—गोपाल दाहाल
धरानको सामाजिक क्षेत्रमा गजेन्द्र इस्वो लिम्बु स्थापित नाम हो । विशेषगरी ब्रिटिस गोर्खा भूतपुर्व सैनिकहरुको अधिकारका लागि अथक योद्धाका रुपमा लड्दै आएका इस्वो धरानका सामाजिक विकृति विरुद्धका पनि योद्धा थिए ।
धरानको विकास, सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय इस्वो ५९ वर्षको उमेरमा १८ कार्तिक २०७७ को बिहान संसारबाट अस्ताए । उनले संसार छाड्दा उनको परिवारले मात्र गुमाएन, जनता समाजवादी पार्टीले एक असल नेता गुमायो, आदिवासी समुदायले एउटा अधक अधिकारकर्मी गुमायो, गोर्खा सैनिक र उनका परिवारले बिट्रिस सरकारसँग समानताको आन्दोलन लडेर धेरै अधिकार दिलाउने योद्धा गुमायो । समग्र धरानले एउटा विकास प्रेमी अभिभावक गुमायो । ब्रिटिस सैनिक जीवनबाट अवकास पछि जीवनभर आफ्नो समुदाय, समाज र देशका लागि लडिरहे । पछिल्लो समय छालाको क्यान्सर र सुगरसँग लड्दै आएका उनी कोरोनासँग भने लड्न सकेनन् ।
उनी अस्ताएपनि उनले नेतृत्व गरेका गोर्खा सैनिक भवन, गोर्खा स्मृति पार्क, गोर्खा सहकारी, गोर्खा कम्प्लेक्स लगायतले उनलाई सदा जीवन्त बनाईरहने छन् ।
ब्रिटिस बिरुद्ध लडाईं
२०३४ सालमा १६ वर्षको उमेरमा ब्रिटिस सैनिकमा भर्ना भएका इस्वोले जीवनका उर्जाशील १६ वर्ष ब्रिटिसको रक्षाका लागि पसिना बगाए । १० जिआरमा सिपाईंदेखि स्टाफ सार्जेन्टसम्म हुँदा उनले युद्ध त लड्नु परेन तर अवकाश पछि भने ब्रिटिस बिरुद्ध नै लडे ।
पेन्सनपछि पनि भूतपुर्व गोर्खा सैनिकहरुका लागि गोर्खा रिजर्व युनिट (जिआरयु) भन्ने सेक्युरिटी गार्डमा अवसर हुन्छ । इस्वो पनि २०५२ सालमा बु्रनाई जिआरयुमा गए । ब्रुनाईमा सुल्तानको गार्डमा भर्ना भए ।
पल्टनमा ब्रिटिस र गोर्खाली सैनिक बीच असमान व्यवहार खेपेका उनले जिआरयुमा पनि त्यस्तै व्यवहार सहन सकेनन् । एक बर्ष काम गरेपछि सन् १९९६ अक्टोबरमा ब्रुनाई जिआरयुको आन्दोलन सुरु भयो । उनीहरुका चार सुत्रिय मागहरु थिए, समान पेन्सन, भुपुले ब्रिटिसको अनुबन्धित जागिर पाउनु पर्ने, बालबच्चाको पठनपाठनको ग्यारेन्टी र ननपेन्सनरलाई पेन्सन ।
यता गोर्खा भूतपुर्व सैनिक संघ (गेसो)को आन्दोलन अगाडि बढिरहेको थियो । उनीहरुले जिआरयुमा पनि समिति गठन गरे । तारको घेराभित्र आन्दोलन सुरु भयो । उनीहरु बु्रनाई सुल्तानको सेक्रेटी गार्ड भएपनि गतिशिल सिपाई जस्तो जंगल तालिममा जानु पर्ने नियम थियो । तालिममा राशनपनि पाईदैनथ्यो । आफनै खर्च हुन्थ्यो । त्यसपछि जंगल जाँदैनौं भनेर उनीहरु आन्दोलित भए ।
जंगल तालिममा लगे सेवा सुविधा र पेन्सको ग्यारेन्टी मागे । आन्दोलन चर्चिंदै गयो । चारैतिर आन्दोलन चर्किन थालेपछि गोराले कडाई गर्न थाल्यो । धेरै साथीहरु डराएर हामी त होइन भन्दै लुरुक्क परे । तर इस्वोहरु चाहिं ‘हाम्रो माग सहि छ’ भनेर लागे ।
‘आन्दोलनको नेतृत्व गर्नेहरु को को हो ?’ भनेर सोधे गोराले । इस्वोले ‘म पनि हो’ भनेर जवाफ दिए । त्यसपछि नेतृत्व गर्ने उनीसहित ११ जनालाई पक्राउ गरेर ‘जुन पोजिसनमा छन् त्यहि पोजिसनमा घर पठाउने’ तयारी भयो । कोहि चप्पलमा, कोहि भेष्टमा, कोहि कम्ब्याटमा थिए । त्यहि अवस्थामा घर फिर्ता पठाउन एयरपोर्ट पु¥यायो ।
उनीहरु माथि त्यस्तो व्यवहार भएपछि अरु गोर्खालीले जिआरयु घेरा हाले । क्याम्पमा गोर्खालीहरुले विद्रोह नै सुरु गरेपछि ठुलो हङगामा भयो । गोर्खालीले जिआरयु क्याम्प कब्जा गरे । त्याहाँको हाकिम कर्नेल स्कटसनलाई पनि कब्जामा लिए । धेरै ठाउँमा तोडफोड भयो ।
त्यसपछि सिभिल पुलिसले अनुसन्धान गरे अनि उनीहरुलाई फर्काउन गोराहरु एयरपोर्टमा पुगे । त्यसपछि ११ जना मध्ये अरु घर फर्किए गजेन्द्र इस्वो, रामनारायण कन्दडवा, नरेन्द राई र पुरञ्जन राई उनिहरुसँगै गए ।
उनीहरु जिआरयुमा पुग्दा गोर्खालीले कमाण्डरलाई टेवलमा उभ्याएका थिए । उनीहरु फर्किएपछि छाडिदिए । त्यसपछि २४ घण्टाभित्र कर्नेल स्कटसनलाई हटाउने घोषणा भयो । जिआरयुको माग अनुसार मलेसियनलाई हाकिम बनाइयो । बन्दुक र जंगल तालिमपनि हट्यो । तर उनीहरुका बिषयमा भने मुद्धा चलाइयो । विद्रोही गोर्खालाई के गर्ने भनेर कमन वेल्थमा कुरा पुग्यो । त्यसपछि अन्य गोर्खाहरु सुल्तानको सेक्युरिटी रहने तर आन्दोलनको नेतृत्व गर्नेलाई बर्खास्त गरेर घर पठाइयो । इस्वोहरुलाई कारबाही गरेर पठाएपनि उनीहरुको आन्दोलनका कारण त्यसपछिकालाई फाईदा भयो ।
घर फर्किएपछि इस्वो समाजसेवामा लागे । गेसो २०४६ जेठ २७ मा दर्ता भएको भएको थियो, त्यसले २०५१ फागुन १९देखि ससक्त आन्दोलन थाल्यो । इस्वो पनि त्यतिबेला देखि नै सक्रिय भए । पछि गेसो फुट्यो । इस्वो बिगेसोमा सक्रिय भए । जहाँ भएपनि उनले गोर्खाहरुको समानताको आन्दोलन जीवनभर गरिरहे । उनी गोर्खाहरुको अधिकारका लागि लड्ने अथक योद्धाका रुपमा नबिर्सिने नाम बनेर रहिरहने छन् ।
भर्ति लाग्दाको कथा
तेह्रथुम, खाम्लालुङका गजेन्द्रले गाउँको दुखी जीवन, वेरोजगारी समस्या सबै भोगेका थिए । आफन्तहरु लाहुर गएपछि उनीहरुको जीवनशैली परिवर्तन भएको देखेका उनलाई पनि लाहुरे हुनै पर्छ भन्ने लाग्यो ।
गाउँबाट पेन्सन थाप्न धरान झर्नेहरुलाई पछ्याउँदै घाँस दाउरा, मेलापात गर्दा गर्दैका उनी २०३३ सालमा भर्ति हुन धरान, घोपा क्याम्पमा झरे । त्यसबेला घोपा क्याम्पमै सेलेक्सन गरिन्थ्यो । उनी घोपा क्याम्पमा आएर लाईन लागे तर उमेर १५ वर्ष मात्र भएकाले कलिलो छ भनेर फर्काईदिए ।
त्यसपछि गाउँमै गएर उहि मेलापात, घाँस दाउरामा लागे तर जसरी भएपनि काकाहरुको जस्तै सानको जीवन जीउने इच्छा थियो उनमा । सोधखोज गर्दै जाँदा ताप्लेजुङको सान्थाक्रामा नाता पर्ने गल्लावाल छन् भन्ने पत्ता लगाए । त्यसपछि २०३४सालमा गल्लावाल कृष्णबहादुर लिम्बु भएको ठाउँ सान्थाक्रा पुगे उनी । नातापनि पर्ने भएकाले उनीसँग ‘म पनि भर्ति जानु प¥यो’ भनेर बिन्ति गरे । उनले आफ्नो क्षेत्र नपरेपनि नाताका कारण भर्ति लिए ।
त्यसपछि जेठ महिनामा एआरओ सेलेक्सन पनि सान्थाक्रामै भयो । उनको नम्बर थियो २२१ । असोजमा घोपा क्याम्प जानुपर्छ भनेर विदा दिईयो । बर्षाको बेला घरमा गएर खुब काम गरे उनले । काम गर्दा गर्दै असोज आयो । उनको पनि धरान घोपा क्याम्पमा सेलेक्सनमा जाने बेला भयो । विदा गर्न आफन्तहरु भेला भए, आमा दिदी बहिनीले दुध खुवाए, कोहिले जाँड खुवाए ।
बुवाले ऋण खोजेर ५० रुपैयाँ बाटो खर्च ल्याईदिए । त्यहाँ अरु आफन्तले १० रुपैयाँ दिए, त्यसपछि उनीसँग ६० रुपैयाँ बाटो खर्च भयो । घरबाट हिडेर त्यसदिन संखुवासभाको गुफा पोखरीमा भेला भए । विभिन्न ठाउँका गल्लावालहरुले आ आफना समुह जम्मा पारेका थिए । एउटा गल्ला बराबर पन्ध्र सोह जना थिए । भोलिपल्ट गीत गाउँदै, हल्ला खल्ला गर्दै धनकुटाभन्दा अलितल झरेर बास बसे । त्यतिबेला हिडेरै धरान झर्नु पर्ने, गाडि चल्दैनथ्यो । तीन दिनका दिन धरान झरे ।
धरानको रत्नचौकमा त्यसबेला पासाङ होटलमा बस्थे उनीहरु । बाटोमा आउँदा उनले भात पकाउने, बाँडनेदेखि सबै काम गरे । त्यसले गर्दा गल्लावालपनि प्रभावित भए । गल्लावालले माथिबाट घ्यु बोकेर आएका रहेछन । धरान झरेको दिन बेलुका गल्लावालले उनलाई एउटा ठाउँमा हिड भनेर साथी लिएर गए । उनी घ्यु बोकेर उनिसँगै हिडे । त्यो घ्यु एआरओ क्याप्टेन भीमराज राईलाई ल्याईदिएका रहेछन । त्यहाँ पुगेपछि एआरओसँग चिनाईदिए । क्याम्पका कोठा, बाहिर सबैतिर सफा चिटिक्क देखे । गाउँमा बसेको मान्छे अचम्मपनि लाग्यो उनलाई । त्यसपछि एआरओेले अलिकति रम दिए । गाउँमा रक्सि खान्थे तर त्यस्तो रम कहिल्यै नदेखेको मिठो लाग्यो उनलाई ।
गफ गर्दा गर्दै एआरओले उनलाई ‘भर्तिमा कोशिस गर्नु पास भयौ भने पानासोनिक रेडियो पठाईदिनु’ भनेका थिए । उनलेपनि हुन्छ भनिदिए । त्यसबेला ३६६मोडलको नेशनल पानासोनिक रेडियो सारै चर्चित थियो । तर उनले कहिल्यै रेडियो पठाउन नसकेको बताउँथे । केही वर्षअघि मैले उनीसँग लाहुर भर्तिको विषयमा लामो कुराकानी गरेको थिएँ । त्यसबेला उनले भनेका थिए, ‘अहिले उहाँसँग कार्यक्रममा कहिलेकाहिं भेटदा त्यहि रेडियोको याद आउँछ । कस्तो कस्तो लाग्छ । उहाँले बिर्सिनु भयो होला तर म उहाँलाई देख्ने वित्तिकै रेडियो सम्झिन्छु ।’ तर अब उनले पनि त्यो रेडियो सम्झिने छैनन् ।
सेलेक्सनका क्रममा अन्तरवार्तामा उनलाई सोधियो, ‘के को लागि भर्ति हुन आईस, किन आईस् ?’ उनलाई पैसाको कुरा गर्न मन लागेन त्यसैले भनिदिए ‘लडाई गर्न सारै मन लागेर भर्ति हुन आएको हुँ ।’
एकहप्ताको सेलेक्सनमा कसम परेड आफुलाई अचम्म लागेको उनी सुनाउँथे । कसम परेडमा ब्रिट्रिसको झण्डा छोएर बाबुलाई मार भनेपनि मार्छु भन्दै कसम खानु पर्ने रहेछ । एकहप्ता जति यस्तो तालिम दिएपछि उनीहरुलाई काठमाण्डौ लगियो । विदा हुने बेलामा एक जना गाउँलेलाई बाबुले ऋण खोजेर पठाएको पचास रुपैयाँ फिर्ता पठाई दिए इस्वोले ।
काठमाण्डौमा भेला गरेपछि प्लेन चार्टर गरेर हङकङ लगियो । हङकङको सेकोङमा मिल्ट्रि तालिम सेन्टर थियो । कार्तिक महिनामा त्यहाँ पुग्दा सबै कुरा नौलो थियो उनीहरुलाई । त्यहाँ ९ महिनाको कष्टकर तालिमपछि मैदानमा खटिए उनी ।
ब्रिटिसले आफ्नो रक्षाका लागि दुस्मनसँग लड्न तालिम दिएर सैनिक बनाएपनि इस्वो अन्ततः ब्रिटिसकै अन्याय विरुद्ध लडे, देश फर्र्किएपछि आफ्नै ठाउँ, समाज र समुदायका विकास, अधिकार, शान्ति र समृद्धिका लागि लडिरहे । उनको भर्तिको कथा, लडाईंको गाथा भावि पुस्ताले पनि सम्झिरहने छन् । अलविदा गजेन्द्र दाई ।