ब्लाष्टखबर । बडादशैंको सातौं दिन । सप्तमी तिथि अर्थात आज फूलपाती। सनातन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो ।  आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

आज देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् ।

यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ । 

आजकै दिन गोरखा दरबारमा भने साइत हेरी भृकुटी सुसारेहरुले दरबार क्षेत्रमा रहेको जंगलबाट ल्याएका नवपत्रिका अर्थात नौ खालका फुलहरु- जयन्ती, अशोका, वेलपत्र, केरा, उखु, सामा, धान, फुन्द्रेका फूल सतिपिपलको निसान सिंगार्ने चौतारोमा राख्ने र गोरखा दरबारबाट बाजागाजा सहित आएका कलस्यौडीहरुले मालश्री गीत गाउँदै बाजा बजाउँदै फुलपातीलाई डोलीमा राखेर गोरखा दरबारमा भित्र्याउने गर्दछन् । फुलपाती दरबारभित्र भित्र्याउँदा कालो बोकाको बली दिने चलन रहेको छ । 

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको हनुमानढोका हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिए ।

घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने  गाउँघरमा तिर दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङ थाप्ने तथा सहरिक्षेत्रमा दशैकाे समयमा मेला महाेत्सव हुने भएपनि यस वर्ष काेराेना महामारीका कारण अघिल्ला वर्षहरूमा जस्ताे दशैंकाे रौनकता देखिएकाे छैन । देशका शक्ति पिठ, मठ मन्दिहरूमा अझै निसेधाज्ञा जारी गरिएकाे छ ।