धेरै दिनदेखि सधैँ बिहान ६ बजेतिर उकालो लाग्ने गरेको मलाई देखिरहेकी अमरहाटकी एकजना गृहिणीले एक बिहान ‘अङ्कल, तपाईं त लक्की भएर अहिलेसम्म जोगिनुभएको छ । यहाँबाट कतिजनालाई पुलिसले पिट्दै लगेको मैले देखेकी छु । हिजो मात्र यहीँको गुरुङ बडालाई पनि मर्ने गरी लठ्ठीले पिट्यो । नआउनोस् यता अङ्कल’ भनिन् ।
हुन पनि कुन मानिस के कति जरूरी कामले हिँडिरहेको छ, अस्पताल वा औषधि पसल पो गइरहेको छ कि, कुनै आपतमा पो परेको छ कि त्यो नसोधी पहिले डण्डा लगाउने अनि सोध्ने तरिका थियो पुलिसको । बिहान दूध बाँड्न र तरकारी बेच्न दिने अनि किन्न जानेलाई हिर्काउने गथ्र्यो पुलिस । यो तरिका बर्बर थियो । तर, कसलाई भन्ने र कसले सुन्ने ? हरामके आगे राम डरे । किन व्यर्थै झमेलामा फस्ने र लौरो हातमा पाएर आफूलाई राजा हौं भन्ने भएका यी मूढहरूको शिकार किन हुने भनेर झण्डै दुई हप्ता प्रातः भ्रमणको कार्यक्रमलाई मुल्तबी राखेर घरको आँगनबाहिर खुट्टा पनि राखिनँ ।
फेरि सरकारले अर्को एक हप्ता थप्यो लकडाउन । उता इण्डियाले पनि थपिरहेको थियो लकडाउनको अवधि । इण्डियाकै चालमा हिँड्ने सरकारको चाला देख्दा अब भने लकडाउन लामै तन्किने छाँट देखियो । लकडाउन कति थपियो भनेर हिसाब राख्नुको पनि कुनै अर्थ रहेन ।
लकडाउनको प्रभावले हो वा कुन कारणले हो उता प्रकृतिले आफ्नै करिश्मा देखाउँदै थियो । वैशाखको पहिलो हप्तामै मनसुन आए झैं पानी पर्न थालेको थियो । मध्य बर्खा आएसरी महाभारत लेकको पूरै लहरलाई कालो बादलको बाक्लो पत्रले छोपेको हुन्थ्यो । एकदिन त निकै बाक्लो हुस्सु अमरहाटलाई छोप्न आइपुगेको थियो पञ्चकन्या डाँडाबाट ओर्लेर । अचम्मको जाडोसमेत ल्यायो त्यसले । यसरी पानी पर्नाको नतिजा के भयो भने केवल तीन हप्ताअघि धुस्रो, फुस्रो, उजाड उजाड र फुङ्ग देखिएका पहाडहरूको अनुहार एकदमै बदलिएर हरिलो भरिलो भयो । मानौं पहिलेको झुत्रो मजेत्रो फालेर प्रकृतिले हरियो उज्यालो पछ्यौरा ओढेको थियो । प्रकृतिको मन लोभ्याउने स्वरूप प्रकट भएको थियो ।
एकातिर प्रकृतिको यस्तो प्रबल आकर्षण थियो र अर्कोतिर घरमा कुच्चिएर बसेको पनि धेरै दिन भइसकेको थियो । मनले केही फरक कुरा हेर्न र खुट्टा तन्काउनलाई खुला ठाउँमा जान खोजिरहेको थियो । दुईजना साथी तयार भए मलाई साथ दिन– किशोर वयको साथी डम्बर बुढाथोकी र अच्यूत पराजुली भाइ, मैले पढेको भगवती मिडिल स्कुल (अहिले माध्यमिक) का हालका प्रधानाध्यापक ।
सेउतीपारिको दानाबारी, पत्रङ्बारी जुन जुन बारी पुगिन्छ जाने र दिनभरि घुम्ने मनसुवा लिएर निस्क्यौं एक बिहान हामी तीनजना । आखिर जहाँ पुगे पनि मेरा लागि त्यो नौलो प्रदेशको घुमाइ हुनेथियो । अमरहाटबाट सेउतीको पुलसम्म त कसैको रोकटोक बेगर पुग्यौं ।
यात्राको शुरूवात निरापद भएकोमा हामी खुशी थियौं । तर, त्यो खुशी तुरून्तै बिलायो सेउती खोलाको झोलुङ्गे पुलको मुखैमा दुई जना मुस्तण्डे प्रहरी लामो डण्डासहित उभिएको पाएर । उनीहरूले हामीलाई उल्टै खुट्टा फर्किन लगाए । तर, हामी पनि कृतसङ्कल्पित थियौं । त्यसैले फर्केर विजयपुर पुग्नुको साटो उकालो लागेर छि¥यौं पञ्चकन्याको वनभित्र । सेउतीतर्फको पाखोबाट माउण्टेन बाइकिङको डगर पछ्याउँदै पुग्यौं भताभुङ्गे राजाको दरबार भग्नावशेष भएको स्थलमा ।
धरानसित भताभुङ्गे राजाको दरबार र त्यसको किंवदन्ती घनिष्ठतवरले जोडिएको छ । पुरानो आहान छः ‘भताभुङ्गे राजा, लथालिङ्गे काजी, सत्यानाश विचारी’ । तिनको राज्यव्यवस्थाको कानून साधुलाई शूली र चोरलाई चौतारा दिने खालको थियो रे ! शूली चढाएर प्राणदण्ड दिने ठाउँ चाहिँ सर्दु खोलापारि डाँडाको पाखा भएकोले त्यसको नाउँ शूलीकोट भएको रे !
यस्ता रे रे को कथा हामीले सानैदेखि सुन्दै आएका थियौं । इतिहासको कुन कालखण्डमा त्यस्ता व्यक्ति राजा बनेका थिए ? तिनी साँच्चिकै ऐतिहासिक व्यक्ति थिए वा किंवदन्तीमा आधारित काल्पनिक हस्ती ? विजयपुर राजधानी थियो भने डाँडाको उत्तरी क्षेत्रमा त्यति पर दरबार किन बनाए ? के हालको वन दरबार पाताल भएपछि उम्रेको हो ? दरबारको खानेपानीको स्रोत कहाँ थियो ? तिनका भाइभारदार र सेनामेना कहाँ बस्थे ? के शूलीकोटमा साँच्ची नै अपराधीलाई शूलीमा उनेर प्राणदण्ड दिइन्थ्यो ?
कसैको भनाइमा बुढासुब्बा मन्दिर यिनै राजाको समाधि हो । फेरि कोही विद्वानहरू गोर्खालीहरूले विजयपुर कब्जा गर्दा त्यहाँका राजा रहेका बुद्धिकर्ण रायको समाधि हो बुढासुब्बा भन्छन् । डा. हर्क गुरुङले त्यही कुरा लेखेका छन् आफ्नो भ्रमण वृत्तान्तमा । के त बुद्धिकर्ण राय नै भताभुङ्गे राजा हुन् ? या भताभुङ्गे राजा नै बुढासुब्बा हुन् ? एकताका यहाँ बाक्लो अग्लो पर्खाल र गारोका अवशेष बाँकी थिए । चिनिएका, बाक्ला र चारपाटे ढुङ्गाका चप्लेटीहरू असरल्ल थिए त्यहाँ । समयान्तरमा एक एक गर्दै ती हराए । सायद कसैको घरको जगमा पुरिए वा पर्खालको हिस्सा बने । खासमा यस्तो स्थलको पुरातात्विक उत्खनन् हुनुपर्ने हो । यस विषयउपर गहिरो अध्ययन र अनुसन्धान हुनुपर्ने हो । तर, त्यसो नगरी यस ठाउँलाई तारको बारले घेरेर किरातहरूको पूजास्थल बनाइएका छन् ।
सुन्दछु, यस ठाउँमाथि हकदाबी गर्न राई र लिम्बू समुदायको हानाथाप छ । इतिहास र राजनीतिमा जब धर्मले प्रवेश गर्दछ, त्यसको कक्टेल बडो अनिष्टकारी हुन्छ । तथ्य पाखा लाग्छ र त्यसको ठाउँ काल्पनिक कथ्यले लिन्छ । बरा, भताभुङ्गेको इतिहास पनि भताभुङ्ग भएको पाउँछु ।
केहीबेरको विश्राम र यस्तै गन्थन–मन्थनपछि हामी तल सरङ्गा झ¥यौं । खासमा यस ठाउँलाई सरङ्गाद्वार भनिन्थ्यो पहिले । तर, धनकुटा जाने सडक बनेपछि यो ‘बेस क्याम्प’ भएको छ । यहाँबाट भालुखोला हुँदै भोर्लेनीको डाँडा उक्लन सकिन्थ्यो वा शिवजटातिर हानिन सकिन्थ्यो ।
हाम्रो समयमा वनजङ्गलबीचको गोरेटो मात्रै भएको ठाउँमा अचेलभरि मोटर सडक नै जान्छ । तर, गाउँ र जङ्गल पस्ने गौंडा–गौंडामा मानिसलाई हिँड्न डुल्नबाट रोक्न प्रहरीहरू तैनाथ रहने गरेको सुनेका मात्र होइन, सेउतीको पुलमा भोगी पनि सकेका थियौं । त्यसैले भालुखोलातर्फ नलागी ठाडो उकालो लाग्यौं शिखरबासतर्फ । हामीलाई जहाँ भए पनि जानु थियो र हाम्रो सरोकार खास ठाउँ पुग्नुसित होइन हिँड्नुसित थियो ।
गाउँलेको निर्देशनअनुसार हिँड्न नजानेर कुबाटोमा परियो केहीबेर र अप्ठेरो भयो बाटो पैल्याउनलाई । बाटो फेला परेपछि भने शिखरबासको उकालो पनि सुबिस्ता लाग्यो । ठाउँ–ठाउँमा चौतारी बिसौनी र पानीको कुवा भएको यो बाटो साबिकको मूलबाटो थियो चौबीसे, बूढीमोरङ, डाँडाबजारतिरबाट नुन, तेल लिनलाई धरान झर्नेहरूको । मैले कल्पना गरेँ सुरेश सुब्बाजस्ता चौबीसेका मेरा साथीहरूलाई यही बाटो पढ्नलाई धरान झरिरहेका ।
नाउँ सुहाउँदो ठाउँ रहेछ शिखरबास । प्रकृतिले नै ठाडो उकालोलाई ब्रेक दिँदै जमिनलाई उबडखाबड भए पनि केही हदसम्म सम्याएर बनाएको ठाउँ । टाउकोमाथिबाट घाम र पेटभित्रबाट भोक बलिरहेकोले यस ठाउँमा रोकियौं पेटपूजा र सुस्ताउने विचारले । गाउँघरमा अचेल खान पाइने भनेको त्यही सर्वव्यापक मसलायुक्त चाउचाउ हो– खाए पनि, नखाए पनि । बन्द राखिएको पसलकी साहुनीलाई त्यही उमाल्न लगाएर क्षुधा शान्त पा¥यौं र फेरि उकालो लाग्यौं ।
यहाँबाट डाँडाको नाकको जुन गोरेटो हामीले समात्यौं, त्यो बेचल्तीको निस्क्यो– काँडाघारी र चिहानघारी भएर जाने । फर्किने कुरा भएन, कष्टपूर्वक भए पनि उकालो चढिरह्यौं र जहाँ उकालो सकियो, त्यस ठाउँमा पुगेपछि राहतको सास फेर्दै डम्बरले भन्यो, ‘यही हो ‘बिग बुद्ध’ को निर्माणस्थल । छोटी मोरङ भन्छन् यस ठाउँलाई ।’ हङ्कङमा छ एउटा उच्चस्थलमा बनेको ‘बिग बुद्ध’ । त्यसैको देखासिकी हुनसक्छ एउटा समूहले ‘बिग बुद्ध’ को योजना अघि सारेका छन् । त्यहाँ यस्तो आयोजना ल्याउन ठीक छ र ठीक छैन भन्ने विवाद पनि अगाडि आएको छ । ‘बिग बुद्ध’ को प्रतिमा बन्ला या नबन्ला त्यो भविष्यले नै बताउला ।
सानै छँदादेखि सुन्दै आएको छोटीमोरङ भन्ने ठाउँमा आजैको दिन आउन जुरेको रहेछ भन्ने लाग्यो । यो त भयो छोटी, चौबीसेमा बूढीमोरङ पनि छ । त्यो चाहिँ धनकुटा जिल्लामा पर्छ । उता तराईमा मोरङ नाउँको जिल्ला छ, यता पहाडमा छोटी र बूढी मोरङ नाउँका स–साना इलाका छन् । बूढी त मेरो अनुमानमा ‘बडी’ अपभ्रंश भएर बनेको हुनुपर्छ । छोटी भनेको सानो भइहाल्यो ।
धरानमा पहिले रहेको हुलाक कार्यालयलाई पनि विजयपुर छोटी हुलाक भनिन्थ्यो, सानो तहको हुनाले । तर, मोरङको नाउँ कसरी जोडिए पहाडका यी ठाउँसित भन्ने जिज्ञासा धेरैको मनमा रहेको हुनुपर्छ र मेरो मनमा पनि रहँदै आएको छ ।
के मोरङ जोडिएका ठाउँ अन्यत्र पनि छन् ? मोरङले निकै ठूलो भू–खण्डलाई जनाउँथ्यो ऐतिहासिक कालमा । सुनसरी जिल्ला मोरङबाटै काटेर बनाइएको हो । त्यो धेरै अघिको कुरा होइन । माओरोहाङ नामक किरात राजाको नाउँबाट मोरङ नाउँ रहन गएको भनिन्छ । माओरोहाङको समय त इशाको सातौं शताब्दी बताउँछन् विद्वानहरू । अर्थात्, यस क्षेत्रमा गोर्खालीहरूको आधिपत्य हुनुभन्दा ११०० वर्षअगाडि । इतिहासवेत्ता विद्वानहरूबाट यस जिज्ञासालाई शान्त पार्ने काम हुनेछ भन्ने आशा गरौं ।
हाम्रो अर्को विश्रामस्थल बन्यो नजिकै रहेको एउटा सानो बौद्ध विहार । त्यहाँका रखवालाले हामीलाई विहारको दर्शन गराउनुका साथै आफूले लेखेका कविताहरू पनि वाचन गरेर सुनाए । हिँडाइले लखतरान भएका हामीसित तिनको कविता सुन्नुबाहेक अर्को उपाय पनि भएन । सायद तिनले धेरै समयपछि हामीजस्ता श्रोता पाएका थिए । यस्तो ठाउँमा बसेपछि कविता नलेखेर अरू गर्नु पनि के ?
त्यहाँबाट भेडेटार छोटो दूरीमा भए पनि हामी गएनौं । हाम्रो गन्तव्य थिएन त्यो । त्यसको साटो बरू दाहिनेपट्टि तेर्सो लागेर डोजरले खनेको बाटो पछ्याउँदै लाग्यौं भोर्लेनी गाउँको ओरालोतिर । अरू ठाउँमा जस्तै भोर्लेनीको पूरै पाखोमा डोजरले गरेको करामत देख्न पाइन्छ । गाउँ–गाउँमा चलेको यस उद्दाम डोजरतन्त्रलाई मानिसहरूले भूलवश विकास ठानेका छन् जो असलमा विनाश हो ।
भोर्लेनीको ओरालोपछि भालुखोलाको मोटर बाटो हुँदै थकाइ र भोक दुवैले लस्त भएर सरङ्गा वा बेसक्याम्पमा ढोका आधा खोलिएको रेष्टुराँमा अनुरोध गरेर तिर्खा मार्न पस्दा हामी घरबाट हिँडेको बाह्र घण्टा भइसकेको थियो ।
तैपनि अब हामीलाई हतारो भएन । यद्यपि घर पुग्नलाई मैले कम्तीमा अझै दुई–अढाई र मेरा मित्रहरूले तीन साढे–तीन किलोमिटर हिँड्न बाँकी थियो । त्यसको हामीले परवाह गरेनौं । त्यहाँ चिसो पेय र हतारमा बनाइएको खाजा खाँदै हामीले गरेको यात्राको लेखाजोखा ग¥यौं र अर्काे पटक फेरि कता घुम्न जाने भन्नेबारे छलफल ग¥यौं ।
वास्तवमा धरानलाई प्रस्थान विन्दु बनाएर धेरै ठाउँमा हाइकिङ जान सकिन्छ, जोश र जाँगर भएमा । तर, अच्यूत भाइको प्रस्तावमा हामीले तय ग¥यौं हाम्रो अर्को पटकको हाइकिङको गन्तव्य– शूलीकोट !
समाप्त–हिमालखबर डटकमबाट