राजकुमार दिक्पाल
नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति वैरागी काँइलाको साथ लागेर सिक्किमको साँस्कृतिक तथा साहित्यिक भ्रमण समापनपछि म आफ्नो घर निस्केँ, आमालाई भेट्न । र केही ब्यावहारिक काम पनि थियो ।
एकातिर साँइला दाजु र आमा मेरो लागि मीठा मीठा खाना बनाउन ब्यस्त । लोकल भाले काटिएको थियो । म चाहिँ एकतमासले छटपटाइरहेको थिएँ । मेरो टोल सुनसान थियो । कुनै बेला ठूलै संख्यामा पाहुनाहरुको स्वागत गर्ने हाम्रो घरको आगन कोशी पहाडलाई जोड्ने मूलबाटो थियो । मोटरबाटो आएपछि हाम्रो घर पाहुनासुन्य हुँदै गयो । कुनै बेला मदन भण्डारी, अशोक राई, राजेश बान्तवा, चित्र निरौला, रमेश खनाल लगायतका कम्युनिस्ट भूमिगत नेताहरुलाई समेत आवासिय सुरक्षा दिएर नेपाली राजनीतिको परिवर्तनका लागि समर्पित हाम्रो घर सुन्यबाट महासुन्यजस्तो लाग्न लागेको अवस्थामा म घर पुगेको थिएँ, कुरा प¥यो, १० वर्ष अघिको ।
बाल्यकालदेखि नै आफ्नो घरमा ठूलो सङ्ख्यामा पाहुनाहरुको स्वागत गरेको देखेर भोगेर आएको ब्यक्ति परेँ म ।
यतिखेर धनकुटा नगरको बत्तिमुनिको अँध्यारो बनेको छ, मेरो टोल । यस्तो सुनसान अवस्था र विगतको सम्झनामा रुमलिदै जाँदा तरक्क आँखाबाट दुई थोपा आँसु भूँइमा खस्न नपाउँदै मैले हत्केला आँखातिर पु¥याइहालेँ । संयोग पनि कस्तो भने ठ्याक्कै त्यतिखेर एक जना भोजपुरतिरका पुराना परिचित भाँडा ब्यापारी हाम्रो घरमा आइपुगे । आनन्दको सास फेरेँ र पिसाव फेर्न पाइखानातिर हिँडे । सोचेँ, ‘गजबैले कुराकानी गरिनेछ । घरमा पाक्दै गरेको मासुभात उनलाई पनि खुवाएर सत्कार गरिनेछ ।’
तर पाइखानाबाट फर्कदा उनी त त्यहाँबाट हिँडिसकेका रहेछन् । लाग्यो, घरमा मीठा मीठा पाकवान पाकिरहेको बेला उनलाई अलि अप्ठ्यारो भयो होला र उनी त्यहाँबाट हिँडिहाले । त्यसपछि मैले सञ्चारकर्मी तथा प्राध्यापक मित्र तिलविक्रम चेम्जोङलाई फोन गरे, उहाँ मेरो टोलदेखि अलिमाथिको भाषा क्याम्पसको प्रमुख हुनुहुन्थ्यो । भनेँ, ‘हाउ सुब्बा, पढाइसकेर रेडियो नेपालतिर फर्कदा मेरो घरमा निस्कने कष्ट गर्नुस् है ।’
‘हाउ, आइहाल्छु नि सुब्बा’, उहाँको जवाफ । हामी दुई एकापसमा ‘सुब्बा साव’ले सम्बोधन गर्छाँै । उहाँको आगमनपछि मात्र आनन्दले घरमा खानपिन गरियो । कम्ति मज्जा आएन !
यसरी मलाई पाहुनाको स्वागत गर्ने बानी बसेको हो ।
कर्म गर्न काठमाडौँतिर
सामान्य सपना लिएर काठमाडौं छिरेँ म । सुरुमा भाञ्जा हरेन्द्र लावतीसँग ताहाचलमा बसेँ, तीन महिनापछि मैतिदेवीमा डेरा सरेँ । मैतिदेवी डेरा सर्नुको कारण थियो, मेरो रात्रीकालिन जागिर । हङकङबाट किसन राईले प्रकाशित गर्नुहुने ‘एभरेस्ट’ दैनिक (हालःमासिक खबरपत्रिका)को सबै काम काठमाडौंको मैतिदेवीस्थित कार्यालयबाट हुन्थ्यो । म पनि त्यहाँ आवद्ध भएँ । त्यहीँ बेला त्यो कार्यालयमुनिको एउटा लाम्चो कोठा खाली भयो । म त्यहाँ भाडामा बस्ने भएँ ।
क्या, घरपायक जागिर, माथिल्लो फ्ल्याटमा अफिस, तल्लो फ्ल्याटको एउटा कोठा चाहिँ हाम्रो डेरा । हामी अर्थात्, जनकऋषि राई र मोजेस राईसहित मेरो । काठमाडौंमा डेरावालाहरु पाहुना आउँदा त्यति खुसी हुँदैनन् । मचाहिँ आफ्नो कोठामा पाहुना आउँदा बडोखुसी हुने खालको मान्छे । मलाई पाहुना आएको असाध्यै मन पर्छ अहिले पनि । तर उनीहरुको गुण र दोषको आधारमा त्यहीँअनुसार ब्यवहार पनि गर्ने गरेको छु मैले । एउटा गजबको अवसर चाहिँ के भने त्यो मैले डेरा बसेको घरका घरबेटी त्यहाँ बस्दैनथे । त्यो एउटा अर्को राहत थियो ।
मैतिदेवीको त्यो डेरा कोठालाई मैले ‘मैतिदेवी धर्मशाला’ नामाकरण गरेको थिएँ । हामी तीन जनाका साथी र शुभचिन्तकहरुको जमघट हुने गथ्र्यो त्यहाँ । बाँडीचुडी खाइन्थ्यो, लस्कर लागेर सुतिन्थ्यो अनि सुखदुःख र आँसु हाँसो साटासाट गरिन्थ्यो । त्यहाँ धेरै अविस्मरणीय घटनाहरु घटे । केही चाहिँ यहाँ लेख्न मन लाग्यो ।
जनकऋषिको हाँसो
जनकजीको हाँसो नै विचित्रको । उहाँ आफू हाँस्दा हाँस्दै आफ्नै हाँसोका कारण थप अर्थात् बोनस हाँसो हास्ने मान्छे । जनकजीको फेभोरेट थियो कार्टुन । हामीलाई थाहा छ, कार्टुनमा स्टेप स्टेपमा हाँसो हुन्छ । कार्टुनको लय अनुसार जनकजी कार्टुन हेर्दै हाँस्ने । हाँस्दै हाँस्दै ब्रेक लाउने अनि फेरि हाँस्ने ।
फेरि अर्को रुम पार्टनर पनि कस्तो पर्यो भने, एउटालाई विभिन्न प्रसंग निकालेर हँसाइरहनुपर्ने अर्काेलाई हाँसिरहनुपर्ने । मोजेस हो नि, हँसाइरहनुपर्ने मान्छे ।
‘ए, राजकुमार...’ माथिबाट सम्पादकज्यूको बोलावट आयो । सम्पादक अर्थात् आनन्द पी. राई । ‘हजुर दाई’, मेरो उपस्थिति । सोचेको थिएँ, केही असाइन्मेन्ट होलान् । ‘त्यो जनकलाई हाँसो बन्द गर भन त’, सम्पादकज्यूको आदेश ।
‘किन दाई ?’
‘त्यो हाँसेको सुनेर टोलभरिको कुकुर भुक्न थाल्छ क्या !’ चुरोटको धुँवा फ्याँकेर आनन्द दाईले गम्भीर मुद्रामा भन्नुभयो । आनन्द दाई साह्रै गम्भीरमान । उहाँको ओँठको हाँसो निक्कै दूर्लभ लाग्छ मलाई ।
यो सन्देश लिएर जनकजीकोमा पुगेँ । फेरि सन्देश सुनेर उनी आफै हाँसेरै मरणासन्न ! सन्देश पनि कस्तो ? आफैमा हाँस उठ्दो ! यता जनक हाँसेको हाँस्यै, उता आनन्द दाई रिसले फुलिएर बसिरहेको । हैट, माओवादी सेना समायोजनजस्तो प¥यो त्यो समेको हाँसो र आक्रोशबीचमा पर्दा मलाई चाहिँ
चोरले हैरानी पार्दा
डम्बरकृष्ण पहिलोपटक मेरो कोठामा पाहुना लाग्न आएका थिए । उनलाई पछ्याउँदै रविन गिरी पनि आएका थिए । दशैँको मुख थियो । रविन ‘द हिमालयन टाइम्स’मा पारिश्रमिक बुझ्न आएका थिए र डम्बर चाहिँ कामना प्रकाशन समूहको जमानतमा नयाँ मोटरसाइकल किस्ताबन्दीका किन्न ।
उनीहरुलाई कोठामा स्वागत गर्न पाउँदा मेरो भूँइमा खुट्टा थिएन । त्यतिखेर हामीसँग एक जना बाँसुरीवादक पनि थिए, दिपक नामका । बिहान ब्यूँझेको त, आफू सुतेकै कोठाबाट केही सामान गायब छन् । हल्ली खल्ली मच्चियो । झ्यालबाट चोरले पाइन्ट जति तान्दै पैसा चाहिँ लगेर लुगाफाटो बाटाभरि फ्याँकिदिएछ । नयाँ मोटरसाइकल किन्ने उद्देश्यका साथ आएका डम्बरकृष्ण निक्कै ठूलो घाटामा परे ।
फेरि अर्कोपटक । रातको तीन बजेतिर ट्वाइलेट निस्केँ । करिडोरमा बडो बेवारिसे रुपमा मेरो एउटा पाइन्ट देखेँ । अर्कातिर मेरो वालेट त्यस्तै हालतमा । वालेट मात्र छ, त्यहाँ रहेको पैसा चाहिँ छैन । साथीहरुलाई उठाएँ । फेरि हल्लीखल्ली ।
कोठामा चोर पसेछ, मस्त रुपमा भाते निद्रामा सुतेकालाई के पत्तो ? तर त्यो बेला भगत चोङबाङको पैसा चाहिँ चोरिनबाट बच्यो । उनले साह्रै थोत्रो टेलिफोन डाइरेक्ट्रीभित्र हजारका पाँच वटा नोट राखेका रहेछन् । त्यो बच्यो । हामीबाट त्यो बेला पाँच हजार जति चो¥यो होला, त्यो अज्ञात चोरले । ठूलै रकम हो त्यसबेलाको । त्यतिखेर तीन सय रुपैयाँमा एक बोरा चामल किन्न पाइन्थ्यो ।
फेरि जुत्ता चोरी हुन थाल्यो । कवि देवान किराती हाम्रो घरको पाहुना थिए । पाहुना लागेको दोस्रो दिन उनको जुत्ता चोरी भयो । लगात्तै प्रदीप मेयाङ्बोको । देवानलाई मैले निशर्त आफ्नो नयाँ जुत्ता दिएँ, तर मोजेसले प्रदीपलाई सशर्त जुत्ता दिए । उनको सर्त यियो, ‘प्रदीप, यो जुत्ता लगाएवापत भाडा तिर्नुपर्छ । यो जुत्ता लगाएर जति तिमी हिड्छौ नि उति नै मिटर चढ्छ ।’ हा...हा..।
यसरी जुत्ता चोरिन थालिएपछि हामीले हाम्रा जुत्ता कोठाभित्र राख्न थाल्यौँ । मोजेस चाहिँ बडो जान्ने भा को । मोजेस जोडी जुत्तामध्ये एउटा कोठा बाहिर र अर्को कोठाभित्र राख्दै भन्थे, ‘लु त्यो चोरले एउटा मात्र जुत्ता चोरोस् त कसरी चोर्दो रहेछ ? यस्तो विजोडी जुत्ता पनि चोरले चोर्ला त ?’ कागभन्दा कोइली चङ्खो। तर त्यही एउटा जुत्ता चोरले लगेर खोलातिर फ्याँकि दिएको भए के हुने थियो होला ?
टेलिभिजन नशाले पखालाको शिकार
म आफू काठमाडौं आएपछि साथीहरुलाई काठमाडौंमा आउन आग्रह गर्न थालेँ । यसरी मेरो आग्रह वा उत्प्रेरणा वा उनीहरुले गरेको अवसरको खोजी कारण काठमाडौं आएर ‘हिमाल खबर’ जस्तो मिडियाको कार्यकारी सम्पादक र बीबीसीमा कार्यरत रहने क्रमश रविन गिरी र ओमआस्था राई बधाईका पात्र छन् । डम्बरकृष्णलाई पनि मैले काठमाडौमा रहेर पत्रकारिता गर्नका लागि निक्कै वटा वाक्यहरु खर्चेको थिएँ ।
मेरो आग्रहलाई स्वीकार गर्दै प्रदीप मेयाङ्बो पनि काठमाडौं आए । उनको बास मेरो कोठामै हुने भइहाल्यो । उनी पनि रुम पार्टनरका रुपमा थपिए । फूटबलको वल्र्डकपको समय थियो । मोजेसले टेलिभिजन किने । दशरथ रङ्गशालामा टोलकप हेर्दा हेर्दा थकीत उनले वल्र्डकप हेर्नका लागि टिभी किनेका थिए । यता प्रदीप च्यानल फेरि फेरि राती अबेरसम्म ब्यस्त, कहिलेकाहिँ बिहानसम्म टेलिभिजन हेरिरहन्थे ।
हाम्रो कोठाबाट एक रात रिमोट कन्ट्रोलर गायब भयो । सबै जना मिलेर खोज्यौँ, भेटिएन । जाबो रिमोट चोरले लाने कुरा पनि भएन । रिमोट हराएको दुई दिनपछि प्रदीपलाई पखाला चल्न थाल्यो । कुरा के भने रिमोट हराएपछि च्यानल परिवर्तन गर्न त सेटमै पुग्न प¥यो । फेरि क्षणक्षणमा च्यानल परिवर्तन गरिरहन टेलिभिजन सेट छेउमै बस्न पर्यो । लामो समय बस्न परेपछि टुक्रुक्क बस्न पनि मिलेन, थ्याच्च पलेटी कसेर बस्न प¥र्योे । टेलिभिजनप्रेमका कारण भूँईको चिसोले सताउने नै भयो । त्यसपछि केही दिन पखालापीडित भए उनी ।
प्रदीपलाई पखालाले सताउन थालेको दुई दिनपछि, तब रिमोट पनि भेटिइहाल्यो । मेरो किताबको र्याकपछाडी लुकिरहेको रहेछ, त्यो बजिया रिमोट ।
आलु उसिन्दै भीसा पर्खदै
एक जना साथी बडो उत्साहित हुँदै धरानबाट काठमाडौ आइपुगे । बास मैले सञ्चालन गरेको ‘धर्मशाला’मा थियो । ती साथी सिंगापुर यात्राका लागि आएका थिए । एउटा संस्थाले सिंगापुरमा साङ्गितिक कार्यक्रम गर्न लागेको रहेछ । यता नेपालका तर्फबाट कार्यक्रम संयोजन गर्ने जिम्मा एक जनाले लिएका रहेछन्, सोलखुम्बुका थुलङ राईले ।
आज भन्यो, भोली भन्यो । भिसाको अत्तोपत्तो छैन । अब गर्ने के ? उता आयोजक चुपचाप, काठमाडौंमा रहेका संयोजक गायब । अर्कातिर इटहरीबाट प्रशारण हुने एउटा रेडियोले उनै साथीको नाम फुकेको फुक्यै रहेछ, ‘...को सिंगापुर यात्रा सफल रहोस् । शुभयात्रा ।’
यस्तो शुभकामना पाउने ब्यक्ति चाहिँ काठमाडौंमा विलखबन्द । बास र गाँसको अभाव त थिएन । हाम्रो कोठाको मूलढोका सामुन्ने एउटा पसल थियो । समय कटौती त गर्नै प¥यो । त्यहीँ पसलबाट ती साथी आलु किनेर ल्याउँदै उसिनेर खाँदै समय ब्यतित गर्दारहेछन् । कहिलेकाहिँ म कार्यालयबाट दिउसै कोठातिर फर्कदा साथीहरु स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै आलु खाइरहेका हुन्थे । यसलाई आलु काण्ड भन्न रुचाएँ मैले ।
चलचित्र ‘भ्रम’को परिकल्पना
हामीमध्येका एक जना साथी गम्भीर प्रेममा परे । त्यो बेलासम्म हामी छुट्टाछुट्टै भइसकेका थियौँ । एक साँझको कुरा । हामीबाट छुटेर गएका ती साथीको कोठा ढक्ढक्याउँन पुगेँ, ‘हेल्लो के छ यार ?’
‘हि..हि..हि.. दाई आउनुस् न’, ती साथी बडो उत्साहित थिए, अलि लजाएर बोलेजस्तो पनि लाग्ने । उनले भने, ‘एउटा खुसीको कुरा छ ।’
यति भनिसक्दा ती साथीले तीन चार चोटी आफ्नो बानीअनुसार दाहिने हातले देब्रेतिरको छाँती ठोके ।
एउटा विवाहको प्रसँग जोडौँ है यहाँनेर ।
विवाह सन्दर्भमा दुलहीको बुवाले ज्वाँईको कुल घराना हेर्ने गर्छन् । आमा चाहिँले छोरीलाई ज्वाईंले राम्ररी पालनपोषण गर्लान् कि नगर्लान् भन्ने चिन्ता ब्यक्त गर्छिन् । अनि जन्तीले चाहिँ भोजमा मीठो खान पाइन्छ कि पाइदैन यति मात्र सोच्छ ।
म परे त्यो सन्दर्भमा जन्ती । विवाहोन्मुख ती साथीलाई उधारोमा बधाई दिन मन लागेन । भनेँ, ‘यो उपलक्ष्यमा केही त खान प¥यो नि !’
उनी गुडुडु कुदिहाले । एउटा हृवास्कीको क्वार्टर ल्याएर मेरो सामुन्ने ठड्याए, र भने, ‘म ....सँग विहे गर्दैछु दाई ।’ तर त्यो सन्दर्भलाई मैले कसरी बुझेँ हुँला? सामान्जस्यता मिलेजस्तो लागेन कता कता । तर पनि शुभकामना दिएँ । अनि हृवीस्कीको पेग घुटुक्क पारेँ ।
तर ती साथीले उनको विवाहोन्मुख स्त्री, जसको नाम लिए, ती स्त्रीबाट उहिल्यै एक जना मित्र नक्कली प्रेमको बाणले मरणासन्न भई पुन ब्यूतिएका थिए ।
भाई विश्वासदीप तिगेलाले आफ्नो नवनिर्मित नयाँ बानेश्वरस्थित घरमा खान बोलाए, एक साँझ । कमल तिगेला, हरि खेवा (स्वर्गिय पूर्व अर्थराज्यमन्त्री) का साथ म त्यहाँ पुगेँ । राती निद्रा परेन । त्यो बेला मोबाइल फोन दूर्लभ थियो । हामीमध्ये कमलजीसँग मात्र मोबाइल थियो । उहाँको त्यो फोन सेट लिएर एक जना साथीलाई फोन गरेँ र भनेँ, ‘..को ...सँग विवाह हुँदै रहेछ । लौ मैले त पार्टी पनि खाइसकेँ है ।’
हत्तेरी । भोलीपल्ट धरानमा ठूलो हल्लीखल्ली मच्चिएछ हामीहरुको सर्कलमाझ । सम्बन्धित नारी पात्रको तर्फबाट रुवाबासी मच्चिएछ । यो खबर मलाई धरानबाट मोजेसले बडो गम्भीरतापूर्वक सुनाए । हैट ! काम बिगारेछु मैले । तर यता काठमाडौंको पुरुष पात्रलाई कुनै अत्तोपत्तो दिइएन ।
त्यो बेला पवन भाई हुरी बतासजस्तै मेरोमा आईपुग्थे । आउँथे, गफिन्थे र फर्कन्थे । उस्तै परे आफै खाना पकाउँथे हामीलाई पनि खुवाउँथे । उनैले ती नारी पात्रको ब्लोअप छापिएको पत्रिका ल्याइदिए, एक दिन ।
किशोर थुलुङले त्यो पोस्टरलाई राम्ररी ओल्टाइपल्टाई गरे । र पोस्टरमा केही लेख्न थाले । पोस्टरमा किशोरले लेखे, ‘चलचित्र भ्रम ।’
त्यो पोस्टर सम्बन्धित साथीको कोठाको भित्तामा टाँसे भाईहरुले । चलचित्रका सम्बन्धित पात्र ती साथीले विरोध गर्लान् कि भनेको केही भनेनन् । एक साँझ जसकुमार ती साथीको कोठामा पस्दा उनले एउटा बडो मार्मिक दृश्य देखेछन्, ती साथी स्टोभमा दम दिदै पछाडीको भित्ताको त्यो ब्लो अप पोस्टर हेर्दै गरेको देखेछन्, जसकुमारले । यो प्रेम समर्पण थियो कि भ्रम छुट्याउन सकिनँ मैले ।
प्रेमका दुश्मनहरु
जसकुमार पनि आएका थिए । खान बोलाउनुभयो, प्रकाश हुक्पा चोङबाङले । खाएर फर्कदै थियौँ । बाटो प¥यो, पुरानो बानेश्वर चोकमा । ‘ए रोकिई’, पुलिस बीटबाट आवाज आयो । सङ्कटकाल थियो । तर हामीसँगै एक जना सिभिल ड्रेसमा पुलिस अफिसर हुनुहुन्थ्यो । उहाँ हाम्रो साथी । हामी फर्कदा बाटोमा मोजेसलाई पुलिसले अवरोध गर्न खोज्यो । कारण थियो, उनीसँग कोही महिला । दुई महिलाले साथ दिएका थिए मोजेसलाई । उनी स्यान्डवीचको अवस्थामा । अनि पुलिसको हवल्दारले बाटो छेकि हाले ।
हामीसँग हिडिरहेका हाम्रा पुलिस अफिसर साथीले आफ्नो परिचय पत्र देखाएर भने , ‘यिनीहरु त्यस्तो केही होइन, छाडिदिनुस् ।’ तर हवल्दारले उल्टै डाइलग मारे, ‘सरजस्तो मान्छेले पनि यस्तो कुरा गर्ने ?’
अन्ततः हाम्रा साथी छाडिए ।
हाम्रा पुलिस अफिसर साथी पनि के कम ? उनले पनि डाइलग मारिहाले, ‘ल, केटा हो ड्यूटी चाहिँ राम्रो गर है ।’
कोठामा आएपछि पो हाम्रो गइसकेको सातो फर्किएछ । हामीले ती प्रहरीसँग रिसाउन पनि बिर्सिएछौ । कोठामा आएर मैले आक्रोश पोख्दै भने,‘साला प्रेमका दुश्मनहरु !’
मैले यति के भनेको थिएँ, मोजेस मुस्कुराए, हि...हि...।
त्यो तौलिया काण्ड
मेरो त्यो कोठामा जमघट भइरहने । दुई जना पुलिस अफिसर साथीहरु आएका थिए । साथमा हुनुहुन्थ्यो, ‘म मरेको पल तिमी डोली चढ्नु...’ जस्ता गीतका चर्चित गीतकार बीरेन्द्र राई । खाने पिउने कार्यक्रम सकियो ।
बाहिर बाटोमा एउटा अनौठो दृश्य देखेँ । एक जना मानिस अर्धनग्न अवस्थामा । मुनिको भाग चाहिँ तौलियाले बेरेको । ती त मोटर साइकल पो स्टार्ट गर्न खोज्छन् । मोटरसाइकल एउटा पेट्रोलले काम गरिरहेको, अनि मोटर साइकल चलाउनेलाई चाहिँ ‘अर्को पेट्रोल’ले काम गरिरहेको । हाम्रो सर्कलबीचमा चर्चित यो काण्डका पात्र हुन्, जसकुमार राई । हामीले यसलाई ‘तौलिया काण्ड’ भन्ने गरेका छौँ ।
मध्यरातमा मेरो जन्मदिवस
आजभोली म आफ्नो बर्थ डे धुमधामले मनाउँछु । त्यो चाहिँ फेसबुकको कारणले । बधाई दिने प्रियजनहरुको बधाई थाप्छु, खुब रमाइलो लाग्छ । मैले मेरो जन्मदिन भनेर आफैले पहल गरी मनाएको म आफैलाई थाहा छैन । मैतिदेवीको त्यो डेरामा एक दिन धुमधामको मेरो बर्थ डे पार्टी भयो ।
जसकुमार र डम्बर आएका थिए । खाइयो, पिइयो । रमाइलो गर्दै रेलाठट्टा मच्चिइरहेको थियो । राती अबेर भइसकेकोले मैले भनँे,‘लु अब चाहिँ सुतम् है साथीहरु ।’
‘पख्नुस् एकछिन’, जसकुमारको आदेश । खस्याङ खुसुङ के के गरेको जस्तो लाग्यो उनले । त्यसपछि एउटा गिफ्ट प्याक मेरो हातमा थमाउँदै जसकुमारले र डम्बरकृष्ण ताली पड्काउन थाले, ‘ह्याप्पी वर्थ डे टु यु ।’
‘तिमीहरुले के भन्न खोजेको ?’ म हल्का झोक्किएँ । डम्बरकृष्णले हाँस्दै भने, ‘अनिखेर आज तपाईंको जन्मदिन होइन त !’
‘ए हो त हगि ?’ मध्यरातमा म आफै चकित ।
पत्रकारितामा मैले नै ल्याएको हुँ, जसकुमार र डम्बरकृष्णलाई । तर उनीहरुले पो मेरो जन्मदिन मनाए भब्यतापूर्वक ।
अब पालो आयो, गिफ्टप्याक खोल्ने । खोलेर हेरेको त हर्लिक्स पो रहेछ । त्यसपछि जसकुमारले भने,‘राती राती रक्सी खाए पनि बिहान बिहान हर्लिक्स खाऊँ ज्यान बचाऊँ ।’
यो नारालाई जवाफ दिन मसँग शब्दहरु थिएनन्, त्यो बेला ।
तर म मेरो काठमाडौँ डेरामा जो कोहीलाई सहज ढङ्गले स्वागत वा प्रवेश गर्न दिन्नथेँ । कतिपयलाई बाहिरबाहिरै चिया वा कतिपयलाई त रक्सी नै प्रायोजन गरेर विदा गरिदिन्थेँ ।
किनकि मैले यो मार्गदर्शनका लागि एउटा कविता पहिल्यै पढिसकेको थिएँ । म कवि बासु शशिको ‘पर्खाल लगाउनुअघि...’ शीर्षकको कविता लेखेर यहाँ वाचन गर्छुः
पर्खाल लगाउनुअघि विचार गर्नुपर्छ
किनकि पर्खाल लगाएपछि
पर्खालभित्र पर्नुपर्ने मान्छे
पर्खालबाहिर हुन सक्छ
पर्खाल बाहिर रहनुपर्ने मान्छे
पर्खालभित्र हुन सक्छ
त्यसैले पर्खाल लगाउनुअघि विचार गर्नुपर्छ ।...