धरान/समाजमा केही यस्ता मान्छे पनि हुन्छन्, जो राजनीतिक दलको जस्तो योजनाका पुलिन्दा बाँड्दैनन्, घोषणा–पत्र तथा मेनिफेस्टोमा प्रतिवद्धताका चाङ बनाउँदैनन् । बिना प्रतिवद्धता नै दुःखमा परेका नागरिकलाई चुपचाप सहयोग गर्छन् ।
यस्तै चुपचाप सहयोग गर्नेमध्येमा पर्छन्, धरान–१४ का इन्द्रप्रसाद श्रेष्ठको परिवार । परिवारले अजाअजी (हजुरबुबा–हजुरआमा) को नामबाट ‘लोक–लक्ष्मी स्मृति प्रतिष्ठान’ दर्ता गरेर सामाजिक काम गरिरहेका छन् । प्रतिष्ठानले कोरोना भाइरस महामारीपछि सृजित समस्यालाई मध्यनजर गर्दै असोज १ गतेदेखि धरानका तीन स्थानमा निःशुल्क बिहानको खाना वितरण गर्दै आएको छ । धरान–८ को लाङ्घाली सामुदायिक वन परिसरमा आश्रित सडक मानव, धरान–१ को अपाङ्ग पुनस्र्थापना गृहमा आश्रित अपाङ्ग, असहाय तथा धरान–९ स्थित अपाङ्ग तथा असहाय पुनस्र्थापना केन्द्रमा आश्रित अपाङ्गहरूलाई बिहानको खाना वितरण गर्दै आएको हो ।
दुई महिनादेखि वितरण कार्य जारी छ । मङ्सिर १ गतेसम्म खाना खुवाउने गरी धरान उपमहानगरपालिकासँग सहमति पनि गरेको छ । इन्द्रप्रसाद भन्छन्, ‘साइँला छोरा राजीव श्रेष्ठले कोरोनाले आक्रान्त भएका विपन्नलाई खाना खुवाउने कुरा आयो, यो त राम्रै हो, दाजुभाइ सल्लाह गर, खाना खुवाउँदा चाहिँ आफ्नै परिवारबाट गर्ने भन्ने भयो ।’ उनका अनुसार बुबाआमा लक्ष्मीप्रसाद र लोककुमारी श्रेष्ठको नाममा २०६४ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर प्रतिष्ठान चलायमान थियो । ‘त्यहीँमार्फत् खुवाऊ न त भनियो, त्यसपछि आफ्नै परिवारबाट खर्च गरेर खुवाउन थाल्यौं’ उनले भने । खाना खुवाउने अभियानमा कान्छा छोरा रञ्जीव खटिँदै आएका छन् ।
उनले भने, ‘हरेक दिन बिहान म आफैं तीन ठाउँमै खाना पु¥याएर आउँछु । केही साथीहरू थिएँ, उनीहरू पनि बिरामी भएपछि एक्लै खटिरहेको छु ।’ यो अभियानलाई अझै निरन्तरता दिने सोचमा रहेको रञ्जीव बताउँछन् । ‘अभियानलाई अझै पाँच(छ महिना नै लिएर जाऊ भन्दै छौं’ उनले भने, ‘आफन्त तथा धेरै साथीभाइहरूले सहयोग गर्छौ र सहयोग पनि गरिरहेका छन् ।’ प्रतिष्ठानले धरान उपमहानगरले बनाएको ‘फुड बैङ्क’ मा एक लाख रुपैयाँ बराबरको खाद्यान्न पनि वितरण गरेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी सुनसरीमा कोरोना भाइरस लागेका बिरामीलाई लानेल्याउने गर्ने एम्बुलेन्स चालकलाई लक्षित गर्दै व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पनि दिएको थियो ।
यसरी सुरु भयो प्रतिष्ठान
बुबा लक्ष्मीप्रसाद धरानका शिक्षासेवी थिए । धरानको पब्लिक मावि, सारदा बालिका मावि, महेन्द्र बहुमुखी क्याम्पस स्थपनार्थ महत्त्वपूर्ण योगदान गरेका थिए । त्यसका अलवा पनि उनी थुप्रै सामाजिक र धार्मिक कार्यमा संलग्न थिए । तर, उनको निधनपछि छोरा इन्द्रप्रसादले बुबाआमाको नाममा सामाजिक संस्था दर्ता गरेर शिक्षाको क्षेत्रमा केही योगदान गर्ने योजना बुने । इन्द्रप्रसाद पनि शिक्षाप्रति हुरुक्क थिए ।
महेन्द्र क्याम्पसमै केही वर्ष ‘प्रोफेसर’ भएर छाडेपछि उनले बुबाआमाको नाममा केही गर्ने सोच पलाएको स्मरण गर्छन् । ‘पढाइ जति महत्त्वपूर्ण संसारमा केही छैन, शिक्षाले नै विभिन्न अवसरको ढोका खोल्छ भन्ने मेरो बुझाइ छ,’ उनले भने, ‘सक्दा परिवारले किन सहयोग नगर्ने भनेर प्रतिष्ठानको सोच आयो ।’
२०६०/६१ सालदेखि नै सोच आए पनि दर्ता प्रक्रियापछि धरानका एक दर्जन स्कुल तथा कलेजमा विपन्न छात्रवृत्ति कोष खडा गरिदिए । उनका अनुसार पब्लिक हाइस्कुल, सारदा बालिका, शिक्षा निकेतन, फुस्रे पब्लिक, दन्तकाली, पञ्चायत, ज्वालामुखी, स्काउटमा कोष खडा गरिदिएका छौं । त्यस्तै तेह्रथुमको म्याङलुङ कलेजमा पनि कोष खडा गरिदिएको उनी बताउँछन् । ‘प्रतिष्ठानको मुख्य उद्देश्य शिक्षामा जोड दिने हो, अरू पनि आवश्यक प¥यो भने सहयोग गर्छौं’ उनले सुनाए । प्रतिष्ठानलाई सञ्चालन गर्न आफ्नै परिवारभित्रबाट करिब १४ लाख रुपैयाँ जम्मा गरिसकेका छन् । तर, कम्तीमा ३० लाख रुपैयाँको कोष खडा गरेर सञ्चालन गर्ने योजना बुनेका छन् । ‘हामी अरूबाट लिँदैनौं, आफ्नै परिवारभित्रबाट जम्मा गरेर प्रतिष्ठान चलाउने अक्षयकोष खडा गर्ने योजनामा छौं’ उनले भने ।
इन्द्रप्रसाद कुनै समय राजनीतिक प्राणी पनि थिए । तर, अहिले सामाजिक कार्यभन्दा अर्कोतिर ध्यान छैन । ८० टेकिसकेका छन् । पञ्चायत कालमा धरान १ बाट वडाध्यक्ष जित्दै २०३२/३३ सालमा करिब २ वर्ष जति कार्यबाहक प्रधानपञ्च भएर चलाए । त्यो बेलामा राजा वीरेन्द्र साहको सवारी हुँदा धरानको खानेपानीको मुहान सर्दुखर्दुमा बसेको बस्तीलाई स्थानान्तरण गर्न भूमिका खेले भने दोस्रो धरानलाई शिक्षाको ‘हब’ बनाउनका लागि राजालाई बिन्ती बिसाए । जसमध्येमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा आउन सफल भयो । ‘आफू कार्यबाहक प्रधानपञ्च हुँदा ती दुई वटा महत्त्वपूर्ण काम गरेको थिएँ,’ उनले भने, ‘अब त राजनीतितिर ध्यान छैन । सकेको सामाजिक कार्य गर्ने भन्नेछ ।’ प्रतिष्ठानबाट अझै धेरै काम गर्ने योजना बुनिरहेका छन् ।