युगको पत्रकारितालाई आह्वान गर्न थालिसकेका छन् । यद्यपि यो धेरै मुलुकमा अभिव्यक्तिको स्वतन्त्रता जीवनशैलीको अप्रिय अङ्ग हुन अझ निकै समय लाग्नेछ । सञ्चारको युग हो, यो । केही बोल्ने र केही गर्ने प्रथम कर्ता लेखक पत्रकार नै हुन् । एक अहिंसापूर्ण निर्वाण युद्ध पनि हो, लेखन र पत्रकारिता ।
लेखक–पत्रकारले जे लेख्छन्, भोलिको लागि एउटा इतिहास लेख्छन् । कति गहन छ, जिम्मेवारी ?
आज रोपेका शब्द नै भोलि इतिहासका बिरुवा भएर उम्रिन्छन् । बुद्धले जस्तै फिग्राहमले लेखक–पत्रकारमाथि ठूलो जिम्मेवारी सुम्पेर गए । तर, स्वयम् भने कति जिम्मेवार छौ ? मनन् गरौं, आफ्नो घरको ऐनामा होइन, अरूका आँखामा आफ्नो अनुहार हेरौं, कस्ता देखिन्छौं ? घरको ऐनाले सधैँ राम्रो देखाउँछ । लेखन र पत्रकारिता ‘सङ्गी–सम्धी’ हुन् तर, पनि नैसर्गिक भिन्नताको सीमा रेखाले छुट्याएको छ, यी दुईलाई । सबै पत्रकारिता लेखन हो तर, सबै लेखन पत्रकारिता होइन । लेखनमा उद्देश्य बढी हुन्छ । पत्रकारितामा आवश्यकता । म पत्रकारिताको ‘स्कलर’ होइन । न पाठ पढाउन सक्छु, न चाहन्छु । आफ्नो साधारण भोगाइ र बुझाइसँग विचारका खेस्रा उतारिरहेको छु । भोगाइ, बुझाइ र विचार आ–आफ्नै हुन्छन् । ती फरक हुन सक्छन् । फरक यस कारणले हुन सक्छन् कि हाम्रा दृष्टिकोण नै फरक हुन्छन् । लेखन होस् वा पत्रकारिता, मैले ‘केही’ लेखेँ भन्ने कुरा एउटा लेखक वा पत्रकारको लागि सधैँ महŒवपूर्ण हुन्छ । तर, त्यो ‘केही’ भित्र ‘के’ लेखेँ र लेख्नुपर्ने कुरा ‘लेखे’ कि ‘लेखिनँ’ भन्ने बोध झन् महŒवपूर्ण हुन्छ, सायद । लेख्नुपर्ने कुराभित्र पनि अन्तरात्माको आवाज लेखियो कि लेखिएन ? यो प्रश्नले हामी कति लेखक–पत्रकारलाई औंला ठड्याउँछ ?
‘के’ लेख्ने जत्तिकै अहम् छ ‘किन’ लेख्ने भन्ने प्रश्न ? लेखन एउटा युद्ध हो तर, जेपी मोलियर भन्छन्, ‘लेखन एक प्रकारको वेश्यावृत्ति पनि हो ।’ हामी युद्ध लडिरहेका छौं कि वेश्यावृत्ति गरिरहेका छौं ? किन लेख्ने भन्ने प्रश्नले जन्माएको अर्को प्रश्न हो, यो ।
कसैले पैसाको लागि लेख्दिन भन्छ भने त्यो लेखक होइन वा लेखक भएको छैन । हाम्रो हकमा यो अलि फरक हुन सक्छ । हाम्रो लेखन र पत्रकारिता अझै पूर्ण व्यावसायिक धरातलमा उभिन सकेको छैन । प्रयासरत छ ।
पैसा श्रमको मूल्य हो । पैसाको लागि लेख्नु वेश्यावृत्ति होइन, तर पैसाको लागि लेख्नुपर्ने कुरा नलेख्नु र नलेख्नुपर्ने कुरा लेख्नु विशुद्ध वेश्यावृत्ति हो । बेइमानीको पुरस्कार पनि हो, पैसा र जहाँ विचारलाई शरीरको मासु ठानिन्छ र बेचिन्छ, त्यहाँ वैचारिक वेश्यावृत्ति हुन्छ ।
लेख्नुपर्ने कुरा लेखिन्छ भने त्यो दुराचार र व्यभिचारविरुद्ध छेडिने युद्ध हुन्छ । युद्ध त्यतिबेला सुरु हुन्छ, जब समाजमा दुराचार र व्यभिचार बढ्दै जान्छ ।
चीनका एक प्राचीन सैनिक रणनीतिकार भन्छन्, ‘शत्रुमाथि कुनै आक्रमण नगरी जित्नु नै युद्धको महान् कला हो ।’ त्यही युद्ध लड्ने योद्धा हुन् लेखक–पत्रकार । तर, के साँच्चिकै त्यही युद्ध लड्ने योद्धा हुन् त लेखक–पत्रकार ? प्रश्न अनुत्तरित छ । अहिले संसारमा ‘सबैसँग सबै’ लडिरहेका छन् । तर, हामी कोहीसँग कोही लड्दैनौं । हाम्रो शत्रु कोही छैन तर, पनि सधैँ छ एउटा–त्यो हो, प्रवृत्ति । जुन प्रवृत्तिमा दुराचार र दुर्भावको गन्ध मात्र हुन्छ ।
व्यक्ति होइन, प्रवृत्तिसँग लड्छन् लेखक–पत्रकार । व्यक्ति जो होस्, प्रवृत्ति लेखक–पत्रकारको शत्रु हो । प्रवृत्ति विरुद्ध चेतना र विचारको गाण्डिव उठाउने हात काँप्छन् भने ती लेखक पत्रकार हुन सक्दैनन् । लेखनदास हुन सक्छन् । एकखाले कलाकार हुन सक्छन् । जसले लेख्छन्, तिनले भोलिको इतिहास पनि लेख्छन् । भोलिको लागि आफूलाई पनि लेख्छन् । आफूलाई चिन्न सकियो भने जीवनमा लडिने सबै युद्ध जित्न सकिन्छ । बुद्धले विशुद्ध निर्वाणको युद्ध लड्नुभो, जित्नु भो । लेखक–पत्रकारले आदर्श समाज र राष्ट्र निर्माणको निर्वाण युद्धका योद्धा बनेर जित्ने गरेका छन् । ती योद्धा हाम्रो सामु छन् ।
लेखन र पत्रकारिता नै एउटा यस्तो युद्ध हो–जित्दा, जितको मजा त छँदैछ, हार्दा हारको लज्जा पनि हुँदैन । लज्जा नहुने युद्ध हार्नुमा पनि सधैँ जित हुन्छ । लेखन–पत्रकारिता नै अर्को एउटा यस्तो युद्ध हो, जहाँ शत्रुलाई पनि बचाइन्छ–दुष्कर्म र पापबाट । दुष्कर्म र पाप नै प्रवृत्ति हो । पापको एक प्रकारको उज्यालोले नै मानिसलाई जीवनभरि अन्धकारमा डुबाउँछ ।
बीपी कोइरालाको ‘मोदी आइन्’ मा मान्छेको एउटा ‘जितोजाग्दो’ बिम्ब छ, ‘ठूला मानिस थरीथरीका हुन्छन्, असल मानिस भने एकथरीका मात्र हुन्छन् ।’
हामी राम्रो देखिन थरीथरीका बन्छौं । कति थरीका नराम्रा अभ्यास गर्छौं तर, असल हुन के गर्छौं ? असल हुन केही गर्नुपर्दैन, खराब मात्र नगरे हुन्छ । देखिनु र हुनुमा यही फरक छ ।
ठूलो होइन, असल मान्छे हुन्, लेखक–पत्रकार † जो एकै थरीका हुन्छन् । सबैले होइन, केहीले यसको पुष्टि गर्नुभएको छ । अप्ठ्यारो छ यो बाटो, त्यसैले यात्री पनि केही मात्र छन् । सजिलो बाटो हिँड्ने सधैँ धेरै हुन्छन्, जो थरीथरीका हुन्छन् ।
सञ्चारले केहीलाई लेखन र पत्रकारिताको धर्ममा बस्न र बाँच्न पनि सिकाएको छ । जो आज बाँचे, ती भोलि पनि बाँच्छन् । अन्ततः बाँच्ने ‘क्वालिटी’ नै हो । गिलो माटोलाई आगोमा पोलेपछि नै त्यो बलियो बन्छ । सुनलाई जति पोल्यो, गलायो, पिट्यो त्यति शुद्ध हुन्छ । रङ त्यति नै गाढा हुन्छ । लेखक–पत्रकार त्यही गिलो माटो र सुन हो । जसलाई जति पोल्यो, गलायो, पिट्यो त्यो त्यति बलियो र शुद्ध हुन्छ । लेखक–पत्रकारले नै हो वर्तमानलाई भविष्यको बाटो डो¥याउने ।
एउटा प्रश्नले खेदिरहन्छ, जुन आँखाले समाजको व्यभिचार र दुर्गन्ध देख्दैनन्, ती आँखाले आफूलाई लेखक–पत्रकार भनेर कसरी देख्छन् ? दुराचारीका तमसुक होइन, ती विरुद्ध नासिल लेखौं । दण्डित गरौं ।
लेखक–पत्रकार त्यही हो, जसले लेख्नुपर्ने कुरा लेख्छ । पच्ने खुराक मात्र खान्छ । ‘कुत्ते कि दाना’ खाएर लेखन र पत्रकारिता गरियो भने जनबोलीबाट निस्कने यी शब्द पनि पचाउनुपर्ने हुन्छ–धिक्कार, कलङ्क लेखक–पत्रकार ।
लज्जा ऐनामा देखिने दाग होइन, आफैले बोध गर्ने ज्ञान हो । कुकर्मको दाग मेट्ने कुनै ‘ब्लिच’ बनेको छैन ।
‘मिडिया’ आफैमा अमूर्त साधन हो । मिडियाका मेसिन भनेका पत्रकार हुन् । राज्यको चौथो अङ्ग ठानिने पत्रकार समाजको दर्पण हो । मिडिया हाउस र अन्य जगत्लाई उठाउने–बसाउने तागत भएको शक्ति हो । पत्रकार । कसैलाई छिनमै ‘हिरो’ र छिनमै ‘किरो’ बनाउने शक्ति हुन्छ पत्रकारसँग । यतिमात्र होइन, पत्रकारले मिडियामार्फत् समाज, राष्ट्र र जनतालाई मार्गप्रशस्त समेत गर्छ । नेपालका हरेक राजनीतिक तथा आर्थिक विकृति र विसङ्गतिको भण्डाफोर गरेर जनतालाई सुसूचित मात्र होइन कि लोकतान्त्रिक व्यवस्थाको बहाल तथा जनताका अधिकार अविच्छिन्न प्रयोगयोग्य बनाउने काममा सबभन्दा अग्रणी स्थानमा नेपाली पत्रकार नै छ ।
त्यसैले पत्रकार र पत्रकारिता क्षेत्रबाट आफ्नो भूमिकाको दुरुपयोग नगरी वा उत्तरदायित्वको ख्याल गरेमा समाज र राष्ट्रमा सन्तुलन कायम गरी सकारात्मक योगदान पु¥याउन सक्छन् । मेसिनरुपी पत्रकार गतिलो भएन भने गुणस्तरीय पत्रकारिता हुन सक्दैन । पत्रकारिता यस्तै महŒवपूर्ण, शक्तिशाली र अति संवेदनशील पेशा हो । पत्रकार भनेको जनताको एउटा प्रतिनिधि हो । उसले जहिले पनि जनताको कुरा लेख्छ । पत्रकार भनेको समाजको दायित्व हो । पत्रकारले पनि आफू सच्चिन जरुरी छ ।
आजभोलि नेपाली प्रेस जगत्मा धमिराको प्रवेश भएको भान हुन थालेको छ । केही मिडिया, नेता र अमुक दलका मुखपत्रका रूपमा प्रस्तुत हुने चलन नेपाल र भारतमा सजिलै देख्न सकिन्छ । यस मामिलामा नेपाललाई भारतले उछिनेको छ । पत्रकारिता जब खुलेआम पार्टीका भातृसङ्गठनको रूपमा विकास भएको अवस्थामा ल्याइएको मिडिया काउन्सिल विधेयकमा विरोधको चर्को स्वर नसुनिनुमा खासै अचम्म लाग्दैन । प्रेसबाट र प्रेसका कारण सचेतना अपनाएर पाइला अघि बढाउने राजनीतिकर्मी प्रेसमाथि आफ्नो तजबिजी कानूनी हथौडा चलाउन रत्ति पनि लाज मान्दैनन् । तिनलाई थाहा छ, तिनका पार्टीभित्र पत्रकारले पनि भातृसङ्गठनको भूमिका निर्वाह गरिरहेका छन् । जो आफ्ना नेताविरुद्ध कडारूपमा प्रस्तुत हुन सक्दैनन् ।
यस्तै ताल रहे सरकारको स्वेच्छाचारिताको ग्राफ बढ्दै जानेछ । मुन्टो उठाइसकेको भ्रष्टाचारी अझ बलियो हुँदै जानेछन् । नेपालको लोकतन्त्र बदनाम हुनेछ । हामीले के बिर्सनुहुन्न भने लोकतन्त्रमा जब शासकले सत्ता दुरुपयोग गर्छ, त्यसलाई भण्डाफोर गर्ने हतियार प्रेस हो । प्रेसजगत्का लागि अहिले प्रतिकूल परिस्थिति सिर्जना भएको छ । प्रेसजगत्माथि सरकारको रुखो व्यवहारलाई दर्शाइरहेको छ । आवाज उठाउँदा शासकले ‘हल्ला’ भनेर हलुका रूपमा लिइरहेको छ ।
वास्तविकता के हो भने अहिले प्रेसमाथि लगाउन खोजिएको अङ्कुशले वैधानिकता पाइहाल्यो भने कालान्तरमा लोकतन्त्रका लागि घातक सिद्ध हुने निश्चित छ । पत्रकारको राजनीतिक सिद्धान्त होला । तर, पत्रकार कुनै अमुक दल वा नेताको वकालतकर्ता हुनुहुँदैन । पत्रकार भनेको कुनै खास व्यक्ति होइन, अपितु निमुखाका आवाज हुन्, भएका छैनन् भने हुनुपर्छ । त्यही भएर पनि कुनै दलको दबाव वा प्रभावबाट मुक्त भई प्रतिकूल विमानमा उड्न लागेको नेपाली प्रेसजगत्लाई अनुकूलतम चौरमा अवतरण गराउन एकजुट भई आवाज बुलन्द पार्नुपर्छ ।
नागरिकले प्रेस स्वन्त्रतालाई पत्रकारको विषय ठान्नु हुँदैन, यो त नागरिकको सुसूचित हुने अधिकारको विषय हो । त्यसैले पत्रकारिता र नागरिकबीचको सम्बन्धलाई व्यवसायिक दृष्टिकोणबाट मात्र नहेरी मानवीयता, सामाजिक न्याय तथा मानव अधिकारको कोणबाट समेत आत्मसात गर्नु आवश्यक छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनतर्फ अगाडि बढेको नेपाली समाजमा पत्रकारिताको परम्परागत भन्दा पनि नवीन तथा खोजपूर्ण पत्रकारिताको भूमिका बढी अपेक्षित हुनु स्वभाविकै हो । अबको पत्रकारिताले समृद्धि र विकास ल्याउन बाञ्छनीय छ ।