किताबका कुरा
- प्रकाश दिप्साली राई
‘भञ्ज्याङभरि
गोदावरी, चमेली फुल्नु
मेरी गाउँकी भाउजु
त्यही रङ्ग, सुगन्धमा खुल्नु
प्रकृतिलाई दोष छैन ।’
(गाउँकी मेरी सुन्द भाउजु पृ.५८)
लामो समयको साधना पश्चात एक्कासी पाठेघरबाट चर्चामा आएकी बादल चाम्लिङ अहिले वीर्य जमिन कविता कृति बजारमा ल्याएकी छिन् । सुन्दर कवित्वको धनि चाम्लिङको पाठेघर टर्निङ पोइन्ट बन्यो र नै आज कविको रुपमा स्थापित छिन् । पाठेघर पश्चात उनले गत चैतमा बेलबारीमा होम लन्च गर्दै आफ्नो दोश्रो कविता कृति वीर्य जमिन पाठकहरुमाझ ल्याइन् । कोभिड १९ का महामारी बिच उनले सो कृति लन्च गरिन् । जसले छुट्टै अर्थ राख्यो । एउटा कवि हुनु भनेको त जस्तै कठिन परिस्थितिको सामना गर्दै भए नि रचनात्मक काम गर्नु पनि रहेछ । यो महामारीको परिस्थितिमा सबैभन्दा डटफट नै कवि तथा लेखकहरुको छ । नत्र त हामीलाई हाउगुजीले नै सकेको छ । यदी साँच्चिकै कोरोना हामीमा आइ लाग्यो भने के होला ? जुन कुराको संकेत हाउगुजीले नै गरिसकेको छ ।
वीर्य जमिन भित्र प्रवेश गर्ने हो भने त्यसका भ्रुणहरुले एकदमै शसक्त छन् । जुन भ्रुणहरुमा पुरुषार्थ(यो शब्दको गलत अर्थ नलागोस्) छ । भ्रुणहरु भन्नु कृर्तिमा समाविष्ट कविताहरु नै हुन् । यीनका कवित्व हेर्ने हो भने बडो डाहा लाग्दो छ । डाहा गर्नेहरुको जमात नि भेटेको छु केही ठाउँमा । यीनि कविता मनै देखि लेख्छिन् । र नै यीनको कविता सबैको मन मुटुमा बस्छन् ।
“एक बिहान
ज्वारीकोट हल्लाउँदै
एउटा व्यापारी आए
जाबो कागजको खोस्टा देखाएर जोडा गोरु मोले
दाम्लो किलालाई छाडिदिएर
शरीरमा बसेका झिँगाहरू
कान,पुच्छरले धपाउँदै तारे तिल्के
मुल बाटै बाटो लागे ।”
(तारे र तिल्के: पेज १०४)
हामी यो जन जीवनको गहिराइमा कहिले पुग्यौं र ? नाथु गोरु हाम्रो निम्ति कविताको विषय बन्यो होला र हामीले लेख्ने कवितामा ? लेखिए इत्रिने भाषामा, लेखिए साढे वा नकरात्मक पात्रमा । तर तिनीहरुको पीडा ओकलिन् कविले र नै उनी कवितामा अब्बल ठहरिन् । वीर्य जमिन नामले नै यो कृतिप्रति प्रायको कौतुहलता बढ्छ नै । त्यस भित्रका कविता हेर्न जो कोही लालायित हुनु स्वभाविक नै हो । बादलका कविताहरु दर्शन जस्ता छन् । केही केही कवितालाई त प्राय पाठकले ठम्याउनै सक्दैनन् । र यो चाहीं उनको काव्यिकता हो । भु–दिउल, ब्लाक होल, आत्म दृष्टान्त, आशक्ति यी कविताहरुले कविको काव्यिकता झल्केकाउँछ । पाठेघरबाट डेब्यु गरेकी बादल वीर्य जमिनसम्म आईपुग्दा कविता कर्ममा उच्च लयमा छिन् । कवि बादल चाम्लिङको पाठेघर पाठकसामु आए पछि उनी एकाएक सेलिब्रेटी बनेकी कवि हुन् । लगभग एकल कविता वाचन र केही सम्मान थाप्न भ्याइ नभ्याई नै भइन् । केही गरिमामय मञ्चामा समेत आफुलाई उभ्याइन् । भरौलको पाँच शहरका कवि र कविता, पोखरा र काठमाडौमा कविको रुपमा प्रस्तुत गरिन् । जुन मौका जो सुकै कवि लेखकले पाउँदैनन् । सँगसँगै गुमनाम जस्तै रहेकी बादल पाठेघरको आगमनसँगसँगै राष्ट्रिय पत्रिकाहरुमा उनको कविताले गरिमामय ढंगले स्थान पाउन थाल्यो । र उनी प्रस्तुत भएको मञ्चहरुमा सफल कविको रुपमा आफुलाई सावित गराइन् । यो मानेमा उनी सफल र सेलिब्रेटी कवि हुन् ।
यो कविता संग्रहभित्रका बोक्सी र वीर्य जमिन कविता अब्बल हो भन्ने लाग्छ । सायद कविले पनि यो कविता प्रति यही आशा गरेको हुनुपर्छ । बोक्सी कवितामा नारी प्रतिको समाजको दृष्टिकोण, नारीलाई गरिने तुच्छ व्यवहारलाई उजागर गरिएको छ । नारीलाई पुरातनवादी संस्कारको सहारामा अझै पनि खेलौना वा कठपुतली नै सम्झेको अभिव्यक्ती प्रस्तुत गरेकी छिन् । पछिल्लो समयको नारी हिंसा वा श्रृंखलाबद्ध हुनेगरेको बलात्कारको घटना हेर्ने हो भने त कविको नजर भन्दा माथि यो समाज कहाँ उठ्न सकेको छ र ? यो कविता आम नेपाली नारीहरुको प्रतिनिधि कविता हुन् । यसर्थ पनि यो कविता नारीहरुले यो कविता आðनो सम्झने छन् र विद्रोह ओकल्नेछन् ।
वीर्य जमिन अर्को शसक्त कविता हो । संयोग चैं के भने अघिल्लो कृति पाठेघर यो पल्टको कृति वीर्य जमिन । यो पछिल्लो कृति चाहीँ पुरुषजन्य नाम राखेर सन्तुलन मिलाउन पो यसो गरिएको हो कि जस्तो लाग्छ । यो कवितामा पुरुष महिमा अलि बढी गाइए जस्तो भान हुन्छ । तर सत्यताका अनेकौं तथ्यहरु पनि कविले सोही ठाउँमा पस्केकी छिन् । यीनको लेखन विशेषता कवितामा आक्रोष पोख्दिनन् र नै पनि यो कविता सागरभन्दा फराकिलो ढंगले लेखिएको हुनु पर्छ । पछिल्लो पल्टको वाद र प्रायोगले कवितालाई रुखो महसुस भए जस्तो लाग्दै गर्दा यस्ता कविताले कविता शिल्पीको मर्मलाई यथावत राखे झैं लाग्छ । यसो भन्दै गर्दा वाद र प्रयोगहरुले अरुची लाग्दो छ भन्ने चार्ही कदापी हैन । वाद र प्रयोगहरुले साहित्यको भण्डार समृद्ध बन्ने चाहीं जरुर हो ।
“सडक कुस्ती खेल्ने खेल मैदानजस्तै बनेको छ
नाटक मञ्चन गर्ने रङ्गमञ्च भएको छ
जोसँग जे जे छ
स्वभिमान, अभिमान
बिक्री वा प्रर्दशनका लागि उपयुक्त ठाउँ सडक बनेको छ ।
यो सडकमा एउटा एम्बुलेन्स बाटो खोजिरहेको छ
मुहारले भन्छ
उ आपतमा छ ।”
(एम्बुलेन्समा देश, पृ.४८)
यो कविताले हालको देशको अवस्थाको चित्रण गरेको छ । यो देशको नेता र नेतृत्व र स्वयं हामी जनता नै देशलाई अस्थिरता तर्फ धकेलिरहेका छौं । अहिलेको नेतृत्वको त कुरा गरि साध्य छैन । उनीहरु साँच्चै नै कविले भने जस्तै सडकमा जात्रा देखाइरहेका छन् । एउटा छिमेकी भ्रमणमा आउँदा पुरा सरकारमा आँधीहुरी चल्छ भने यो भन्दा अर्को तमासा नेपाली जनताको लागि के हुन सक्छ ? यो देशलाई अचेत बनाएर एम्बुलेन्समा कोच्ने यी नै नेताहरु र अनावश्यक तमासा देखाउनेहरु प्रतिको गुनासो वा खबरदारी हो । कविको देशप्रतिको चिन्तनलाई ओकलेको छ यो कविताले ।
यो कृति भित्र खास पाठक भएर नियाल्दा अघिल्लो कृतिमा कविलाई केही आरोपहरु थिए । यती आरोपहरुको भने जस्तो प्रतिकार गर्न सकेका छैनन् । जस्तो की यीनको समुदायको मिथक अझै उनको कवितामा आइसकेका छैनन् । उनको समुदायले उनको शालिन् कवित्वमा आðनो संस्कृति र मिथक देख्न सुन्न चाहन्छन् । यो विषयमा भने कवि आउँदो कृतिहरुमा सचेत हुनै पर्छ । र यो कृतिको कविता अनुच्छेदहरुमा शब्दहरुको अक्षरहरुको उचित साङ्गो पाङ्गो मिलेको छैन । यो प्राविधिक कमजोरीले पाठकहरुलाई पठनमा असहज पक्कै हुन्छ । तर कविको कवित्वले धेरथोर ती पक्षलाई गौण बनाइदिएको छ ।
अन्तमा कवि बादल चाम्लिङको अरु यस्तै सुन्दर कृतिहरु पढ्न पाउँ, कविको अरु दमदार कविताको असल पाठक बन्न सकुँ शुभेच्छा । अन्तमा कवि बादलको अर्को मन छुने कविताको साथमा ओझेलिन्छु ।
“माथि
पहाडको भित्तामा एउटा गाउँ छ
उसको काखमा सियाँल या ओझेल पर्ने ठाउँ छ
घाम छिप्पिएर माथि आईपुग्दा
शीत,
निर्धक्क
भुइँभरि राज गरेर बस्छ ।”
(माथि पहाडको भित्तामा एउटा गाउँ छ: पृष्ठ ३२)